प्रधानमन्त्री ओलीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता, विपिन जोशीको रिहाइका लागि आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन् । आज अपराह्न प्रधानमन्त्री ओलीले उहाँलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए । टेलिफोन वार्ताका क्रममा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए । उनीहरुबीच आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै पारस्परिक सम्बन्ध विस्तारबारे पनि विचारविमर्श भएको थियो ।
बजेटका लागि राष्ट्र बैंकले गर्याे सुझाव संकलन, सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने क्षेत्रलाई बेवास्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्वबजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव सङ्कलन गरेको हो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी तथा व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरे । ‘सरकारी निकायले वर्सेनि बजेटपूर्व र बजेटपछि यहाँका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गर्न आउने भएपनि यहाँका उद्योगी तथा व्यवसायीका मुद्दालाई भने नसमेट्ने तितो यथार्थ छ,’ उनले भने, ‘नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले पक्कै यसपालि दिएका सुझाव कार्यान्वयन हुने अपेक्षा राखेका छौँ ।’ अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमशः घट्दै गइरहेको बताए । ‘जब उद्योगी व्यवसायीको मनोबल खस्किन्छ । तब मुलुकको आर्थिक विकासको परिकल्पना गर्न सकिदैन । सरकारले एकद्वार प्रणालीबाट राजस्व सङ्कलन गर्ने प्रणालीको विकास गर्न जरुरत छ,’ उनले भने । अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिए । ‘सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,’ उनले भने, ‘वस्तुपरक र यथार्थबजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ ।’ वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भएपनि आवश्यक स्रोतको अभाव भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने भएपनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा सङ्घीय सरकारले बेवास्ता गरेको आरोप लगाए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औल्याए । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपीबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए । ‘यहाँका उद्योगी व्यवसायीले निकै व्यवहारिक खालका सल्लाह र सुझाव दिनुभएको छ । त्यसलाई हामीले आफ्नो प्रतिवेदनमा समावेश गरेर सरकारलाई हस्तान्तरण गर्नेछौँ,’ उनले भने । राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्गनिर्देश गर्ने बताए ।
उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण, वैशाख २४ गतेभित्र सम्पन्न गर्ने
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गरेका छन् । उनले आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । ‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्न आठ घण्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
अधिकांश नेपालीकाे मुखमा समस्या, पाउँदैनन् सजिलै उपचार
काठमाडौं । के तपाईंको मुख स्वस्थ छ ? तपाईंको दाँत वा गिजासम्बन्धी कुनै पनि समस्या छैन ? त्यसो हो भने तपाईं स्वस्थ व्यक्तिको रूपमा पर्नुहुन्छ । चिकित्सकका अनुसार व्यक्तिलाई लाग्ने धेरैजसो रोगहरू मुखबाट लाग्ने गर्छ । आजभोलि मुख स्वस्थ रहेको व्यक्ति भेट्न गाह्रो पर्ने उनीहरू बताउँछन् । नेपालमा कति प्रतिशत व्यक्तिमा यो समस्या छ भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । तर, ९५ प्रतिशतभन्दा बढी व्यक्तिको मुख अस्वस्थ रहेको हुनसक्ने नेपाल डेन्टल एशोसिएसनका अध्यक्ष अर्थात दन्तरोग विशेषज्ञ डा. प्रणय शाक्य बताउँछन् । मुख स्वास्थ्य व्यक्तिको शरीरको ऐना हो । शारीरिक मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ रहन मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख तथा दाँत सम्बन्धका धेरै रोगहरू सजिलै रोकथाम गर्न सकिने भएपनि अहिले आम नागरिककै लागि जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ । दन्तचिकित्सक डा. निकिता काफ्ले दूध खाने बच्चादेखि ज्येष्ठ नागरिक यो समस्याबाट ग्रसित रहेको बताउँछिन् । उनी आजभोलि बच्चाहरूमा समेत यो समस्या बढी देखिने गरेको उल्लेख गर्छिन् । पीरमा अभिभावक दोलखाकी ज्योति पाण्डेकी छोरी ६ वर्षकी भइन् । छोरीका सबै दाँत किराले खाएको छ । सबै दाँतमा कीरा लाग्दा उनी अब के गर्ने भन्ने पीरमा छिन् । यतिसम्मकी खाना खुवाँउदा पनि दाँतमा अड्केको कुरा निकाल्ने सिन्को लिएर बस्नुपर्छ । यो समस्यामात्रै होइन, आजभोलि गिजा सुनिने, पीप बग्ने समस्या पनि देखिन थालेको छ । छोरीलाई यस्तो समस्या देखिएपनि ज्योतिले चिकित्सकलाई देखाइन् । चिकित्सकले अहिलेको दाँत सबै निकाल्नपर्ने सल्लाह दिए । अहिले नै सबै दाँत निकाल्न छोरीको स्वास्थ्यमा समस्या देखिने पीरले उनी अस्पतालबाट फर्केर आइन् । ‘पैसा पनि धेरै लाग्ने, यतिका सबै दाँत निकाल्दा छोरीलाई गाह्रो होला भन्ने पीरले उपचारै नगराइ घर आएँ,’ उनी भन्छिन्, ‘छोरीको दाँतले गर्दा मलाई निन्द्रा पनि लाग्दैन । उनी दूधे दाँत झरेर अब आउने नयाँ दाँत राम्रो हुन्छ कि भन्ने पर्खाइमा छिन् । ज्योतिको जस्तै समस्या कविता खड्कालाई पनि छ । उनकी छोरीका पनि सबै दाँत उसैगरी किराले खाएका छन् । उनी पनि दूधे दाँत झरे नयाँ दाँत राम्रो आउँछ कि भन्ने आशामा छिन् । अहिले धेरैजसो अभिभावक छोराछोरीको दाँतलाई लिएर पीरमा छन् । दाँत झिक्न सानैमा साह्रो होला भन्ने पीर, त्यत्तिकै छोडे भोलि अन्य रोग लाग्छ कि भन्ने पीरले आफूहरूलाई निकै पीर लाग्ने गरेको अभिभावक बताउँछन् । दन्त चिकित्सक निकिता आजभोलि अधिकांश बालबालिकामा दाँतको समस्या देखिन थालेको बताउँछिन् । अगाडिको दाँत मात्र नभइ बालबालिकाहरूका पुरै दाँत सखाप भएका अभिभावक अस्पताल पुग्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘कहिलेकाहीं अभिभावक यस्तो अवस्थामा उपचारको लागि अस्पताल पुग्छन् कि नसामा समेत किरा लागेको हुन्छ,’ उनी भन्छिन्, ‘बालबालिकाको दाँतको उपचार गर्नुको साटोँ दाँत झरेर नयाँ आउँछन् भन्ने आशामा अभिभावक बसेका हुन्छन् ।’ डा. निकिताका अनुसार बच्चाको दातमा किरा लाग्नुको कारण चकलेटमात्र होइन । दूधले पनि यो समस्या निम्त्याउँछ । बच्चालाई बोटल चुसाएर सुताउँदा बालबालिकाको पछाडिको बंगरा र माथिको अगाडिको माथिपट्टि किरा लाग्ने सम्भावना धेरै हुन्छ । तलको दाँतमा लागेको दूध थुकले पखाल्दा किरा लाग्दैन भने माथिल्लो भागमा किरा लाग्छ । तीन वर्षसम्मको बच्चामा बोटलको दूध चुसाउँदा समस्या हुन्छ । दुखाइ सहनै कठिन दाँतको समस्या अन्य समस्या भन्दा धेरै दुखाइ र सहन पनि कठीन हुन्छ । चिकित्सकहरू दुखाइमात्र अस्वस्थ हुनु नभएको भन्दै यसले निम्त्याउने समस्या खतरनाक हुने बताउँछन् । दाँतमा, गीजामा आएको समस्यालाई हामीले बेवास्ता गरे क्यान्सरसमेत लाग्ने जोखिम रहन्छ । तर नेपालीको बानी जबसम्म दुख्दैन अथवा सहन नसक्ने गरी दुखाइ हुन्छ तब बल्ल अस्पताल पुग्ने हुन्छ । दाँतको समस्या दाँत र गिजामा मात्र सीमिति हुँदैन । यो टाउकोदेखि खुट्टासम्मको विभिन्न नशासम्म जोडिएको छ । लापरवाही गर्यो भने निको हुन धेरै समय अनि पैसा पनि धेरै लाग्छ दाँत, गिजा, हड्डी मांशपेशी तथा तन्तुहरूको स्वस्थ रहनुलाई मुख स्वस्थ भनिन्छ । मुखमा रोग भयो भने रगतको माध्यमबाट अरू अंगमा फैलन सक्छ । डा. शाक्य गिजा पनि स्वस्थ हुनु उत्तिकै आवश्यक रहेको बताउँछन् । कुनैपनि खानेकुरा खाइसकेपछि दिनमा तीन पटक अथवा साँझ बिहान दुई पटक भएपनि दाँत अनिवार्य माझ्नुपर्छ । चिकित्सकका अनुसार दाँत माझ्न कम्तीमा पाँच मिनेट लगाउनुपर्छ । यसका लागि प्रक्रिया पनि जान्न पनि आवश्यक छ । अनि दिउँसो केही खाँदा पनि मुख कुल्ला गर्नुपर्छ । सुपारी खाने, गुट्खा चपाउने, चुरोट बिँडी खान हुँदैन । दाँत सिरिङ्ङ हुने, माझ्दा रगत आयो भने चिकित्सकलाई देखाउनुपर्छ । घाउ आएको २ सातासम्म निको भएन भने जाँच गर्नुपर्छ । फैलिँदै चेतना मुख र दाँतसम्बन्धी समस्या अहिले पनि धेरै छ । तर, पहिलेको भन्दा जनस्तरमा चेतना पुगेको कतिपय चिकित्सकहरू बताउँछन् । दन्तरोग विशेषज्ञ डा. शाक्य आजभोलि दाँतको उपचार गर्नुपर्छ भन्ने चेतना बढेको बताउँछन् । उनी भन्छन्, ‘पहिलेको भन्दा जनचेतना फैलिएको छ, आजभोलि ६–६ महिनामा जाँच गर्न आउनेहरू पनि धेरै भेटिन्छन्, मुखमा कुनै घाउ खटिरा आयो भने पनि यो के हो, कसो हो भनेर सोधीखोजी गर्छन् ।’ आजभन्दा १०–१५ वर्ष अगाडि यस्तो अवस्था थिएन । दाँतमा किरा लाग्दा समेत फुक्ने, किरा झार्न जाने, दुखाइ कम गर्ने भन्दै अनेकथरि दाँतमा राख्ने समस्या थियो । तर अहिले बिस्तारै यो चलन कम हुँदै गएको छ । शाक्य आफ्नै डेन्टलमा पनि आजभोलि दाँत जाँच गराउनेहरूको संख्या बढ्दै गइरहेको बताउँछन् । ‘पहिलेभन्दा अहिले मान्छेले बुझिसकेका छन्,’ उनी भन्छन्, ‘तर अझै पनि दुर्गमका नागरिकहरूमा यो समस्या धेरै छ । अब हामीले यस्ता सचेतना कार्यक्रम गाउँमा गर्न आश्यक छ । अहिले पनि अस्पतालमा जटिल भएको अवस्थामा आउनेको संख्या पनि उत्तिकै रहेको छ ।’ एशोसियसनले यस्तै जनचेतना फैलाउने, दन्त चिकित्सकका हकमा हकहितको लागि लड्ने दरबन्दी थप गर्न सरकारलाई घच्घच्याउने काम गरिरहेको उनको भनाइ छ । सुर्ती र टिमुर राख्नुपर्ने बाध्यता अझै नेपालमा मुख तथा दाँतका समस्या बढ्दै गएपनि नागरिकले सहज सेवा भने पाउन सकेका छैनन् । सामान्य जाँचभन्दा बाहेक आरसीटीकै लागि पनि सहर झर्नुपर्ने बाध्यता छ । अछामको मेल्लेख गाउँपालकाकी निरु खड्काको दाँत दुख्न थालेको ४० वर्ष भयो । उनको तलपट्टिको दुवैतिरका दाँत किराले खाँदै दुख्दै झरी सके । दाँतको जरामा अहिले पनि दुखाइ भइरहन्छ । दाँत दुखेसँगै कहिले सुर्ती, टिमुर राखेर ४० वर्ष बिताइसकिन् । अहिले उनी धनगढी दुई महिनाको समय लिएर दाँतकै उपचारका लागि पुगेकी छिन् । निरुको जस्तै समस्या अहिले हरेक दुरगमका नागरिकले सहेर बस्नु परिरहेको छ । तर स्वास्थ्यलाई नागरिकले पाउनुपर्ने मौलिक हकमा समावेश गरेको सरकारले सेवा भने दिन सकिरहेको छैन । उत्पादन छ, दरबन्दी छैन दुर्गमका नागरिकले यसरी उपचारमा समस्या पाइराख्दा पनि सरकार भने रमिता हेरेर बसिरहेको छ । मुख तथा दाँत सम्बन्धी समस्यालाई सरकारले प्राथमिकतामै नराखेको विज्ञहरू बताउँछन् । अहिले नेपालमा अध्ययनका लागि १४ वटा डेन्टल कलेज छन् । ती कलेजहरूमा वार्षिक ५ सय ७५ दन्त चिकित्सक उत्पादन हुन्छ । तर बाध्यता उनीहरू सबैले नेपालमा काम पाउँदैनन् । नेपाल डेन्टल एशोसिएसनका अध्यक्ष डा. शाक्य सरकारले दरबन्दी नथप्दा उत्पादन भएको जनशक्तीले काम पाउन नसकेको बताए । उनी अधिकांश चिकित्सक यही कारण विदेश पालयन भएको बताए । नेपाल मेडिकल काउन्सीलमा दर्ता दन्त चिकित्सकको संख्या नेपालमा हाल नेपाल ५ हजार छ । तर सरकारले दन्त चिकित्सकको दरबन्दी नेपालभर ८२ जनाको मात्र राखेको छ । वार्षिक ५ सयभन्दा बढी चिकित्सक उत्पादन हुँदा पनि सरकारले दरबन्दी नबढाउँदा एकातिर चिकित्सकले विदेश जानुपर्ने बाध्यता छ भने अर्कोतिर नागरिकले उपचार पाउनबाट वञ्चित भएका छन् ।
एमबीएल इक्विटी फण्डमा मागभन्दा बढी आवेदन, १३ करोड २० लाख इकाईका लागि दर्खास्त
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको एमबीएल इक्विटी फण्डका सबै इकाई बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि आज चैत ७ गतेसम्म निष्काशन गरिएको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजनाका सबै इकाई बिक्री भएका हुन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको म्युचुअल फण्डमा आज अन्तिम दिनसम्म ५९ हजार ४४७ जना आवेदकले १३ करोड २० लाख ८९ हजार ८८० इकाईका लागि १ अर्ब ३२ करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ वर्ष अवधि रहेको म्युचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
उद्योगमा लोडसेडिङ हुन थालेपछि रिसाए उद्योगी, कुलमानलाई कटाक्ष गरेर सरकारको माग्यो साथ
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । परिसंघले विज्ञप्ति जारी गर्दै उद्योगहरूमा लोडसेडिङ गरिएकोमा आपत्ति जनाएको हो । विज्ञप्तिमा केही समय अगाडि पनि लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गर्दा उद्योगमा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको र अहिले पुनः लोडसेडिङ गराउँदा उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणले गरेको उल्लेख छ । यस्ता खालका गतिविधिले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघले जनाएको छ । सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन भन्दै परिसंघले प्रश्नसमेत गरेको छ । उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार एवं सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
बढ्दैछ सुनको अस्वाभाविक माग, कसले ल्यायो ६०१ क्विन्टल ?
काठमाडौं । विगतमा सुस्त माग रहेको सुन पछिल्लो केही महिनायता भने अस्वाभाविक बढिरहेको छ । विगतमा बजारमा सुनको माग भएन भनेर गुनासो गर्ने व्यवसायीहरुलाई पछिल्लो समय सुनको कारोबार गर्न भ्याइनभ्याई रहेको तथ्यांकले प्रष्ट्याउँछ । फागुन महिनासम्म नेपालमा कुल १ हजार १८८ किलो सुन भित्रिएको तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार फागुनसम्म कुल १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८८ हजार ८ सय ९२ ग्राम अर्थात एक हजार १ सय ८८ किलो सुन नेपाल भित्रिएको छ । जुन गत माघको तुलनामा ३०१ किलो बढी हो । फागुनमा १४ अर्ब बढीको सुन आयातबाट सरकारले १ अर्ब ५८ करोड १० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत माघमा कुल १० अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँबराबरको ८ लाख ८७ हजार ३ सय २८ ग्राम हर्थात् ८ सय ८७ किलो सुन नेपाल आयात भएको थियो । यो बापत् सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यो एक महिनाको अवधिमा सुन ३०१ केजीले बढेको छ । दुई महिनाको अवधिमा कुल ६०१ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । गत आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा सुनको आयात कम नै भए पनि चालु आवको अघिल्ला महिनाको तुलनामा फागुनमा सुनको आयात राम्रो भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको व्यवसायीहरू बताउँछन् । सरकारले बजेटमार्फत् सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि माग नै नभएर बैंकले आयात कम गरेका थिए । तर, अहिले १० प्रतिशत भन्सारदर कायम भएपछि मागसँगै आयात पनि बढेको हो । नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् ।
नेपालीले प्रयोग गरे २२ अर्बको स्मार्टफोन, १३ प्रतिशतले बढ्यो आयात
काठमाडौं । नेपालीले ८ महिनामा करिब २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०८१ /८२ को ८ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको फागुन मसान्तसम्म १४ लाख ७ लाख वटा स्मार्टफोन आयात हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बढी राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ । उक्त अवधिमा १२ लाख ४९ लाख वटा स्मार्टफोन आयात भएको छ । गत वर्षको तुलना अवधिमा स्मार्टफोनको आयात २ अर्ब ५४ करोड रुपैयाँ बढीले बढेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा १३ प्रतिशतले आयात बढेको छ । नेपालमा यो वर्ष ५८ वटा देशहरूबाट स्मार्टफोन आयात भएको विभागले जनाएको छ । धेरैजसो भारत, चीन, अस्ट्रेलिया, कुबेत, कतार, जापान र अमेरिका जस्ता देशहरूबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट १५ अर्ब ९ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै भारतबाट ६ अर्ब ३९ करोड र जापानबाट ६ करोड रुपैयाँ बढीको आयात भएको छ ।