विकासन्युज

बढ्यो सेयर बजार, ग्रिन भेन्चरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७०३ बिन्दुमा पुगेको छ । आज ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

युरोपको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क सुरु हुँदै, २५ देशमा फैलिने

काठमाडौं । युरोपका चार ठूला इलेक्ट्रिक सवारी चार्जिङ कम्पनीहरूले बुधबार युरोप महादेशको सबैभन्दा ठूलो सार्वजनिक चार्जिङ नेटवर्क बनाउन एकजुट भएको घोषणा गरेका छन् । इटालीको एटलान्टे, जर्मनीको आओनिटी, नेदरल्यान्ड्सको फास्टनेड र फ्रान्सको इलेक्ट्रा मिलेर नयाँ साझेदारी गरी स्पार्क नामक नेटवर्क बिस्तार गर्ने लक्ष्य लिएका छन् । यस नेटवर्कमा ११ हजार चार्जिङ पोइन्टहरू र १ हजार ७०० चार्जिङ स्टेसनहरू रहनेछन्, जुन २५ वटा युरोपेली देशहरूमा फैलिनेछ । साझेदारीका अनुसार यो मुख्य प्रतिस्पर्धी टेस्लाको भन्दा धेरै स्टेसनहरू हुनेछन् । तर, बेलायती मोटर पत्रकार तथा ईभी वकालत समूह फेयरचेन्जका संस्थापक क्वान्टिन विलसनका अनुसार अमेरिकी कम्पनी टेस्ला उपभोक्तासँगको सरल र प्रभावकारी इन्टरफेसका कारण अझै अगाडि छ । जुन महिनादेखि युरोपका ग्राहकहरूले स्पार्क साझेदारका सदस्य एपहरू प्रयोग गरेर ४०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङमा आफ्नो पहुँच पाउन सक्नेछन् । युरोपेली अटोमोबाइल लबी एसीईएले उपभोक्ताहरूको चार्जिङ पहुँचको चिन्तालाई सम्बोधन गर्न र ईभीको माग बढाउन चार्जिङ पूर्वाधारको तीव्र विस्तारको लागि दबाब दिइरहेको छ । यो घोषणा ईभीको कमजोर माग र यूरोपेली आयोगद्वारा उत्सर्जन नियमहरू खुकुलो पार्ने निर्णयको बीचमा आएको हो । युरोपेली आयोगका अनुसार सन् २०३० सम्म ३.५ मिलियन चार्जिङ पोइन्टहरू स्थापना गर्न आवश्यक छ, जुन हालको वार्षिक स्थापनाको दरको लगभग तीन गुणा बढी हो । तर, इलेक्ट्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार इयू लक्ष्यहरू व्यावहारीक छैनन्, किनकि गुणस्तर नै प्राथमिकता हुनुपर्छ । 'टेस्लासँग प्रतिस्पर्धा गर्नु साझेदारीको मुख्य उद्देश्य होइन, तर नयाँ नेटवर्कले बजार प्रतिस्पर्धा बढाउन सक्छ,’ उनले भने । 'गुणस्तरमा केन्द्रित अर्को ठूलो नेटवर्क हुनु टेस्लाका लागि पनि महत्त्वपूर्ण कुरा हो । यसले ईभी चालकहरूलाई ठूलो स्तरमा पूर्वाधार प्रदान गर्नेछ । यो वास्तवमा परिपूरक हो,’ फास्टनेडका सीईओले भने । टेस्लालाई पनि भविष्यमा गठबन्धनमा समावेश गर्ने सम्भावना रहेको इलेक्ट्राका सीईओले संकेत गरे । 'उनीहरू यसमा सामेल हुन योग्य हुन सक्छन्, किनकि उनीहरू द्रुत र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्छन् । तर, यो भोलिको प्रश्न हो,’ उनले भने ।

