ट्रेकिङ व्यवसायमा अनुभव नै योग्यता, एकद्वार प्रणाली अति आवश्यक
नेपालको ट्रेकिङ व्यवसायमा अहिले धेरै परिवर्तन आइसकेको छ । ३० वर्षपछिको ट्रेकिङ व्यवसायलाई नियाल्दा प्रविधि, सुरक्षा, सुविधा व्यवस्थापनलगायका हिसाबले निकै आधुनिक बन्दै गएको छ । जसले आज यो व्यवसायलाई थप सहज, सुरक्षित र दिगो बनाएको छ । हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा आजजस्तो सहज वातावरण थिएन । प्रविधिको प्रयोग आजजस्तो छ्यापछ्याप्ती पनि भइसकेको थिएन । अहिलेजस्तो सामाजिक सञ्जालको प्रयोग पनि थिएन । सञ्चारको रूपमा रेडियो नै प्रचलित थियो । त्यतिबेला ट्रेकिङमा जाँदा कागजको नक्सामा भर पर्नुपर्थ्यो । तर अहिले मोबाइल इन्टरनेट, जीपीएस गुगल म्याप प्रयोग गर्न सक्छौं । त्यतिबेला हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा टेन्टमा बस्नु पर्ने बाध्यता थियो । सुरक्षाको हिसाबले जोखिमपूर्ण नै थियो । विशेषगरी महिला, वृद्ध तथा बालबालिकालाई जोखिम थियो । अहिले ट्रेकिङमा जाँदा लज र टी-हाउसहरूले राम्रो सुविधा दिइरहेका छन् । टेन्टमा बस्दा जथाभावी रुख काट्ने, फोहर फाल्ने, प्लाष्टिकको प्रयोग बढी हुन्थ्यो । अहिल वातावरणमैत्री ट्रेकिङको अवधारणाको विकास भइसकेको छ । त्यतिबेला दुई जना विदेशी लिएर ट्रेकिङ जानुपर्यो भने भारी बोक्ने, गाइड, किचन हेल्परसहित १२/१४ जनाको समूह नै चाहिन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । अहिले ट्रेकिङ व्यवसाय सुविधाजनक हुँदै गएको छ । ट्रेकिङ बुकिङ प्रमोशन र ट्रेकिङ प्याकेजहरू अनलाइनमार्फत सजिलै गर्न सकिने सुविधा छ । बाटो, पुल, रेष्टुरेन्ट तथा लज, होटलहहरूको संख्या बढ्दै गएको छ । जसले यो व्यवसायलाई थप सुविधाजनक र व्यवस्थित बनाएको छ । ३० वर्षअघि नेपाल भित्रिने पर्यटकमा विविधता थिएन । सीमित देशहरूबाट मात्रै पर्यटक नेपाल भित्रिन्थ्यो । अहिले विभिन्न मुलुकबाट पर्यटक भित्रिन्छन् । पर्यटकको रोजाइमा पनि विविधता छ । पहिले साहसिक ट्रेकिङमा आउने पर्यटक धेरै हुन्थे । अहिले त्यो मात्रै नभएर फरक-फरक जस्तै पारिवारिक ट्रेकिङ, विलासी ट्रेकिङ सुरु भइसकेको छ । त्यस्तै फरक-फरक उद्देश्य बोकेर पर्यटकहरू नेपाल आउन थालेका छन् । कुनै पर्यटक हिमाल चढ्न, कुनै ट्रेकिङ त कुनै धार्मिक स्थल घुम्नलगाय विभिन्न उद्देश्यले नेपाल आउँछन्। त्यस्तै, ३० वर्षअघि ट्रेकिङमा जाँदा स्वास्थ्यमा तलमाथि केही भइहाल्यो भने आकस्मिक उद्धार गर्न गाह्रो हुन्थ्यो । तर अहिले हवाई तथा सडकको पूर्वाधार देशैभरि पुगेको छ । अहिले हेलिकोप्टरबाट आकस्मिक रेस्क्यू गर्न सकिन्छ । प्राथमिक उपचारको लागि नजिकै स्वास्थ्य संस्थाहरू पनि उपलब्ध भइसकेका छन् । वातावरण संरक्षण गर्ने