३० अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । लागातार घटिरहेको सेयर बजार ६ वटा कारोबार पछि आज बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको छ । आज २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको १५ करोड, नेपाल रिइन्स्योरेन्सको १२ करोड, गर्डियन माइक्रोलाइफको १२ करोड र सिन्धु विकास बैंकको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेकाे छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेकाे छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेकाे छ । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले बढेकाे छ । यस्तै, अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशतले सेयर मूल्य घटेकाे छ ।
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौं घोषणापत्र जारी
काठमाडौँ, ११ चैतः जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यका साथ शनिबारदेखि सुरु भएको उक्त सम्मेलन नौबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा दुई दिनसम्म चलेको सम्मेलनले तीन तहका सरकार बीचको समन्वय र सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्थालगायत अन्य सरोकारवाला समेतको संलग्नतामा एकीकृत नदी वेसिन योजनाअनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनले पानीको प्रयोग तथा संरक्षणसँग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्थामा पानीको समुचित उपयोग तथा संरक्षण सम्बन्धमा सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाको सबलीकरण, संस्थागत क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहले आफ्ना नीति तथा कानुनको तर्जुमा गर्दा तीन तहबीच कानुनी सामञ्जस्यता कायम गर्ने र सबै तहका सरकारहरुले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यमार्फत जलस्रोतको विकास गरी सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी सहकार्यको नीति अवलम्बन गर्ने, प्राकृतिक विपद् व्यस्थापनका लागि पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न नवीनतम् प्रविधिको अवलम्बन एवं जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत्लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पानी सम्मेलनले जलस्रोतको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको विस्तार गर्नका साथै पानीको समुचित उपयोग तथा संरक्षणका लागि रैथाने ज्ञान, सीप एवं प्रविधिलाई समेत समावेश गरी उपलब्ध ज्ञान तथा तथ्याङ्कको वैज्ञानिक अभिलेखीकरण, विश्लेषण तथा प्रयोग अभिवृद्धि गर्न एकीकृत सूचना प्रणाली निर्माण एवं सुदृढीकरण गरी दीर्घकालीन एकीकृत योजना तर्जुमा गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसैगरी, जलस्रोतसँग सम्बन्धित सबै सरोकारवालाले जलस्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा मञ्चको विकास गरी समुदायको नेतृत्व सबलीकरण र क्षमता विकासका साथै असल अभ्यासको निरन्तरता र विस्तारका लागि काम गर्ने बताइएको छ । जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति तथा नोक्सानीको परिपूर्ति गर्न हरित जलवायु कोषबाट प्राप्त हुन सक्ने स्रोत र साधनलाई जलस्रोत क्षेत्रमा उच्चतम उपयोग गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ । नेपालको समृद्धि जलविद्युत्, कृषि, सिँचाइ, पर्यटन र खानेपानीलगायतका क्षेत्रमा जलस्रोतको प्रभावकारी उपयोग गर्दै आर्थिक रूपान्तरण, औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने र क्षेत्रीय व्यापारलाई सक्षम बनाउने आधार तयार गरी दिगो विकासमार्फत समृद्धि हासिल गर्न पहल गर्ने बताइएको छ । यसैगरी, सरोकारवालासँगको समन्वय र सहकार्यमा जल तथा ऊर्जा आयोगले नेतृत्वदायी भूमिका निर्वाह गरी एकीकृत जलस्रोत व्यवस्थापन, बहुउपयोग, संरक्षण तथा नियमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवं जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्ध रहँदै आगामी वर्षमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।
बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिए । फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरे । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताए । यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।
हिमाल खुलेसँगै अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।’ अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तरर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त सङ्ख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा. रविन कडरियाले बताउनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्षअर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा कडरियाले बताए । उनका अनुसार ‘एक्याप’ ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द लिन पर्यटक पदयात्रामा जाने गरेका छन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि उत्कृष्ट मानिन्छ ।
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो । अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । ‘प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ’, उनले भने, ‘निभाउन अझै समय लाग्ने देखिन्छ ।’ आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।
व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले यस्तो बताएका हुन् । उनले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताए । वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको जानकारी दिए । उनले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उनले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताए । ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्षभरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र उ बाँच्नसक्छ, ’ उनले भने । मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेस गर्न समिति सदस्यहरुलाई आग्रह गरे । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पुर्याउने उनको भनाइ छ ।
भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ
काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । आइतबार वनस्थलीबाट पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरी डिल्लीबजार कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले मंसिर १२ गते उनलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो । त्यसपश्चात् उनी फरार रहेका थिए । सजाय बेरुजु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने विषयमा आयोगले विस्तृत अनुसन्धान गरी उनीविरुद्ध सर्वाेच्चमा मुद्दा दायर गरेको थियो ।
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन् । उनले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । उनले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समेत बताइन् । यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उनको जोड छ । ‘अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ । यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु, ’ उनले भनिन् । मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरुको अधिकारसम्बन्धी समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।