नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे । उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए । टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जन भन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । समिट बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । बिहीबार यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए । मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ । साथै मेलामा महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने छन् । विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमूना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमूना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् । महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताए । उनका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् । विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य छ । महानगरपालिकाले सञ्चालन गरेका यी कार्यक्रमलाई लक्षित समुदाय, वर्ग र व्यक्तिसम्म पुर्याउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
ईयूबाट आयात हुने वस्तुमा अमेरिकाले २५ प्रतिशत कर बढाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली संघ (ईयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् । ‘युरोपेली युनियनको गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।’ ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं, त्यसलाई चाँडै नघोषणा गर्नेछौं, करवृद्धि २५ प्रतिशत हुनेछ,’ उनले भने । युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, ‘युरोपेली संघ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ ।’ इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिने पनि बताएको छ । हालैका साताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पु¥याएको छ । अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन् । एजेन्सी
एक अर्ब ५० करोड डलरको क्रिप्टो चोरीको आरोप, हालसम्मकै बढी
काठमाडौं । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो । ‘उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एक अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो,’ एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ । ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ । ‘उनीहरू दु्रत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटकोइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्,’ ब्युरोले भनेको छ, ‘यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।’ उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो । उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो । सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदन अनुसार, त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर-युद्ध एकाइ बनेको छ जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ । एजेन्सी ।
दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भैरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’ ल्याब क्षमता वृद्धि निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’ डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’ अस्पतालको सफाइका लागि काम शुरु वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’ डा. गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।
भीआईपी व्यवसायीको हायर पर्चेज व्यापार : कसलाई नाफा, कसलाई घाटा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरेको छ । हायर पर्चेज कम्पनीमा पनि ठूलो परिमाणको कारोबार तथा लेनदेन हुने भएकोले राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो । आज हामीले हायर पर्चेज कम्पनीमा आवद्ध व्यवसायी र ती कम्पनीको आम्दानी तथा नाफा केलाउने प्रयास गरेका छौं । नेपाल राष्ट्र बैंकका अनुसार १० वटा हायर पर्चेज कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका छन् । त्यसमध्ये हामीले सात वटा हायर पर्चेज कम्पनीको आम्दानी तथा व्यापार प्रस्तुत गरेका छौं । अग्नी हायर पर्चेज प्रा.लि सन् २०१४ मा स्थापित अग्नी हायर पर्चेज कम्पनीको आम्दानी ८३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा १ करोड ५० लाख आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले १ अर्ब ५० करोड ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको कम्पनीको सन् २०२४ मा ४१ करोड ४० लाख रुपैयाँ रहेको पुगेको छ । क्याबिनेट श्रेष्ठ । यस कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिको कुल सञ्चालन आम्दानी ५६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कुल ४३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको यस कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । चन्द्रप्रसाद ढकाल । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । हुलास फिनसर्भ हायर पर्चेज हुलास फिनसर्भ हायर पर्चेजको सञ्चालन आम्दानी पनि सामान्य वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीको सञ्चालन आम्दानी क्रमशः ६१ करोड ३० लाख र ५२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख र सन् २०२५ को सुरुवातमा कम्पनीको नेटवर्थ १ अर्ब २९ करोड ७० लाख रुपैयाँ पुगेको छ । हुलास फिनसर्भ हायर पर्चेजमा गोल्छा समूहको लगानी छ । जसको स्थापना सन् २०१२ मा भएको थियो । शेखर गोल्छा । सुरुमा हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको नाममा स्थापना भएको कम्पनी सन् २०२१ मा नाम परिवर्तन भएर हुलास फिनसर्भ हायर पर्चेज प्रालि राखेको थियो । कम्पनीमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको ८५ प्रतिशत सेयर रहको छ । बाँकी १५ प्रतिशत सेयर अन्य ६ वटा सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । सन् २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको नेटवथृ सन् २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । विष्णुकुमार अग्रवाल । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी हायर पर्चेज प्रालिको कुल आम्दानी १८ प्रतिशतले घटेको छ । सन् २०२३ मा ३० करोड ९० लाख कुल आम्दानी आर्जन गरेको कम्पनीले सन् २०२४ मा २५ करोड ४० लाख मात्र आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीले क्रमशः ३३ करोड र ३२ करोड ५० लाख आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ पनि घटेको छ । सन् २०२३ मा ८४ करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेकोमा सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् १९९१ मा ओम्नी प्राइभेट लिमिटेडको रूपमा स्थापित यस कम्पनीले सन् २०२३ मा नाम परिवर्तन गरेर ओम्नी हायर पर्चेज प्राइभेट लिमिटेड राखेको थियो । यो कम्पनी ओम्नी ग्रुपको हो । कम्पनीमा तीन वटा सेयरधनीको लगानी छ । आत्मा राम काबरा ४५ प्रतिशत, हरी नारायण काबराको ४५ प्रतिशत र सन्दीप कुमार मोहतको१० प्रतिशत सेयर स्वामित्व यस कम्पनीमा छ । सिप्रदी हायर पर्चेज सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२४ को ९ महिनासम्म ४० करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको देखिएको छ । सन् २०२३ मा कम्पनीको यस्तो आम्दानी ५२ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२१ र सन् २०२२ मा कम्पनीको कुल आम्दानी क्रमशः ७७ करोड १० लाख र ६७ करोड ८० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ भने वृद्धि भएको छ । सन् २०२० मा ७३ करोड, सन् २०२१ मा ७८ करोड ४० लाख, सन् २०२२ मा ९२ करोड ३० लाख, सन् २०२३ मा ९४ करोड र सन् २०२५ मा ९६ करोड आम्दानी कम्पनीले गरेको छ । सिद्धार्थ राणा । ४ अर्ब १० करोड ऋणका लागि कम्पनीले रेटिङ गराएको छ । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । कम्पनीको अध्यक्ष सिद्धार्थ राणा हुन् । स्याकर हायर पर्चेज कम्पनी ज्योति ग्रपको लगानी रहेको स्याकर हायर पर्चेजले स्याकर ट्रेडिङ कम्पनीमार्फत् काम गरिरहेको छ । स्याकर हायर पर्चेजको मात्रै आम्दानी सार्वजनिक नभए पनि स्याकर ट्रेडिङको भने आम्दानी सार्वजनिक भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्याकर ट्रेडिङ कम्पनीले सन् २०२४ मा ४ अर्ब ९५ करोड ८० लाख रुपौयाँको सञ्चालन आम्दानी गरेको छ भने सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाखर सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । सौरभ ज्योति । तर, यो आम्दानी स्याकर हायर पर्चेजको मात्रै होइन । यो समग्र स्याकर ट्रेडिङको हो । जसले होण्डाका मोटरसाइकल बिक्री गर्दै आएको छ । यस कम्पनीको नेतृत्व सौरभ ज्योतिले गरिरहेका छन् । हायर पर्चेज कम्पनीको व्यापार विगतको तुलनामा औसतमा केही सुधार देखिएको छ । हुलास फिनसर्भ हायर पर्चेज प्रालिका महाप्रबन्धक समिर ठाकुर अटोमोबाइल्स क्षेत्रमा पछिल्लो वर्षमा केही सुधार देखिएकाले हायर पर्चेजको आम्दानी पनि वृद्धि हुन पुगेको बताउँछन् । हुलास हायर पर्चेजको हकमा कम्पनीले रेट र फोर्टफोलियो पनि वृद्धि गरेकाले आम्दानी वृद्धि हुन पुगेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले अघिल्ला वर्षहरुको तुलनामा धेरै सवारी साधनका लागि फाइनान्सिङ गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
मौद्रिक नीति समीक्षाबारे नाडा : ईभी प्रयोगमा कमी आउने, व्यवसायी मर्कामा पर्ने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण विद्युतीय सवारी साधन (ईभी) को प्रयोगमा कमी आउने बताएको छ । नाडाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ईभीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झारेको बताएको छ । । समीक्षा अघि ईभीको ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत थियो । ‘नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विगतको समय देखि नै विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिने नाडाले बताएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघिकै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न नाडाले माग गरेको छ । सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउनका लागि राष्ट्र बैंकलाई अनुरोध गर्दै आएको थियो । राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भए तापनि नाडाले थप अपेक्षा राखेको थियो । विद्युतीय सवारी साधनहरुको सम्बन्धमा पनि सोही व्यवस्था गरिदा विद्युतीय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको नाडाले बताएको छ ।