खोटाङको मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही १ चैतदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी– ६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेको छ । रेडपाण्डा २ हजार ७ सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको हो । भेटिएको रेडपाण्डा करिब दुई वर्ष छ महिनाको भाले भएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए । उनका अनुसार उक्त वनमा पाँचवटा रेडपाण्डा हुन सक्ने अनुमान गरिएको छ । आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने बताउँदै वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सक्ने सम्भावना रहेको रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए । नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डाले विशेष गरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन् । रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रुपाकोट मझुवागढ– १० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायत टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले उल्लेख गरे । ‘यसअघि क्यामेरा ट्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदीसहित माथिल्लो भेगका वन क्षेत्रमा रेडपाण्डा रहेका पुष्टि हुन्छ,’ उनले भने । जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ । विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आबद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् । फेदीवासीले वन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसारसम्बन्धी होर्डिङ बोर्ड राख्नका साथै फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने गरेका छन् । नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ । भ्रमण वर्षअन्तर्गत खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा संघसंस्थाले विभिन्न महोत्सव आयोजना गर्ने योजनाअनुरुप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको जनाएको हो । भ्रमण वर्षको अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधैली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरूले जनाएका छन् । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । रासस
महङ्गी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताए । प्रधानमन्त्री ओलीले दुुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिँदै भने, ‘बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समितिलाई सक्रिय बनाइएको छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पु¥याएको छ । उपभोक्ता अधिकारको संरक्षण एवं न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालत स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।’ ‘बढ्दो महङ्गी नियन्त्रण गर’ नारा सधैँ लोकप्रिय हुने, महङ्गी घटिरहेका बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै रहने उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता कुरालाई प्रश्नमार्फत लोकप्रिय बनाउन नहुने बरु तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउनपर्नेमा जोड दिए । तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षभन्दा मुद्रास्फीति चालु आवमा कम रहेको उनको अभिमत थियो । ‘चालु आर्थिक वर्षको सात महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ जबकि, अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५.०१ प्रतिशत थियो’, उनले भने, ‘चालु आवका लागि सजगतापूर्ण ढङ्गले लचिलो मौद्रिक नीतिमार्फत मुद्रास्फीति घटाउने कार्यदिशालाई निरन्तरता दिइएको छ ।’ सरकारले अनिवार्य नगद अनुपात र बैङ्क दरलाई समायोजन गरिएको जानकारी दिँदै उनले अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महङ्गीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई सरकारले निरन्तरता दिने बताए । प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने बताउँदै यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषि उत्पादनमा वृद्धि, कृषि उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले जलनपीडितहरुको उपचार र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको, तेजाब र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको जानकारी दिए । उनले जलनपीडितहरुको उपचार, पुनःस्थापना तथा अधिकार सम्बन्धमा संसद्मा दर्ता भएको निजी विधेयकका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने बताए ।
