विकासन्युज

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले १०३ दिनपछि गरे हाजिर

काठमाडौं  । १०३ दिनपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं महानगरपालिकामा हाजिर गरेका छन् । गुरागाईं कार्यालय प्रवेश गर्दा केहीबेर तनाव सिर्जना भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक्ने प्रयास गरेको थियो । तर, कर्मचारीहरूले प्रतिरोध गर्दै गुरागाईंलाई कार्यकक्षसम्म पुर्‍याए । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरे । बिहीबार कार्यालय पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो, तर कर्मचारीहरूकै समर्थनमा गुरागाईं कार्यकक्षभित्र प्रवेश गर्न सफल भए । गुरागाईं गत पुस ७ देखि बिदामा बसेका थिए । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तलब समेत नपाएको गुनासो गर्दै आएका थिए । आर्थिक कारोबार र प्रशासनिक काम अवरुद्ध भएपछि कर्मचारीहरू आक्रोशित बनेका छन् ।

एआईटीमा ओलीको सम्बोधन– मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्धामा साझा प्रयासका लागि आह्वान गरेका हुन् । नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१ औं शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरूमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआइटीको सहकार्य आफूहरुको प्राथमिकतामा रहेको बताए । एआइटीलमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीन जना नेपाली सदस्य रहेका छन् भने सात जना फ्याकल्टी मेम्मर नेपाली रहेका छन् । प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका प्रेसिडेन्ट प्रा पाइ ची लीसहितले स्वागत गरेका थिए । थाइल्णडका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गरेका हुन् ।  प्रधानमन्त्री ओलीले आजै बिमस्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक÷विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह, आँखाको समस्या बढ्दै

काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै  विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो ।      एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौंमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ ।      मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए ।      स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ ।      राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न, स्वास्थ्यमा विशेष सतर्क रहन अनुरोध गरेको छ । गर्मी मौसम बढ्दै जाँदा बढ्दो वन डढेलो, सडक निर्माण, औँद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषणकोस्तर उच्च हुँदै गएको प्राधिकरणले जनाएको छ ।      प्राधिकरणले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी, टाउको दुख्नेलगायत स्वास्थ्यमा समस्या बढ्नसक्ने उल्लेख गरेको छ । यसै सन्दर्भमा जनतासँगै उद्योग, व्यवसाय, निर्माणसम्बन्धी काम सञ्चालन गरिरहेका निकायलाई वायु प्रदूषण न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।      सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।      प्राधिकरणले सम्बन्धित निकायलाई वायु प्रदूषणमापन गरी तत्काल सुधारका उपाय अपनाउन सरकारमार्फत निर्देशन दिएको छ । साथै, विपद् न्यूनीकरण प्राधिकरणले आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।   

काठमाडौंका नदी र खोलाबाट ५५ मेट्रिक टन फोहर सङ्कलन

  काठमाडौं । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।   नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ ।  यो परियोजना साउथ एसियाको–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ ।  परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । सो परियोजना अन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।  कार्यक्रममा बायोकम्प नेपालका प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सर– सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको अवगत गराए।  सङ्कलित कम गुणस्तरका प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र सिमरामा हालै स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिनेछ । यस अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरका प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ ।   कार्यक्रममा काठमाडौँ महानगरपालिका– वातावरण विभागबाट सानुमैया महर्जन, ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष राजेशकुमार महर्जन र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाइ जागरण, रेडक्रस सर्कल, नेप्सेम्याकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो । यस अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरिसकेको छ । यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र दिगो प्लास्टिक फोहर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ । यस प्रविधिले वातावरणीय चुनौतीलाई परिपत्र अर्थतन्त्रका अवसरमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ ।

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन, कुन जिल्लामा कति ?

