काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताए ।
उनले भने, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’
उनले देशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरे । नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएकाले प्रवासी नेपालीलाई लगानी गर्न उनले आग्रह गरे ।
मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे ।