विकासन्युज

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका फाइनान्स डिपार्टमेन्टकी पाण्डे र बज्रचार्य डलरसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको फाइनान्स डिपार्टमेन्टका दुई महिला कर्मचारी पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट मलेसिया जान लागेको अवस्थामा प्रहरीले ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डेलाई पक्राउ गरेको हो । आइतबार राति ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट विदेशी मुद्रा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रासहित पक्राउ व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ । बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गेट फेला परेको थियो ।  त्यसैगरी, पाण्डेको साथबाट  ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गेट ​​​​​​​ फेला परेको सिलवालले जानकारी दिए ।

'अदालतको आदेशविपरीत टेलिकमको वीरगञ्ज कार्यालय भत्काइयो'

काठमाडौं । नेपाल टेलिकमले उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काइएको भन्दै आपत्ति जनाएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल नगर्न/नगराउन दिएको अल्पकालीन अन्तरिम आदेशकै बीच सडक डिभिजन कार्यालय हेटौंडाले घण्टाघरनजिक रहेको दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाई साउन २८ गते रिट निवेदन दायर गरेकी थिइन् । त्यसपछि अदालतले साउन २९ गते मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ०८३–डब्लू–००८५ नम्बरको मुद्दामा अदालतले विपक्षीलाई मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनिएको थियो । तर, आदेशपछि पनि सडक डिभिजन कार्यालय हेटौंडाले दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमको आरोप छ । टेलिकमका अनुसार नापी विभागबाट तय गरिएको नक्सांकनभन्दा फरक हुने गरी साउन ३० र ३१ गते दुईवटा स्काभेटर प्रयोग गरेर भवन भत्काइएको हो । अदालतले भदौ ४ गते अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि पेसी तोकेको थियो । साथै, आदेशको जानकारी विपक्षीलाई यथाशीघ्र गराउन निर्देशनसमेत दिएको टेलिकमले जनाएको छ । स्वीकृत मापदण्डभित्र रहेर भवनको संरचना पुनर्निर्माण गर्न आफू प्रतिबद्ध रहेको अवस्थामा एकपक्षीय रूपमा भवन भत्काइएको भन्दै नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । कम्पनीले आगामी दिनमा सम्बन्धित निकायबाट थप समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको कार्यशैली, सरकारका निर्णय तथा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गरेपछि सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् । सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन गर्न निर्देशन दिएका छन् ।  उनले प्रतिनिधिसभाप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक तथा संसदीय व्यवस्थाअनुसार प्रधानमन्त्रीको उपस्थितिलाई महत्त्वपूर्ण रहेको स्पष्ट गरेका छन् ।

सिमेन्ट उद्योगको ३१.३६ अर्बको कारोबार, नाफा २.२६ अर्ब मात्रै

काठमाडौं । पुँजी बजारमा सूचीकृत पाँच सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २६ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी उद्योगहरूको नाफा १५.१० प्रतिशत अर्थात् २९ करोड ७८ लाख रुपैयाँले बढेको हो ।  शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्रिज, सोनापुर मिनरल्स एन्ड आयल, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्टले उक्त नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी उद्योगहरूले १ अर्ब ९७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यद्यपि, गत आर्थिक वर्षमा पाँचमध्ये घोराही सिमेन्ट भने घाटामा रहेको देखिएको छ । पाँचवटै सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा ३१ अर्ब ३६ करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी उद्योगहरूको कुल कारोबार २९ अर्ब ६ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा उद्योगहरूको आम्दानी ७.९० प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सिमेन्ट उद्योगहरूको उत्पादन लागत (कस्ट अफ सेल्स) पनि बढेको छ । गत आर्थिक वर्षमा पाँचवटै उद्योगको कस्ट अफ सेल्स ६.१० प्रतिशतले वृद्धि भएर २३ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लागत २२ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको थियो । सर्वोत्तम सिमेन्टले गत वर्ष १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ । शिवम् सिमेन्टले गत वर्ष ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ । घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्ष ३० करोड ८० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो वर्ष कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नोक्सानी घटेको हो ।  अघिल्लो वर्ष ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३ करोड ५२ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्ष ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ४७.७९ प्रतिशत घटेको छ भने प्रशासनिक खर्च २१.०७ प्रतिशत घटेको छ ।  ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६५.७२ रुपैयाँ रहेको छ । सोनापुर मिनिरल्स एण्ड आयलले गत वर्ष ३३ करोड ७१ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  अघिल्लो वर्ष २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स १ अर्ब ८९ करोड रुपैयाँ थियो ।  अघिल्लो वर्ष ७० करोड १३ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।  ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.९६रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.८१ रुपैयाँ रहेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको खुद नाफा ५९ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको सञ्चालन आम्दानी १५.९० प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ११ करोड रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १० करोड रुपैयाँ थियो ।  अघिल्लो वर्ष १ अर्ब ८१ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर ७७ करोठ ३४ लाख रुपैयाँमा सीमित भएको छ ।  ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ रहेको छ ।

किशोर श्रेष्ठलाई चार दिन म्याद थप

काठमाडौं । किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। अदालतले श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थपको माग गर्दै श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो।  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले श्रेष्ठलाई गत बुधबार पक्राउ गरेको थियो।  श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान भइरहेको छ। श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ। श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।

फेरारीको ईभीलाई ६११ करोड रुपैयाँ , लिलामीमा नयाँ कीर्तिमान

काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार एक च्यारिटीका लागि आयोजित लिलामीमा ४ करोड अमेरिकी डलर अर्थात् करिब ६११ करोड रुपैयाँमा बिक्री भएको छ । यससँगै यो कार लिलामीमा बिक्री भएको नयाँ कारमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बनेर नयाँ कीर्तिमान कायम गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको लिलामीमा ‘फेरारी लूचे’ नामको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी रकममा बिक्री भएको हो ।  लिलामी आयोजकका अनुसार यो कार ‘पहिलो प्रोडक्सन चेसिस’ हो । यसमा विशेष फिनिसका साथै विभिन्न कस्टम पाट्र्स जडान गरिएको छ । लूचेको डिजाइन एप्पलका आईफोनका चर्चित डिजाइनर सर जोनी आइभको अवधारणाबाट विकसित भएको मानिन्छ । मे महिनामा सार्वजनिक गरिएपछि भने कारले केही आलोचना पनि खेपेको थियो । आलोचकहरूले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको बताएका थिए ।   त्यस्तै, ब्याट्रीबाट चल्ने र पाँच सिट भएको कार निर्माण गरेर फेरारीले आफ्नो परम्परागत पहिचान गुमाएको टिप्पणी पनि भएको थियो । आयोजकका अनुसार लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमका लागि दान गरिनेछ । यो विशेष कस्टम लूचे खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।  लूचेको सार्वजनिक प्रस्तुति पछिल्ला वर्षहरूमा नयाँ कारको सबैभन्दा चर्चित लन्चमध्ये एक मानिएको थियो । तर यसको सार्वजनिक प्रस्तुतिको भोलिपल्ट फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो ।  कारको डिजाइनलाई लिएर भएको आलोचनालाई पनि सेयर बजारमा आएको गिरावटको एउटा कारण मानिएको थियो । कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोसमेत थिए । मोन्टेजेमोलोले लूचेले फेरारीको ‘किंवदन्ती’ नै समाप्त हुने जोखिम निम्त्याएको टिप्पणी गरेका थिए । फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले भने आलोचना नवप्रवर्तनको प्रक्रियाकै हिस्सा भएको बताएका थिए । उनले समयसँगै मानिसहरूले लूचेलाई मन पराउने विश्वास व्यक्त गरेका थिए । फेरारीले लूचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनमा बलियो माग रहेकाले फेरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य लन्च भएको पहिलो सातामै पूरा गरिसकेको छ ।  लिलामीकर्ताले यो कारलाई लूचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने ‘अद्वितीय अवसर’का रूपमा प्रस्तुत गरेको थियो । कारमा विशेष डिजाइनका पाङ्ग्रा, कस्टमाइज्ड ब्रेक तथा सेतो रंगको विशेष फिनिस दिइएको छ । फेरारीका कारहरूले विश्वका विभिन्न कार लिलामीमा प्रायः उच्च मूल्य हासिल गर्दै आएका छन् । यद्यपि, लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको कीर्तिमान भने १९५५ मा बनेको मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपको नाममा छ ।  उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।

बुढीगण्डकी आयोजनाको स्थलगत अनुगमनमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् । गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे बुझेका हुन् । गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरेका छन् ।

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन अध्ययन कार्यदल गठन

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने भएको छ ।  मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।  कार्यदलले वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवालयले जनाएको छ । मन्त्रालयले गठन गरेको कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी  दिइएको छ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) श्रीकान्त यादव र सदस्यमा  मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन् । कार्यदलले केवल कारखाना सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा मात्र अध्ययन गर्ने छैन ।  वीरगञ्ज चिनी कारखानासम्बन्धी यसअघि भएका निर्णय तथा गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदनका सुझाव र सिफारिसको अध्ययन गर्ने, कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गर्ने र कारखानामा रहेका समस्याको पहिचान गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ । त्यस्तै, कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गरिनेछ । पुराना संरचना तथा मेसिनरीलाई प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ । यससँगै वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ । सम्पत्तिसँग जोडिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।