प्रधानमन्त्री बालेन र भारतका सेना प्रमुखबीच भेटवार्ता हुने

राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने

काठमाडौं । भारतीय सेना प्रमुख  धिरज सेठ आइतबार साँझ नेपाल आउँदैछन् । उनको यो पहिलो विदेश भ्रमण हो । 

आइतबार काठमाडौं आइपुग्ने सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठ र प्रधानमन्त्री बालेन्द्र शाहबीच पनि भेटवार्ता हुने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसमेत सम्हालिरहेका कारण दुई देशका सुरक्षा तथा सैन्य सम्बन्धसँग जोडिएका विषयमा भेटवार्ता केन्द्रित हुन सक्ने बताइएको छ । 

नेपाली सेनाले पनि भेटवार्ताको लागि तयारी गरिसकेको बुझिएको छ । परराष्ट्र मन्त्रालय र नेपाली सेनाले प्रधानमन्त्रीसँग हुने भेटबारे औपचारिक कार्यक्रम सार्वजनिक नगरे पनि सम्बन्धित अधिकारीहरूले भेटवार्ताको तयारी भइरहेको बताएका छन् । 

भारतीय सेनाध्यक्ष सेठको नेपाल भ्रमणलाई दुई देशबीचको नियमित सैन्य सम्बन्धको निरन्तरताका रूपमा मात्र नभई पछिल्लो क्षेत्रीय तथा भूराजनीतिक परिवेशमा भारतको नेपालप्रतिको चासोका रूपमा पनि हेरिएको छ ।

राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेनाध्यक्ष सेठले सोमबार राष्ट्रपति पौडेलबाट मानार्थ महारथीको सम्मान प्राप्त गर्नेछन् । 

नेपाल र भारतका स्थल सेनाध्यक्षलाई एकअर्काको देशको मानार्थ जनरलको दर्जा प्रदान गर्ने पुरानो परम्परा छ । सोही परम्पराअनुसार सेठलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिन लागिएको हो । 

सम्मान ग्रहण गरेपछि सेठले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् । दुई सेनाबीचको सम्बन्ध, सैनिक सहकार्य, तालिम, अभ्यास तथा अन्य सैन्य आदानप्रदानका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता बस्नेतले भ्रमणलाई नियमित प्रकृतिको भन्दै नेपाल–भारत सैन्य सम्बन्धका विविध पक्षमा छलफल हुने बताए ।

पहिलो विदेश भ्रमण नै नेपालबाट

सेठले भारतीय स्थल सेनाको नेतृत्व सम्हालेपछि गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उनले गत जुन ३० मा भारतीय सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

भारतीय सेनामा आर्मर्ड कोरबाट प्रवेश गरेका सेठले विभिन्न महत्वपूर्ण सैन्य जिम्मेवारी सम्हालिसकेका छन् । भारतीय सेनाका कमान्ड तहमा काम गर्नुका साथै रणनीतिक क्षमता विकास तथा अपरेसनल प्लानिङसँग सम्बन्धित जिम्मेवारीमा समेत उनको अनुभव रहेको बताइएको छ ।

त्यसैले नयाँ सेनाध्यक्षका रूपमा पहिलो विदेश गन्तव्य नेपाल रोजिनुलाई सैन्य कूटनीतिसँगै क्षेत्रीय रणनीतिक दृष्टिले समेत अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि छिमेकी भारतबाट नेपाल आउने उच्च तहका अधिकारीमध्ये सेठ सबैभन्दा वरिष्ठमध्येका हुन् । 

सरकार प्रमुखमा नियुक्त भएलगत्तै प्रधानमन्त्री शाहलाई भारतले औपचारिक भ्रमणको निम्तो दिएको थियो । यद्यपि शाहले परम्परागत शैलीभन्दा फरक ढंगले विदेशी कूटनीतिज्ञसँगका भेटघाटलाई सीमित राख्दै आएका छन् । 

केही समयअघि मात्रै उनले पहिलोपटक नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यसअघि भारतीय विदेश सचिवको काठमाडौं भ्रमणसमेत प्रधानमन्त्रीसँगको भेटको समय तय हुन नसक्दा प्रभावित भएको विवरण सार्वजनिक भएका थिए र 

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम छ । संयुक्त तालिम, सैनिक अभ्यास, उच्च तहका भ्रमण तथा सैन्य आदानप्रदान दुई देशबीचको सम्बन्धका नियमित आयाम हुन् ।

तर, नेपालमा पछिल्लो समय विकसित राजनीतिक परिस्थिति, भारत–चीन सम्बन्धको बदलिँदो रणनीतिक परिवेश र काठमाडौंमा देखिएको नयाँ राजनीतिक समीकरणका कारण भारतीय सेनाध्यक्षको भ्रमणले सैन्य क्षेत्रभन्दा बाहिर पनि अर्थ राख्ने विश्लेषण भइरहेको छ ।

Share News