काठमाडौं । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो १८औं संस्करणको नाडा अटो शोको तयारी पूरा भएको जनाएको छ ।
आयोजकले नाडा अटो शोको मौलिकता, निरन्तरता र अटोमोबाइल क्षेत्रको आर्थिक योगदानलाई जोड दिँदै पछिल्लो समय भएका अन्य अटोसम्बन्धी प्रदर्शनीसँग आफ्नो तुलना गर्न नमिल्ने दाबी गरेको छ ।
नाडाका प्रतिनिधिले नाडा अटो शोलाई मौलिक तथा आधिकारिक कार्यक्रमको संज्ञा दिँदै अन्य प्रदर्शनीहरू नाडा अटो शोको अवधारणाबाट प्रभावित भएको टिप्पणी गरेका छन् ।
‘नाडाको आफ्नै ५० वर्षको गौरवमय इतिहास छ र यो १८औं संस्करण हो । अरूले बीचमा इभेन्ट गर्दैमा हामी आफ्नो ‘फ्लो’ रोक्दैनौं,’ नाडाका प्रतिनिधिले भने, ‘नाडा अटो शो जेन्युइन हो, अरू त यसैका कपी मात्र हुन् ।’
नाडाका अनुसार देशभर २ हजार ८ सयभन्दा बढी सदस्य आबद्ध रहेको संस्था सातै प्रदेशमा फैलिएको छ । त्यसैले नाडा अटो शो केवल व्यापारिक प्रदर्शनी नभई नेपालको अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख कार्यक्रम भएको आयोजकको दाबी छ ।
आयोजकले अटोमोबाइल क्षेत्रलाई नेपालको राजस्व संकलनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रले भन्सार विन्दुमा करिब १८ प्रतिशत र समग्र सरकारी राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्याउँदै आएको छ ।
यो क्षेत्रले करिब १ लाख जनालाई प्रत्यक्ष र करिब १० लाख जनालाई अप्रत्यक्ष रोजगारी दिएको तथ्याङ्क पनि आयोजकले प्रस्तुत गरेको छ ।
भृकुटीमण्डपको सीमित क्षेत्रफलमा प्रदर्शनी आयोजना गर्नुपर्ने भए पनि यसपटक आगन्तुकलाई सहज हुने गरी नयाँ प्रविधिको प्रयोग गरिएको नाडाले जनाएको छ ।
आगन्तुकले कुन ब्रान्डको स्टल कहाँ छ भन्ने जानकारी नाडाको वेबसाइट, क्यूआर कोड र ह्वाट्सएपमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।
पार्किङको समस्या कम गर्न नेपाल पुलिस क्लब तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
यस वर्षको नाडा अटो शोको मुख्य नारा ‘उद्योगदेखि रोजगारीसम्म’ तय गरिएको छ । नेपालमै सवारी साधनको उत्पादन तथा एसेम्बलिङलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु नाडाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।
नाडाले अटो शोमा प्रदर्शनीसँगै अटोमोबाइल क्षेत्रसम्बन्धी ज्ञान र सीप विस्तारमा पनि जोड दिँदै आएको जनाएको छ । संस्थाले सातै प्रदेशमा कर, भन्सार तथा विद्युतीय सवारीसाधन ९ईभी० लगायतका विषयमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको नाडा अटो शोले अटोमोबाइल क्षेत्रको व्यापार, प्रविधि र सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गर्ने आयोजकको अपेक्षा छ ।