नेपालले जोखिममा आधारित पुँजी र सुपरीवेक्षणको अभ्यास गरेको छ : अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष ओझासँग भएको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बीमा सम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी गराए । यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए । भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताइन् । डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
नेपाल-चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ । उनले भने, ‘नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु ।’ प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रूपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।
भ्रष्टाचारीलाई रोक्दा ज्यान मार्ने धम्की आएको मस्कको दावी
काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट साथी एलन मस्कले ठूलो दाबी गरेका छन् । ट्रम्प प्रशासनमा आफ्नो भूमिकाका कारण र सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) मा गरिएको ठूलो कटौतीका कारण आफ्नो ज्यान खतरामा परेको दावी गरेका हुन् । डीओजीई राष्ट्रपति ट्रम्पले स्थापना गरेका हुन् । डीओजीईको काम सरकारी जागिर र खर्चमा कटौती गर्नु हो । यस विभागका प्रमुख मस्क हुन् । मस्कले सरकारी कर्मचारीको सङ्ख्या घटाउन र करदाताको पैसा दुरुपयोग हुनबाट रोक्न प्रयास गरिरहेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा मस्कले भनेका छन्, ‘सरकारी कामकाजमा भ्रष्टाचार गरिरहेका व्यक्तिहरूलाई मैले रोक्दा उनीहरू मलाई मार्ने धम्की दिन थाले ।’ उनले थपे कि टेस्ला कम्पनीलाई पनि नोक्सान पुर्याउने प्रयास भइरहेको छ । किन छ मस्कलाई ज्यानको खतरा? मस्क भन्छन्, ‘उनीहरू मलाई मार्न चाहन्छन् किनकि म उनीहरूलाई ठगी गरेर पैसा कमाउनबाट रोकिरहेको छु । टेस्लालाई पनि नोक्सान पुर्याउन खोजिरहेका छन्, किनकि हामी सरकारमा भइरहेको यो भयानक बर्बादी र भ्रष्टाचार रोकिरहेका छौं । मलाई लाग्छ ती खराब मानिसहरू हुन् । खराब मानिसहरूले खराब काम गर्छन् ।’ अदालतको हस्तक्षेप एक संघीय न्यायाधीशले डीओजीईलाई यूएसएड बन्द गर्नबाट रोक लगाएका छन् । न्यायाधीशले भनेका छन् कि यस्तो गर्नु अमेरिका संविधानको उल्लङ्घन हुन सक्छ । अदालतले ट्रम्प प्रशासनलाई यूएसएडका सबै कर्मचारीहरूलाई पुनः इमेल र कम्प्युटर एक्सेस दिन आदेश दिएको छ । तर, अदालतले हटाइएका कर्मचारीहरूलाई पुनः जागिरमा फर्काउने आदेश भने दिएको छैन । टेस्लाविरुद्ध प्रदर्शन एलन मस्कको यो बयान यस्तो समयमा आएको छ जब उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाविरुद्ध केही हप्तादेखि प्रदर्शन भइरहेको छ । मार्च १८ मा लस भेगासस्थित टेस्लाको एक सर्भिस सेन्टरमा लागो लगाउँदा ५ वटा कारमा क्षति पुगेको छ । प्रहरी अधिकारी डोरी कोरेनले भने, ‘यो टेस्लाको भवनमा जानाजानी गरिएको आक्रमण हो ।’ मस्कले संघीय कर्मचारी कटौती र मानवतावादी कार्यक्रमसँग सम्बन्धित सम्झौता रद्द गर्न खेलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै टेस्ला गाडीमाथि आगजनी गरेका हुन् । मस्कको दाबी अनुसार यी सबै घटनाहरू उनकै विरुद्धको षड्यन्त्र हुन् किनकि उनले सरकारी भ्रष्टाचार रोक्न प्रयास गरिरहेका छन् । अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मंगलबार टेस्लामाथि भएका पछिल्ला हिंस्रक आक्रमणहरूको लहर आन्तरिक आतंकवादभन्दा कम नभएको बताएकी थिइन् । उनले सबै आक्रमणकारी र त्यसमा संलग्न सबैलाई कारबाही गर्ने चेतावनीसमेत दिइन् ।
