‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
गलकोट । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब ३४ करोड रुपैयाँ लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख रुपैयाँ र दोस्रो चरणमा साढे दुई करोड गरी तीन करोड २० लाख रुपैयाँको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै ७० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ’, उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।’ गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख रुपैयाँ बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । रासस
प्रोटन इमास सेभेनको पान नेपाल भ्रमण सुरु
काठमाडौं । विद्युतीय कार (ईभी) प्रोटन इमास सेभेनले बुधबार काठमाडौंबाट आफ्नो इमास सेभेन पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास सेभेन भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने जनाइएको छ । भ्रमणले इमास सेभेनको नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन नगरी दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ । प्रोटन इमास सेभेनको भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारीसाधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री यो भ्रमणले ग्राहकहरूसँगको सम्बन्ध बलियो बनाउने बताए । प्रोटोन इमास सेभेनको टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमास सेभेन दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटन इमास सेभेन मलेसियामा गत डिसेम्बरमा लन्च भएकाे थियाे । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि इमास सेभेन इभी लन्च गर्ने तयारी गरेको छ । इमास सेभेन प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेका छन् । इमास सेभेनले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको कम्पनीले जनाएकाे छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ । शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।
बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा
काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् । उनले भने, ‘काम गर्दा तपाईंहरूले केवल बैंकिङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।’ थापाले बैंकिङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भने, ‘बैंकिङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भइ जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’ उनले प्रविधिको प्रभाव र यसको महत्त्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैंकिङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताए । ‘यदि तपाईं बैंकिङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनु पर्छ । यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने । थापाको भनाइ अनुसार बैंकिङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।
डुन्डाई आयोनिक फाइभ एन टीए स्पेकले ‘अट्याक सुकुबा २०२५’ मा राख्यो कीर्तिमान
काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एन टाइम अट्याक स्पेकले ‘अट्याक सुकुबा २०२५’ मोटरस्पोर्ट प्रतियोगितामा नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो विद्युतीय सवारीसाधन (ईभी) बन्न सफल भएको छ । जापानको इबाराकी प्रिफेक्चरस्थित प्रसिद्ध सुकुबा सर्किटमा फेब्रुअरी १५ मा आयोजित यो प्रतियोगिता ईभी प्रदर्शनको लागि चुनौतीपूर्ण मानिन्छ । हुन्डाई एनले यस प्रतियोगितामा आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेल प्रवेश गराएको थियो, जसलाई जापानी पेशेवर चालक नोबुतेरु तानिगुचीले ड्राइभ गरेका थिए । तानिगुचीले भने, ‘अट्याक सुकुबा २०२५ मा हुन्डाई आयोनिक फाइभ एन टाइम अट्याक स्पेक ड्राइभ गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । यसले मेरो अघिल्लो ईभी कीर्तिमानलाई तोड्न मद्दत गर्यो । आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेलको ब्रेकिङ क्षमता उत्कृष्ट छ, कारको नियन्त्रण अति नै राम्रो छ ।’ विद्युतीय मोटरस्पोर्टको विजेता आयोनिक फाइभ एन टाइम अट्याक स्पेक जुन आयोनिक फाइभ एनको मोटरस्पोर्ट संस्करण हो, यसअघि नै धेरै सफलता प्राप्त गरिसकेको छ । यो कारले २०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब (पीपीआईएचसी) मा परिमार्जित उत्पादन श्रेणीको इलेक्ट्रिक एसयूभी कोटामा विजयी हुँदै नयाँ कीर्तिमान बनाएको थियो । यो गाडी मुख्य रूपमा उत्पादन–श्रेणीको आयोनिक फाइभ एनकै विशेषताहरू प्रदर्शन गर्न डिजाइन गरिएको हो । यसको उच्च–प्रदर्शन पावर इलेक्ट्रोनिक्स (पीई) प्रणाली यथावत राखिएको छ, तर सफ्टवेयर ट्युनिङमार्फत यसको अधिकतम शक्ति ६८७ पीएससम्म बढाइएको छ । हुन्डाईको ईभी प्रविधिमा छलाङ यो सफलता हुन्डाईको विद्युतीय सवारी प्रविधिमा भएको प्रगतिको संकेत हो । हुन्डाई मोबिलिटी जापानले हालै जापानी बजारमा इन्स्टर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै आफ्नो ईभी पोर्टफोलियो विस्तार गरेको छ । आयोनिक फाइभ एन डीके इडिसन – भविष्यको नयाँ संस्करण हुन्डाई मोबिलिटी जापानले हालै आयोनिक फाइभ एन डीके इडिसन नामक नयाँ शो–कार प्रदर्शन गर्यो । यो कार जापानी अटोमोबाइल कम्पनी अटोबाक्स सेभेन र जापानी रेसिङ दिग्गज केइचि त्सुचियासँगको सहकार्यमा विकसित गरिएको हो । हुन्डाई एनले डीके इडिसनको एन परफर्मेन्स पाट्र्स बजारमा ल्याउने योजना बनाएको छ ।
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरु
काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको छ। भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख सुरु गरिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको बताए ।उनले विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘यी अभिलेखहरु अहिले नहुँदाखेरि अथवा यी अभिलेखहरु भौतिकरुपमा रहँदा खेरि कतिपय अभिलेखहरु नष्ट हुने, हराउने ढुसी लाग्ने जनताले हैरानी भोग्नुपर्ने अनि भौतिक रुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरु छन् ।’ कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए। विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ । कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताए । जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनीकै हुने भएकाले सरकारी बाँकी सरह असुल गर्न सकिने उनको भनाइ छ ।
५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
म्याग्दी । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । ‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ’, उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएका छाैँ ।’ विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिनेछ । बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म रु एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ । रासस
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पु¥याउने बताए । महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए । प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे । ‘काठमाडौं महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको बारेमा स्कुलका नानिबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ,’ उनले भने । महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागि गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए ।
ट्रेकिङ व्यवसायमा अनुभव नै योग्यता, एकद्वार प्रणाली अति आवश्यक
नेपालको ट्रेकिङ व्यवसायमा अहिले धेरै परिवर्तन आइसकेको छ । ३० वर्षपछिको ट्रेकिङ व्यवसायलाई नियाल्दा प्रविधि, सुरक्षा, सुविधा व्यवस्थापनलगायका हिसाबले निकै आधुनिक बन्दै गएको छ । जसले आज यो व्यवसायलाई थप सहज, सुरक्षित र दिगो बनाएको छ । हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा आजजस्तो सहज वातावरण थिएन । प्रविधिको प्रयोग आजजस्तो छ्यापछ्याप्ती पनि भइसकेको थिएन । अहिलेजस्तो सामाजिक सञ्जालको प्रयोग पनि थिएन । सञ्चारको रूपमा रेडियो नै प्रचलित थियो । त्यतिबेला ट्रेकिङमा जाँदा कागजको नक्सामा भर पर्नुपर्थ्यो । तर अहिले मोबाइल इन्टरनेट, जीपीएस गुगल म्याप प्रयोग गर्न सक्छौं । त्यतिबेला हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा टेन्टमा बस्नु पर्ने बाध्यता थियो । सुरक्षाको हिसाबले जोखिमपूर्ण नै थियो । विशेषगरी महिला, वृद्ध तथा बालबालिकालाई जोखिम थियो । अहिले ट्रेकिङमा जाँदा लज र टी-हाउसहरूले राम्रो सुविधा दिइरहेका छन् । टेन्टमा बस्दा जथाभावी रुख काट्ने, फोहर फाल्ने, प्लाष्टिकको प्रयोग बढी हुन्थ्यो । अहिल वातावरणमैत्री ट्रेकिङको अवधारणाको विकास भइसकेको छ । त्यतिबेला दुई जना विदेशी लिएर ट्रेकिङ जानुपर्यो भने भारी बोक्ने, गाइड, किचन हेल्परसहित १२/१४ जनाको समूह नै चाहिन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । अहिले ट्रेकिङ व्यवसाय सुविधाजनक हुँदै गएको छ । ट्रेकिङ बुकिङ प्रमोशन र ट्रेकिङ प्याकेजहरू अनलाइनमार्फत सजिलै गर्न सकिने सुविधा छ । बाटो, पुल, रेष्टुरेन्ट तथा लज, होटलहहरूको संख्या बढ्दै गएको छ । जसले यो व्यवसायलाई थप सुविधाजनक र व्यवस्थित बनाएको छ । ३० वर्षअघि नेपाल भित्रिने पर्यटकमा विविधता थिएन । सीमित देशहरूबाट मात्रै पर्यटक नेपाल भित्रिन्थ्यो । अहिले विभिन्न मुलुकबाट पर्यटक भित्रिन्छन् । पर्यटकको रोजाइमा पनि विविधता छ । पहिले साहसिक ट्रेकिङमा आउने पर्यटक धेरै हुन्थे । अहिले त्यो मात्रै नभएर फरक-फरक जस्तै पारिवारिक ट्रेकिङ, विलासी ट्रेकिङ सुरु भइसकेको छ । त्यस्तै फरक-फरक उद्देश्य बोकेर पर्यटकहरू नेपाल आउन थालेका छन् । कुनै पर्यटक हिमाल चढ्न, कुनै ट्रेकिङ त कुनै धार्मिक स्थल घुम्नलगाय विभिन्न उद्देश्यले नेपाल आउँछन्। त्यस्तै, ३० वर्षअघि ट्रेकिङमा जाँदा स्वास्थ्यमा तलमाथि केही भइहाल्यो भने आकस्मिक उद्धार गर्न गाह्रो हुन्थ्यो । तर अहिले हवाई तथा सडकको पूर्वाधार देशैभरि पुगेको छ । अहिले हेलिकोप्टरबाट आकस्मिक रेस्क्यू गर्न सकिन्छ । प्राथमिक उपचारको लागि नजिकै स्वास्थ्य संस्थाहरू पनि उपलब्ध भइसकेका छन् । वातावरण संरक्षण गर्ने उद्देश्यसहित कम्पनी दर्ता ३० वर्षअघिको ट्रेकिङ क्याटरिङ सिस्टमबाट हुन्थ्यो । जंगलमै बस्ने, जंगलमै खाने त्यहीबाट निश्चित गन्तव्यसम्म पुगिन्थ्यो । त्यसरी यात्रा गर्दा रुखहरू मासिने, जताततै फोहर फैलिएको आफैले अनुभव गरें । यसरी जंगलको विनाश, जभाभावी फोहर नगरौं भन्ने उद्देश्यसहित पर्यावरणीय ट्रेकिङ कम्पनी दर्ता गर्याैं । सुरुमा हामी चार/ पाँच जना साथीहरू मिलेर संस्था दर्ता गर्यौं । धेरैले यो संस्थालाई एनजीओ/आइएनजीओ संस्था भनेर बुझ्ने गरेका छन् । एनजीओ/आइएनीओ नभएर व्यावसायीक रूपमै हामीले संस्था दर्ता गरेका हौं । वन तथा वातावरण, हिमालको संरक्षण, सम्वद्र्धन, विकास र स्थानीय समुदायलाई सचेतना जगाउने उद्देश्यसहित संस्था दर्ता गरेर सञ्चालन गर्यौं । त्यसभन्दा अगाडि कसैले पनि पर्यावरणसम्बन्धी कम्पनी दर्ता गरेको थिएन । यो नै नेपालको पहिलो पर्यावरणीय कम्पनी हो । हामीले संस्था दर्ता गरेर विभिन्न जनचेतना जगाउने क्याम्पेन सञ्चालन गर्याैं । पर्यावरणको संरक्षण, ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्जले पारेको असरबारे जनचेतना जगाउने काम गर्याैं । विस्तारै मानिसहरूमा जनचेतना फैलिँदै गयो । पर्यटनबाट राम्रो आयर्जन गर्न सकिन्छ भनेर मान्छेहरूले विस्तारै बुझ्न थालेसँगै बोटविरुवाको संरक्षण गर्नतिर लागे । त्यतिबेला हामीले संस्था नै दर्ता गरेर चलाएको अभियानले ट्रेकिङ व्यवसायमा ठूलो परिवर्तन आएको छ । अहिले गर्व महसुस हुन्छ । हामीले कम्पनी खुलेपछि अन्य कम्पनीहरू पनि खुले । अहिले त यो व्यवसायमा आवश्यकताभन्दा बढी कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् । हाम्रो पालामा कम्पनीको लाइसेन्स लिन निकै गाह्रो अवस्था थियो । बहुदल आएपछि संस्था ऐन खुकुलो भएपछि कम्पनी खुल्न सहज भयो । जसले गर्दा कम्पनी दर्ता र सञ्चालन हुने क्रम बढ्यो । अनुभवकै आधारमा अँगाल्न सकिने व्यवसाय नेपालको अर्थतन्त्र माथि उठ्ने भनेको यही पर्यटन, हाइड्रोले नै हो । यिनीहरू एकअर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । त्यसमा पनि हाम्रो टुरिजम व्यवसाय सय रुपैयाँ कमाउनेदेखि सय अर्बसम्म कमाउनेलाई काम लाग्ने पेशा हो । ट्रेकिङ व्यवसाय गर्नको लागि डिग्री हासिल गर्नैपर्छ भन्ने हुँदैन । यहाँ सात कक्षा पढेदेखि पीचएचडी पढेकासम्मले व्यवसाय गर्न सक्छन् । यसमा कुनै बन्धेज छैन । यो अनुभवको आधारमा गर्ने व्यवसाय हो । नपढीकन हुँदैन भन्ने जुन मान्छेको बुझाइ छ त्यो गलत हो । यो व्यवसाय गर्नको लागि अनुभवका साथसाथै विभिन्न ठाउँ र देशको भाषा जान्नुपर्छ । विभिन्न हिमालदेखि लिएर ठाउँहरूसँग परिचित हुनुपर्छ । नेपाल पर्वतारोहण संघले समयसमयमा हिमालसम्बन्धी तालिम दिँदै आएको छ । संघले पर्वतारोहीका लागि पाठ्यक्रम नै तयार गरेको छ । ट्रेकिङ व्यवसायमा प्रवेश गर्न चाहनेले यस्ता तालिममा सहभागी भएर आफूलाई थप परिष्कृत बनाउन सक्छन् । यसबाहेक सरकार तथा स्थानीय तहले यो क्षेत्रको लागि बजेटको व्यवस्था गर्दिनुपर्छ । पर्यटन मन्त्रालयले पदयात्रा मार्ग आदिका लागि बजेट विनियोजन गरेको हुन्छ । यो पर्याप्त छैन । नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगार वृद्धि हुनुका साथसाथै अन्य विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पर्न जान्छ । पर्यटन राम्रो भएपछि कृषि उत्पादन बढ्छ । नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सके नेपालीहरू विदेशमा काम खोज्दै जानुपर्ने बाध्यतामा पनि कमी आउँछ । विश्वको धेरै जनसंख्या भएका भारत र चीनबाट पर्यटक भित्र्याउन सके हाम्रो नेपाल कहाँ पुग्छ ? पर्यटनमा पैसा नै पैसा छ । यसैले यो क्षेत्रको प्रवद्धनको लागि सरकारले ध्यान दिनुपर्छ । यसका लागि हामीले समयसमयमा सरकारसँग लबिङ गर्दै आएका छौं । यसैगरी, पर्वतारोहण क्षेत्रमा शेर्पा, गुरुङ, तामाङ अनि राईहरूको महत्त्वपूर्ण भूमिका छ । उनीहरूले ज्यान नै जाेखिममा राखेर पर्वताराेहण क्षेत्रमा सेवा दिँदै आइरहेका छन् । हामीले उनीहरूको याेगदान भुल्नु हुँदैन । पर्यटनमा एकद्वार प्रणाली आवश्यक हामीले सरकारलाई पर्यटनमा एकद्वार प्रणाली बनाइदेऊ भन्दै आएका छौं । त्यस्तै, जति पनि लुकेर बसेका हिमालहरू, पदयात्रा मार्गहरू खोल्देऊ भनेका छौं । नयाँ हिमालहरू खोलेर मात्र हुँदैन, हिमाल खुला गरेसँगै उक्त क्षेत्रमा पर्यटक पुग्नको लागि सरकारले पूर्वाधारको विकास गर्नुपर्छ । त्यस क्षेत्रको प्रचारप्रसार प्रवर्द्धनमा सरकारले नयाँ ढंगबाट काम गर्नुपर्छ । धेरैको बुझाइ नेपालको पर्यटकीय क्षेत्र काठमाडौं, पोखरा, लुम्बिनी मात्रै भनेर बुझ्ने गरेको छ । त्यति मात्रै होइन । नेपालले देश नै पर्यटकीय क्षेत्र भनेर नीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ । त्यसो गर्न सके यहाँ वार्षिक ११ लाख हैन, करोडौं पर्यटक भित्रिन्छन् । नेपालमा लगानीमैत्री वातावारण छैन । युवाहरू विदेश पलायन हुने क्रम रोकिएको छैन । सरकारले ती विदेश पलायन भएका युवालाई स्वदेशमै बसेर आयआर्जन गर्ने वातावरण गर्दिनुपर्छ । यो क्षेत्रमा व्यवसाय गर्न चाहने युवाहरूलाई राज्यले सहुलियत प्रदान गर्नुपर्छ । सरकारले अनावश्यक लागू गरेका भ्याट खारेज गर्नुपर्छ । पछिल्लो समय कम्पनीहरूको सख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ । त्यसले कसैलाई राम्रो गर्दैन । ट्रेकिङ व्यवसायलाई व्यवस्थित बनाउन सरकार निजी क्षेत्र व्यवसाय एक जुट भएर लाग्नुपर्छ । सबै विदेशी पर्यटकहरू हिमाल चढ्न भनेर मात्रै आउँदैनन् । फरक-फरक उद्देश्यसहित नेपाल आएका ती सबै पर्यटकलाई समेट्नुपर्छ । नेपालमात्रै यस्तो देश हो, जहाँ असंख्य हिमशृंखला, पहाड, पर्वत, धर्मसंस्कृतिले भरिपूर्ण छ । पशुपति, लुम्बिनी, मुक्तिनाथजस्ता अनेकौं धार्मिकस्थल छन् । ती सबैको प्रवर्द्धन जरुरी छ । हामीले पर्याप्त पर्यटन प्रवर्द्धन गर्न सकेका छैनौं । हाम्रा प्रचार यही नजिक भारतमा समेत पुग्न सकेको छैन । नेपाललको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा पुग्नेगरी गर्नुपर्छ । (पहिलो पर्यावरण ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वताराेहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेसँग विकासन्युजकी बविता तामाङले गरेको कुराकानीमा आधारित)