उद्देश्यसहित कम्पनी दर्ता ३० वर्षअघिको ट्रेकिङ क्याटरिङ सिस्टमबाट हुन्थ्यो । जंगलमै बस्ने, जंगलमै खाने त्यहीबाट निश्चित गन्तव्यसम्म पुगिन्थ्यो । त्यसरी यात्रा गर्दा रुखहरू मासिने, जताततै फोहर फैलिएको आफैले अनुभव गरें । यसरी जंगलको विनाश, जभाभावी फोहर नगरौं भन्ने उद्देश्यसहित पर्यावरणीय ट्रेकिङ कम्पनी दर्ता गर्याैं । सुरुमा हामी चार/ पाँच जना साथीहरू मिलेर संस्था दर्ता गर्यौं । धेरैले यो संस्थालाई एनजीओ/आइएनजीओ संस्था भनेर बुझ्ने गरेका छन् । एनजीओ/आइएनीओ नभएर व्यावसायीक रूपमै हामीले संस्था दर्ता गरेका हौं । वन तथा वातावरण, हिमालको संरक्षण, सम्वद्र्धन, विकास र स्थानीय समुदायलाई सचेतना जगाउने उद्देश्यसहित संस्था दर्ता गरेर सञ्चालन गर्यौं । त्यसभन्दा अगाडि कसैले पनि पर्यावरणसम्बन्धी कम्पनी दर्ता गरेको थिएन । यो नै नेपालको पहिलो पर्यावरणीय कम्पनी हो । हामीले संस्था दर्ता गरेर विभिन्न जनचेतना जगाउने क्याम्पेन सञ्चालन गर्याैं । पर्यावरणको संरक्षण, ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्जले पारेको असरबारे जनचेतना जगाउने काम गर्याैं । विस्तारै मानिसहरूमा जनचेतना फैलिँदै गयो । पर्यटनबाट राम्रो आयर्जन गर्न सकिन्छ भनेर मान्छेहरूले विस्तारै बुझ्न थालेसँगै बोटविरुवाको संरक्षण गर्नतिर लागे । त्यतिबेला हामीले संस्था नै दर्ता गरेर चलाएको अभियानले ट्रेकिङ व्यवसायमा ठूलो परिवर्तन आएको छ । अहिले गर्व महसुस हुन्छ । हामीले कम्पनी खुलेपछि अन्य कम्पनीहरू पनि खुले । अहिले त यो व्यवसायमा आवश्यकताभन्दा बढी कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् । हाम्रो पालामा कम्पनीको लाइसेन्स लिन निकै गाह्रो अवस्था थियो । बहुदल आएपछि संस्था ऐन खुकुलो भएपछि कम्पनी खुल्न सहज भयो । जसले गर्दा कम्पनी दर्ता र सञ्चालन हुने क्रम बढ्यो । अनुभवकै आधारमा अँगाल्न सकिने व्यवसाय नेपालको अर्थतन्त्र माथि उठ्ने भनेको यही पर्यटन, हाइड्रोले नै हो । यिनीहरू एकअर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । त्यसमा पनि हाम्रो टुरिजम व्यवसाय सय रुपैयाँ कमाउनेदेखि सय अर्बसम्म कमाउनेलाई काम लाग्ने पेशा हो । ट्रेकिङ व्यवसाय गर्नको लागि डिग्री हासिल गर्नैपर्छ भन्ने हुँदैन । यहाँ सात कक्षा पढेदेखि पीचएचडी पढेकासम्मले व्यवसाय गर्न सक्छन् । यसमा कुनै बन्धेज छैन । यो अनुभवको आधारमा गर्ने व्यवसाय हो । नपढीकन हुँदैन भन्ने जुन मान्छेको बुझाइ छ त्यो गलत हो । यो व्यवसाय गर्नको लागि अनुभवका साथसाथै विभिन्न ठाउँ र देशको भाषा जान्नुपर्छ । विभिन्न हिमालदेखि लिएर ठाउँहरूसँग परिचित हुनुपर्छ । नेपाल पर्वतारोहण संघले समयसमयमा हिमालसम्बन्धी तालिम दिँदै आएको छ । संघले पर्वतारोहीका लागि पाठ्यक्रम नै तयार गरेको छ । ट्रेकिङ व्यवसायमा प्रवेश गर्न चाहनेले यस्ता तालिममा सहभागी भएर आफूलाई थप परिष्कृत बनाउन सक्छन् । यसबाहेक सरकार तथा स्थानीय तहले यो क्षेत्रको लागि बजेटको व्यवस्था गर्दिनुपर्छ । पर्यटन मन्त्रालयले पदयात्रा मार्ग आदिका लागि बजेट विनियोजन गरेको हुन्छ । यो पर्याप्त छैन । नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगार वृद्धि हुनुका साथसाथै अन्य विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पर्न जान्छ । पर्यटन राम्रो भएपछि कृषि उत्पादन बढ्छ । नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सके नेपालीहरू विदेशमा काम खोज्दै जानुपर्ने बाध्यतामा पनि कमी आउँछ । विश्वको धेरै जनसंख्या भएका भारत र चीनबाट पर्यटक भित्र्याउन सके हाम्रो नेपाल कहाँ पुग्छ ? पर्यटनमा पैसा नै पैसा छ । यसैले यो क्षेत्रको प्रवद्धनको लागि सरकारले ध्यान दिनुपर्छ । यसका लागि हामीले समयसमयमा सरकारसँग लबिङ गर्दै आएका छौं । यसैगरी, पर्वतारोहण क्षेत्रमा शेर्पा, गुरुङ, तामाङ अनि राईहरूको महत्त्वपूर्ण भूमिका छ । उनीहरूले ज्यान नै जाेखिममा राखेर पर्वताराेहण क्षेत्रमा सेवा दिँदै आइरहेका छन् । हामीले उनीहरूको याेगदान भुल्नु हुँदैन । पर्यटनमा एकद्वार प्रणाली आवश्यक हामीले सरकारलाई पर्यटनमा एकद्वार प्रणाली बनाइदेऊ भन्दै आएका छौं । त्यस्तै, जति पनि लुकेर बसेका हिमालहरू, पदयात्रा मार्गहरू खोल्देऊ भनेका छौं । नयाँ हिमालहरू खोलेर मात्र हुँदैन, हिमाल खुला गरेसँगै उक्त क्षेत्रमा पर्यटक पुग्नको लागि सरकारले पूर्वाधारको विकास गर्नुपर्छ । त्यस क्षेत्रको प्रचारप्रसार प्रवर्द्धनमा सरकारले नयाँ ढंगबाट काम गर्नुपर्छ । धेरैको बुझाइ नेपालको पर्यटकीय क्षेत्र काठमाडौं, पोखरा, लुम्बिनी मात्रै भनेर बुझ्ने गरेको छ । त्यति मात्रै होइन । नेपालले देश नै पर्यटकीय क्षेत्र भनेर नीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ । त्यसो गर्न सके यहाँ वार्षिक ११ लाख हैन, करोडौं पर्यटक भित्रिन्छन् । नेपालमा लगानीमैत्री वातावारण छैन । युवाहरू विदेश पलायन हुने क्रम रोकिएको छैन । सरकारले ती विदेश पलायन भएका युवालाई स्वदेशमै बसेर आयआर्जन गर्ने वातावरण गर्दिनुपर्छ । यो क्षेत्रमा व्यवसाय गर्न चाहने युवाहरूलाई राज्यले सहुलियत प्रदान गर्नुपर्छ । सरकारले अनावश्यक लागू गरेका भ्याट खारेज गर्नुपर्छ । पछिल्लो समय कम्पनीहरूको सख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ । त्यसले कसैलाई राम्रो गर्दैन । ट्रेकिङ व्यवसायलाई व्यवस्थित बनाउन सरकार निजी क्षेत्र व्यवसाय एक जुट भएर लाग्नुपर्छ । सबै विदेशी पर्यटकहरू हिमाल चढ्न भनेर मात्रै आउँदैनन् । फरक-फरक उद्देश्यसहित नेपाल आएका ती सबै पर्यटकलाई समेट्नुपर्छ । नेपालमात्रै यस्तो देश हो, जहाँ असंख्य हिमशृंखला, पहाड, पर्वत, धर्मसंस्कृतिले भरिपूर्ण छ । पशुपति, लुम्बिनी, मुक्तिनाथजस्ता अनेकौं धार्मिकस्थल छन् । ती सबैको प्रवर्द्धन जरुरी छ । हामीले पर्याप्त पर्यटन प्रवर्द्धन गर्न सकेका छैनौं । हाम्रा प्रचार यही नजिक भारतमा समेत पुग्न सकेको छैन । नेपाललको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा पुग्नेगरी गर्नुपर्छ । (पहिलो पर्यावरण ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वताराेहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेसँग विकासन्युजकी बविता तामाङले गरेको कुराकानीमा आधारित)
मनाइयो ७५ औं प्रजातन्त्र दिवस (तस्बिरहरू)
काठमाडौं । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाले २०८१ व्यानर अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपालबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रश्तुत गरिएको थियो ।
शिवम सिमेन्टले सरकारलाई तिर्यो ८६ लाख जरिवाना, ड्यामेज भएको विनयी पुल छिट्टै मर्मत हुने
काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रौं भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ । एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालले जानकारी दिए । उनका अनुसार शिवम सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको छ । गत पुस २६ गते गह्रौं भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए । उपमहानिर्देशक खनालले भने, ‘पुल भाँचिएपछि अध्ययन गर्न मेरै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । हामीले पुलबारे प्रतिवेदन पठाइसक्यौं । अनुसन्धानमा पुल मर्मत गर्नुपर्ने देखियो । पुल मर्मत गर्न झण्डै ९० लाख खर्च लाग्ने भएपछि सो रकम क्षतिपूर्तिका रूपमा तिराएका हौं ।’ ८६ लाख रुपैयाँले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन उपमहानिर्देशक खनालको भनाइ छ । उनले सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको बताए । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । क्षतिपूर्ति तिरेसँगै अब पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए । उनले भने, ‘हाल ड्यामेज भएको ठाउँमा मर्मत गर्ने गरी तयारी भइरहेको छ । काम अब मर्मतको छिट्टै अघि बढ्छ । लगभग डिजाइनको काम सकिसकेको छ ।’ कोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए। जीर्ण अवस्थामा रहेका यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा आइरहेका छन् । ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?
