विकासन्युज

स्रोतको चापमा १९ खर्बको बजेट ल्याउने गृहकार्यमा अर्थमन्त्री, अनुदान कटौतीपछि विकल्प खोज्दै

काठमाडौं । स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ। अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजस्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका छन् । यद्यपी यो बजेट सिलिङ चालु बजेटभन्दा ठूलो हो । सरकारले यो आर्थिक वर्षका १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत झण्डै २ खर्ब रुपैयाँले घटाएका थिए । चालु बजेट अहिलेसम्म ७ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । अहिले बजेट घाटा १ खर्ब २२ अर्ब रुपैयाँ माथि पुगेको छ । सरकारले ७ खर्ब ९० खर्च रुपैयाँ गर्दा फागुन १३ गतेसम्म जम्मा ६ खर्ब ६८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यसरी सरकारी खर्च र आम्दानीको अन्तर ठूलो मात्रमा बढ्दै जाँदा सरकारलाई आगामी बजेट बनाउन समेत चुनौतिपूर्ण बन्दै गएको हो । अधिकारीहरुकाअनुसार आगामी बजेट निर्माणको तयारीमा जुटेका अर्थ मन्त्रालयका अधिकारीहरुअनुसार यसपटक पनि सरकारले मनशुनजन्य प्रभावमा ठूलो बजेट छुट्याउनुपर्ने स्थिति छ । अनिवार्य दायित्व अन्तगर्त पेन्सन, वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक ऋणको दायित्वमा ठूलो बजेट जाँदैछ । लामोसमयदेखि निर्माण पूरा हुन नसकेका रुपान्तरणकारी योजनादेखि राष्ट्रिय गौरवका आयोजनामा बजेटको ठूलो अंश जाँदैछ । सामाजिक सुरक्षातर्फको मात्रै हेर्ने हो भने प्रत्येक वर्ष विकास खर्चभन्दा बढी सामाजिक सुरक्षामा खर्च हुने गरेको छ । बजेटका सामाजिक सुरक्षाको हिस्सा करिव २० प्रतिशत पुगिसकेको छ । त्यसलाई बजेटले सम्बोधन गर्नुपर्नेछ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमा बाँडेर बजेटको तयारीमा लागेको बताए । ‘बजेटको तयारीमा लागेका छौं, योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमै बाँडफाँट भइसकेको छ । अब मन्त्रालयहरुले त्यही सिलिङमा रहेर आ-आफ्नो मन्त्रालयको योजना तथा कार्यक्रमहरु तयार गर्नुपर्ने हुन्छ,’ उनले भने । अमेरिकाले दिने अनुदान कटौती गरिरहे बजेटमा झन् ठूलो स्रोतको चाप पर्ने उनको भनाइ छ । यद्यपि, अर्थ मन्त्रालयले अमेरिकी त्यस्तो सहायताको विकल्प भने खोज्ने नै छ । आगामी वर्षका लागि योजना आयोगले दिएको १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र वैदेशिक ऋण ३० प्रतिशतले वृद्धि गर्ने सरकारको लक्ष्य छ । पछिल्लो समय बजेट घाटा चर्किंदै गएको र वाह्य सहायता लामोसमय कटौती भए स्रोतको पूर्ति गर्नसक्ने सामर्थ्य अहिलेको नेतृत्वले राख्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले भने,’ रिङरोड चाइनाले बनाइदियो, मलेरिया उन्मुलन पनि अमेरिकाले गरिदियो । सामाजिक क्षेत्रमा नेपालले धेरै ठूलो प्रगति गर्‍यो त्यो सबै वैदेशिक अनुदानबाट सम्भव भएको हो । अमेरिकी सहयोगले हाम्रा स्कुल, स्वास्थ्य केन्द्रहरु चलेका छन् । हाम्रा खोपहरुका कार्यक्रम सञ्चालन भइरहेका छन् । तर हामीहरुले बुझिरहेका छैनौं ।’ नेपाललमा रहेको वित्तीय स्रोत पूर्तिका लागि पर्याप्त मात्रमा सहुलियतपूर्ण ऋण लिनुपर्न‍े उनको भनाइ छ । त्यसबाट पूर्वाधार बनाउनेदेखि जलवायु परिवर्तनबाट सिर्जित प्रकोपबाट जुध्न सक्नुपर्छ । छिमेकी मुलुक चीनसँग आवश्यक छलफल गरेर थप सहायतका लागि लर्विङ गर्नुपर्ने उनको भनाइ छ ।

