गगन र विश्वलाई दीपकले भने - जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पराजित भएकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरेका हुन् । नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले कांग्रेसलाई कमजोर बनाएको भन्दै यस्तै गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पुर्याउन मुख्य भूमिका खेलेको उनको आरोप छ। पार्टीभित्रको विवाद र जनमतबारे स्पष्ट पार्दै उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै खड्काले आगामी पाँच वर्षसम्म साङ्गठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिएका छन् । उनले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रहसमेत गरेका छन् ।
लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन् । लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् । उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ। बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरवलोकन गर्ने काम भइरहेको छ ।’ स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताइन् । उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यथावत रहेको बताइन् । तथ्यांकअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ । तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’को अभावका विषयमा मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि नै देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन् । केही अस्पताल र सैनिक क्याम्पहरूमा मौज्दात कमी भए पनि पूर्ण रूपमा अभाव हुन नदिने उनले बताइन् ।
वर्तमान सरकार कामचलाउ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सरकारलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए । वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत उल्लेख गरे । उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’
प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताए । उनले भने, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’ उनले देशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरे । नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएकाले प्रवासी नेपालीलाई लगानी गर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे ।
४ बैंकको वितरणयोग्य नाफा ३६.१० अर्ब ऋणात्मक, औसत लाभांश क्षमता १३.४२ प्रतिशत
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सबैभन्दा बढी ऋणात्मक वितरणयोग्य नाफा एनआईसी एसिया बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । १६ बैंकको वितरणयोग्य नाफा धनात्मक समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंकको ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ। माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत नाफामा सुधार भएसँगै वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता गत आर्थिक वर्ष २०८२/८३ मा १३.४२ प्रतिशत पुगेको छ । तर, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), हिमालयन बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ। बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । त्यस्तै, सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ भने सानिमा बैंकको २०.८५ प्रतिशत रहेको छ । नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ । नेपाल बैंकको लाभांश क्षमता १५.८४ प्रतिशत रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ । प्राइम बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ भने एनएमबी बैंकको ९.०८ प्रतिशत रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ । त्यसैगरी, सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ भने कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ ।
भन्सार जाँचबिनै ल्याइएका ८ कन्टेनर मुस्ताङमा पक्राउ
काठमाडौं । प्रहरीले भन्सार जाँचबिनै सिल लगाएर ल्याइएका आठ वटा कन्टेनर मुस्ताङबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट शनिबार दिउँसो करिब १२ बजे खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोमस्थित पर्यटक चेकपोस्टमा सवारीसाधन जाँच गरेको थियो । जाँचका क्रममा विभिन्न कन्टेनरका कागजपत्र परीक्षण तथा चालकसँग सोधपुछ गर्दा ती सवारीसाधन भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा ना.६ ख ४७४१ नम्बरका कन्टेनर चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ नम्बरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ र बा.प्र.०१–००६ ख २२४८ नम्बरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत रहेका छन् । त्यस्तै, बा.प्र.०१–००६ ख ६२७३ नम्बरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली, ना.३ ख ७१६० नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ नम्बरका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।
वैदेशिक रोजगारीमा जानेलाई ३० लाख बढी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् । पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका- १६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार अधिकारी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा रहेका फरार एक जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी ४० वर्षीय तुलप्रसाद अधिकारी पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भएको छ । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका- ९ काँडाघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।