नाडा अटो शो मौलिक हो, अरू त कपी मात्र हुन् : आयोजक
काठमाडौं । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो १८औं संस्करणको नाडा अटो शोको तयारी पूरा भएको जनाएको छ । आयोजकले नाडा अटो शोको मौलिकता, निरन्तरता र अटोमोबाइल क्षेत्रको आर्थिक योगदानलाई जोड दिँदै पछिल्लो समय भएका अन्य अटोसम्बन्धी प्रदर्शनीसँग आफ्नो तुलना गर्न नमिल्ने दाबी गरेको छ । नाडाका प्रतिनिधिले नाडा अटो शोलाई मौलिक तथा आधिकारिक कार्यक्रमको संज्ञा दिँदै अन्य प्रदर्शनीहरू नाडा अटो शोको अवधारणाबाट प्रभावित भएको टिप्पणी गरेका छन् । ‘नाडाको आफ्नै ५० वर्षको गौरवमय इतिहास छ र यो १८औं संस्करण हो । अरूले बीचमा इभेन्ट गर्दैमा हामी आफ्नो ‘फ्लो’ रोक्दैनौं,’ नाडाका प्रतिनिधिले भने, ‘नाडा अटो शो जेन्युइन हो, अरू त यसैका कपी मात्र हुन् ।’ नाडाका अनुसार देशभर २ हजार ८ सयभन्दा बढी सदस्य आबद्ध रहेको संस्था सातै प्रदेशमा फैलिएको छ । त्यसैले नाडा अटो शो केवल व्यापारिक प्रदर्शनी नभई नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख कार्यक्रम भएको आयोजकको दाबी छ । आयोजकले अटोमोबाइल क्षेत्रलाई नेपालको राजस्व संकलनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।नाडाका अनुसार अटोमोबाइल क्षेत्रले भन्सार विन्दुमा करिब १८ प्रतिशत र समग्र सरकारी राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्याउँदै आएको छ । यो क्षेत्रले करिब १ लाख जनालाई प्रत्यक्ष र करिब १० लाख जनालाई अप्रत्यक्ष रोजगारी दिएको तथ्याङ्क पनि आयोजकले प्रस्तुत गरेको छ । भृकुटीमण्डपको सीमित क्षेत्रफलमा प्रदर्शनी आयोजना गर्नुपर्ने भए पनि यसपटक आगन्तुकलाई सहज हुने गरी नयाँ प्रविधिको प्रयोग गरिएको नाडाले जनाएको छ । आगन्तुकले कुन ब्रान्डको स्टल कहाँ छ भन्ने जानकारी नाडाको वेबसाइट, क्यूआर कोड र ह्वाट्सएपमार्फत सहजै प्राप्त गर्न सक्नेछन् । पार्किङको समस्या कम गर्न नेपाल पुलिस क्लब तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यस वर्षको नाडा अटो शोको मुख्य नारा ‘उद्योगदेखि रोजगारीसम्म’ तय गरिएको छ । नेपालमै सवारी साधनको उत्पादन तथा एसेम्बलिङलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु नाडाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । नाडाले अटो शोमा प्रदर्शनीसँगै अटोमोबाइल क्षेत्रसम्बन्धी ज्ञान र सीप विस्तारमा पनि जोड दिँदै आएको जनाएको छ । संस्थाले सातै प्रदेशमा कर, भन्सार तथा विद्युतीय सवारीसाधन (ईभी) लगायतका विषयमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको नाडा अटो शोले अटोमोबाइल क्षेत्रको व्यापार, प्रविधि र सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गर्ने आयोजकको अपेक्षा छ ।
कांग्रेसले फेर्यो १५औँ महाधिवेशनको कार्यतालिका, वडा अधिवेशन धकेलियो
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनलाई केही समय पछाडि सार्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्र असन्तुष्ट रहेका पक्षलाई समेत सहमतिमा ल्याएर महाधिवेशन अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशनको मिति सारिएको हो । महामन्त्री पौडेलले वडा अधिवेशन सुरु भइसकेपछि असन्तुष्ट पक्षसँग सहमति कायम गर्न कठिन हुने भएकाले थप छलफल र सहमतिका लागि समय लिन खोजिएको बताए । उनले भने, ‘वडा अधिवेशन सुरु गरेपछि उहाँहरूका लागि ढोका बन्द हुन्छ । त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिका लागि लचिलो भएका छौँ ।’ बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमको कार्यतालिकामा समेत आवश्यक हेरफेर गर्ने तयारी गरेको छ । यद्यपि कांग्रेसले १५औँ महाधिवेशनको मुख्य मिति भने परिवर्तन नगर्ने जनाएको छ । महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने पूर्वनिर्धारित निर्णय यथावत् राखिएको महामन्त्री पौडेलले बताए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र कुनै अन्योल नरहेको र तोकिएको समयमै प्रक्रिया अघि बढाइनेछ । संविधान र पार्टी विधानअनुसार मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि बाध्यकारी रहेको पनि उनले स्पष्ट पारे । पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको तयारी, प्रतिनिधि छनोट र संगठनात्मक गतिविधिलाई लिएर विभिन्न पक्षबीच मतभेद देखिँदै आएको छ । यही पृष्ठभूमिमा नेतृत्वले असन्तुष्ट पक्षलाई समेत समेटेर महाधिवेशनको वातावरण बनाउने रणनीति लिएको हो । वडा अधिवेशन नै महाधिवेशनको प्रारम्भिक संगठनात्मक प्रक्रिया भएकाले यसको मिति पछाडि धकेलिनुलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा हेरिएको छ । अब संशोधित कार्यतालिकाअनुसार तल्लो तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी कांग्रेसको छ ।
औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता, ११ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाकल) खरिदमा अनियमितता भएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार औरही नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत प्रक्रिया अपनाएको पाइएको छ । लागत अनुमान तयार गर्दा मालसामानको आइटम दररेटमा १५ प्रतिशत ‘कन्ट्र्याक्टर ओभरहेड’ थप गरी स्वीकृत गराएको तथा एउटै वस्तु तथा सेवाको खरिदलाई पटक–पटक टुक्र्याएर खरिद प्रक्रिया प्रतिस्पर्धाविहीन बनाइएको आयोगको दाबी छ । आयोगका अनुसार आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत खरिद गर्नुपर्ने कार्य सिलबन्दी दरभाउपत्र र सोझै खरिद गरिएको थियो । खरिद गरिएका चापाकललगायतका सामानको दोहोरो भरपाई तयार गरिएको र वितरण गरिएको भनिएका सामान बुझिलिएको प्रमाणसमेत विश्वसनीय रूपमा पेस गर्न नसकिएको अख्तियारले जनाएको छ । यस प्रकरणमा औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब–इन्जिनियर बिपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । तत्कालीन लेखापाल बिजय कुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको छ । त्यस्तै, आपूर्तिकर्ता लिला आयरन स्टोर्स र सञ्चालक बिनय कुमार यादवविरुद्ध ५ लाख ३४ हजार ८७६ रुपैयाँ ८१ पैसा, डि.एम. जेनरल अर्डर सप्लायर्स र सञ्चालक दुधनाथ कुमरविरुद्ध ११ लाख ८९ हजार ४७१ रुपैयाँ ३६ पैसा बिगो कायम गरिएको छ । श्री राम इन्टरप्राइजेज र सञ्चालक अमरनाथ कुमरविरुद्ध २ लाख २० हजार १९७ रुपैयाँ ३६ पैसा तथा जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स) र सञ्चालक रामबाबु चौधरीविरुद्ध ७ लाख ९ हजार ६२३ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको आयोगले जनाएको छ । यसैगरी क्वालिटी सोलुसन कम्पनी प्रालि र प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध ७ लाख ११ हजार ९०० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । आपूर्तिकर्ताहरूलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिमको कसुरमा कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ ।
माछापुच्छ्रे बैंकको नायब सीईओको जिम्मेवारी कल्याण विक्रम पाँडेलाई
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत विभिन्न बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । साथै, अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन् । उनलाई योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ । त्यस्तै, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण तथा उत्पादन विकास र दिगो तथा हरित बैंकिङका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन् । नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै माछापुच्छ्रे बैंकले उनको लामो बैंकिङ अनुभव तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
१८ औं नाडा अटो शोमा नेपाली उत्पादन र आधुनिक रोबोटको विशेष आकर्षण रहने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि र रोबोट विशेष आकर्षणका रूपमा रहने भएका छन् । नाडाले सोमबार (आज) पत्रकार सम्मेलनमार्फत अटो शोको तयारी, सहभागी ब्रान्ड र प्रदर्शनीका आकर्षणबारे जानकारी दिएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ । नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइँदैछ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने मेलामा साना-ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० वटा ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वटा वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ । यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । मेलाको अर्को प्रमुख आकर्षण आधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटले अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासलाई दर्शकमाझ प्रस्तुत गर्नेछन् । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गर्ने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुने अपेक्षा गरिएको छ । यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिने भएको छ । त्यहाँबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ । मेलास्थलमा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ भने अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्क पनि राखिनेछ । छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, नयाँ सवारी प्रविधिको प्रवद्र्धन गर्न तथा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) लगायतका नवीनतम प्रविधिबारे उपभोक्तालाई जानकारी दिन यस वर्षको अटो शो महत्त्वपूर्ण हुने नाडाको विश्वास छ । नाडाले आफ्नो ५०औं वर्षको अवसरमा आयोजना गर्न लागेको भएकाले यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र विविधतापूर्ण बनाउने तयारी गरेको जनाएको छ ।
नाडा अटो शो नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हो : अध्यक्ष उप्रेती
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वर्ष को अवसरमा १८ औं संस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ । सोमबार (आज) पत्रकार सम्मेलन गर्दै नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस पटकको अटो शो केवल विदेशी ब्रान्डको प्रदर्शनीमा मात्र सीमित नभई नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुने बताएका छन् । अध्यक्ष उप्रेतीले ५ दशक लामो नाडाको यात्रा नेपालको समग्र आर्थिक र औद्योगिक विकाससँग जोडिएको उल्लेख गर्दै यस वर्षको संस्करण अटोमोबाइल क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । विद्युतीय सवारी र आधुनिक प्रविधिमा जोड यस वर्षको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) लाई विशेष प्राथमिकता दिइएको छ । ‘नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी ईभीको आधुनिक प्रविधि र दिगो गतिशीलतालाई एउटै छानामुनि प्रदर्शन गर्ने यो एउटा भव्य मञ्च हुनेछ,’ अध्यक्ष उप्रेतीले भने । उनले यस मेलाले वर्तमान समयमा केही शिथिल बनेको बजारलाई चलायमान बनाउन र उपभोक्ताहरूमा नयाँ उत्साह भर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे । अध्यक्ष उप्रेतीले अब नेपाल अटोमोबाइलमा आयातमा मात्र निर्भर नरहेको सन्देश दिन खोजिएको बताए । यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादित यात्री इलेक्ट्रिक्सका साथै स्वदेशमै एसेम्बल गरिएका स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पाट्र्सहरूलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए । उनले भने, ‘नेपाल अब गाडी आयात गर्ने मात्र होइन, भोलिका दिनमा उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ भन्ने स्पष्ट सन्देश हामी दिन चाहन्छौं । स्वदेशी उद्योगतर्फको यो ठोस कदमलाई हामीले गर्वका साथ प्रदर्शनीमा राख्नेछौं ।’ सवारी साधनलाई केवल विलासिताको वस्तुका रूपमा मात्र नहेरी यसलाई आर्थिक समृद्धिको अनिवार्य साधनका रूपमा बुझ्न र बुझाउन जरुरी रहेको अध्यक्ष उप्रेतीको भनाइ छ । भदौमा आयोजना हुने यस मेलाले देशको अर्थतन्त्रलाई गति दिन र अटोमोबाइल क्षेत्रको भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने नाडाले अपेक्षा गरेको छ ।
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा सञ्चालनमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला, तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ । उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।
गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छु : डा. शशांक कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् । संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए । कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ । उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । कांग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके कांग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।