व्यापारीको लगानी बैंकमा हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् । 

उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे । 

उनले भने, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरूको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ ।’

विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको जानकारी दिए । 

Share News