सगरमाथा बेसक्याम्पमा विलासी सामग्री प्रयोगमा रोक लगाउन सरोकारवालाको माग
काठमाडौं । सगरमाथा बेसक्याम्पमा बढ्दो विलासी प्रवृत्तिका कारण वातावरणीय जोखिम बढेको भन्दै सरोकारवालाहरूले त्यस्ता सामग्रीको प्रयोगमा तत्काल रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा हिमाली पर्यटन व्यवसायी, पथप्रदर्शक (गाइड), जलवायु विज्ञ, नीति निर्माता र सरोकारवालाहरूले सगरमाथालगायत हिमाली क्षेत्रको संरक्षणमा तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनीहरूले आधारशिविरमा विलासी उपकरण जस्तै कफी मेसिन, आरामदायी सोफा र अन्य उपकरणहरूको प्रयोगले हिउँ पग्लनु, वातावरण प्रदूषण बढ्नु, र हिमालको सहनशक्ति घट्नुजस्ता गम्भीर असर पारेको बताएका छन् । हिमाली पर्यटन व्यवसायी दावा टासी शेर्पाले पर्वतारोहणका लागि जाने आरोहीहरूले अत्यधिक विलासी सामग्री बोकेर जाने प्रचलन बढेको र यसले हिमालको स्वरूप र जलवायु सन्तुलनमा गम्भीर असर पारिरहेको दाबी गरे । 'हिउँको पग्लाइ मात्र देखाएर हिमालले थेग्न सकेन भन्ने प्रचार गलत हो,' उनले भने, 'हामी आफैंले लग्जरीपन घटाएर जलवायु संकट विरुद्ध लड्नुपर्छ।' जलवायु विज्ञ पपुलर जेन्टलले माउण्टेन रिजन विश्वको सेवा गर्ने क्षेत्र भएको भन्दै यसको संरक्षणका लागि राष्ट्रको स्पष्ट रणनीति र अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेको बताए । उनले हिमाली मुद्दालाई युएनएफसिसिसिको प्राथमिक एजेण्डा बनाउन जोड दिए । इसिमोडका प्रमुख पेमा ग्यामात्सोले हिमाल सांस्कृतिक, धार्मिक र जैविक महत्व बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने बताए । उनले हिउँ पग्लिनुमा जलवायु परिवर्तनसँगै मानवजन्य क्रियाकलापको प्रभावसमेत पुनःमूल्यांकन गर्नुपर्ने धारणा राखे । पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु संकट विरुद्ध सरकार र जनताको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै हिमाली संरक्षणमा निजी क्षेत्रको समेत सहभागिता हुनुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले स्पष्ट कार्ययोजना बिना दीर्घकालीन समाधान सम्भव नभएको उल्लेख गरे । कार्यक्रममा सरोकारवालाहरूले वातावरणमैत्री पर्वतारोहणको अवधारणा अघि सार्दै सगरमाथाको वातावरणीय संरक्षणका लागि नीति र व्यवहार दुबैमा परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाले ।
अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, ६५० जना बिरामी
काठमाडौं । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ । अधिकारीहरूले आइतबार अत्यधिक सङ्क्रामक दादुरा रोग फैलिँदै गर्दा अहिलेसम्म करिब छ सय ५० जना सङ्क्रमित भएको बताएका छन् । 'भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ', टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भने । उक्त बच्चाले अस्पतालमा ‘दादुरा जटिलताहरू’ को लागि उपचार प्राप्त गरिरहेको भन्दै उनले बच्चालाई ‘दादुरा विरुद्धको खोप लगाइएको थिएन र कुनै अन्तर्निहित स्वास्थ्य समस्या थिएन’ भने । अमेरिकाले वर्षौंको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्त्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ । तथापि केनेडीले आइतबार एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेखेका छन् । उनले आफ्नो स्वास्थ्य तथा मानव सेवा ९एचएचएस० विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताए । बच्चाको परिवारलाई सान्त्वना दिन टेक्सास गएको बताउने केनेडीले आइतबारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ पुष्टि भएका मामिलाहरू र तीमध्ये चार सय ९९ टेक्सासमा’ रहेको पनि उल्लेख गरे । एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले प्रकोपलाई ‘अहिलेसम्म हामीले कुरा गरिरहेको कुराको तुलनामा सापेक्षिक रूपमा सानो सङ्ख्या’ भनेर कम आँकेको देखिन्थ्यो । तर उनले थप विवरण नदिई यदि यो ‘बढ्दै गयो भने हामीले धेरै कडा कारबाही गर्नुपर्नेछ’ भने । खोपको महत्त्व सिडिसीले अलास्कादेखि फ्लोरिडासम्मका साथै न्युयोर्क सहरमा फैलिएका मामिलाहरू रेकर्ड गरेको छ । टेक्सासले फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो । सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् । तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए । ‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् । 'तुलनात्मक रूपमा सन् २०२४ मा १६ प्रकोप रिपोर्ट गरिएको थियो र ६९ प्रतिशत घटनाहरू (दुई सय ८५ मध्ये एक सय ९८) प्रकोपसँग सम्बन्धित थिए', यसले आफ्नो वेबसाइटमा भन्यो । 'यो दुर्भाग्यपूर्ण घटनाले खोपको महत्त्वलाई जोड दिन्छ', टेक्सासको युएमसी हेल्थ सिस्टमका डेभिसले पछिल्लो मृत्युको बारेमा इमेलमा भने, 'हामी सबै व्यक्तिलाई आफ्नो र व्यापक समुदायको रक्षा गर्न आफ्नो खोपहरूसँग अद्यावधिक रहन प्रोत्साहित गर्दछौँ ।' रासस
ट्रम्पको ट्यारिफले विभिन्न देशका सेयरमा गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (शुल्क) बढाएपछि र चीनले जवाफी कारबाही गरेपछि वाल स्ट्रीटमा शुक्रबार ठूलो गिरावट देखियो । यसको असर एसियाली बजारहरूमा पनि देखियो । एसियाली सेयर बजारहरू नराम्रोसँग ओरालो लागे । सेन्सेक्समा कारोबारको क्रममा करिब ४ हजार अंकको गिरावट आयो । त्यस्तै, हङकङको सेयर बजारले पनि सन् २००८ पछि एकै दिनमा सबैभन्दा ठूलो गिरावटको सामना ग¥यो । टोकियोको निक्की २२५ सूचकांक बजार खुलेपछि तुरुन्तै झण्डै ८ प्रतिशतले घट्यो । दिउँसोसम्म यो ६ प्रतिशतले घटेर ३१ हजार ७५८.२८ मा आयो । हङकङको हाङसेङ सूचकांक ९.४ प्रतिशतले घटेर २० हजार ७०३.३० मा झरेको छ । यो सन् २००८ पछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । शाङ्घाइ कम्पोजिट सूचकांक ६.२ प्रतिशतले घटेर ३ हजार १३४.९८ मा आइपुगेको छ । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले घटेर २ हजार ३६३.८२ मा पुग्यो । अष्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० सूचकांक ३.८ प्रतिशतले घटेर ७ हजार ३७७.७० मा आएको छ । यद्यपि पहिले यो ६ प्रतिशतभन्दा बढीले घटेको थियो, तर पछि केही सुधार भएको देखियो । अमेरिकी बजारहरूमा गिरावट कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ । अमेरिकी बेन्चमार्क कच्चा तेल ४ प्रतिशत अर्थात् २.५० डलर घटेर प्रति ब्यारेल ५९.४९ डलरमा आइपुग्यो । अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्ट क्रूड २.२५ डलर घटेर प्रति ब्यारेल ६३.३३ डलरमा आइपुग्यो । मुद्राबजारमा अमेरिकी डलर १४६.९४ जापानी येनबाट घटेर १४६.७० जापानी येनमा झ¥यो । संकटको समयमा जापानी येनलाई प्रायः सुरक्षित मुद्राको रूपमा लिइन्छ । युरो पनि १.०९६२ डलरबाट घटेर १.०९२६ डलरमा आइपुग्यो । शुक्रबार वाल स्ट्रीटमा कोभिडपछि सबैभन्दा ठूलो गिरावट देखियो । एसएन्डपी ५०० ६ प्रतिशतले घट्यो भने डो ५.५ प्रतिशतले ओरालो लाग्यो । नासडक कम्पोजिट ५.८ प्रतिशतले घट्यो । बजार विशेषज्ञहरूका अनुसार आगामी दिनहरूमा लगानीकर्ताले अझ बढी उतारचढावको सामना गर्नुपर्नेछ । अमेरिकाको ट्यारिफको जवाफमा अन्य देशहरूले पनि जवाफी शुल्क लगाउन सक्छन् । यसले गर्दा आगामी दिनहरूमा मुद्रास्फीति बढ्ने र विश्व अर्थतन्त्र मन्दीमा फस्ने सम्भावना देखिएको छ ।
भारतको मुख्य सेयर सूचकाङ्क खुल्दा ३ प्रतिशत भन्दा बढीले गिरावट
काठमाडौं । बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाउनुभएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो । नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनीहरू प्रस्तुत गर्ने निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको थियो । भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश भएको निफ्टी आइटी पाँच दशमलव ५३ प्रतिशतले घट्यो । निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका हो । द टाइम्स अफ इन्डियाले सेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ । भन्सार शुल्क घोषणा भएपछि भारतको वाणिज्य विभागले ‘विभिन्न उपायका प्रभावहरू सावधानीपूर्वक परीक्षण गरिरहेको’ भन्दै एक विज्ञप्तिमा ‘यो नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू पनि अध्ययन गरिरहेको’ जनाएको छ । भारतको औषधि क्षेत्र अमरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट औषधिहरूलाई छुट दिएर सुरक्षित रह्यो । भारतको औषधि क्षेत्रले सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी उत्पादनहरू निर्यात गरेको थियो । भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘महान मित्र’ रहेको तर उनले ‘हामीलाई सही व्यवहार नगर्नुभएको’ बताएका थिए । रासस
रवि लामिछाने भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै थुनिए