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ ।  कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्क अनुसार ७१ हजार ७६९ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष एक लाख ४६ हजार ६७९ मेट्रिक टन धान उत्पादन भएको जनाउँदै उनले कर्णालीमा ४१ हजार ३०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गरे । कोदो १८ हजार ८२६ मेट्रिक टन, जौ नौ हजार ७०९ मेट्रिक टन र फापर दुई हजार ६३३ मेट्रिक टन उत्पादन भएको पाण्डेले जानकारी दिनुभयो । कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जसअन्तर्गत १३ हजार ७०४ हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार ३७७ हेक्टर क्षेत्रफलमा फापरखेती हुँदै आएको निर्देशनालयले जनाएको छ ।  कुन जिल्लामा कति खाद्यान्न उत्पादन ?  निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा यो वर्ष ७४ हजार ७०० मेट्रिक टन मकै उत्पादन भएको छ । सुर्खेतमा ४५ हजार ४७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार ३१० मेट्रिक टन, जाजरकोटमा ३३ हजार ३१३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार ३४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।  उनका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार ५०० मेट्रिक टन, मुगुमा दुई हजार १३८ मेट्रिक टन, डोल्पामा तीन हजार ७५० मेट्रिक टन र हुम्लामा २९० मेट्रिक टन मकै उत्पादन भएको छ ।  यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा यो वर्ष ३४ हजार १०२ मेट्रिक टन उत्पादन भएको छभने सल्यानमा २८ हजार ५२८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।  जाजरकोटमा २५ हजार १०० मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार ७१३ मेट्रिक टन, दैलेखमा १७ हजार २७४ मेट्रिक टन, कालीकोटमा ११ हजार ३१३ मेट्रिक टन, जुम्लामा पाँच हजार ४०८ मेट्रिक टन, डोल्पामा चार हजार १६५ मेट्रिक टन, मुगुमा तीन हजार २७२ मेट्रिक टन र हुम्लामा एक हजार ११५ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।  धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशनालयका निर्देशक पाण्डेले बताए । यो वर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ ।  उनका अनुसार दैलेखमा २७ हजार १५२ मेट्रिक टन, सल्यानमा २३ हजार ७१० मेट्रिक टन, रुकुम पश्चिममा नौ हजार ४५५ मेट्रिक टन, जाजरकोटमा नौ हजार ३०७, जुम्लामा पाँच हजार ९८७, कालीकोटमा पाँच हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।  यस्तै, हुम्लामा एक हजार १२० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा ३४५ मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीमा सात जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।  कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ । सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्नेलगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले जानकारी दिए ।

कजारियाको विस्तार, कलंकीमा नयाँ सोरुमको उद्घाटन

काठमाडौं । कजारियाले कलंकीको बाफलमामा नयाँ सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउसद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार तथा उद्योग वाणिज्य संघ काठमाडौंका भूतपूर्व अध्यक्ष कुशकुमार जोशी उपस्थित थिए । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनायो । प्रमुख अतिथिहरूले रिबन काटेर औपचारिक रूपमा सोरुम उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, 'हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउनेछ ।' कम्पनीका अनुसार यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्नेछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ । नेपालमा टायल्स उत्पादनमा आत्मनिर्भरता ल्याउने उद्देश्यसहित कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ । रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ ।    

बालेनलाई सुनिताको चेतावनी : झडप होइन, मेयर आफै अघि आउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई प्रत्यक्ष रूपमा समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरी विषयमा उत्पन्न विवाद संवादमार्फत हल गर्नुपर्ने उनको धारणा छ । डंगोलका अनुसार कर्मचारीको हाजिरी प्रक्रियामा भएको झडप नगरपालिकाको लागि सकारात्मक संकेत होइन । उनले भनिन्, 'मन्त्रालयबाट पठाइएको अधिकारीलाई अवरोध गर्नु राम्रो होइन । कर्मचारीबीचको विवाद समाधान गर्नुपर्छ ।' उनले थप अनुसन्धान आवश्यक भए कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताइन् । 'हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासी यस विवादका कारण सास्ती भोगिरहेका छन् । क्यान्सरपीडितलाई आवश्यक सहयोगसमेत रोकिएको छ । काम अवरुद्ध गरिनुहुँदैन, ' उनले भनिन् । उपमेयर डंगोलले मेयर शाहको प्रत्यक्ष संलग्नता आवश्यक भएको भन्दै उनले कोठामा बसेर मात्र आदेश दिन नमिल्ने बताइन् । 'यदि यो मेयरको निर्णय हो भने, उहाँ आफै अघि आउनुपर्छ। आदेश मात्र होइन, समस्याको समाधान प्राथमिकता हुनुपर्छ, ' उनले भनिन् । उनले समस्याको समाधान नगरी बोर्ड बैठक बस्न नहुने बताइन् । तत्काल समस्या समाधान गरेर मात्रै बोर्ड बैठक बस्न्पर्ने उनको भनाइ छ । यसबीच तीन महिनादेखि मेयर शाहले कार्यकारी अधिकृत गुरागाईंलाई हाजिर गर्न नदिँदा कर्मचारीहरूको तलबसमेत रोकिएको छ । आज कार्यालय पुग्दा कर्मचारीहरूले गुरागाईंलाई स्वागत गरे पनि कार्यकक्षमा तालाबन्दी भएका कारण उनी कार्यालय प्रवेश गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो । मन्त्रालयले उनलाई पुनः प्रमुख प्रशाकीय अधिकृतमा नियुक्त गर्न महानगरलाई पत्र पठाइसकेपछि बिहीबार बिहान उनी महानगरपालिकामा हाजिर गर्न पुगेका थिए । महानगरपालिकामा देखिएको यो विवादको निकास कहिले र कसरी निस्कन्छ भन्ने प्रतीक्षा नगरवासीले गरिरहेका छन् ।   

दिपलको पहिलो वर्ष : ४ फ्युचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिंग स्टेसन

काठमाडौं । नेपालको लक्जरी इलेक्ट्रिक भेइकल (इभी) ब्रान्ड दिपलले पहिलो वर्ष उल्लेखनीय उपलब्धिहरू र महत्वपूर्ण कोशेढुंगाहरू पार गर्दै मनाएको छ । कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको एक वर्षमै ८०० भन्दा बढी ग्राहकको मन जित्दै, दिपल नेपालको नम्बर १ लक्जरी इभी ब्रान्ड बन्न सफल भएको छ । ग्राहकहरूको विश्वास र समर्थनका कारण, एमएडब्लु वृद्धि अटोकर्पले इलेक्ट्रिक मोबिलिटी र इनोभेसनमा आफ्नो स्थान बलियो बनाएको छ । दिपलले एस०७, एल०७, एस०७ एल, र ई०७ गरी चार अत्याधुनिक इभी मोडेलहरू सार्वजनिक गरिसकेको छ । यी मोडेलहरूमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी उद्योगमै पहिलो पटक उपलब्ध भएका प्रविधिहरू समावेश छन् । दिपलले इभीबाट ग्राहकहरूले गर्न सक्ने अपेक्षालाई नयाँ परिभाषा दिएको छ । दिपलले नेपालभर ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसनहरू सञ्चालन गरिरहेको छ । यो नेपालकै सबैभन्दा ठूलो इभी चार्जिङ नेटवर्क हो, जसले इलेक्ट्रिक मोबिलिटीलाई थप सहज र भरपर्दो बनाएको छ । नेपालका चर्चित व्यक्तित्वहरू दिपलसँग जोडिएका छन् । पूर्व क्रिकेट कप्तान पारस खड्का दिपलको ब्रान्ड एम्बासडर बनेका छन् । नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी र खेलाडीहरूले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् । क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगमलाई नेपाल ल्याएर दिपलले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको कम्पनीको भनाइ छ । दिपलको नवप्रवर्तन र प्रभावशाली बजार यात्रालाई विभिन्न सम्मानले समेत मान्यता दिएको छ ।  सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।    दोस्रो वर्षमा प्रवेश गर्दै दिपल ब्रान्डले इलेक्ट्रिक मोबिलिटीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीले नेपाली बजारमा नवीनतम प्रविधि भित्र्याउने, चार्जिङ पूर्वाधारलाई अझ बलियो बनाउने र ग्राहकहरूको सन्तुष्टि पहिलो प्राथमिकता राख्ने योजना अघि सारेको छ ।