विकासन्युज

८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब नाघ्यो, नेपाल लाइफको सर्वाधिक कमाइ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरूले  एक खर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । उक्त अवधिमा कम्पनीहरूले नवीकरण शुल्कमार्फत एक अर्ब ९६ करोड ६४ लाख शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ४ लाख १९ हजार २५३ बीमालेख जारी गर्दा १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । फागुनमा मात्रै कम्पनीहरूले नवीकरण शुल्कमार्फत १० अर्ब ३७ करोड, वैदेशिक रोजगार बीमा शुल्क ३० करोड ५१ लाख संकलन भएको प्राधिकरणले जनाएको छ। नेपाल लाइफको सर्वाधिक समीक्षा अवधिमा नेपाल लाइफ इन्स्यारेन्सले सर्वाधिक व्यवसाय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १९ लाख ४ हजार ९६ बीमा लेख जारी गर्दा २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले फागुनमा मात्रै ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले ८ महिना अर्थात फागुन मसान्तसम्ममा  कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यवसाय गरेको छ । उक्त अवधिमा कम्पनीले १५ लाख ३४ हजार ४ बीमालेख जारी गरेका छन् । कम्पनीको फागुनको मात्रै व्यवसाय २ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा रहेको एलआईसी नेपालले फागुनसम्ममा १२ अर्ब ५६ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । एलआईसीले फागुनमा मात्रै एक अर्ब ३८ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, धेरै व्यवसाय गर्ने चौंथो नम्बरमा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । अन्य बीमा कम्पनीहरूमा फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्यारेन्स ६ अर्ब ६९ करोड ५० लाख, एशियन लाइफ इन्स्यारेन्स ५ अर्ब ६९ करोड ८२ लाख, सिटिजन्स लाइफ इन्स्यारेन्स ४ अर्ब ४९ करोड। राष्ट्रिय जीवन बीमा कम्पनी ४ अर्ब ४७ करोड ९३ लाख, सानिमा रिलायन्स ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, मेट लाइफ ३ अर्ब ८८ करोड ९ लाख, आइएमई लाइफ इन्स्योरेन्स ३ अर्ब २८ करोड ७८ लाख, प्रभु महालक्ष्मी  ३ अर्ब १९ करोड ७६ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ३ अर्ब १७ करोड ५९ लाख र सन नेपाल लाइफ इन्स्यारेन्स २ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । १३ जीवन बीमकको व्यवसाय बढ्दा एकको व्यापारमा गिरावट अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको तुलनामा चालु आव २०८१/८१ को सोही अवधिको तुलनामा १३ वटा जीवन बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ । सबैभन्दा धेरै व्यापार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा समीक्षा अवधिमा आफ्नो व्यापार ११.७८ प्रतिशतले बढाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा नेपाल लाइफले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने नेशनल लाइफ इन्स्यारेन्सले फागुनसम्म १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रोमा नेपाल लाइफ इन्स्यारेन्सको व्यवसाय गत आवको तुलनामा ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीहरूको व्यवसाय ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । हिमालयन लाइफको व्यवसाय ०.३८ प्रतिशतले बढेको छ । सूर्यज्योति लाइफको १७.२९ प्रतिशत, एसियन लाइफको १०.४६ प्रतिशत र सिटिजन लाइफको २०.४३ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १४.३७ प्रतिशतले घटेको छ । फागुनसम्ममा ४ अर्ब ४७ करोड ९३ लाख व्यवसाय गर्दा गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।

रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घले र १०० भन्दा बढी साझेदारले रोहिङ्ग्या सङ्कटका लागि सन् २०२५–२६ को संयुक्त प्रतिकार्य योजना सुरु गर्न लागेको जनाएको छ ।  उक्त अपिलमा रोहिङ्ग्या शरणार्थी र ‘होस्ट’ समुदायसहित करिब १४ लाख ८० हजार मानिससम्म पुग्न पहिलो वर्ष ९३ करोड ४५ लाख अमेरिकी डलर माग गरिएको छ । सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका बङ्गलादेशका करिब १० लाख मुस्लिम र अधिकांश मुस्लिम अल्पसङ्ख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन् ।  ‘आठौं वर्षमा पनि रोहिङ्ग्या मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाट धेरै हदसम्म बाहिर छ, तर आवश्यक छ,’ सोमबारको विज्ञप्तिमा भनिएको छ। खाद्य सहायता, खाना पकाउने इन्धन वा आधारभूत आवासमा कटौती लगायतका महत्वपूर्ण क्षेत्रमा कुनै पनि कोषको कमीले यस अति जोखिममा रहेको जनसंख्याका लागि गम्भीर परिणाम निम्त्याउने छ। यसले धेरैलाई सुरक्षाको खोजीमा खतरनाक डुङ्गा यात्रा गर्नेजस्ता हताश उपायहरू अपनाउन बाध्य पार्न सक्छ। संयुक्त राष्ट्रसङ्घले शिविरमा रहेका शरणार्थी जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिला र किशोरी रहेको र उनीहरु लैङ्गिक हिंसा र शोषणको उच्च जोखिममा रहेको जनाएको छ । एक तिहाइ शरणार्थी १० देखि २४ वर्ष उमेर समूहका रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘औपचारिक शिक्षामा पहुँच, पर्याप्त सीप विकास र आत्मनिर्भरताका अवसरबिना उनीहरूको भविष्य धरापमा परेको छ ।’ ’म्यानमाको रखाइन राज्यमा स्थिति शान्तिपूर्ण र सुरक्षित र स्वेच्छिक रूपमा फर्कन अनुकूल नभएसम्म अन्तर्राष्ट्रिय समुदायले शिविरमा रहेका शरणार्थीहरूलाई जीवनरक्षाका लागि आर्थिक सहयोग जारी राख्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। रासस

सबैभन्दा धेरै रक्सी पिउने देश मोल्दोवा, कुवेतमा भने खपत शून्य

तस्बिर : एआई (ग्रोक ) काठमाडौं । के तपाईंलाई थाहा छ- विश्वमा सबैभन्दा बढी रक्सी कुन देशहरूमा खपत हुन्छ ? यस सूचीमा शीर्ष १० देशहरूमध्ये ८ युरोपेली छन् भने सबैभन्दा कम खपत हुने देशहरूमा १० मध्ये ९ इस्लामी देशहरू छन् । एउटा देश त यस्तो पनि छ जहाँ कसैले रक्सी पिउँदैनन् । शुद्ध अल्कोहल खपतको हिसाबले युरोपेली देश मोल्दोवा विश्वमा पहिलो स्थानमा छ । २४.६ लाख जनसङ्ख्या भएको यस देशमा प्रत्येक व्यक्तिले वर्षमा औसतमा १५.२ लिटर रक्सी खपत गर्छन् । पूर्वी युरोपमा अवस्थित यो देश पहिले सोभियत सङ्घको हिस्सा थियो । यहाँको प्रति व्यक्ति जीडीपी ६ हजार ७२९.४१ अमेरिकी डलर छ । यस सूचीमा दोस्रो स्थानमा लिथुआनिया छ जहाँ प्रति व्यक्ति वार्षिक रक्सी खपत १५ लिटर छ । यसपछि चेक गणतन्त्र (१४.४ लिटर), सेसेल्स (१३.८ लिटर), जर्मनी (१३.४ लिटर), नाइजेरिया (१३.४ लिटर), आयरल्याण्ड (१३ लिटर), लाट्भिया (१२.९ लिटर), बुल्गेरिया (१२.७ लिटर), फ्रान्स (१२.६ लिटर), पोर्चुगल (१२.३ लिटर), बेल्जियम (१२.१ लिटर), रूस (११.७ लिटर), अस्ट्रिया (११.६ लिटर), इस्तोनिया (११.६ लिटर), पोल्याण्ड (११.६ लिटर) र स्विट्जरल्याण्ड (११.५ लिटर) छन् । कुवेत विश्वको एकमात्र देश हो जहाँ रक्सी खपत शून्य छ । साउदी अरबमा यो प्रति व्यक्ति ०.२ लिटर, पाकिस्तानमा ०.३ लिटर, इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा २ लिटर, सिङ्गापुरमा २.५ लिटर, यूएईमा ३.८ लिटर, इजरायलमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह (तस्बिरहरू)

काठमाडौं । सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह​ सम्पन्न भएको छ ।

महाकाली नदीबाट सिँचाइका लागि पानी तान्दै स्थानीय सरकार

फाइल फाेटाे काठमाडौं । बैतडीमा महाकाली नदीबाट पानी तानेर सिँचाइ सुविधा पुर्‍याइने भएको छ । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीको पानी तानेर एक हजार दुई सय रोपनी जग्गामा पुर्‍याउन लागेको हो । यसका लागि विस्तृत कार्ययोजना (डीपीआर) तयार भइरहेको गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए । उनका अनुसार गाउँपालिकाको वडा नं ४ विनायक गाउँ महाकाली नदीको छेउमै रहेको भए पनि खेतीपातीका लागि आकासे पानीको भर पर्नुपर्ने समस्या छ । अध्यक्ष चन्दले भने, ‘विनायक गाउँमा राम्रो खेतीपाती हुन्छ । सिँचाइको सुविधा नहुँदा जग्गा बाँझै छ । हुन त महाकालीको छेउमै हो तर भएपनि त्यो पानी गाउँसम्म पुग्दैन । खेतीपातीका लागि आकाशकै भर पर्नुपर्ने अवस्था छ ।’ उनले नदीबाट पानी तान्नका लागि प्रारम्भिक अनुमान ३७५ मिटर उचाइको दुरी रहेको बताए । यसका लागि १० हर्सपावरको विद्युत जडान गरेर ५५ हजार घनमिटरका दुईवटा ट्याङ्की निर्माण गरिने जनाइएको छ । यसमा चार इन्चको मोटो पाइप जडान गरेर खेतमा पानी पुर्‍याउने बताइएको छ । उक्त आयोजनाका लागि ३० लाखभन्दा बढी रुपैयाँ खर्च हुने प्रवक्ता चन्दले बताए । उनका अनुसार यो आयोजनालाई चाँडै अघि बढाउने तयारीमा गाउँपालिका छ ।

एसईई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसईई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा– ९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड (शिक्षक)ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएपमार्फत च्याट गरिएको भेटिएको थियो । ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी संख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले बताए । त्यसैगरी, अनुगमनका क्रममा इनरुवा– १ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए । यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरिएको थियो । परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले बताए । निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो । यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो । सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेतसमेत गरिएको उनले बताए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको उनले बताए । सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेका कारणले निरीक्षक फ्स्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समनव्य एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए । रासस

बिहान सीईओ नियुक्ति, दिउँसो राष्ट्र बैंकको निर्देशन, ४ बजे खारेज

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिको बैठक चैत १० गते बिहान साढे दश बजे बस्यो । बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गर्ने निर्णय गर्‍यो । त्यसपश्तात इवाहाङलाई सीईओमा नियुक्ति गरेको जानकारी कम्पनीले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायतका नियामकलाई पत्रमार्फत गर्‍यो । फेरि सोही दिन ४ बजे कम्पनी सञ्चालक समितिको अर्काे बैठक बस्यो । उक्त बैठकले सीईओमा नियुक्त भएका इवाहाङको नियुक्तिलाई खारेजी गर्ने निर्णय गर्‍यो । नेपाल राष्ट्र बैंकको निर्देशनमा फाइनान्सको सञ्चालक समिति बैठकले सीईओ इवाहाङको नियुक्ति खारेजको निर्णय गरेको कम्पनी सचिव दीपक न्यौपानले बताए । फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो । राष्ट्र बैंकले सीईओ नियुक्तिसम्बन्धी प्रक्रिया अध्ययन गरेपछि अधिकारीले संस्थामा कार्य गर्न असमर्थ रहेको पत्र दिएका थिए । त्यसपछि सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले अधिकारीको सीईओ पदमा नियुक्ति गरिएको यसअघिको निर्णय खारेज गरेको न्यौपानेले जानकारी दिए । अधिकारीको नियुक्ति खारेजपछि रिक्त रहेको सीईओ पदमा सञ्चालक समितिले इवाहाङलाई चैत ११ गतेबाट लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको थियो । तर, पुस २४ गते र पुस २५ गते गरेको विशेष निरीक्षणमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धी हालसम्म भए गरेका सम्पूर्ण कार्यहरू रद्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको कम्पनी सचिव न्यौपानले जानकारी दिए । तर, राष्ट्र बैंकले गरेको निरीक्षणको प्रतिवेदनमा के कस्ता कैफियत छन् भन्नेबारे आफूलाई जानकारी नभएको न्यौपानले बताए । ‘सञ्चालक समितिको बैठक बिहान साढे १० बजे बसेर सीईओ नियुक्ति गरियो । तर, निरीक्षणको आधारमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धि हालसम्म भएका कार्य रद्द गर्न भनेर राष्ट्र बैंकले दिउसो पत्र पठायो । कार्यान्वयन गर्दाखेरी भाषामा सम्पूर्ण प्रक्रिया रद्द गर्नु भनेपछि खारेज गरिएको हो,’ न्यौपानेले भने, ‘सीईओ नियुक्तिसम्बन्धि सम्पूर्ण प्रक्रिया रद्द गर्न भनेर राष्ट्र बैंकबाट चिठी आएपछि रद्द गरेको हो ।’ उनका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सीईओमा नियुक्ति गर्दा उजुरी परेपछि राष्ट्र बैंकले निरीक्षण गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त

फाइल तस्बिर । काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् । ४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका हुन् । आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले रंगनाथनलाई शपथ खुवाइन् । वेणुगोपाल २००७ को जुनदेखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहँदै आएका छन् । उनले मुख्य रूपमा कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी) का लागि जोखिम व्यवस्थापन कार्यमा विभिन्न वरिष्ठ भूमिकाहरूमा काम गरिसकेका छन् । हाल उनी भारत र दक्षिण एसिया क्लस्टर (जसमा बंगलादेश, श्रीलंका र नेपाल समावेश छन्) का लागि प्रमुख जोखिम अधिकृत (सीआरओ) हुन् । ३२ वर्षभन्दा बढी समयको बैंकिङ अनुभव रहेको वेणुगोपालले विभिन्न भौगोलिक क्षेत्रहरू र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।