विकासन्युज

ललितपुरमा आजदेखि चिकित्सकसहितको एम्बुलेन्स सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरले सेवा सुरु गरेको हो । सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको बताइन् । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताइन् । ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्न सक्ने भन्दै उनले महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाइन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए । यस्तो सेवा विश्वका सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यसबाट अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन सहज हुने बताए । उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए । महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक बजेट व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा विशेषगरी आपत्कालीन अवस्थाका बिरामीमा केन्द्रित हुनेछ । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पतालमा पुर्‍याउने व्यवस्था गरिएको छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या र कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने बताए । उनले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन आफैँमा चुनौतीपूर्ण भए पनि काम गर्दै सिक्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । सम्झौताअनुसार एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको नगरप्रमुख महर्जनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयमा राख्दै आएको १५ बुँदे मागलाई लिएर सञ्चालन गरेको दबावमूलक कार्यक्रम अन्त्य भएका हुन् । संघले साउन २२ गतेदेखि विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीसँग छलफल भएको थियो । छलफलमा संघले राखेका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ । त्यस्तै, व्यवसायीका अन्य माग तथा समस्याका सम्बन्धमा कानुनबमोजिम थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने मन्त्रालयले उल्लेख गरेको छ ।  विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ ।   छलफलपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजै देखि आफ्ना सम्पूर्ण दबाव मूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा पनि तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् ।  दुवैजना आइतबार साँझ काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले धेरै विदेशी मुद्रा ल्याएकाले पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार जम्मा ५ हजार डलरसम्म मात्र ल्याउन पाइन्छ । ५ हजारभन्दा धेरै रकम देखिएकाले उनीहरू पक्राउ परेका हुन् । उनले केहीबेरमा यसबारे जानकारी दिए पनि बताए । प्रहरीले दुवै कर्मचारीको विवरण भने खुलाएको छैन ।

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्दै

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ भिगो ई२ लाई ‘फुल एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गर्न लागेको जनाएको छ । नयाँ भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने कम्पनीको जनाएको छ । नेपालमा नामी ब्रान्डले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । हालसम्म देशभर २ हजारभन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा रहेका छन् । भिगोले मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायत चुनौतीपूर्ण गन्तव्यमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ । यस्ता यात्राले भिगोलाई भरपर्दो तथा प्रमाणित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि उपयुक्त विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यो मोडल तयार गरिएको कम्पनीले जनाएको छ । भिगो ई२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ ।

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ । ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित समारोह कम्पनीको ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल देशभरका बीमा सल्लाहकारको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापनको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारलाई बधाई तथा शुभकामना दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय वृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्वबारे चर्चा गर्दै सहकार्य र टिमवर्कबाट सफलता हासिल गर्न सकिने बताए । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लब सञ्चालन गरेको छ । क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्ने बीमा सल्लाहकार क्लबको सदस्य बन्न योग्य हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सबै क्लब सदस्य तथा देशभरबाट वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नृत्य प्रस्तुतिसमेत राखिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा जोड दिँदै आएको जनाएको छ । कम्पनीले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रहेको जनाएको छ ।

सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म

काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना कम्पनीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ । योजनाअन्तर्गत ग्राहकले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन् । मोडेलअनुसार सुविधा फरक हुने कम्पनीले जनाएको छ । यो योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेलमा लागू हुनेछ । ‘सुजुकी पर्वोत्सव’ साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । देशभरका सुजुकी शोरूमबाट ग्राहकले योजनाको सुविधा लिन सक्नेछन् । यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा समेत लागू हुनेछ । ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घरमा सम्भाव्यता रहेमा मात्र गरिने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए । उनले सम्भावित ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गरेका छन् । सुजुकी नेपालले प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा देशभरका ४२ अधिकृत आउटलेटमार्फत प्रदान गर्दै आएको जनाएको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त भए/नभएको अवस्था सजिलै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।

१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । आज तोलामा १ हजार ६ सय रुपैयाँ बढी ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको थियो । यससँगै सुनको मूल्य हिजो र आज गरी ५ हजार २ सय रुपैयाँ बढेको छ ।   त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६० रुपैयाँले बढी ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।