विकासन्युज

‘१५ औँ महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।   शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् । नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे । आगामी १५ औँ महाधिवेशनको प्रसंगमा बोल्दै कोइरालाले नेता डा. शेखर कोईरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे । उनले थप स्पष्ट पार्दै सभापतिमा  शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताए ।  उनले भने, ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ । सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु । नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’ पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै डा. कोइरालाले अब काँग्रेसले सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए ।  संविधान प्राप्त भइसकेको अवस्थामा अबको मूल लक्ष्य विकास हुनुपर्ने उनको तर्क छ । 

पोखरामा ६ करोडका लक्जरियस बस भित्रिए, बसभित्रै चिया-कफी र शौचालयको सुविधा

काठमाडौं । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ ।  कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरे । पोखरा आफैँमा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । यहाँबाट मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधा सम्पन्न यातायात सेवाले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ । लामो समयदेखि यात्रुहरूको प्रतिक्षाको विषय बनेको यो सेवा विशेष सुविधाहरू सहित सञ्चालनमा आउन लागेको हो । कम्पनीका अध्यक्ष टीकाराम अधिकारीकाअनुसार नयाँ सञ्चालनमा आउने बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय (वासरुम), चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । यात्रुहरूबाट सेवा सञ्चालनका सम्बन्धमा बारम्बार सोधपुछ भइरहेकाले आगामी भदौ ३ गतेलाई सेवा प्रारम्भ गर्ने आधिकारिक मिति तय गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गरेका छन् ।  उनले भने, ‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले नेपालको पर्यटकीय राजधानी पोखराबाट काठमाडौंका लागि शुरु भएको यो सेवा नेपालकै मात्र नभई एशियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे । प्रतिसवारी साधन करिव २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए । सिटौलाले अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ । संघीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ । अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ ।’ उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। उनले पोसाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अपनाउन कर्मचारीहरूलाई आग्रह गरे ।   साथै, उनले कार्यक्षेत्रमा खटिएका चालक र सहचालकको सुरक्षाको विषयमा राज्य गम्भीर हुनुपर्ने माग राखे । सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न प्रहरी वा ट्राफिक प्रहरीलाई सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

गगन र विश्वलाई दीपकले भने - जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।  काठमाडौंमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पराजित भएकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरेका हुन् । नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले कांग्रेसलाई कमजोर बनाएको भन्दै यस्तै गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउन मुख्य भूमिका खेलेको उनको आरोप छ। पार्टीभित्रको विवाद र जनमतबारे स्पष्ट पार्दै उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै खड्काले आगामी पाँच वर्षसम्म साङ्गठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिएका छन् । उनले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रहसमेत गरेका छन् ।

लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन् । लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् । उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ। बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरवलोकन गर्ने काम भइरहेको छ ।’ स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताइन् । उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यथावत रहेको बताइन् । तथ्यांकअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ । तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’को अभावका विषयमा मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि नै देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन् । केही अस्पताल र सैनिक क्याम्पहरूमा मौज्दात कमी भए पनि पूर्ण रूपमा अभाव हुन नदिने उनले बताइन् ।

वर्तमान सरकार कामचलाउ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सरकारलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए । वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत उल्लेख गरे । उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’

प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताए । उनले भने, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’   उनले देशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरे । नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएकाले प्रवासी नेपालीलाई लगानी गर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे ।  

४ बैंकको वितरणयोग्य नाफा ३६.१० अर्ब ऋणात्मक, औसत लाभांश क्षमता १३.४२ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सबैभन्दा बढी ऋणात्मक वितरणयोग्य नाफा एनआईसी एसिया बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । १६ बैंकको वितरणयोग्य नाफा धनात्मक समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंकको ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ।  त्यस्तै, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ।  माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत नाफामा सुधार भएसँगै वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता गत आर्थिक वर्ष २०८२/८३ मा १३.४२ प्रतिशत पुगेको छ । तर, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), हिमालयन बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ। बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । त्यस्तै, सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ भने सानिमा बैंकको २०.८५ प्रतिशत रहेको छ ।  नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ । नेपाल बैंकको लाभांश क्षमता १५.८४ प्रतिशत रहेको छ ।  त्यसैगरी, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ । प्राइम बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ भने एनएमबी बैंकको ९.०८ प्रतिशत रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ । त्यसैगरी, सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ भने कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ ।     

भन्सार जाँचबिनै ल्याइएका ८ कन्टेनर मुस्ताङमा पक्राउ

काठमाडौं । प्रहरीले भन्सार जाँचबिनै सिल लगाएर ल्याइएका आठ वटा कन्टेनर मुस्ताङबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट शनिबार दिउँसो करिब १२ बजे खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोमस्थित पर्यटक चेकपोस्टमा सवारीसाधन जाँच गरेको थियो । जाँचका क्रममा विभिन्न कन्टेनरका कागजपत्र परीक्षण तथा चालकसँग सोधपुछ गर्दा ती सवारीसाधन भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा ना.६ ख ४७४१ नम्बरका कन्टेनर चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ नम्बरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ र बा.प्र.०१–००६ ख २२४८ नम्बरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत रहेका छन् । त्यस्तै, बा.प्र.०१–००६ ख ६२७३ नम्बरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली, ना.३ ख ७१६० नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ नम्बरका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।