काठमाडौं । नेत्रहीन युवा संघ काठमाडौंले १५ जना दृष्टिविहीनलाई कम्प्युटर, मोबाइल एप्लिकेसन तथा मोबिलिटी तालिम दिएको छ । नेत्रहीन युवा संघ काठमाडौंले गत वैशाख २६ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन गरेको कार्यक्रम मंगलबार समापन भएको छ । कार्यक्रम १५ दिनसम्म चलेको थियो ।
समापन कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ नेपालका अध्यक्ष शिशिर खनालले पुर्खाहरूले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार लागि संघर्ष तथा चरणवद्ध आन्दोलन गर्दै नेत्रहीन युवा संघ नेपाल स्थापना भएको बताए । उनले समग्र दृष्टिविहीन व्यक्तिहरूको आधार स्तम्भ नै नेपाल नेत्रहीन युवा संघ भएको दाबी गरे। संघसँग परियोजना नहुँदा समेत काम गरिरहेको उनी बताउँछन् ।
अध्यक्ष खनालले भने, ‘परियोजनामार्फत दृष्टिविहीनको अधिकार समावेशीकरण, पुनःस्थापना समावेशी शिक्षा, वकालत, पैरवीलगायतका कामहरू हामीले गरिरहेका छौं । संगठनले दृष्टिविहीनहरूलाई संगठित हुन मात्रै होइन एक अर्कामा अन्तर्निहित हुन सहयोग पुर्याउँछ । यदि आजको दिनमा नेत्रहीन संघ नभएको भए यति धेरै यहाँ व्यक्तिहरू जमघट हुने थिएनन् । यो हाम्रो पिर बिसाउने चौतारी हो । हामीलाई कसैले हप्कायो, दप्कायो, हेला गर्यो भने सतिसाल झै उभिएर प्रतिवाद गर्ने दृष्टिविहीनको अधिकार प्राप्त गराउने संस्था हो ।’
उनले हालसम्म नेत्रहीन युवा संघले ५२ जिल्लामा शाखा विस्तार गरिसकेको बताउँदै तीन हजार ५ सयभन्दा बढी सदस्य रहेको जानकारी दिए । उनले यो संख्या ज्यादै न्यून भएको भन्दै नेत्रहीनले थोरै जिल्लाहरू शाखा विस्तार गरेकोमा अब यो संख्या बढ्ने बताए ।
उनका अनुसार सुरु सुरुमा जिल्लामा १५० देखि १७० जनासम्म मात्रै हुने र त्यसमा पनि फारम भर्नुपर्ने अवस्था थियो । तर अब त्यस्तो नभएको बताउँदै सबै जिल्लाहरूमा संघको शाखा विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले चाँडै अनिवार्य रुपमा नेत्रहीनको सदस्य बन्ने अभियानमा आजदेखि लाग्न आग्रह गरे । संघले यसअघि इन्स्टिच्युटको तिर्दै आएको पैसा अब उपत्यकाभित्र रहेका दृष्टिविहीनको पैसा संघले तिर्ने नसकिने बताउँदै उनले शिक्षक सेवा तथा लोकसेवामा २५/३० जनालाई सुविधा उपलब्ध गराउने जानकारी दिए । नेत्र युवा संघले पछिल्लो समय महत्वपूर्ण काम गरिरहेको उनको दाबी छ ।
सन् १९७८ देखि दिँदै आइरहेको छात्रवृत्ति महिनामा ४४ जनालाई २५ सयका दरले दिँदा एक वर्षको १३ लाखभन्दा बढी हुन आउने उनको भनाइ थियो ।
‘सानो लगानीमा जीविकोपार्जनका लागि बिउविजन उपलब्ध गर्ने सूचना नै प्रकाशित गरेर आवेदन मागेका छौं । यति मात्रै होइन नेपालमै दृष्टिविहीन व्यक्तिहरूका लागि कम्प्युटर सिकाउने संस्था नेपाल नेत्रहीन मात्रै हो । हामीले वर्षको तीन पटक विद्यार्थीलाई कम्प्युटर सिकाउने गरिरहेका छौं । दृष्टिविहीनहरुको संरक्षण, विकास तथा विभिन्न क्षेत्रमा रोजगारी पाउन तथा स्वरोजगार बन्न कम्प्युटरको पाटो महत्वपूर्ण हुँदो रहेछ । हामीले सिकाएको कम्प्युटरमा पूर्णता छैन पर्याप्तता छैन् । तर हामीले भोक जगाउने काम गरेका छौं,’ उनले भने ।
उनले पालिकाहरुबाट ल्यापटप किनि दिनका लागि चार वर्षअगाडि माग गरेको र संघले सिफारिस गरेको तथा पालिकाले उपलब्ध गराएको बताउँदै यसका लागि अबका दिनमा पनि संघबाट हुने सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । संघले विभिन्न सवालहरू तथा मुद्धाहरुमा काम गरिरहेको उनको भनाइ छ । स्थापनाकालदेखि नै अधिकारको वकालत र नेत्रहीनहरूको गुणस्तरीय जीवनका लागि संघर्षरत यो संस्थाले दृष्टिविहीनहरूका क्षेत्रमा अनेक महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनले सुनाए ।
संघको सहयोगमा धेरै नेत्रहीन शिक्षक, कर्मचारी, डाक्टर, वकिल लगायतका विभिन्न क्षेत्रमा रोजगारी पाउन तथा स्वरोजगार बन्न सफल भएका उनको भनाइ थियो ।
यस्तै १५ दिनसम्म चलेको आधारभुत कम्प्यूटर मोबाइल एप्लिकेसन तथा मोबिलिटी तालिममा दृष्टिविहीन विद्यार्थीहरुको लागि कम्प्यूटर मोबाइल एप्लिकेसन सञ्चालनका आधारभूत ज्ञान प्रदान गर्नुको साथै दृष्टिविहीनरुले चलाउने कम्प्युटर सफ्टवेयर मोबाइल एप्लिकेसन तथा मोबिलिटी बाटोमा हिँड्दा कसरी हिँड्ने लगायत विषयमा समेत तालिम प्रदान गरिएको थियो।
नेपाल नेत्रहीन युवा संघ काठमाडौंका अध्यक्ष शिव अग्रवालका अनुसार तालिममा १५ जना दृष्टिविहीन विद्यार्थीहरूको सहभागिता रहेको थियो । तालिममा एसइइ दिएर घरमै बसेका विद्यार्थी तथा स्नातक अध्ययन गरिरहेका दृष्टिविहीनलाई तालिम दिइएको हो ।
कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागी थिए । वागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा भएको तालिम नेपाल नेत्रहीन युवा संघको कार्यालयको भवनमै भएको थियो ।
तालिममा माईक्रोसफ्टव वर्ड, पेजमेकर, एक्सल, पावर पोईन्ट, ईमेल इन्टरनेट, मोबाइल एप्लिकेसनमा एआईको प्रयोग मोबिलिटीमा बाटोमा कसरी हिँड्ने लगायतका बारेमा शिक्षा प्रदान गरिएको थियो ।
दृष्टिविहीन विद्यार्थीहरूले कम्प्युटर तालिम आवाज सुनेर सोही अनुसारको मार्गदर्शन अनुसार सिक्दै आएका समेत अध्यक्ष अग्रवालको भनाइ थियो । उनले आागामी दिनहरुमा पनि संघले दृष्टिविहीनहरुको हकहित तथा अधिकारका विषयमा आवाज उठाइरहने समेत बताए ।
उनले भने, ‘नेत्रहीन युवा संघ काठमाडौंमा हामीले हाल थुप्रै कामहरु गरिरहेका छौं । यसअघि नेत्रहीन युवा संघ काठमाडौं नविकरण नै भएको थिएन् । हाम्रो नयाँ टिम आइसकेपछि यसलाई नविकरण गरेका छौं । दृष्टिविहीनहरुको आवाज बनेर विभिन्न कामहरु गरिरहेका छौं । आगामी दिनहरुमा पनि यी र यस्तै कार्यक्रमका लागि थप पहल गर्ने छौं ।’
यस्तै, उनले कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।