कोशी र गण्डकीमा वर्षा हुने, अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सरकारले कुलमानलाई हटाएपछि रविले बत्ति निभाएर मैनबत्ति बालेर गरे विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । उनले सोमबार राति फेसबुक लाइभमार्फत् कुनै शब्द नबोली बत्ति बन्द गरेर र मैनबत्ति जलाएर सरकारको निर्णयको विरोध गरेका हुन् । उनले भिडियोमा भनेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
राति १० बजे बालेनको स्टाटस : अबको एक हप्तामा कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरका सरसफाई कर्मचारीले विगत ३ महिना देखी तलब नपाएको गुनासो गरेका छन् । राति १० बजे फेसबुकमा स्टाटस राख्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले । को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको के-के तन्त्र हो ।’
कुलमानले भने : सरकारको निर्णयविरुद्द अदालत जान्छु, पहिला हातमा पत्र आओस्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले आफूलाई हटाउने सरकारको निर्णयविरुद्द अदालत जाने बताएका छन् । उनले सरकारले आफूलाई बर्खास्त गर्ने निर्णय गरेको पत्र हात परेपछि अदालत जाने बताएका हुन् । ‘सञ्चारमाध्यमबाट हताएको समाचार पढेको छु, हातमा पत्र आउनेबित्तिकै अदालत जान्छु,’ उनले भने । यसअघि पटक-पटक स्पष्टीकरण सोधेर हटाउने योजना बनाइरहेको सरकारले पाँचौं पटक स्पष्टीकरण सोधेर बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले उनको स्पष्टीकरण चित्त नबुझेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । कार्यकाल सकिनु अगावै बिनाकारण पदबाट बर्खास्त हुनुपरेपछि उनी कानूनी बाटो रोज्ने निर्णयमा पुगेका हुन् ।
राम्रो काम गरिरहेकालाई हटाएर विवादित व्यक्तिलाई नियुक्ति, कस्ता पात्र हुन् हितेन्द्र र नारद ?
काठमाडौं । सरकारले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई बर्खास्त गरेर विवादित व्यक्तिलाई नियुक्ति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल घिसिङलाई बर्खास्त गर्दै उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । कुलमानले एक कार्यकाल सफलताका साथ सम्पन्न गरेर दोस्रो कार्यकालको अन्तिममा थिए । उनले दोस्रो कार्यकालमा पनि विद्युत प्राधिकरणलाई विद्युत उत्पादन तथा व्यवसायमा अब्बल संस्थानका रुपमा देखाएका छन् । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरणलाई कुलमानले नेतृत्व गरेपछि निरन्तर नाफामा लगेका थिए । प्राधिकरणले गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरिसकेको छ । प्राधिकरणका अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । अहिले नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । यो किसिमको फड्को मारिरहेको प्राधिकरणको नेतृत्वलाई सरकारले प्रतिसोध साँध्दै बर्खास्त गरेको हो । कुलमानलाई हटाएर सरकारले हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । शाक्यको प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा यो दोस्रो कार्यकाल हो । शाक्यको स्थायी घर इलाम हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । उनी ओलीको श्रीमती राधिका शाक्यको भाइ हुन् । लामो समय उपकार्यकारी निर्देशक भएर काम गरेका उनी पछि प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । तर, सरकारले उनलाई उर्जा मन्त्रालयमा तानेर कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिएको थियो । उनी सो निर्णयको विरुद्द अदालत पनि पुगेका थिए । उनीमाथि कमजोर व्यवस्थापको रुपमा पनि आलोचना हुने गरेको छ । यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ । उनी पनि विवादित पात्र हुन् । लुइँटेल यस अगाडि तारागाउँ विकास समितिको सदस्य सचिव रहँदा नै विवादित थिए । उनी पनि एमाले निकट मानिन्छन् ।
नेप्सेको सीईओ बने नारद लुइँटेल
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको थियो । छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाएको थियो । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरेको थियो ।
कुलमानलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्य नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देब शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सरकारले कुलमानलाई गर्यो बर्खास्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाइ बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले उनलाई ५ पटक स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्त नबुझेपछि हटाएको हो ।