विकासन्युज

टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य

काठमाडौं । टोयोटाले सन् २०२७ सम्म आफ्नै प्रविधिमा आधारित करिब १५ वटा इलेक्ट्रिक सवारीसाधन (ईभी) मोडेल विकास गर्ने लक्ष्य राखेको छ र त्यसबेला सम्म प्रति वर्ष १० लाख कार उत्पादन गर्ने तयारी गरिरहेको छ । जापानी पत्रिका निक्केईले आइतवार यस्तो जानकारी दिएको हो । टोयोटाले यस विषयमा भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । निक्केईका अनुसार टोयोटाले अहिले जापान र चीनमा मात्र निर्माण भइरहेका पाँचवटा ईभी मोडेल आफ्नै प्रविधिबाट विकास गरेको छ । अमेरिकामा, थाइल्यान्ड र अर्जेन्टिनामा उत्पादन विस्तार गर्नाले शुल्क तथा मुद्रा सटही जोखिम कम गर्न र डेलिभरी समय घटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । यी १५ वटा ईभी मोडेलमध्ये केही टोयोटाको लक्जरी ब्रान्ड लेक्सस अन्तर्गतका हुनेछन् ।  टोयोटाले अहिले सन् २०२६ मा करिब ८ लाख इकाइ उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो योजनाको करिब ५० प्रतिशतले कम हो । टोयोटाले यसअघि सन् २०२६ सम्ममा प्रति वर्ष १५ लाख र सन् २०३० सम्ममा ३५ लाख ईभी बेच्ने योजना रहेको बताएको थियो, तर ती संख्या लगानीकर्ताहरूका लागि मार्गदर्शक सूचक मात्रै रहेको कम्पनीको भनाइ थियो । सन् २०२४ मा टोयोटाले विश्वभर झण्डै १ लाख ४० हजार ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब एक तिहाइले बढी हो । ती बिक्रीहरू कम्पनीका कुल १ करोडभन्दा बढी सवारीसाधन बिक्रीमध्ये २ प्रतिशतभन्दा कम रहेका छन्। यी पनि पढ्नूहोस् : बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने  

सहकारी ठगी प्रकरण : रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागार चलान गरिएको छ । लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । प्रहरीका अनुसार उनलाई चैत २३ गते यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । सरकारी विदाका कारण दुई दिन हिरासतमा राखिएको लामिछानेलाई साेमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिई कारागार पठाइएको सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । अब अदालतको अन्तिम फैसला नभएसम्म उनले कारागारमै समय बिताउने छन् । यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगीको आरोपमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले उक्त आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, सो आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । त्यसपछि उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राख्नुपर्ने ठहर गरेको हो । उच्च अदालतको आदेशमा भनिएको छ, 'धरौटी वा थुनाको विकल्प आरोपको प्रकृति, घटनाको समय, पीडितको अवस्था लगायतका सान्दर्भिक पक्षको सापेक्षतामा तय गर्नुपर्ने हो । यस सन्दर्भमा जिल्ला अदालतको निर्णय अपूरो र पर्याप्त आधारविहीन देखिएको छ ।' यसै आधारमा लामिछानेलाई थुनामा पठाउने निर्णय कार्यान्वयनमा आएको हो ।

चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत भएपछि करिब २०५ घरधुरीका बासिन्दामा खुसीयाली

गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका- ६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए ।  गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए । 'गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रूपमा बिजुली बालेका थियौं । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो,’ उनले भने, 'भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो ।’ विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री- ६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ । अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ ।  'यता खासै रुख पाइँदैनन् । गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो । अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो,’ उनले भने । सो गाउँमा केन्द्रीय प्रशारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन । गाउँलेले  विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए ।  गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताउँछन् । कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री- ६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै रु एक करोडको क्षति पुर्‍याएको लामाको भनाइ छ । 'साउनको पहिरोले खासै क्षति पुर्‍याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौं,’ उनले भने, 'भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरूपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो ।’  लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली बालेको थियो । कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ । 

सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवर्द्धन समग्र आर्थिक एवम् सामाजिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (इ-कमर्स) नेपालमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ ।  विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार (इ-कमर्स) ऐन, २०८१ जारी भइसकेको छ । नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना भएका सेवाको रूपमा प्राथमिकता दिएको छ । विश्व व्यापार सङ्गठनको सचिवालयबाट आएका स्रोत व्यक्तिले सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकास क्रम, विश्व व्यापार सङ्गठनमा भइरहेको वार्ता तथा प्रगति समेतका विषय समेटी अभिमुखीकरण प्रदान गरेका छन् ।   

सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा झरेको छ । आइतबार १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्यमा भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।  

सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्डयन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् । राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ । सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । 'कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ', उनले भने,'अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।' हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गरे । 'पहिला हामीलाई यात्रु वर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गर्थ्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपर्थ्यो', उनले भने,' अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।' पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ । 'पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, उनले भने, 'अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन् ।' पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ । बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गरे । ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उनले जनाए । यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई आर्थिक लाभ हुने उनले बताए । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५/६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ । निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा (पोखरा–जोमसोम) हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो । साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गर्थ्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पर्थ्यो । हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्थ्यो । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर/तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये । कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपर्थ्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ । रासस

सगरमाथा र लोत्से चढ्दै कविता नेपाली, पञ्चकन्या समूहले आर्थिक सहयोग गर्ने

काठमाडौं ।  पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि सुरू गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  पञ्चकन्या समुहले नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।  कविता नेपाली, जो फिटनेस आइकन, कलाकार र चिनियाँ मार्सल आर्ट तथा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा सफल व्यक्तित्व पनि हुन् । पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले भने, 'कविता नेपालीको यो प्रयास एक कलाकारको यात्रा मात्र होइन, बहुआयामिक प्रतिभा बोकेको महिला शक्ति र राष्ट्रिय गौरवको उज्यालो प्रतीक हो । यसअघि पनि पञ्चकन्याले सन् २०१३ मा सेभेन समिट्स अभियानमा माउन्ट किलिमान्जारो चढ्ने महिला समूहलाई सहयोग गरेको थियो । त्यस्तै, निशा अधिकारी, डा. प्रीति भुसाल, र पाँचजना महिला पत्रकारलाई सगरमाथा आरोहणमा साथ दिँदै, पञ्चकन्याले महिलाहरूको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याएको थियो ।  

आजको बजार भाउ : भिण्डीदेखि च्याउसम्म प्रतिकिलो कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिले कृषिउपजहरूको अधिकतम थोक मूल्य तोकेको हो । थोक मूल्यका अनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र तराईको सानो गोलभेँडा २५ रुपैयाँ तोकिएको छ। त्यस्तै, रातो आलु ३५ रुपैयाँ र भारतीय रातो आलु ४० रुपैयाँमा उपलब्ध छ। प्याज (भारतीय) ४५, गाजर (लोकल) ३५, बन्दा (लोकल) १५, काउली (स्थानीय) ४०, मूला (सेतो लोकल) २०, भन्टा (डल्लो) ४५ र तने बोडी ९० रुपैयाँमा पाइनेछ। फलफूलतर्फ, स्याउ (फूजी) ३५०, केरा प्रतिदर्जन १६०, कागती २८०, अनार ३५०, अङ्गुर (कालो) २५०, तरबुजा ७०, जुनार र मौसम दुवै २००, नासपाती (चाइनिज) २६० र आभोकाडो ६५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । हरियो सागसब्जीमध्ये पालुङ्गो साग ८०, चमसुर १००, तोरीको साग ६०, मेथीको साग १०० र रायो साग ७० रुपैयाँमा उपलब्ध छन् । त्यस्तै, भिण्डी १३०, पिँडालु ९०, च्याउ (डल्ले) ३००, राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ । मसला तथा अन्य वस्तुहरूमा अदुवा १३०, सुकेको खुर्सानी ४००, अकबरे खुर्सानी २५०, नेपाली लसुन ३००, चाइनिज लसुन ३२०, र ताजा माछा (रहु) ३२० रुपैयाँ प्रति किलोमा उपलब्ध छन् ।