ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआईको माग
काठमाडौं । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्र्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ईगभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी, प्रभावकारी र भविष्यमुखी बनाउन आफ्नो दृष्टिकोण र राय राखेका हुन् । प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई(गभर्नेन्स बोर्डले विद्युतीय सुशासनमार्फत आर्थिक पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउने रणनीतिसहित ई(गभर्नेन्स ब्लुप्रिन्टको मस्यौदा ल्याएको थियो । यसमा सरोकारवालाका तर्फबाट सुझाव दिने क्रममा सीएसआरआई नेपाल र एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरणदेखि साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्ने विषय उठाएका छन् । साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा एनपीसर्टको जोड एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरण र साइबर सुरक्षा सुधारमा जोड दिँदै सरकारी निकायहरूको भूमिका स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएको छ । एनपीसर्टले ई–गभर्नेन्स कार्यक्रमहरूको प्रभावकारी निगरानीका लागि कानुनी आधारमा केन्द्रीय निकाय स्थापना गर्नुपर्ने र मन्त्रालय तथा विभागहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिएको छ । ई–गभर्नेन्स ब्लुप्रिन्टलाई अझ स्पष्ट र विशिष्ट बनाउनुपर्ने भन्दै एनपी सर्टले डिजिटल नेपाल फ्रेमवर्कसँग मिल्ने गरी तयार पार्न सुझाव दिएको छ । साथै, एनपीसर्टले राष्ट्रिय डेटा सेन्टरको स्थापना, साइबर सुरक्षा केन्द्रको सुदृढीकरण र क्लाउड कम्प्युटिङको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरेको छ । यसो भएमा डिजिटल संरचना मजबुत हुने र सुरक्षित ब्याकअप प्रणाली स्थापना गर्न मद्दत पुग्ने संस्थाको राय छ । त्यस्तै, निजी डेटा सुरक्षा कानुनको कार्यान्वयन र डिजिटल परिचय प्रणालीको सुरक्षा सुनिश्चित गर्ने पक्षमा पनि एनपीसर्टले सुझाव दिएको छ । डिजिटल सेवामा नैतिकता र नागरिक विश्वासमा विशेष ध्यान दिन सीएसआरआई नेपालको आग्रह सीएसआरआई नेपालले डिजिटल सेवाको नैतिक प्रयोग र नागरिक विश्वासमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ । सरकार र नागरिकको बीचमा विश्वास कायम हुनुपर्ने भन्दै सीएसआरआईले डिजिटल सेवाले नागरिकको सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरेको छ । सीएसआरआईले डिजिटल विभाजन हटाउनका लागि ग्रामीण क्षेत्रमा इन्टरनेट र अन्य पूर्वाधार सुधार गर्नुपर्ने र डिजिटल साक्षरता कार्यक्रमहरू सातै प्रदेशमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै ब्लकचेन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको प्रयोग गरेर प्रतिक्रिया प्रणाली (रेस्पोन्स सिस्टम) लाई सुरक्षित र पारदर्शी बनाउनुपर्ने कुरामा जोड दिइएको छ । मुलुकी अपराध संहिता र अन्य कानुनी व्यवस्थाहरूलाई अपडेट गर्नुपर्ने र नेपालको साइबर कानुनलाई विश्वव्यापी साइबर सुरक्षा प्रचलनसँग मिलाउनुपर्ने सुझाव पनि राखिएको छ । सीएसआरआईले सबै मन्त्रालयहरूमा सूचना प्रविधि शाखा स्थापना गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय सरकारहरूबीच डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नुपर्ने र विश्वविद्यालयलाई शैक्षिक पाठ्यक्रम सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग राखेको छ ।
कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध सडकमा आए युवा, दीपक खड्काको पुत्ला जलाइयो, चौतर्फी विरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध युवाहरू सडकमा उत्रिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेसँगै त्यसको विरुद्ध युवाहरू सडकमा उत्रिएका हुन् । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुत्ला दहन गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका हुन् । अहिले कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सत्तारूढ दल नेपाली कांग्रेसकै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारकाे याे निर्णयको विरोध गरेका छन् ।
ग्लोबल आईएमई बैंकको सात प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, ६ हजार बढी सहभागी
काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशका सातै प्रदेशमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी सञ्चालन गरेको छ । बैंकले सञ्चालन गरेका ती कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी थिए । यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेका कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि गर्ने ब्यानरसहित सहभागी थिए । ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।
