विकासन्युज

ट्रम्पको अटो ट्यारिफले ४६० अर्ब डलरभन्दा बढीको अमेरिकी सवारीसाधन र पार्ट्स आयातलाई समेट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत अटो ट्यारिफले वार्षिक रूपमा ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  बुधवारको संघीय रजिस्टर नोटिसमा समावेश गरिएको ट्यारिफ कोडहरूको विश्लेषण गरी ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने जनाइएको हो ।  गत हप्ता ट्रम्पको अटो ट्यारिफ घोषणा मे ३ देखि लागू हुनेछ । यो बिहीबार मध्यरातमा २५ प्रतिशत ट्यारिफ लागू भएपछि एक महिनापछि लागू हुनेछ । यस सूचीमा इन्जिन, ट्रान्समिसन, लिथियम–आयन ब्याट्री तथा अन्य प्रमुख कम्पोनेन्टहरूसहित टायर, शोक अब्जर्बर, स्पार्क प्लग वायर, ब्रेक होज जस्ता कम महँगा पाट्र्सको ट्यारिफ कोडहरू समावेश छन् । तर सूचीमा अटोमोटिभ कम्प्युटरहरू पनि छन्, जुन चार–अङ्कीय ट्यारिफ कोड अन्तर्गत पर्दछ । जसमा ल्यापटप, डेस्कटप कम्प्युटरहरू र डिस्क ड्राइभहरू समेत समावेश छन् ।  २०२४ मा यस श्रेणीको आयात १३८.५ अर्ब डलर रहेको अमेरिकी जनगणना ब्युरोको तथ्याङ्कले देखाएको छ । यो श्रेणीबाहेक अमेरिकी सवारीसाधन र पाट्र्स आयातको कुल मूल्य ४५९.६ अर्ब डलर रहेको छ । आधुनिक कार र ट्रक, विशेष गरी विद्युतीय सवारीसाधनहरूका लागि आवश्यक कम्प्युटरहरूको सटीक मूल्य तत्काल स्पष्ट छैन किनभने अटोमोटिभ कम्प्युटरहरूको लागि कुनै अलग ट्यारिफ कोड छैन । पाट्र्ससूची साथै मे ३ बाट लागू हुने यी ट्यारिफहरूको समयसीमा ट्रम्पले सबै अमेरिकी आयातका लागि १० प्रतिशत आधारभूत ट्यारिफ घोषणा गर्नुअघि खुलासा गरिएको थियो । धेरै देशहरूलाई उच्च पारस्परिक ट्यारिफ लगाइएको थियो, जुन गैर–ट्यारिफ व्यापार अवरोधहरू प्रतिकार गर्न डिजाइन गरिएको थियो । वरिष्ठ ट्रम्प प्रशासन अधिकारीहरूका अनुसार सेक्शन २३२ राष्ट्रिय सुरक्षा ट्यारिफ अन्तर्गत पर्ने सवारीसाधन र अटो पाट्र्सहरूलाई छुट्टै आधारभूत वा पारस्परिक ट्यारिफ लगाइने छैन । अटो ट्यारिफहरू नयाँ पारस्परिक ट्यारिफहरूसँग थपिने छैनन्, जुन अप्रिल ५ देखि सुरु हुँदैछ । अझै बढी पाट्र्सहरू ट्यारिफ सूचीमा थपिन सक्ने सम्भावना छ, किनभने ह्वाइट हाउसले वाणिज्य विभागलाई ९० दिनभित्र घरेलु उत्पादकहरूलाई अन्य पार्ट्स आयातलाई निशाना बनाउन अनुरोध गर्ने प्रक्रिया स्थापना गर्न निर्देशन दिएको छ । नोटिसमा भनिएको छ कि यदि कुनै सवारीसाधन अमेरिकी–मेक्सिको–क्यानडा सम्झौताका उत्पत्तिको नियमअन्तर्गत योग्य हुन्छ भने आयातकर्ताहरूले आदेशको गैर–अमेरिकी सामग्रीमा मात्र २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् । सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् । सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।

सिटिजन्स बैंकले बेबी लाइफ होमलाई दियो २ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, र शिक्षामा सहयोग गर्दै आएको 'बेबी लाइफ होम' लाई आर्थिक सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औं वार्षिक उत्सव (आगामी वैशाख ७ गते) को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन् । बिपन्न समुदायका बालबालिकालाई आधारभूत शिक्षा, स्वास्थ्य, र आश्रय प्रदान गर्ने यो संस्थाले ठूलो चुनौतीको सामना गरिरहेको हुँदा बैंकको यो सहयोगले संस्थाको संचालनमा सहजता ल्याउने विश्वास गरिएको छ । बैंकका प्रतिनिधिहरूले एक समारोहकाबीच संस्थाका संचालक राज कुमार पुनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । संस्थाले यो रकम बालबालिकाको खानपान, शिक्षा, र स्वास्थ्य उपचारमा खर्च गर्ने जानकारी दिएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक कार्य गर्ने संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार ३ सय

  काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।  आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।  आजभन्दा अगाडिको उच्च मूल्य चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

महालक्ष्मी विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान, पायो 'ग्राहक केन्द्रित बैंक' अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित 'बिजनेस कनेक्ट' म्यागजिनबाट 'ग्राहक केन्द्रित बैंक' अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित भएको छ । बैंकले ग्राहक सेवा सुधार, सुरक्षित तथा डिजिटल बैंकिङ सुविधा प्रवर्द्धन, र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने नीतिलाई निरन्तरता दिएको भन्दै बिजनेस कनेक्ट म्यागजिनले सम्मान प्रदान गरेको हो । बैंकले निरन्तर नवप्रवर्तनशील डिजिटल बैंकिङ सेवा विस्तार गर्दै 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसले ग्राहकहरूलाई अत्याधुनिक, सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । बैंकका अनुसार यो सम्मानले वित्तीय पहुँचबाट बाहिर रहेका नेपाली नागरिकलाई बैंकिङ प्रणालीमा ल्याउन थप प्रेरणा मिल्ने छ भने अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान पनि स्थापित गर्नेछ । बिजनेस कनेक्ट म्यागजिनले नवप्रवर्तनशील व्यवसायिक विचार र प्रभावशाली संस्था तथा व्यक्तिहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ । यो अवार्ड महालक्ष्मी विकास बैंकको उत्कृष्ट ग्राहक सेवा पहिचानको प्रमाण बनेको छ ।  

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कार्यकक्षमा ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत परिचालन गरिएको छ । गुरागाईँ बिहीवार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । गुरागाईं २०८१ पुस १४ गतेदेखि मेयर बालेन शाहको निलम्बनमा छन् । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको आरोपमा सोही दिनदेखि गुरागाईं कार्यालयमा उपस्थित हुन पाएका छैनन् । 

थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य र लगानीका अवसरहरूबारे जानकारी गराएका थिए । उनले नेपालले लगानी सुरक्षाका लागि कानुनी सुधारहरू गरेको बताउँदै थाइल्याण्डका व्यवसायीहरूलाई शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेश नबनेको र समान रूपमा गरिबी निवारणको प्रयास गरेको उल्लेख गर्दै थाइल्याण्डको प्रविधि र विकास मोडेल नेपालका लागि उपयोगी हुन सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाइल्याण्डका व्यवसायीहरूले विशेष गरी शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा लगानी गर्न चाहेको जनाएका छन् । पर्यटनका लागि पनि थाइल्याण्डसँग बलियो सम्बन्ध रहेको र बौद्धमार्गी थाइल्याण्डवासीहरू बुद्ध जन्मभूमि लुम्बिनी भ्रमण गर्न चाहने भएकाले पर्यटनमा थप लगानीको सम्भावना रहेको प्रधानमन्त्री ओलीले बताए । सरकारले लगानी मैत्री कानून र अनुकूल वातावरण तयार पारेकोले थाइल्याण्डका व्यवसायी नेपालमा आकर्षित हुन सक्ने विश्वास गरिएको छ ।   

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

डुम्रे । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो ।       जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पुर्याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो ।       अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे बनाइएको उनले बताए । 'अनादीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्', सञ्चालक अधिकारीले भने, 'रैथाने धान संरक्षण, प्रवद्र्धन तथा ब्राण्डिङ गरी आयसँग जोड्न अनादीको खट्टे बजारमा ल्याएका हौँ ।'      भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताए । उनले भने, 'खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।'      नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजार पु¥याउने गरिएको कृषि शाखाले जनाएको छ ।  रासस