विकासन्युज

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा, अध्यक्षमा सिके, सह अध्यक्षमा रञ्जिता

काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जन सवाललाई सशक्त रूपमा उठाउने गरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।  दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।  जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्ने गरी संवादमा भइरहेको बताए ।  ‘आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने गरी छलफल भइरहेको छ,’ जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।’ संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ-आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिना यता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तीब्रता पाएको छ ।  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन्।  ‘पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ,’ अध्यक्ष श्रेष्ठले भनिन् ।  जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताए ।  ‘पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ । केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ,’ उनले भने ।  प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सह अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् ।  ‘हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ,’ कार्यदल सदस्यसमेत रहेका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भने ।  जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गा राम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन् ।  पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताए ।  विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

काठमाडौंको आकाशबाट वायु प्रदूषणको बादल फाट्न केही दिन लाग्ने

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम विद् बिनु महर्जनले बताए ।  हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताए । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलि देखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिए ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ ।

मानव सेवा आश्रमद्वारा १ करोडको अक्षयकोष स्थापना

काठमाडौं । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा १ करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।  सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षय कोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । अक्षय कोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ ।  समाजसेवी नीलकण्ठ तिवारीले अक्षय कोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा १ लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुन डाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिरमा आश्रमको औपचारिक उद्घाटन गरेका थिए । गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ ।  हाल यहाँ ४३ रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उहाँहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँच जनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिए ।  आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ । विसं २०६९ मा हेटौंडामा औपचारिक रूपमा मानव सेवा आश्रमको स्थापना गरिएको थियो । आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने गरी उद्धार तथा आश्रय प्रदान गर्ने देश व्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

नयाँ वर्षको अवसरमा चौँरी महोत्सव हुँदै, भूटानबाट समेत पर्यटक आउने

काठमाडौं । नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् । महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनुका साथै चौँरी जन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी दिए ।  ‘विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको जगेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको छ,’ उनले भने ।  यस्तै, फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौँरीपालक किसानसहित स्थानीयबासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ । महोत्सव समुद्री सतहबाट ३ हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल-भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना हुनेछ । चैत ३१ गते सुरु हुने महोत्सव वैशाख २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगुले जानकारी दिए ।  विसं २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव गरिँदै आइएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टालगायत संस्था प्रवर्द्धकका रूपमा रहेको यस वर्षको महोत्सवमा नेपालसहित भारत र भूटानबाट समेत पर्यटक आउने आयोजकमध्येकै फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिए । महोत्सवमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकबीच मैत्रीपूर्ण फुटबल खेल, चौँरी नृत्य जस्ता कार्यक्रम हुनेछन् । आयोजकका अनुसार चौँरी महोत्सव पाँचथरको फालेलुङमा मात्रै हुने गरेको छ । चौँरी पालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रेसमेत पाइने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइन्छन् भने दुवै देशबाट पर्यटकको सहभागिता रहने गर्छ । सीमावर्ती फालोट क्षेत्रमा बर्सेनि करिब तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौँरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आवागमन वृद्धि भई नेपाली लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपांगीले बताए । 

विन नेपाल लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, १ हजार कित्ता लगानी गर्न सकिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आज चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५१ हजार २९२।५ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम स्वःपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था बमोजिम सर्वसाधारणलाई एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पुँजी ८ करोड ४३ लाख ४० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा चैत २६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा २०८२ बैशाख ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

भेरी बबई डाइभर्सनको प्रगति ८३ प्रतिशत, ४६ मेगावट विद्युत् उत्पादन

काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३.७ प्रतिशत पुगेको छ । सुर्खेतको भेरी गङ्गा नगरपालिका-११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको छ । ४६ मेगावट विद्युत् उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।  ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँध स्थलमा बाँधका छ वटा ‘वे’ मध्ये दुई वटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाललगायत संरचना निर्माण भइसकेका छन् । ‘सर्ज साफ्ट’ निर्माणस्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए । आयोजना स्थलका ‘स्लिपवेको वे’ एक र दुईको स्टिल लाइनको काम सम्पन्न भई हाइड्रोमेकानिकलसम्बन्धी अधिकांश ‘डिजाइन’ स्वीकृतिको चरणमा रहेको सूचना अधिकारी अधिकारी बताउँछन् ।  ‘तीनवटा ड्राफ्ट ट्युब फिल्डमा आइसकेको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी ट्रान्सफर्मर–३, टर्वाइन रनर एकलगायत सामान पनि आइसकेका छन्,’ उनले भने ।  विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौता भइसकेको र विद्युत् लाइनसम्बन्धी अध्ययन तथा इआईए अध्ययनको सम्झौता भइसकेको उनले बताए । आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व यकिन गर्ने कामसमेत सम्पन्न भएको छ ।  ६.५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ । स्थानीयहरूले पटक–पटक स्थानीयले अवरोध गर्दा आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपूर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेस भई प्रक्रिया अघि बढेको छ । ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको अधिकारीले बताए । पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाटै निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडि बढाई स्थानीयबासीको माग सम्बोधन गरिएको छ ।  निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति, यन्त्र उपकरण तथा निर्माण सामग्रीलगायतका उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उनको भनाइ छ । जग्गा प्राप्ति प्रक्रियामा विभिन्न समस्या आउने गरिए तापनि सहजीकरण गर्न स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आयोजना अघि बढिरहेको छ । ऐलानी जग्गाको हकमा पेस भएको प्रस्ताव स्वीकृत भएको र हाल कार्यान्वयनको चरणमा रहेको आयोजनाले जनाएको छ । सरकारले आर्थिक वर्ष २०६८/६९ देखि सुरु गर्ने भनिएको आयोजना २०७१/७२ मा मात्र सुरु भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । तर कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो । ३ वैशाख २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको भेरीगङ्गा–११ स्थित चिप्लेमा १२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रू’ गरेका थिए । अत्याधुनिक प्रविधि प्रयोग गरेर तोकिएको मितिभन्दा एक वर्ष अगावै सुरुङ छिचोलिएको चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने मन्द गतिमा चलिरहेको छ । आयोजनाका लागि चालु आर्थिक वर्षका लागि १ अर्ब ७७ करोड रुपैयाँ छुट्याइएकामा हालसम्म ४६ करोड रुपैयाँ मात्र खर्च भएको आयोजनाका प्रमुख रण बहादुर बमले बताए । अहिलेसम्म आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना स्थलमा दैनिक १५० जनाले काम गरिरहेको उनको भनाइ छ । 

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

काठमाडौ । तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।     तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।     तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो । यसअघि यस्ता निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने गरेको थियो । यसपटक गृहमन्त्रीस्तरमा नै निर्णय भएको हो ।

कुलमान र हितेन्द्रदेवको रिट निवेदन विहीबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन रिट हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुनेभएको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने तय भएको हो । धिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले रिट निवेदन दायर गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिबेला रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथि निर्णय नभई चार वर्ष बितेपछि अहिले कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने उल्लेख गर्दै अर्को रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।