विकासन्युज

राजावादी समर्थकहरूले तोडफोड गर्दा ५ करोडको बीमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । चैत १५ गते राजा वादी समर्थकहरूले गरेको आन्दोलनबाट क्षति हुँदा ५ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हुलदङ्गाको कारणले भएको क्षतिबाट ११ बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।  साथै बीमा कम्पनीहरूमा ४३ वटा दाबी परेका छन् भने ३ वटा दाबीको भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । ३ वटा बीमा दाबी बापत ४५ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।  प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाका ३७ लाख रुपैयाँको ३ वटा दाबी परेका छन् । मोटर बीमा (निजी)योजनामा १ करोड २९ लाख रुपैयाँ बराबरका २२ वटा दाबी परेका छन् । साथै उक्त बीमा योजनामा २ वटा बीमा लेखको ४३ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।  यस्तै, सम्पत्ति बीमा योजनाका १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी परेको छ भने विविध तर्फ २ वटा दाबीको १० लाख १ हजार रुपैयाँको दाबी परेको छ । राज वादी आन्दोलनबाट भएको क्षतिमा सबैभन्दा धेरै दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ । 

दुर्गा प्रसाईंले चढेको गाडी भेटियो, कहाँ छन् उनी ?

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको गाडी फेला पारेको छ । उनले तीनकुनेमा प्रयोग गरेको बा ४२०८ नम्बरको स्कारपियो गाडी फेला पारेर काठमाडौं ल्याएको हो ।  नेपाल प्रहरीका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । उनी सो गाडीमा सवार भएर इटहरी पुगेका हुन् वा हुन् वा अरु कसैले लगेको हो भन्ने विषय भने खुलेको छैन ।  चैत १५ मा तीनकुनेमा भएको राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्य भएको थियो । प्रहरी स्रोतका अनुसार उनी भारत गएर लुकेको हुन सक्ने अनुमान छ ।   

सञ्चय र योगदानकर्ताको खातामा ईपीएफले जम्मा गर्‍यो साढे ५ अर्ब रुपैयाँ

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्त भरण कोषका योगदानकर्ताहरूको खातामा करिब ६ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदर प्रसाद सुवेदी जानकारी दिए ।  उनका अनुसार कर्मचारी सञ्चय कोष सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालु आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले ब्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् । यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशत समेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको छ । यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा ब्याज र मुनाफा समेत गरी वार्षिक ६.६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको छ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवा कालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पतीलाई स्वास्थ्य उपचार सोध भर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजक्रिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ । यस अन्तर्गत गत आर्थिक वर्ष २०८०.८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधा बापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिब १४ करोड ६५ लाख रुपैयाँ, काजक्रिया अनुदान बापत ७०६ जनालाई करिब २ करोड ८२ लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्ति बापत १०७ जनालाई करिब २ करोड १४ लाख रुपैयाँ, स्वास्थ्य उपचार सोध भर्ना बापत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख रुपैयाँ र विशेष आर्थिक सुविधा बापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिब ७० लाख रुपैयाँ प्रदान गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ८० हजार ४०० को सङ्ख्यामा निवृत्त भरण कोषका योगदानकर्ता रहेका छन् ।

काठमाडौं महानगरलाई सबैभन्दा बढी राजस्व बाँडफाँट, ललितपुर र विराटनगरलाई न्यून

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारले राजस्व बाँडफाँटवापत देशभरका ६ महानगरलाई १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ दिने भएको छ । जसमा सबैभन्दा बढी काठमाडौं महानगरले ३५ करोड ९४ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।  दोस्रोमा पोखरा महानगरपालिलाई ३३ करोड ८ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, भरतपुर महानगरले आगामी आवमा राजस्व बाँडफाँटवापत ३१ करोड ९१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।  संघीय सरकारले राजस्व बाँडफाँटबापत वीरगञ्ज महानगरलाई २३ करोड ७८ लाख छुट्याएको छ । सरकारले ललितपुर महानगर र विराटनगर महानगरलाई अरू महानगरको तुलनामा कम बजेट पारेको छ । राजश्व बाँडफाँटबापत ललितपुर महानगरले २० करोड ४३ रुपैयाँ प्राप्त गर्दा विराटनगरले २० करोड ५२ लाख पाउने भएको छ । सरकारले आगामी आवको लागि प्रदेश सरकारलाई राजस्व बाँडफाँटवापत ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, स्थानीय सरकारलाई ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।  वित्तीय समानीकरण अनुदान  आगामी आवमा काठमाडौं महानगरले कार्यसम्पादन र मूल्यांकनको आधारमा सरकाबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान ७० करोड ९३ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, ललितपुर महानगरले ३९ करोड ७२ लाख, पोखरा महानगरपालिकाले ५० करोड ८६ लाख, विराटनगरले ३४ करोड ३४ लाख र वीरगञ्ज महानगरपालिकाले ३६ करोड ३६ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।  आगामी आर्थिक वर्षका लागि कोशी र मधेशमा बढी राजस्व बाँडफाँट, गण्डकी र सुदूरपश्चिममा न्यून

वायु प्रदूषणले ढाक्यो काठमाडौं (फोटो-फिचर)

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म भएको छ । वायु प्रदूषणले आकाश धुम्मिएको विज्ञहरू बताउँछन् । प्रदूषणले नागरिकलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । बाहिर निस्कँदा आँखा पोल्ने, घाँटी खसखसाउने, श्वास फेर्नसमेत गाह्रो हुने गरेको छ ।  प्रदूषणले गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।   प्रदूषणले गर्दा अस्पतालमा बिरामीको चाप बढेको छ भने अस्पताल पुग्ने अधिकांशमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्या देखिएका छन् ।  चिकित्सकहरू यस्तो अवस्थामा आवश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पनि चस्मा र माक्स अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । तस्बिरहरू : नरेश बोहरा/विकासन्यूज  

कुलमानको रिटमा जारी भएन अन्तरिम आदेश, पदमा फर्किने बाटो बन्द

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो  इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश नदिएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका घिसिङलाई पदमा फर्काउने आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । सर्वोच्च प्रशासनका अनुसार घिसिङको रिटमा अन्तरिम आदेश जारी नभएसँगै उनी पदमा फर्किने बाटो बन्द भएको हो । यद्यपि इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकारको आदेश दिएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै घिसिङले रिट निवेदन दायर गरेका थिए ।  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिबेला रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथि निर्णय नभई चार वर्ष बितेपछि अहिले घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने उल्लेख गर्दै शाक्यले अर्को रिट निवेदन दायर गरेका थिए । 

नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्तामा नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग बिहीबार बैंककमा भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने बताएका थिए । उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए । यस्तै, भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरुले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीं चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ ।  नेपाल र थाइल्याण्डबिच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, 'सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।' पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए ।