काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् ।
उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन गरेको जानकारी दिए ।
‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्युको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो,' उनले भने, 'त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रुपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’
मन्त्री गुरुङले हिमाली देशहरु जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेण्डा स्थापित गर्ने विश्वास व्यक्त गरे ।