मनकामना हार्डवेयरको सातौं शाखा सतुंगलमा
काठमाडौं । मनकामना ग्रुपअन्तर्गतको मनकामना हार्डवेयर एण्ड सप्लायर्सको सातौं शाखा काठमाडौंको सतुंगलमा खुलेको छ । सतुंगलको शाखा जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवालले उद्घाटन गरे । अध्यक्ष अग्रवालले नयाँ शाखाबाट हार्डवेयरका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइने जानकारी दिए । यस शाखाले उपत्यकाभरिका होलसेल तथा खुद्रा दुबै वर्गका ग्राहकलाई सेवा दिने जनाइएको छ । मनकामना हार्डवेयरका सञ्चालक रामप्रसाद झाङले आजबाट काठमाडाैं, भक्तपुर, धादिङ, नुवाकाेट आधार मानेर त्यहाका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताकाे लागि याे ब्रान्च सुरू गरिएकाे जानकारी दिए । सञ्चालक सज्जन कुमार अग्रवालले हाम्राे याे शाखा बिस्तारले काठमाडाैं आसपासकाे ग्राहकहरूलाई अत्यन्त सहज र सजिलाे हुने बताए । उद्घाटन समारोहमा अम्बे स्टील्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशाेक स्टील्स इन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गाेयल स्टील्स, ह्वासिन सिमेन्ट, हाेङसी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक राेलिङ मिल्स प्रालि, हुलास आइरन, मारुती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्वाेत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील, गाेयंका स्टिल, युनाइटेड सिमेन्ट तगायतका अन्य विभिन्न उद्याेगका प्रमुख र प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूकाे उपस्थिति रहेकाे । यस अगाडि मनकामना हार्डवेयरले बनेपा, नारायणघाट, सिन्धुली बजार, बर्दिबास, भकुण्डेबेसी र थलीकाे शाखाबाट सेवा दिँदै आएको थियो ।
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
रामपुर । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ । पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो । शिक्षालाई समयानकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए । ‘पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ’, उनले भने । रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्वपूर्ण भूमिका रहेको बताए । रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन् । कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए । क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ ।
आर्थिक समस्याका कारण अस्ताए डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी
काठमाडौं । गत शनिबार बिहान डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जोशी अमरगढी नगरपालिका-२ कुस्मालीमा मृत भेटिएका हुन् । जोशीले आर्थिक समस्याका कारण कीटनाशक औषधी सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत बिहीवार बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार मात्रै परिवारले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घरबाट फागुन १ गते बजार जान्छु भनेर हिँडेका जोशी डडेल्धुराको बागबजारबाट सम्पर्कविहीन भएका थिए । शनिबार अपराहन्न ४ बजेतिर प्रहरीले खोजतलास गर्ने क्रममा भुइँमा घोप्टो परेको अवस्थामा जोशी सैपाल मन्दिर छेउमै मृत भेटिए । उनको साथमा कीटनाशक औषधी ५०५ नम्बरको डिब्बा भेटिएको प्रहरी निरीक्षक बमले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा आफैले आत्महत्या गरेको खुलेको उनको भनाइ छ । उनले भने ,‘पोष्टमार्टम गर्यौं । सामान्य रिपोर्ट आएको छ । बाहिरी शरीरमा कुनै चोटपटक थिएन । भिसेराका लागि नेपालगञ्ज पठाएका छौं । त्यसको रिपोर्ट आउन बाँकी छ । परिवारले लास बुझिसकेको छ ।’ परिवारले जाहेरी दिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिररहेको प्रहरी निरीक्षक बमको भनाइ छ । उद्योग वाणिज्य संघ डडेल्धुराका अनुसार जोशीको घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आर्थिक समस्याका कारण त्यही दिनदेखि उनी मानसिक तनावमा थिए । पारिवारिक समस्या केही नभएको तर आफूले साेंचेअनुसारको आर्थिक अवस्था नभएकाले जोशी मानसिक तनावमा रहेको उद्योग वाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावलले विकासन्युजलाई बताए । उनले भने, ‘घरमा ८४ को दान कार्यक्रम चलिरहेको थियो । आफूले सोंचेअनुसारको आर्थिक अवस्था भएन । उक्त कार्यक्रममा भाइहरूले लगानी लगाएका र उहाँसँग पैसा नभएर मनमा केही खट्कियो होला । इच्छा हुँदाहुँदै पनि उहाँले लगानी गर्न सक्नुभएन अनि दिग्दारी महसुस गर्नुभयो होला । आफ्ना समस्याहरू मनभित्रै खेलाउने बाहिर नदेखाउने उहाँको स्वभाव थियो ।’ जोशीको व्यापार व्यवसाय कोरोनाकालदेखि केही खस्किएको र त्यही तनावले पनि उनी आत्महत्याको अवस्थामा पुगेको हुन सक्ने रावलले बताए । जोशीका दाइभाइहरू सबै सम्पन्न रहेका र आफूले सोंचेअनुसारको व्यापार नहुनाले पनि आत्महत्या गरेको हुनसक्ने रावलले बताए । रावलका अनुसार जोशी गाउँमा ज्योतिषको काम पनि गर्ने गर्थे । गाउँमा अरूलाई पनि अर्ती उपदेश दिने गर्थे । सबैलाई सहयोग गर्थे । मिलनसार र भद्रभलामीका रूपमा समेत चिनिने उनले केही दिनअघि मात्रै ‘यो संसारबाट म पनि जान्छु’ भन्दै आएका थिए । उनले त्यो दिन रक्सी पिएका थिए । प्रमुख रावल स्वमं पनि घटनास्थलमा पुगेका थिए । उनले कीटनाशक औषधीको डब्बा फेला परेको ठाउँबाट करिब ६/७ मिटर पर जोशीको शव भेटिएको जानकारी दिए । सुसाइड नोट प्रमुख रावलका अनुसार जोशीको सोसाइड नोट भेटिएको छ । जोशीले सुसाइड नोटमा लेखेका छन्, ‘मेरो घरपरिवारबाट त्यस्तो केही थिएन । जिन्दगीभर मदिरा पिएर हिँडें । सही बाटो हिँडिँन । यो दोष कसैलाई छैन । दाइभाइहरूले मलाई हेपे । मेरो कान्छो छोरा एकदम कमजोर छ, उसलाई हेरिदिनुहोला । म यो संसारबाट जाँदैछु ।’ पूराना व्यवसायी जोशी जोशी अमरगढी २ भेल निवासी एक पुराना व्यवसायी हुन् । उनी ज्योतिषसँगै विभिन्न व्यवसायमा आवद्ध थिए । उनको पुस्तक पसल, हार्डवेयर फर्निचर र ग्रिलको पसल रहेको जनाइएको छ । परिवारमा उनका आमा, श्रीमती, ३ छोरा १ छोरी रहेका छन् । जोशीको जन्म विसं २०२३ भदो १५ गते भएको थियो । उनले २०५३ देखि ६० सम्म ७ वर्षसम्म उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्ष भएर काम गरेका थिए । उद्योग वाणिज्य संघमा उनको महत्त्वपूर्ण योगदान रहेको रावल बताउँछन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत आवद्ध थिए । कमल थापाका खास मान्छे र पार्टीको जिल्ला संयोजक भएर काम गरेको स्थानीय बताउँछन्। जोशीका तीन छोरामध्ये जेठा छोरा व्यवसाय गर्छन् भने माहिला काठमाडौंमा इन्जिनियर छन् । यस्तै, कान्छा छोरा अमेरिकामा छन् । जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा र उद्योग वाणिज्य संघको झण्डा ओडाएर शवयात्रा गर्दै आइतबार सेती नदीमा दाहसंस्कार गरिएको छ । पछिल्लो समय पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकटजस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकरात्मक निर्णयले यस्ता घटनाहरू बढिरहेका देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्छन्।
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । ‘लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ’, प्रधानमन्त्रीले भने, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।’ प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए । लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’ उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरेका छन् । ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए । उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए । फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए । ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो’, उनले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।’ जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताए । ‘निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ?’, उनले भने, ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।’ फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ । ‘आजको दिन प्रजातन्त्र स्थापनाको सङ्घर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस सङ्घर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो’, उनले भने । प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए । उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफुसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ । ‘गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गर्ने योजना बनाईंदैछ’, खत्रीले भने । काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो । यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रबद्र्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाईबाले बताए । उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ ।