विकासन्युज

सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ मर्जरमा जाने, जोडि खोज्दै

काठमाडौं । सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मर्जरमा जाने भएको छ । कम्पनीले कुनै उपयुक्त बीमा कम्पनीसँग मर्ज हुने प्रस्ताव अघि सारेको हो । कम्पनीको सञ्चालक समितिले चैत ११ गते विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा गार्डियन माइक्रो लाइफ र अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुन आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।   कम्पनीको सभाले आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा बढाउने र सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको खर्च अनुमोदन गर्नेछ । कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं २०७९ पुस ११ गते दर्ता भई गार्डियन माइक्रो लाइफले बीमा ऐन, २०७९ बमोजिम मिती चैत २७ गते लघु जीवन बिमा व्यवसाय गर्ने इजाजत पत्र प्राप्त गरेको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ्गको विराटनगर महानगरपालिका–७ मा रहेको छ ।

पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो । ‘मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ,’ क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भन्नुभयो, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।’ पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ । मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए । उक्त पदमार्गमा नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भङ्गार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ । ‘देशभरीका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ । हामीले गोरखा भ्रमण बर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ,’ उनले भने । मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भएपनि एकआपसमा जोडेर पर्यटन प्रवर्द्धन गर्न नसकिएको नगरप्रमुख रानामगरको भनाइ छ । पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ । ‘यी दुई मन्दिरका बीच दिदीबहिनीको सम्बन्ध रहेको पाइन्छ,’ नगरप्रमुख रानामगरले भने, ‘मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सबै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहदैँ आएको छ ।

ढोरपाटनमा वर्षासँगै हिमपातहुँदा जनजीवन प्रभावित, किसान भने हर्षित

कठमाडौं । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका-९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकी नै प्रभावित बनेको उनी बताउँछन् । ‘एक/दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो,’ उनले भने । लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ । उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार

काठमाडौं ।  भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।’ प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ, प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग भने । यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,’ बीआरओका कार्यकारी इञ्जिनियरले भने । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत-तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए । उनले भने, ‘चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो, आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।’ बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो । एजेन्सी

भूकम्पमा भाग्दा काठमाडौंमा दुई जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौंमा दुई जना घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् । थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए ।

निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’

कैलाली ।  ‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानबाट आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् । मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकमार्फत कार्यान्वयन भइरहेको छ । बैतडीकै मेलौली नगरपालिका क्षेत्रमा पनि यसको शाखा सञ्चालनमा छ । हुनेखाने सम्पन्न व्यक्ति/संस्थाले सित्तैमा बैंकलाई ओड्ने ओछ्याउने र लगाउने लुगा उपलब्ध गराइरहेका छन् भने नहुने विपन्न व्यक्तिले बैंकमार्फत निःशुल्क लुगा पाइरहेका छन् । मेलौली नगरपालिकास्थित धर्मघर माध्यमिक विद्यालयका शिक्षक लोकराज जोशीले कपडा बैंकले विद्यालयका गरिब एवं विपन्न व्यक्तिका छात्रछात्रा र गाउँका असहाय विपन्न व्यक्तिलाई निःशुल्क ओड्ने, ओछ्याउने, लगाउने लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए । स्थानीय गोपालदत्त भट्टले गरिब, दिनदुःखीको सेवाका लागि खोलिएको कपडा बैंक मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । कपडा बैंक सञ्चालक महेशदत्त भट्टले झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकबाट यो अवधिमा गरिब एवं अतिविपन्न नौ सय ७८ परिवारका व्यक्तिलाई कपडा निःशुल्क उपलब्ध गराइएको बताए ।

अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका छन् । ‘अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,’ सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् । ‘अर्थतन्त्र सुधारमा देखिएका समस्याका बावजुद यो पनि स्वीकार गर्नुपर्छ कि असङ्ख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारभूत आधारहरू ठोस रहेका छन्,’ राष्ट्रपति सीले भने । उनले अगाडि भने, ‘दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।’ चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् । प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ । रासस