यस वर्ष ५ सय युवालाई स्टार्टअप ऋण सहायता दिँदै सरकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार विश्वग्राम बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला विश्वव्यापी रहेको बताए । ‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवालाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही काम नगरी बसेका छैनौँ ।’ मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री कानुन बनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ । एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो । नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ । यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ। साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं । उहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ ।’ आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्नेछ ।
म्यानमारमा ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५’ हुँदै
काठमाडौं । म्यानमारको यांगोनमा चैत ८ गते शुक्रबारदेखि ‘नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ’नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो । यस एक्सपोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूबारे छलफल हुने नेपाल पर्यटन बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्वमा शान्तिको प्रतिकका रुपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्सपोको मुल उद्देश्य रहेको छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डसहित पाँच पर्यटनका क्षेत्रमा काम गरिरहेका कम्पनीहरु, आईटी सफ्टवेयर तथा कृषि जस्ता व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले यस कार्यक्रममा सहभागिता जनाउनेछन् । यस एक्स्पोले दुवै देशबीच कृषि उत्पादन, विशेष गरी चामल र दालको व्यापारलाई बढावा दिनेछ । एक्सपोमा आईटी सफ्टवेयर समाधान र डिजिटल इकोनमीका क्षेत्रमा लगानी गर्न कार्यक्रममा सहभागी व्यवसायीहरुलाई आह्वान गरिनेछ । नेपालको तर्फबाट आईटी सफ्टवेयर सोलुसनसमेत प्रदर्शनीमा राखिनेछ, जसले दुवै देशबीच प्रविधि सहयोग र ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्नेछ । एक्सपोमा पर्यटन क्षेत्रमा दुवै देशका प्रतिनिधिहरूबीच बि–टु–बि सत्र, नेपाल पर्यटन बोर्डको प्रस्तुतीकरण र व्यापार वृद्धि, नवीनता र सांस्कृतिक आदानप्रदानमा आधारित छलफलहरू हुने बोर्डले जनाएको छ । यसले व्यापार र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरूलाई नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ अवसरहरूको खोजी गर्न सहयोग पुर्याउनेछ । नेपालबाट होटल मनास्लु प्रा. लि., होटल रत्नसम्वय (लुम्बिनी), हिमालयन ३६०, जुगल होलिडेज प्रा. लि., बौद्ध सर्किट डट कम प्रालि, र नमस्ते पर्यटन र होलिडेज प्रालि जस्ता कम्पनीहरूले आफ्नो सेवाहरू प्रस्तुत गर्नेछन् । यी कम्पनीहरूको उद्देश्य भनेको म्यान्मारका पर्यटकहरूलाई नेपालका प्रमुख बौद्ध तीर्थस्थलहरूमा आकर्षित गर्ने, साथै पर्यटन र व्यापारका अवसरहरूलाई नयाँ उच्चाईमा पुर्याउने रहेको छ । यस एक्सपोले साथै नेपालमा म्यानमारी पर्यटकहरूको आगमन बढाउन मद्दत गर्नेछ भने दुवै देशबीच व्यापारिक सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास गरिएको छ । बोर्डले जारी गरेको विज्ञिप्तिमा भनिएको छ, ‘यस एक्स्पोले नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा दीर्घकालीन सहकार्यका नयाँद्वार खोल्ने हामीले अपेक्षा गरेका छौं ।’
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माणको अनुगमन (तस्बिरहरू)
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका छन् । बिहीबार उपप्रधानमन्त्री सिंह कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् ।
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी संकलनको व्यवस्था मिलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए । उनले सर्वसुलभ माध्यमबाट नागरिकका सुझाव ग्रहण गरेर तर्जुमामा उपयोग गर्नका लागि भनेका थिए । सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको हो । मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले बजेट सिलिङका आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै आइरहेको छ ।