शेखर गोल्छा सीआईबीको हिरासतमै
काठमाडौं । व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ । गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो । गोल्छाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीमाथि बीमा ऐन, २०७९ अनुसार अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले विकासन्युजलाई जानकारी दिए । ‘सर्वोच्चको आदेशअनुसार धितोपत्र ऐन अनुसार उहाँसँग धरौटी लियौं,’ उनले भने । प्रहरीले गोल्छाविरुद्ध बीमा ऐन अनुसार कसुर भएको भन्दै पक्राउ अनुमति लिएको थियो । सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो । शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका बिचौलिया दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको हो । व्यवसायी गोल्छालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
इजाजतबिना साहसिक खेल सञ्चालन गर्न नपाइने
काठमाडौं । इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन नगर्न पर्यटन विभागले निर्देशन दिएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा इजाजतबिना यस्ता खेल सञ्चालन भइरहेको गुनासो प्राप्त भएपछि विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ । विभागका अनुसार वञ्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप लाइन, जिप कोष्टर, जेट स्की, मोटरबोट लगायतका खेल सञ्चालन गर्दा कानूनबमोजिम दर्ता तथा इजाजत अनिवार्य गर्नुपर्ने बताईएको छ । पर्यटन ऐन, २०३५ को दफा ४५ क तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९३ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालनका लागि सम्बन्धित संस्था वा कम्पनीलाई इजाजत दिने अधिकार पर्यटन विभागलाई छ । त्यस्तै विभागले इजाजतबिना सञ्चालन भइरहेका यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ । साथै, इजाजत नलिई सञ्चालन गरिरहेका संस्था तथा कम्पनीलाई ३० दिनभित्र आवश्यक कागजातसहित विभागमा सम्पर्क गरी विभागले अनुरोध गरेको छ ।
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । यो टावरबाट फक्ताङलुङ गाउँपालिकासहितका नागरिक लाभान्वित हुने बताइएको छ ।
पोखरा–भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको कूटनीतिक पहल आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हासिल गरेका अधिकांश उपलब्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महासंघको कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल सकिन लाग्दा उनले पर्यटन क्षेत्रको सुधारका लागि आफूले विभिन्न सरकारी निकायसँग निरन्तर समन्वय र पहल गरेको बताएका हुन् । बस्नेतलाई २०८० जेठमा महासंघका अध्यक्ष चन्द्र ढकालले पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनयन गरेका थिए । त्यसयता उनले पर्यटन क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग तथा मातहतका निकायसँग पटकपटक छलफल गरेको जानकारी दिएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने विषयलाई महासंघमार्फत निरन्तर उठाउँदै आएको बताए। उनका अनुसार सरकारले ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विभिन्न सहुलियत योजना ल्याए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । ‘अब नयाँ सरकारले यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रभावकारी कूटनीतिक पहल गर्नेमा हामी आशावादी छौं,’ बस्नेतले भने । बस्नेतले पर्यटन ऐन संशोधन, होटल व्यवसायलाई उद्योगसरहको सुविधा प्रदान गर्ने व्यवस्था तथा हवाई टिकटमा लगाइएको भ्याटसम्बन्धी प्रावधान पुनरावलोकनका विषयमा पनि सरकारसँग निरन्तर आवाज उठाएको बताएका छन् । उनका अनुसार अघिल्लो सरकारले होटल व्यवसायलाई उद्योगसरहको मान्यता दिने निर्णय गरिसकेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अझै आवश्यक रहेको छ । उनले नेपाललाई युरोपेली मुलुकसँग सिधा हवाई सम्पर्कमार्फत जोड्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली आकाशलाई ईयूको कालोसूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण सहित सरकारको सार्थक पहल आवश्यक रहेको धारणा व्यक्त गरे । त्यसैगरी, नेपाल पर्यटन बोर्ड मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी ब्राण्डिङ गर्न निजी क्षेत्रको समेत सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ । बस्नेतले आफ्नो कार्यकालमा सहयोग गर्ने महासंघका पदाधिकारी, उपसभापति तथा समिति सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन् । उनले उपसभापति अच्युत शर्मा गुरागाइँ र निलहरी बाँस्तोलासहित सदस्यहरू शिव अधिकारी, कुलप्रसाद न्यौपाने, सिर्जना श्रेष्ठ नेपाली, सचिन ढकाल, रमेश थापा र विनायक शाहप्रति आभार व्यक्त गरेका हुन् । त्यस्तै, सल्लाहकारहरू शशिकान्त अग्रवाल, बिक्रम पाण्डे तथा हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.धनञ्जय रेग्मीलाई पनि उनले महत्वपूर्ण सुझाव र सहयोगका लागि धन्यवाद दिएका छन् । आगामी दिनमा पनि नेपालको निजी क्षेत्रको विकास र विस्तारका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै बस्नेतले उद्योगी–व्यवसायीहरूको साथ, सहयोग र समर्थन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वका लागि मतदान सुरु, महासंघमा दुई समूहबीच कडा प्रतिस्पर्धा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबारदेखि सुरु भएको साधारणसभाले पदाधिकारी तथा सदस्य चयन गर्ने प्रक्रिया अघि बढाएको हो । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि मतदान प्रक्रिया जारी रहेको छ । मतदान कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ । महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदमा प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष पदमध्ये जिल्ला–नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् । यस निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् । निर्वाचन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन सुरु भइसकेको छ भने अन्तिम परिणाम बुधबार सार्वजनिक गरिने महासंघले जनाएको छ । यसपटकको निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको हो । श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् । त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।
दूरसञ्चार ठगी प्रकरणमा सर्बेश जोशी पक्राउ
काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा सर्बेश जोशी पक्राउ परेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार 'स्मार्ट टेलिकम प्रालि' ले दूरसञ्चार सेवा सञ्चालनका लागि लिएको अनुमतिपत्र समयमै नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो । सोपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना तथा सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो । यसैबीच, नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले कार्य गरेको आरोपमा काठमाडौं महानगरपालिका–२ खुर्सानीटार बस्ने ४५ वर्षीय जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई वैशाख २१ गते काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप अन्त्य गरेरै छाड्ने बालेन अडान
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका 'स्लिपर सेल' जस्तै बनेको टिप्पणी गरेका छन् । उनले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढ्दा प्रणालीप्रति जनविश्वास कमजोर बनेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई प्रणाली सुधारका लागि लिएको उनले स्पष्ट पारे । प्रधानमन्त्री शाहले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने निर्णयले अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गरे। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्ने उनले बताए । उनका अनुसार विद्यार्थीले राजनीति सभ्यता, विचार र जिम्मेवारीसहित सिक्नुपर्ने र कर्मचारीले जनताको सेवा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिइएको छ । उनले यो कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको स्पष्ट पारे । सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने प्रयास गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तन भाषणले नभई निर्णयबाट आउने भएकाले जनताको साथ र विश्वास आवश्यक रहेको बताएका छन् ।
मंगलबार यस्तो छ कृषिउपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली ज्यापू प्रतिकिलो रु १००, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ११०, मकै बोडी प्रतिकिलो रु ८५, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु १००, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु १३०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।