विकासन्युज

पिँडालु प्रतिकिलो ८० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ५०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३५ तथा भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो १२० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, सलगम प्रतिकिलो ६० तथा भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ७०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ७०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३५० तथा कुरिलो प्रतिकिलो ७०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी १२०, ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, कोइरालो प्रतिकिलो १७०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ६०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २७०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, सुन्तला (भारतीय) प्रतिकिलो १३०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो १८०, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, रुख कटहर प्रतिकिलो १००, निबुवा प्रतिकिलो ६०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १३०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो ९० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो ६०, हरियो धनिया प्रतिकिलो १००, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो ६०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १७०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० तोकेको छ ।

१३ करोडमा ठेक्का लगाउँदै त्रिभुवन विमानस्थलको पार्किङ्ग, एउटै सवारीबाट ९ सय रुपैयाँसम्म शुल्क

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ्ग क्षेत्र झण्डै १३ करोड रुपैयाँ भाडामा ठेक्का दिइने भएको छ । सवारी पार्किङ्ग शुल्क असुल गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेशन एयरलाईन्स भवन अगाडी तथा आन्तरिक टर्मिनल भवन अगाडीको क्षेत्र भाडामा दिने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले तोकिएको ७७५५.४ वर्गमिटर क्षेत्रफल रहेको पाकिङ्ग क्षेत्रमा सवारी साधन विशान सेवा शुल्क उठाउन ठेक्कामा भाडामा दिन लागिएको जनाएको छ । कार्यालयका अनुसार सवारी साधन विसान शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ३ वर्षको हुनेछ । साथै, कार्यालयले ३ वर्षको लागि न्यूनतम १२ करोड ९८ लाख १६ हजार रुपैयाँमा सो क्षेत्र भाडामा ठेक्का लगाउने भएको हो । उक्त क्षेत्रमा पार्किङ्ग सेवा शुल्क उठाउन इच्छुक व्यक्ति तथा कम्पनीले चैत १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । साथै, बोलपत्र पेस गर्दा आफूले कबोल गरेको बहाल रकमको ५ प्रतिशत रकम कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ । बोलपत्र फाराम खरिद शुल्क भने ११ हजार ३ सय रुपैयाँ तोकिएको छ । कार्यालयका अनुसार पार्किङ्ग क्षेत्र भाडामा लिइसकेपछि मोटरसाईकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ शुल्क उठाउनुपर्नेछ । यस्तै, कार, जिप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, हल्का सवारी साधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ तोकिएको छ भने प्रतिदिन ६ सय रुपैयाँ तोािकएको छ । बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क असुल गर्न पाउनेछ । एम्बुलेन्स बाहक यात्रु, सववाहन जस्ता आपतकालीन उद्धारमा प्रयोगमा हुने सवारी साधनहरु डिप्लोमेटिक यूएन एजेन्सी र प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनबाट शुल्क उठाउन पाईने छैन । नियमित रूपमा विसान गर्ने सवारी साधनको एकमुष्ठ मासिक दरले अग्रिम बुझाउनेलाई ३० दिनको लागि लाग्ने दस्तुरको दुई तिहाईले हुन आउने रकम मात्र लाग्ने छ ।

वीरगञ्जबाट बाहिरियो ५३ अर्ब २६ करोडका वस्तु, भटमासको तेल निर्यात बढ्यो

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको हो । यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

कुमारी र सिटिजन्स बैंकको सेयर बिक्रीमा, मूल्य १ सयदेखि १२० रुपैयाँ

काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी र सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख २० हजार ३६४ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्ने छ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ । यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले ३ लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी यदुनाथ घिमिरेले ५४ हजार ८११.५७ कित्ता सेयर र रोशन श्रेष्ठले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । घिमिरेको सेयरको मूल्य १२० रुपैयाँ तोकिएको छ भन श्रेष्ठको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिदका लागि जोकोही लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

