विकासन्युज

क्रेस्ट माइक्रोले फागुन २२ गतेदेखि आईपीओ बिक्री गर्ने, १० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आज सेयरधनी बने विशाल बजारको १४ प्रतिशत लाभांश पाउने

काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ । यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिनेछ । सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ ।  

एनएमबि हाईब्रिड फण्ड एल-२ मा आवेदन दिने आज अन्तिम दिन

ठमाडौं । एनएमबि क्यापिटलको एनएमबि हाईब्रिड फण्ड एल-२ मा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । माघ २४ गतेदेखि क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ बिक्री खुला गरेको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल-२ बन्दमुखी योजनाको १० वर्ष अवधि तोकिएको छ । फण्डले १५ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । उक्त फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाइदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साथै उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।

नेको इन्स्योरेन्सको हकप्रद सेयर आजदेखि बिक्री खुला, ४ कित्ता हुनेले नयाँ १ कित्ता पाउने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

स्वाइन फिभरले बङ्गुर मरेपछि ओसारपसारमा रोक, साढे १३ हजार किसान चिन्तित

काठमाडौं । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँ जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार-पसारमा प्रतिबन्ध लगाइएको उनले बताए । डा चौधरीले भने, ‘केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।’ यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ । उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताए ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षा हुने, यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले जनाएको छ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

नबिल स्टक डिलरको नाफा ८६ प्रतिशत बढ्यो,

काठमाडौं । नबिल बैंकको पूर्ण स्वामित्व रहेको नबिल स्टक डिलर कम्पनी ऐन २०६३ बमोजिम ४ श्रावण २०७८ मा धितोपत्र एजेन्टको रूपमा काम गर्ने उद्देश्य लिएर स्थापना भएको कम्पनी हो । कम्पनीको कार्यालय आइ.जे प्लाजा, दरबारमार्ग, काठमाडौंमा रहेको छ । नबिल स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा १७ करोड १२ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा २ करोड ७९ लाख २७ हजार रुपैयाँ कर्मचारी सुविधाबापत खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ लाख ५८ हजार रुपैयाँ मात्रै कर्मचारी सुविधा खर्च गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १११.७ प्रतिशत बढेर २० करोड ९५ लाख ४३ हजार रुपैयाँ गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी १२१.३ प्रतिशत बढेर २१ करोड ९१ लाख ४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ८६ प्रतिशत बढेर ११ करोड १३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ करोड ९८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ७.३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३.९४ रुपैयाँ थियो ।

प्रकृति लम्साल प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् भारतीय मन्त्रीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गरेकी छन् । टेलिफोन संवादका क्रममा मन्त्री राणाले सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सो फोनवार्तामा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरिएको जानकारी गराएका थिए । साथै उनले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै ‘हटलाइन’को व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइने जानकारी मन्त्री डा देउवालाई गराएका थिए। त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा छात्रावासमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि दिएका थिए । कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट रहेको र यो सम्बन्धलाई आगामी दिनमा थप सुमधुर बनाउँदै लगिने बता‍एका थिए । सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जनाइएको छ । मङ्गलबारमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका थिए भने भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका थिए । केआईआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए