काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनलाई केही समय पछाडि सार्ने निर्णय गरेको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्र असन्तुष्ट रहेका पक्षलाई समेत सहमतिमा ल्याएर महाधिवेशन अघि बढाउने प्रयासस्वरूप वडा अधिवेशनको मिति सारिएको हो ।
महामन्त्री पौडेलले वडा अधिवेशन सुरु भइसकेपछि असन्तुष्ट पक्षसँग सहमति कायम गर्न कठिन हुने भएकाले थप छलफल र सहमतिका लागि समय लिन खोजिएको बताए ।
उनले भने, ‘वडा अधिवेशन सुरु गरेपछि उहाँहरूका लागि ढोका बन्द हुन्छ । त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर गरेको प्रयास हो। हामी सहमतिका लागि लचिलो भएका छौँ ।’
बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमको कार्यतालिकामा समेत आवश्यक हेरफेर गर्ने तयारी गरेको छ । यद्यपि कांग्रेसले १५औँ महाधिवेशनको मुख्य मिति भने परिवर्तन नगर्ने जनाएको छ । महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने पूर्वनिर्धारित निर्णय यथावत् राखिएको महामन्त्री पौडेलले बताए ।
उनका अनुसार महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र कुनै अन्योल नरहेको र तोकिएको समयमै प्रक्रिया अघि बढाइनेछ । संविधान र पार्टी विधानअनुसार मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि बाध्यकारी रहेको पनि उनले स्पष्ट पारे ।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको तयारी, प्रतिनिधि छनोट र संगठनात्मक गतिविधिलाई लिएर विभिन्न पक्षबीच मतभेद देखिँदै आएको छ । यही पृष्ठभूमिमा नेतृत्वले असन्तुष्ट पक्षलाई समेत समेटेर महाधिवेशनको वातावरण बनाउने रणनीति लिएको हो ।
वडा अधिवेशन नै महाधिवेशनको प्रारम्भिक संगठनात्मक प्रक्रिया भएकाले यसको मिति पछाडि धकेलिनुलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा हेरिएको छ । अब संशोधित कार्यतालिकाअनुसार तल्लो तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी कांग्रेसको छ ।