विमानस्थलबाट ४ विदेशी पक्राउ, मलद्वारमा लुकाएर ल्याए झण्डै ४ किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुषबाट उक्त परिमाणमा सुन फेला परेको हो ।  प्रारम्भिक अनुसन्धानमा तस्करी समूहले उनीहरूलाई भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ ।

२ जीवन बीमाको व्यवसाय घट्दा १२ कम्पनीले बढाए, यस्तो छ १४ कम्पनीको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा लेख बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । सात महिनाको अवधिमा संकलन गरेको बीमा शुल्क गत आवको माघ महिनाको तुलनामा ९.७९ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ७८ लाख रुपैयाँले बढी हो । गत आवको माघसम्ममा कम्पनीहरूले विभिन्न बीमा लेखबाट ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले माघसम्ममा २६ अर्ब ५४ लाख रुपैयाँको व्यापार गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार नेपाल लाइफको व्यापार १२.०६ प्रतिशत बढेको छ । गत वर्षको माघ मसान्तसम्ममा २३ अर्ब २० करोड ७४ लाख बीमा शुल्क संकलन गरेको थियो । धेरै व्यापार गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले यस अवधिमा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापार ११.७७ प्रतिशत बढेको देखिन्छ । गत आवको माघमा १० अर्ब ५ करोड २७ लाख व्यापार गरेको थियो । यस्तै, लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी) नेपालले ११ अर्ब १७ करोड ९ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.०९ प्रतिशत बढेको देखिन्छ । गत वर्षको माघमा कम्पनीले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो । गत वर्षको तुलनामा हिमालयन लाइफ इन्स्योरेन्सको व्यापार घटेपनि ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको छ । गत वर्षको माघमा कम्पनीले ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको थियो । यस्तै, सूर्याज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार सिटिजन्स लाइफले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी इन्स्यारेन्सले २ अर्ब ८५ करोड ८९ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणको तथ्याङ्क छ । 

स्वास्थ्य मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । डा. संगीता कौशल मिश्र सचिव बन्दा स्वास्थ्य क्षत्रमा पहिलो महिला सचिव हुनेछिन् ।    

अरनिको राजमार्ग : धुलिखेल-खावा सडकखण्डको ठेक्का रद्द

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो ।  ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो । सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । ‘अब प्रक्रिया पुर्याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ’, कार्यालयका प्रमुख सुमन योगेशले भने । उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो । रासस

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : दोस्रो दिन तोरणको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४–अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११–अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् । धरानका प्रो निरजले दिनकै उत्कृष्ट स्कोर कार्ड निकाले । ५–अन्डर ६७ सहित समग्रमा ८–अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे । समग्रमा २–अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाए । नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जय राम श्रेष्ठ समग्रमा १–अन्डर १४३ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे । भुवनले २–अन्डर ७०, रमेशले १–अन्डर ७१ र जयरामले १–ओभर ७३ को स्कोर दर्ज गरे । पहिलो दिनका लिडर तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । उनले ३–अन्डर ३३ मा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो,सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा १–अन्डर ३५ को स्कोर निकाले । १०औँ र १२ औँ होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औँ, १७औँ र १८औँ होलमा एक/एक सट बचाए । दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले । फ्रन्ट नाइनमा ४–अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सके । यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौँदेखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२औँ होलको बर्डीले ५–अन्डरको स्कोर तयार पार्दै लिडर तोरणलाई दबाब दिएका छन् । एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य इभन– पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन् । आज राहुलले ३–अन्डर ६९ को स्कोर निकाले । दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका उनले आठौँ होलमा बोगी खेपे । फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । यसपछि ११औँ र १२औँ होलमा एक÷एक सट बचाए । ४–पारको १४औँ होलमा इगलको सफलता प्राप्त गरे । तर १३औँ, १६औँ र १७औँ होलको बोगीले ब्याक नाइन १–अन्डर २५ मा पुरा गरे । सदभावले भने इभन–पार ७२ को स्कोर गरे । ३६ होलको समाप्तीमा १३–ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, सुनील केसी,  दीपक मगर, भुबहादुर गुरूङ,  बलभद्र राई, धनबहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिव राम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए । एमेच्योरतर्फ राहुल र सदभावसँगै बाबु पौडेल र कवि थापाले कट बनाए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थानसम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ग्याँसको सिलिण्डर पड्कदा रारास्थित एक होटेलमा आगलागी हुँदा ४ भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ ।

वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्बको वस्तु निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाहुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँबराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ’, उनले भने । वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड रुपैयाँ पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ । तीन अर्ब ९६ करोड रुपैयाँ पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड रुपैयाँ पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । एक अर्ब ६० करोड रुपैयाँ पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।