एनसेलले ल्यायो विभिन्न अफरहरू, १० हजारसम्मको अस्पताल भर्ना बीमा सुविधा

काठमाडौं  । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरअन्तर्गत ग्राहकहरूले सधैं अन रिन्यूअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू प्राप्त गर्नेछन् । एनसेलका अनुसार यी अफरहरू आज (चैत्र २१) बाट लागू भई वैशाख १६ गतेसम्म कायम रहनेछन् । एनएसएल डबल डेटा अफरअन्तर्गत, करसहित ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याक खरिद गर्ने ग्राहकहरूले दोब्बर डेटा बोनस प्राप्त गर्नेछन् । उदाहरणका लागि, ७९९ रुपैयाँको मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरुका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरु क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइन्छ । कम्पनीका अनुसार एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित ७९९ रुपैयाँ, ९९९ रुपैयाँ, र १,४९९ रुपैयाँको रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन १,००० रुपैयाँका दरले अधिकतम  १० हजार रुपैयाँसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् । अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ ।  यस अफरअन्तर्गत, ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, १५० रुपैयाँमा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री ओली र  श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन् ।  भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।  भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले १०३ दिनपछि गरे हाजिर

काठमाडौं  । १०३ दिनपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं महानगरपालिकामा हाजिर गरेका छन् । गुरागाईं कार्यालय प्रवेश गर्दा केहीबेर तनाव सिर्जना भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक्ने प्रयास गरेको थियो । तर, कर्मचारीहरूले प्रतिरोध गर्दै गुरागाईंलाई कार्यकक्षसम्म पुर्‍याए । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरे । बिहीबार कार्यालय पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो, तर कर्मचारीहरूकै समर्थनमा गुरागाईं कार्यकक्षभित्र प्रवेश गर्न सफल भए । गुरागाईं गत पुस ७ देखि बिदामा बसेका थिए । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तलब समेत नपाएको गुनासो गर्दै आएका थिए । आर्थिक कारोबार र प्रशासनिक काम अवरुद्ध भएपछि कर्मचारीहरू आक्रोशित बनेका छन् ।

एआईटीमा ओलीको सम्बोधन– मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्धामा साझा प्रयासका लागि आह्वान गरेका हुन् । नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१ औं शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरूमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआइटीको सहकार्य आफूहरुको प्राथमिकतामा रहेको बताए । एआइटीलमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीन जना नेपाली सदस्य रहेका छन् भने सात जना फ्याकल्टी मेम्मर नेपाली रहेका छन् । प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका प्रेसिडेन्ट प्रा पाइ ची लीसहितले स्वागत गरेका थिए । थाइल्णडका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गरेका हुन् ।  प्रधानमन्त्री ओलीले आजै बिमस्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक÷विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह, आँखाको समस्या बढ्दै

काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै  विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो ।      एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौंमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ ।      मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए ।      स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ ।      राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न, स्वास्थ्यमा विशेष सतर्क रहन अनुरोध गरेको छ । गर्मी मौसम बढ्दै जाँदा बढ्दो वन डढेलो, सडक निर्माण, औँद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषणकोस्तर उच्च हुँदै गएको प्राधिकरणले जनाएको छ ।      प्राधिकरणले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी, टाउको दुख्नेलगायत स्वास्थ्यमा समस्या बढ्नसक्ने उल्लेख गरेको छ । यसै सन्दर्भमा जनतासँगै उद्योग, व्यवसाय, निर्माणसम्बन्धी काम सञ्चालन गरिरहेका निकायलाई वायु प्रदूषण न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।      सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।      प्राधिकरणले सम्बन्धित निकायलाई वायु प्रदूषणमापन गरी तत्काल सुधारका उपाय अपनाउन सरकारमार्फत निर्देशन दिएको छ । साथै, विपद् न्यूनीकरण प्राधिकरणले आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।   

काठमाडौंका नदी र खोलाबाट ५५ मेट्रिक टन फोहर सङ्कलन

  काठमाडौं । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।   नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ ।  यो परियोजना साउथ एसियाको–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ ।  परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । सो परियोजना अन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।  कार्यक्रममा बायोकम्प नेपालका प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सर– सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको अवगत गराए।  सङ्कलित कम गुणस्तरका प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र सिमरामा हालै स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिनेछ । यस अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरका प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ ।   कार्यक्रममा काठमाडौँ महानगरपालिका– वातावरण विभागबाट सानुमैया महर्जन, ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष राजेशकुमार महर्जन र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाइ जागरण, रेडक्रस सर्कल, नेप्सेम्याकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो । यस अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरिसकेको छ । यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र दिगो प्लास्टिक फोहर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ । यस प्रविधिले वातावरणीय चुनौतीलाई परिपत्र अर्थतन्त्रका अवसरमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ ।