विकासन्युज

कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभार प्रकट गर्दै, उनीहरूको साथ र विश्वासले बैंकलाई यहाँसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ । बैंकले आफूलाई देशकै अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ र उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । वार्षिकोत्सव विशेष बनाउने क्रममा बैंकले आफ्ना कर्मचारीहरूलाई परम्परागत भेषभूषा धारण गर्न प्रेरित गरेकाे छ । बैंकका अनुसार, यो कार्यक्रम आफ्नै सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै संस्थागत विविधतालाई अझ सशक्त बनाउन मद्दत पुर्‍याउने उद्देश्यले गरिएको हो । बैंकले 'विविधतामा एकता' भन्ने मूल्यमान्यता अनुरूप संस्थागत संस्कृति र सामुदायिक सेवालाई प्रवर्द्धन गर्दै आइरहेको छ । बैंकले आफ्नो वार्षिकोत्सवलाई समाजसेवा तथा मानव सेवासँग जोड्न विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । यस अभियानले स्थानीय रक्त बैंकहरूमा रगतको आवश्यक आपूर्तिलाई सहज बनाउनुका साथै जीवन बचाउने महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । कुमारी बैंकले आगामी दिनहरूमा अझ नवप्रवर्तनशील बैंकिङ समाधानहरू ल्याउँदै ग्राहकहरूको जीवनलाई सहज बनाउन निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाएको छ । 'सबैका लागि, सधैंका लागि' भन्ने आफ्नो नारालाई आत्मसात गर्दै, बैंकले समृद्ध भविष्यतर्फ सशक्त रूपमा अघि बढ्ने योजना बनाएको छ ।  

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं । केही दिनयतादेखि काठमाडौंमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि  काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, 'बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।' विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।  

बाढीपहिरोबाट क्षतिग्रस्त सडक निर्माण गर्न १६ अर्बको ठेक्का आह्वान

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त रहेका १३ वटा सडकहरूको निर्माणका लागि ठेक्का आह्वान गरेको छ । सडक विभागका अनुसार गत असोजको मध्यतिर आएको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका २६ वटा आयोजनामध्ये १३ वटा आयोजना अर्थात् सडक आयोजनाहरुको ठेक्का खोलिएको हो ।  यद्यपि १३ वटा पुलको ठेक्का हुन केही समय लाग्ने विभागले जनाएको छ । आयोजनाको ‘डिजाइन र निर्माण अर्थात डिजाइन एण्ड बिल्ड निर्देशिका’ २०८१ प्रधानमन्त्रीको कार्यालयबाट स्वीकृत नहुँदा पुलको ठेक्का आह्वान हुन ढिलाइ भइरहेको विभागका महानिर्देशक रामहरि पोखरेल बताउँछन् ।  उनका अनुसार केही डकुमेन्टहरूमा समस्या देखिएकाले पुलको ठेक्का तत्काल लगाउन नसकिएको हो ।  महानिर्देशक पोखरेलले भने, ‘आयोजनाको डिजाइन र निर्माणको डकुमेन्टमा केही समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि रोकिएको छ । त्यसैले डिजाइन एण्ड बिल्ड निर्देशिका २०८१ उक्त कार्यालयले स्वीकृति गरेको छैन । स्वीकृति हुने बित्तिकै पुलको ठेक्का आह्वान गछौं ।’  उनले यो तयार हुन ७०-८० दिन लाग्ने जानकारी दिए ।   बीपी राजमार्गको ४ सडकखण्डमध्ये ३ वटा प्याकेजको ठेक्का खोलिएको विभागका सूचना अधिकारी अमितकुमार शर्माले बताए । उनका अनुसार कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनःर्निर्माण गरिनेछ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ ३ वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए । हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुइटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।  गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का आह्वान भइसकेको छ । जसको लम्बाई करिब ५ किलोमिटर छ । त्यस्तै, दोस्रो प्याकेज काभ्रेखण्डको डालाबेसीदेखि चार सय बेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको सडक विभागले जनाएको छ । चार सय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ ।  डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकालाई पुनःनिर्माण गर्न दिइने तयारी छ । यस्तै, अरनिको राजमार्ग, थानकोट चित्लाङ, मेची राजमार्ग, कान्ति राजमार्गलगायत क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भएको  सूचना अधिकारी शर्माले जानकारी दिए । गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ । सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो ।  यसमध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो । बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट स्रोत सुनिश्चितता दिइएको छ । मेची राजमार्गका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट सरकारले वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट छुट्याएको छ । कार्भेको भकुन्डेबेसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ तीन वैकल्पिक सडक हुन् ।  यी सडकका लागि १ अर्ब १५ करोड माग गरिएको थियो । यसमध्ये भकुण्डे–तेमाल–सिन्दुरेटार सडक पुनःनिर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भइसकेको विभागले जनाएको छ । किर्नेटार-जाफे सडकका लागि ४५ करोड र थानकोट.चित्लाङ सडकका लागि २५ करोड बजेट सुनिश्चितता भएको थियो ।