डेढ खर्ब नाघ्यो निर्यात, व्यापारमा आयातको हिस्सा ८८ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निर्यात ह्वात्तै बढेको छ । यो अवधिमा ५७.२० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ६१ करोड रुपैयाँको निर्यात गरेको थियो । निर्यातसँगै आयात पनि ११ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ । फागुन मसान्तमा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ मात्रै रहेको पनि विभतगले जनाएको । विभागका अनुसार नेपालको कुल वैदेशिक व्यापार यो अवधिमा १५.२९ प्रतिशतले बढेको छ । आयात र निर्यातको बजार ११ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा १२.१३ प्रतिशत हिस्सा निर्यातको रहेको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको पनि तथ्यांकमा उल्लेख छ ।
सेयर बजारमा गिरावट कायमै, ४ अर्बमा झर्यो कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा झरेको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंकको १६ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । काराेबारमा जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.०३ प्रतिशत बढेकाे छ । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, उत्पादन ०.७१, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.९६, अन्य ०.६१ तथा व्यापार सेक्टर ०.३२ प्रतिशतले घटेकाे छ । आज दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढेकाे छ । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढेकाे छ । मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्ने मन्त्री खड्काको दावी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन् । ‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले सोमबार आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताए । ’साना जलविद्युत् आयोजनाका समस्या एकै ठाउँमा राखेर छलफल गरौं, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,’ उनले भने । ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले साना जलविद्युत् आयोजना सँगसँगै मुलुकको समग्र ऊर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे । संस्थागत रुपमा रहेका तहगत बेतिथि पनि समाधान खोज्दै जानुपर्ने उनले बताए । मन्त्रिपरिषदबाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्रले निजी क्षेत्रका समस्या समाधान खोजेको मन्त्री खड्काले उल्लेख गरे । व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । मन्त्री खड्काले विद्युत् प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने बताए । ग्रिन इनर्जी आन्टरप्रेनर नेपालका अध्यक्ष इन्जिनियर सूर्यप्रसाद अधिकारीले साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर समायोजन गर्न माग गर्नुभयो । उहाँले ‘टेक अर पे’ (लिउ वा तिर) प्रावधान कार्यान्वयन गर्नुपर्ने र विद्युत् उत्पादनको वैकल्पिक व्यवस्थालाई खारेज गर्नुपर्ने बताए । अध्यक्ष अधिकारीले पाँच मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई उत्पादन अवधि तोक्न नहुने तथा पाँचदेखि १० मेगावाटसम्मका आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम हुनुपर्ने तथा जलविद्युत् आयोजनाको मर्मतसम्भारका लागि आवश्यक पर्ने पाटपुर्जामा पुरानो नीतिअनुसार एक प्रतिशत भन्सार दर कायम गर्न माग गरे ।
ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै, बैंकले नेपालभर वित्तीय सचेतना फैलाउने उद्देश्य राखेको छ । बैंकका अनुसार, डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, कृत्रिम बुद्धिमत्ताको प्रभाव, र ब्लकचेन प्रविधिको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय निर्णय लिन चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ । यस अभियान अन्तर्गत बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना, र जिम्मेवार वित्तीय निर्णय सम्बन्धी विस्तृत जानकारी सहभागीहरूलाई दिइनेछ । कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने, र समग्र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्याउने लक्ष्य लिएको छ ।
श्रीमतीको गहना धितो राखेर व्यवसाय सुरु, अहिले १२ हजार मानिसलाई रोजगारी
काठमाडौं । मोहनसिंह ओबेरायलाई भारतमा होटल उद्योगको पायोनियर मानिन्छ । उनले स्थापना गरेको ओबेराय होटल्स एन्ड रिसोर्ट्स आज भारतको दोस्रो ठूलो होटल ब्रान्ड हो । ओबेराय समूहका भारत, इन्डोनेसिया, इजिप्ट, यूएई, मौरिसस र साउदी अरेबियामा ३१ वटा होटल छन् । ओबेराय र ट्राइडेन्टजस्ता होटलहरू स्थापना गरी मोहनसिंहले भारतीय आतिथ्य उद्योगलाई विश्वमा चिनाए । आज ओबेराय समूहका दुई सूचीबद्ध कम्पनीहरू- ईआईएस लिमिटेड र ईआईएच एसोसिएटेड होटल्स लिमिटेड छन्, जसको कुल बजार मूल्य करिब ४० हजार करोड रुपैयाँ छ । साधारण क्लर्कबाट भारतीय आतिथ्य उद्योगको स्तम्भ बन्नेसम्मको उनको यात्रा भने अत्यन्तै रोचक छ । आउनूहोस् उनकाे यात्राबारे संक्षिप्त रूपमा चर्चा गराैं । सुरुवाती जीवन र संघर्ष मोहनसिंह ओबेरायले आफ्नो प्रारम्भिक शिक्षा रावलपिन्डीमा गरे । स्नातकको लागि लाहोर गए र त्यसपछि राम्रो अवसरको खोजीमा शिमला पुगे । शिमला पुग्दा उनीसँग पैसा थिएन । उनलाई सेसिल होटलमा फ्रन्ट डेस्क क्लर्कको रूपमा काम मिल्यो, जहाँ उनलाई मासिक ५० रुपैयाँ तलब मिल्थ्यो । उनी सधैं नयाँ कुरा सिक्न उत्सुक रहन्थे । आफ्नो काममा मात्र सीमित नभई अतिरिक्त जिम्मेवारीहरू लिँदै जान थाले । उनको मेहनत, ऊर्जा र तीक्ष्ण दिमागले होटलका अंग्रेज म्यानेजरलाई निकै प्रभावित पार्थ्यो । होटल उद्योगमा प्रवेश केही वर्षपछि जब होटलका म्यानेजरले सानो होटल किने उनले ओबेरायलाई सँगै काम गर्न बोलाए । १९३४ मा ओबेरायले क्लार्क होटल किनेर होटल व्यवसायमा पाइला टेके । उनले यो होटल किन्नका लागि आफ्नी पत्नीका गहना र आफ्नो सम्पत्ति धितो राखेका थिए । त्यसको चार वर्षपछि उनले कलकत्तामा ग्राण्ड होटल लिजमा लिए जसमा ५०० कोठा थिए । उनको अठोट र आत्मविश्वासले उनले यो होटललाई सफल र नाफामा परिणत गरे । ओबेराय समूहको विस्तार विस्तारै मोहनसिंहले एसोसिएटेड होटल्स अफ इण्डिया (एएचआई) का सेयरहरू किन्दै गए । यससँगै शिमला, दिल्ली, लाहोर, मुर्री, रावलपिन्डी, र पेशावरमा थुप्रै होटलहरू थिए । १९४३ मा उनले एएचआईमा आफ्नो नियन्त्रण कायम गरे र देशकै सबैभन्दा ठूलो होटल चेन सञ्चालन गर्ने पहिलो भारतीय बने । १९६५ मा उनले नयाँ दिल्लीमा द ओबेराय इन्टरकन्टिनेन्टल खोले । १९७३ मा उनले मुम्बईमा ३५ तले ओबेराय शेरेटन निर्माण गरे । अन्तर्राष्ट्रिय पहिचान मोहनसिंहले अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित गर्नका लागि ग्लोबल होटल ब्रान्डहरू सँग साझेदारी गरे । उनले समूहको दोस्रो होटल ब्रान्ड ट्राइडेन्ट पनि सुरु गरे । आज भारतका मुम्बई, चेन्नई, गुरुग्राम (दिल्ली एनसीआर), हैदराबाद, भुवनेश्वर, कोचिन, आगरा, जयपुर, उदयपुर लगायतका सहरमा १० ट्राइडेन्ट होटल छन् । भारत बाहिर साउदी अरेबियाको जेद्दामा पनि एउटा अन्तर्राष्ट्रिय ट्राइडेन्ट होटल छ । ओबेराय समूहले आज विश्वभर करिब १२ हजार मानिसलाई रोजगारी दिएको छ । मोहनसिंहको सन् २००२ मा १०३ वर्षको उमेरमा उनको निधन भएको थियो ।
क्रेटा ईभी लन्च हुँदै, कति छ मूल्य ?
काठमाडौं । हुन्डाईको क्रेटा ईभी आगामी चैत्र ११ गते नेपाली बजारमा लन्च हुँदैछ । दुई महिनाअघि भारतीय बजारमा औपचारिक रूपमा यो गाडी लन्च भएको थियो । उक्त ईभी भारतमा लन्च भएलगत्तै नेपाल भित्र्याएको नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ ईभी क्रेटा नेपाल भित्रिएको आज १० दिन भएको छ । उक्त ईभी यही चैत्र ११ गते नेपाली बजारमा लन्च गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपक थपलियाले विकासन्यूजलाई जानकारी दिए । उनले भने, ‘नयाँ ईभी क्रेटा हामीले भित्र्याइसकेका छौं । अबको चार दिनपछि उक्त ईभीलाई बजारमा ल्याउँदैछौं । हामीले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखेर यो नयाँ ईभी क्रेटा ल्याएका हौं । क्रेटामा ईभी र आइस दुवै रहेका छन् । यो ब्राण्डले पक्कै बजार तताउनेमा हामी ढुक्क छौं ।’ नयाँ ईभी क्रेटाको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो रहेको उनको भनाइ छ । कस्तो छ ब्याट्री र रेन्ज ? हुन्डाई क्रेटा ईभीमा ४२ किलोवाट र ५१.४ किलोवाट आवरको दुई ब्याट्री रहेका छन् भने यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ । ईभीमा डीसी फास्ट चार्जर प्रयोग गरी ५८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने व्यवस्था रहेको कम्पनीले दाबी गरेको छ । यस्तै, हुन्डाई क्रेटा ईभीले एक पटकको फुल चार्जमा ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिन सक्नेछ । ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको जनाएको छ । ईभीको लम्बाइ ४ हजार ३३० एमएम, चौडाइ १ हजार ७९० एमएम र उचाइ १ हजार ६३५ एमएम छ । यसको ह्वीलबेस २ हजार ६१० एमएम छ । हुन्डाई क्रेटा ईभीको क्याविनमा विभिन्न लक्जरी फिचर छन् । क्रेटा ईभीमा गियर सेलेक्टर पनि स्टेरिङ कोलुममा दिएको छ । भ्वाइस एक्टिभेटेड प्यानारोमिक सनरुफ, फ्रन्टमा दिइएको चार्जिङ पोर्ट र आयोनिक–५ मा जस्तै अगाडि एक्टिभ एयर फ्ल्याप दिएको हो। क्रेटा ईभीमा भीटुएल सुविधा पनि उपलब्ध छ। यसमा ४३३ लिटरको बुट स्पेस, सिटबेल्ट वार्निङ दिइएको छ। साथै, इको, नर्मल र स्पोर्ट तीन ड्राइभिङ मोड सुविधा छ। यसमा १०.२५ इन्चको ड्यूल स्क्रिन, बोसको प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल की, इलेक्ट्रिक टेलगेट उपलब्ध रहेको कम्पनीले जनाएको छ । कति छ ईभीको मूल्य उक्त ईभीको एमआरपी मूल्य नेपाली बजारमा ५६ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीले बिक्रीका लागि नभई डेमोका लागि छुट्याइएको बताएको छ। हाल लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका नेपालभरि १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरु र ४३ चार्जिङ पोइन्टहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक कम्पनी हो ।