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार, भैरहवा रुपन्देहीको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ । कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको हो । जहाँ १० जनासम्म थुनुवा बस्न सक्ने क्षमता भए पनि हाल अन्य कोही छैनन् । 'रविले कुनै माग गरेका थिएनन् र आफूलाई एक्लै राख्न पनि भनेका थिएनन् । हामीले स्वविवेकले उहाँलाई एक्लै राखेका हौं,' उनले भने । भैरहवा कारागारमा हाल ४ वटा ब्लक रहेका छन् । १ र २ नम्बर ब्लकमा पुरुष कैदी थुनुवा, ३ नम्बरमा महिला कैदीहरू छन् भने ४ नम्बर ब्लक अहिले रविका लागि छुट्याइएको छ । लामिछानेलाई गत शुक्रबार काठमाडौंस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । चैत २३ गते बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई रुपन्देही लगिएको थियो । सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई सोमबार जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतले मागेको एक करोड धरौटीको आदेशलाई उच्च अदालतले बदर गर्दै थुनामा पठाउने निर्णय गरेको हो ।
हेटौँडा सिमेन्टको साेमबारदेखि पुनः उत्पादन सुरु
मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले साेमबारदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए । उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।
गायिका देविका बन्दनालाई आईएनसीले गर्यो सम्मान
काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी (आईएनसी) क्यान्सर सचेतना र सम्मान समारोहको आयोजना गर्दै वरिष्ठ गायिका देविका बन्दनालाई सम्मान प्रदान गरेको छ । यो कार्यक्रम अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको हो । कार्यक्रममा गायिका देविका बन्दनाले क्यान्सरमाथि विजय प्राप्त गरेको अनुभव साझा गर्दै उपस्थितलाई प्रेरणा दिइन् । कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसँग सम्बन्धित सचेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए । यस समारोहमा गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा। उत्सवमान श्रेष्ठ, र आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन संगीतकार टिका दाहालले गरेकी थिइन् । यस समारोहमा बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) पनि सम्मानित भएका थिए । आईएनसीले गायिका बन्दनाको हौसला अभिवृद्धिका लागि उनको पुस्तक 'जित्नेको हाँसो' का ५० प्रति खरिद गरेको जनाएको छ । आईएनसी सामाजिक, शैक्षिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको एक संगठन हो । जसले हालसम्म स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण र क्यान्सर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस कार्यक्रममा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति देखियो र यसले समाजमा सकारात्मक प्रभाव र प्रेरणा पुर्याउने अवसर सिर्जना गरेको छ ।
मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो युवाका लागि 'पकेट मनी बचत खाता'
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालाई लक्षित गर्दै नयाँ 'मुक्तिनाथ पकेट मनी बचत खाता' सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी भर्खरै एसईइ परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी सुरू गरिएको हो । बैंकका अनुसार यो बचत खाता बचतको महत्व बझाउन, डिजिटल बैंकिङ प्रोत्साहन गर्न र विद्युतीय कारोबारको जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न डिजाइन गरिएको हो । यसले बैंकिङ क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्दै, उनीहरूलाई वित्तीय साक्षरता र डिजिटल बैंकिङसँग जोड्न मद्दत गर्नेछ। मुक्तिनाथ पकेट मनी खाता का ग्राहकहरूले न्यूनतम ५० रुपैयाँ राखेर खाता खोल्न सक्नेछन् । यस खाता खोल्ने ग्राहकलाई अर्धमासिक र मासिक रूपमा वित्तीय साक्षरता र विद्युतीय कारोबार जोखिमको ज्ञान प्रदान गरिनेछ । साथै, यो खाता खोल्ने ग्राहकहरूलाई १८ वर्ष नपुगेसम्म निःशुल्क मोबाईल बैंकिङ सुविधा प्राप्त हुनेछ । बैंकले निःशुल्क डिम्याट खाता र विद्युतीय कारोबारका अन्य सेवामा छुट प्राप्त गर्ने अवसर पनि प्रदान गरेको छ । यसका साथै, बैंकले 'मुक्तिनाथ फाइदा एप' पनि सञ्चालनमा ल्याएको छ जसले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन र खाता खोल्ने जस्ता सुविधाहरू घरबाटै गर्न सकिन्छ । मुक्तिनाथ विकास बैंकले यस्ता सुविधाहरूसँग युवालाई समर्पित वित्तीय सेवामा सुधार ल्याउने उद्देश्य राखेको छ ।