
फाइल फाेटाे
काठमाडौं । बैतडीमा महाकाली नदीबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइने भएको छ । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीको पानी तानेर एक हजार दुई सय रोपनी जग्गामा पुर्याउन लागेको हो ।
यसका लागि विस्तृत कार्ययोजना (डीपीआर) तयार भइरहेको गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए ।
उनका अनुसार गाउँपालिकाको वडा नं ४ विनायक गाउँ महाकाली नदीको छेउमै रहेको भए पनि खेतीपातीका लागि आकासे पानीको भर पर्नुपर्ने समस्या छ ।
अध्यक्ष चन्दले भने, ‘विनायक गाउँमा राम्रो खेतीपाती हुन्छ । सिँचाइको सुविधा नहुँदा जग्गा बाँझै छ । हुन त महाकालीको छेउमै हो तर भएपनि त्यो पानी गाउँसम्म पुग्दैन । खेतीपातीका लागि आकाशकै भर पर्नुपर्ने अवस्था छ ।’
उनले नदीबाट पानी तान्नका लागि प्रारम्भिक अनुमान ३७५ मिटर उचाइको दुरी रहेको बताए । यसका लागि १० हर्सपावरको विद्युत जडान गरेर ५५ हजार घनमिटरका दुईवटा ट्याङ्की निर्माण गरिने जनाइएको छ । यसमा चार इन्चको मोटो पाइप जडान गरेर खेतमा पानी पुर्याउने बताइएको छ ।
उक्त आयोजनाका लागि ३० लाखभन्दा बढी रुपैयाँ खर्च हुने प्रवक्ता चन्दले बताए । उनका अनुसार यो आयोजनालाई चाँडै अघि बढाउने तयारीमा गाउँपालिका छ ।