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।  यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।  यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस)  मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।  

कुलमान भर्सेस हितेन्द्र: दुबै रिट निवेदनमाथि सुनुवाइ सकियाे, आजै आदेश आउने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमाथि सुनुवाइ सकिएको छ । यी दुवै रिटमा बिहीबार आदेश आउने बताइएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको हो । हिजो दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने तय भएको थियो । प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै घिसिङले रिट निवेदन दायर गरेका थिए ।  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिबेला रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथि निर्णय नभई चार वर्ष बितेपछि अहिले घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने उल्लेख गर्दै शाक्यले अर्को रिट निवेदन दायर गरेका थिए । 

साना देशहरू जोखिममा, सबै सजग बनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् । मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको सिलसिलामा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिनुहुँदै साना देशहरुमाथि बढेको चुनौति र जोखिमबारे चिन्ता व्यक्त गरेका हुन् । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले देशलाई जोखिममा पारेको बताए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा बढेको हतियारको प्रयोगले मानव जीवन र मानवता नै चुनौतिमा परेको जिकिर गरे । अहिले साना र जोखिममा रहेका देशको दुःखको आवाज सुन्ने कोही नभएको उनले बताए । विश्व मानवता र भ्रातृत्वको लागि सबै एकजुट हुन आवश्यक रहेको उनले बताए। उनले अहिले भोगिरहेको जलवायु संकटबारे अहिले नै लड्न नसके देशका नागरिकहरु झनै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हाँसिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वलाई नै शान्ति सहतिको विकासको अवधारणा अगाडि सारेको बताए । एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीको संख्या उल्लेख्य छ । जम्मा विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या पाँचौं स्थानमा रहेको छ । एआइटीबाट करिव १ हजार ७ सय बढी नेपालीले अध्ययन गरिसकेका छन् । नेपाल यस विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी पनि हो । नेपालले विभिन्न कार्यक्रम सञ्चलन गर्न एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । हाल  एआइटीमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

नेपालगञ्जमा पेट्रोलियम पदार्थको खपत बढ्दो

राँझा । विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो ।  यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए ।  उनका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ । गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टितेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो ।  यस डिपोमा पेट्रोल ९७० केएल, डिजेल दुई हजार २८० केएल, मट्टितेल १४० केएल र एलपी ग्यास २८० केएल भण्डारण क्षमता रहेको प्रमुख डिसीले जानकारी दिए । डिपोले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, प्यूठान र रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, सुर्खेत, जुम्ला, पश्चिम रुकुम, डोल्पा र जाजरकोटमा रहेका एक सय छ डिलरलाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ ।   

आगामी आर्थिक वर्षका लागि कोशी र मधेशमा बढी राजस्व बाँडफाँट, गण्डकी र सुदूरपश्चिममा न्यून

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारले प्रदेश सरकारलाई राजश्व बाँडफाँट बापत ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ दिने भएको छ । अर्थमन्त्रालयले बिहीबार २०८२/ ८३ को लागि प्रदेश प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको हो । सरकारले सबैभन्दा बढी कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरेको छ । त्यस्तै, बागमती प्रदेशलाई १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ अनुमानित रकम विनियोजन गरेको छ । मधेश प्रदेशलाई १२ अर्ब ३५ करोड, गण्डकी प्रदेशलाई ९ अर्ब ७९ करोड रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै, लुम्बिनी प्रदेशलाई ११ अर्ब ८६ करोड ५६ लाख, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले सबैभन्दा कम बजेट सदूरपश्चिमलाई छुट्याएको छ । सरकारले आगामी आवको लागि सुदूरपश्चिमलाई ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । वित्तीय समानीकरण अनुदान आगामी आवमा प्रदेश र स्थानीय तहमा जाने कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान रकम १ खर्ब ४९ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । जसमध्ये स्थानीय सरकारलाई ८८ अर्ब ९६ करोड ८० लाख र प्रदेशलाई ६० अर्ब ६६ करोड रुपैयाँ रहेको छ । जसमा न्यूनतम रकम ३० अर्ब ८३ करोड, सुत्रमा आधारित ५४ अर्ब ५७ करोड ८४ लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।  प्रदेश सरकार  सरकारले आगामी आवका लागि कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान अन्तर्गत  प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड रुपैयाँ छुट्याएको छ । जसमा सबैभन्दा बढी कर्णाली प्रदेश सरकारले पाउने भएका छन् । कर्णाली प्रदेशले १० अर्ब ५६ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । त्यस्तै, मधेसलाई ७ अर्ब ७२ करोड, कोशीलाई ८ अर्ब ९८ करोड, बागमतीलाई ८ अर्ब २८ करोड, गण्डकीलाई ७ अर्ब ७३ करोड, लुम्बिनीलाई ८ अर्ब ४४ करोड र सुदूरपश्चिमलाई ८ अर्ब २२ करोड रुपैयाँ छुट्याएको छ ।