किशोर श्रेष्ठलाई चार दिन म्याद थप

फाइल तस्विर

काठमाडौं । किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतले श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थपको माग गर्दै श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले श्रेष्ठलाई गत बुधबार पक्राउ गरेको थियो। 

श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान भइरहेको छ। श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ।

श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।

Share News