ऋणीहरू इमानदार नहुँदा बैंक सङ्कटमा परे, कर्जा दिँदा मनोविज्ञान बुझ्नुपर्छः शङ्कर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताएका छन् । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय परिषद्को सोमबार पोखरामा उद्घाटन गर्दै उनले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेर सँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले पराम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न जरुरी रहेको भन्दै बैंकले पनि आफ्नो प्राथमिकता बुझ्न आवश्यक रहेको बताए । कृषि विकास बैंकले पछिल्लो समय आफूलाई सुधार गर्दै लगेकामा प्रशंसा गर्दै उनले बचतकर्ताको संरक्षण गर्ने दायित्व नबिर्सन आग्रह गरे । ‘ऋणीहरू इमानदार नहुँदा बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्नु हो । ऋणीलाई स्रोत र प्रविधि हस्तान्तरण गर्दै उनीहरूसँग नजिक रहनुपर्छ । ऋण प्रवाह गर्दा काज र मनोविज्ञान पनि बुझ्न आवश्यक छ,’ उनले भने । महासचिव पोखरेलले पछिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्न केही मानिसहरू मक्किएका राजालाई बोकेर हिडेको आरोप लगाए । ‘लोकतन्त्रको विकल्प छैन । कतिपयले विसं २०४६ को परिवर्तनपछि के भयो भनेर टिप्पणी गर्छन् तर त्यसअघि देशको अवस्था कस्तो थियो भनेर हेरौँ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा प्रविधि, पुल निर्माणले लोकतन्त्र स्थापनापछि नै तीव्रता पाएको हो,’ उनले भने । एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनताको जीवनस्तर माथि उकास्न बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा बैंकले उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । एमाले नेता एवं पूर्वमन्त्री किरण गुरुङले राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो समय बैंक मुनाफा गर्नेतर्फ अगाडि बढेको र खराब कर्जा घटाउने अभियानमा आफूहरू लागेको बताए । ८२ हजार किसानलाई ६७ अर्ब रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका-६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो । खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयतन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिङ्गा र बेनीमा कटानको जोखिम सृजना गरेको स्थानीयले गुनासो गरेका छन् । विस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकूल हुने भएकाले नदीभन्दा बाहिर छुट्टै जग्गामा थुपार्नुपर्ने कानुनी व्यवस्था छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले खोलामा फालेको र किनारमा थुपारेको मकिङ अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएको बताए । ‘जलविद्युत् आयोजनाको मकिङ जथाभावी फाल्दा वातावरणमा असर पर्छ, फोहर हटाउन निर्देशन दिएको छु,’ उनले भने । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्किएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्वीकार गर्दै जग्गा खोजेर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

कुलमानको बर्खास्तिले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरियो

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेपछि आपत्ति जनाउँदै महामन्त्रीद्वयले सरकारको निर्णय ठिक नभएको बताएका हुन् । महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भए पनि यस्तो नभएको भन्दै दुःख व्यक्त गरे । ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन । निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ महामन्त्री थापाले भने । महामन्त्री थापाले पनि आम नागरिकमा असन्तुष्टि बढिरहेको बेलामा आफूहरू रातदिन नभरी मिहेनत गर्दा पनि सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको बताए । ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’ यस्तै, अर्का महामन्त्री शर्माले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विमति जनाए । कुलमानलाई बाँकी पदावधि काम गर्न दिन, नहटाउन आन्तरिक र सार्वजनिक रुपमै सरकारलाई सजग गराइएको महामन्त्री शर्माले बताए । ‘कारबाही योग्य भए पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारकाले कुलमान हटाउन हुन्न थियो,’ उनले भनेका छन्, ‘सरकारले यो निर्णय निर्णय समयोचित विल्कुलै थिएन । यसप्रति खुला र प्रष्ट रुपमा विमति छ ।’

चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

काठमाडौं । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएको थियो । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाइन् । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाइन् । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लागिज् र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाले । ती दुवैको ५५ वर्ष, ९ महिना, ३ दिनसम्म रमण गर्दै बितेछ । अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए । ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसङ्ग रहेको देवकोटाले सुनाए । ‘मञ्जुघोषाले हात जोड्दै बिन्ति गरेर हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ ? भनेपछि ऋषिले चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप नाश हुनेछ भन्नुभयो,’ उनले उल्लेख गरे । चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गए । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ । सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ । यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिने नातन विद्वत् परिषद्का सदस्य पण्डित देवकोटाले बताए ।