सरकारलाई बालेनको चुनौती-‘मलाई जेल हाल’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरूलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिं भाषणमा सुन्नुपर्ने र माथिको कुरा गलत भए मलाई जेल हाल ।’ बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले बनाएको छानविन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंको गल्ती नभएको प्रतिवेदन दिएपछि बालेनले उक्त प्रतिवेदन नै बुझ्न मानेका थिएनन् । त्यसपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई लेख्न लगाएको प्रतिवेदन आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
सवारी कर्जाको ब्याजदर ४.९९ प्रतिशतमा झर्यो, इतिहासमै सबैभन्दा सस्तो
काठमाडौं । कार किन्ने योजनामा हुनुहुन्छ ? यदि तपाईं बैंकबाट कर्जा लिएर कार किन्ने योजनामा हुनुहुन्छ भने ५ प्रतिशत ब्याजदरमै कार किन्न सकिने भएको छ । जगदम्बा मोटर्सले बैंकसँगको सहकार्यमा कार खरिद गर्दा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सवारी कर्जाको व्याजदर इतिहासमा नै यो सबैभन्दा सस्तो भएको व्यवसायीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको कर्जाको ब्याजदर औसत ८.५५ प्रतिशत छ भने सवारी कर्जाको औसत ब्याजदर ९.०३ प्रतिशत छ । तर, जगदम्बा मोसर्टले ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको छ । विद्युतीय सवारीसाधन (इभी) बिक्रीमा व्यापक प्रतिस्पर्धा हुँदै गर्दा बिक्रेताहरूले नयाँ नयाँ व्यावसायीक योजना ल्याइरहेका छन् । जगदम्बा मोसर्टका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विभिन्न बैंकसँग सहकार्य गरेर सो ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए । ‘८/१० वटा बैंकसँग सहकार्य गरेका छौं, बैंकसँगको सहकार्यमा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने हो । यसमा कम्पनीले सहयोग गरेको हुन्छ । जस्तो बैंकको ब्याजदर ७ प्रतिशत छ भने त्यसमा २ प्रतिशत कम्पनीले योगदान गर्छ,’ उनले भने, ‘बैंकले आफ्नो ब्याजदर जति हो त्यति नै लिन्छ, बैंकको ब्याजदर यथावत नै कायम रहन्छ । तर, यसमा ग्राहकको रूपमा कम्पनीले सहयोग गरेको हुन्छ ।’ तर, कुन-कुन बैंकसँग सहकार्य गरेको हो ती बैंकको नाम भने उनले खुलाएनन् । बैंकको नाम नभन्ने शर्त राखिएको उनले बताए । ‘हाम्रो आफ्नै इन्भेष्टमेन्ट कम्पनी जगदम्बा कम्पनी छ । बैंकमा तरलता बढी भएर के गरौं भइरहेको छ । यसले बैंकलाई केही असर गर्दैन । बैंकलाई घाटा नहुने गरी उहाँहरूले काम गर्नु भएको छ । ग्राहकबाट ४.९९ प्रतिशतमा लिने हो । बाँकी कम्पनीले योगदान गरेर भुक्तानी गर्ने हो,’ उनले भने । सवारी खरिदमा ४० प्रतिशत डाउन पेमेन्टमा बैंकहरूले ६० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराइरहेका छन् । अर्थात ग्राहकले डाउन पेमेन्ट ४० प्रतिशत गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत बैंकले कर्जा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गराउनेछ । बाँकी ब्याजदर भने कम्पनीले भुक्तानी गर्नेछ । जगदम्बा मोटर्सले प्रोटोन ईमस सेभेन गाडी खरिदका लागि उक्त कर्जा उपलब्ध गराउनेछ । उक्त सवारीको मूल्य ५६.९९ लाख रुपैयाँ तोकेको छ ।
ग्लोबल मनी वीकको अवसरमा सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीकको अवसरमा को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका बनेपा शाखा र नारायणगढ शाखाको आयोजनामा चैत १० गते सम्पन्न भएको हो । बनेपास्थित श्री संकल्प क्याम्पसमा आयोजित कार्यक्रममा स्नातक तहका ६५ जना विद्यार्थी सहभागी भएका थिए । यस्तै, नारायणगढको श्री बालकुमारी कलेजमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बचत, कर्जा, लगानी, बजेट व्यवस्थापन, खर्च नियमन, वित्तीय सेवा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । साथै, डिजिटल बैंकिङ प्रणालीको प्रयोग, साइबर सुरक्षा, र डिजिटल लेनदेनसँग सम्बन्धित चुनौती र सावधानीका विषयमा पनि विस्तृत जानकारी प्रदान गरिएको थियो । बैंकले यस कार्यक्रमलाई विद्यार्थीहरूको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको जनाएको छ । यस्ता कार्यक्रमले भविष्यका जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल मनी विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो । यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएका बैंकले जानकारी दिएको छ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरताविस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रवाह गरिरहेको छ ।
एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो । बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए । साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो । ‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’ नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ ।