विकासन्युज

८ वटा योजना कार्यान्वयन, नदीको कटान रोक्न ग्याबिन पर्खाल निर्माण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ५४ लाख रुपैयाँको लागतमा ८ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका वस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो ।  आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहु वर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँ पालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका वस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो । बेनी नगरपालिका-४ तातोपानी स्थित सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा १ करोड ५५ लाख रुपैयाँको लागतमा ६६ मिटर लामो, ४ मिटर चौडाइ र ३/३ मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताए ।  निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका-६ दरवाङको म्याग्दी नदी किनारमा ७० लाख रुपैयाँको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ । ७० लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी-४ सिङ्गा र सुर्के मेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबिन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि ८ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ ।  तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तर्गत म्याग्दी नदी किनारमा १०२ मिटर कम्पोजिट पर्खाल निर्माणका लागि ३ करोड ८१ लाख रुपैयाँ लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ । कुश्मा नगरपालिका-४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा ५ करोड रुपैयाँ लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । उक्त योजनामार्फत दुवै स्थानमा ४८÷४८ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको काली पुल पारी जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि २ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ ।  आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ । 

'नेताप्रतिको असन्तुष्टि पोख्ने ठाउँ राजसंस्था बन्यो, चाहना गरेर जनता आकर्षित भएका होइनन्'

काठमाडौं । भ्रष्टाचार देशको रोग जस्तै बनेको छ । सुशासनको निम्ति यसको अन्त्य हुन जरुरी छ । स्थानीय तहदेखि माथिसम्मै भ्रष्टाचारले गाँजेको छ । त्यसकारण भ्रष्टाचारको अन्त्य गर्दै जनतालाई छिटोछरितो सेवा सुविधा दिने काममा तीनै तहको सरकार लाग्नुपर्छ । सरकारले सोचेअनरुप काम गर्न नसक्दा जनतामा अलिकति वितृष्णा पैदा भएको छ । अहिले सुशासन पनि फितलो बन्दै गएको छ । राजाको चाहना गरेर जनता त्यसतर्फ आकर्षित भएका होइन । दल र दलका नेताहरूको क्रियाकलापप्रति असन्तुष्टि पैदा भएको हो । नेताप्रतिको असन्तुष्टि पोख्ने ठाउँ राजसंस्था जस्तो देखिएको मात्रै हो । दलप्रतिको वितृष्णाले उब्जाएको वितृष्णा हो । आम जनताको चाहना अनुसार देशको सत्ता, शासन, प्रशासन चलेको खण्डमा जनता सन्तुष्ट हुन्छन् । खाली पार्टीगत स्वार्थ भन्दा  पनि देशको हितमा देशको स्वार्थको निम्ति काम गरियो भने टिकाउ हुन्छ । नेताहरूले पार्टी र कार्यकर्ताको लागि मात्रै सोच्ने हो भने दीर्घकालीन रुपमा राम्रो प्रभाव दिँदैन । देशभित्रै रोजगारीको सिर्जना गर्न सकेको खण्डमा मात्रै युवा पलायन रोक्न सकिन्छ जस्तो लाग्छ । अहिले नेपालीमूलका जाने र अध्ययनको सिलसिलामा जाने लहर चलेको छ । आफ्नै देशमा रोजगारीको अवसर नभएका कारण यो अवस्था आएको हो । यसको न्यूनीकरण गर्न   शिक्षामा सुधार गर्दै उद्योग कलकारखानाको व्यवस्था गर्नुपर्छ । देशभित्र रोजगारीको सवालमा विस्तृत रुपमा अध्ययन गरेर आफ्नै स्रोत-साधनबाट रोजगारी सिर्जना गर्नुपर्छ । हाम्रो देश पर्यटनको सवालमा धनी छ । पर्यटनको सम्भावना भएका ठाउँमा सबैखाले विकास गरेर पर्यटनबाट रोजगारी सिर्जना गर्न पनि सकिन्छ । त्यसतर्फ युवालाई आकर्षण गर्नुपर्छ । युवा शक्ति पलायन हुने राम्रो सङ्केत पक्कै पनि होइन । वास्तवमा सङ्घीयता आइसकेपछि संविधानमा केही संशोधन गर्नुपर्ने आवश्यकता छ । संविधानमा केही नमिलेका कुरा मिलाउनुपर्ने छ । संविधान संशोधन एउटा सिङ्गो कांग्रेसले मात्रै गर्न सक्ने कुरा होइन । संशोधनको लागि सबै दलहरू मिल्नुपर्ने छ । जनताको चाहना अनुसार देशको संविधान, ऐन/कानुन, नीति नियम बन्नुपर्छ । प्रदेशमा पर्याप्त कानुन बन्न नसक्दा काम गर्न समस्या भएको छ । आवश्यक कानुन बन्न नसक्दा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार बाझिएको छ । निजामती कर्मचारी र प्रहरी प्रशासन सञ्चालन, कर्मचारीको सरुवामा समस्या पैदा भएको छ । कानुन बन्न नसक्दा विकासको कामले पनि गति लिन सकेको छैन । यी सबै विषयलाई सुधार गरेर समयसापेक्ष लैजानुपर्ने छ । हामीले सङ्घीयता दिऔँ । तर त्यसअनुसार कानुन नबन्दा समस्या देखिएको छ । समानुपातिक प्रणालीप्रति पनि जनता त्यति सन्तुष्टि देखिएका छैनन् । सदनमा जनताका सवाल नउठ्ने होइन उठ्छन् । तर त्यस अनुसार सरकार गम्भीर भएर लागेको पाइँदैन । संसद्मा विषय उठाउने मात्रै काम भएको छ । तर कार्यान्वयन फितलो छ । सांसदले समय सापेक्ष सदनमा उठाएका विषयलाई गम्भीरता पूर्वक लिएको देखिँदैन । अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको संविधान संशोधन पनि हो । त्यसको लागि सिङ्गो संसद् एक हुनुपर्छ । तर अहिलेको राजनीतिक परिस्थिति पनि त्यति ठिक छैन । जनता पहिलाको जस्तो छैनन् । अहिलेका जनता सचेत छन । त्यसकारण जनताको चाहना अनुसार संशोधन गर्नुपर्ने छ । जनताको भावना अनुसार राज्य, सरकार र जनप्रतिनिधि चलेनन् भने जनताको निराशा बढ्दै जाने देखिन्छ । हामीले संविधान बनाऔँ । तर संविधानमा भएका केही कमीकमजोरी समयसापेक्ष सुधार गरेर जान सकेका छैनौँ । देशको संविधान परिवर्तन गर्न नसक्ने भन्ने होइन । तर जहाँ जहाँ कमीकमजोरी छन्, त्यसलाई सुधार गरेर जाने हो भने परिणाम पनि राम्रो दिन्छ । तर उही पुरानै ढर्रामा लाग्न खोजियो भने संविधानप्रति जनताको वितृष्णा आउन सक्छ । त्यो भोलि थेग्न नसक्ने अवस्था पनि आउन सक्छ । कपिलवस्तु जिल्लामा त्यति धेरै उद्योगधन्दा, कलकारखाना छैन । कपिलवस्तुको मुख्य पेसा भनेको कृषि पेसा हो । त्यसको लागि समयमै सिँचाइ र मलखादको प्रर्याप्तता हुन जरुरी छ । कपिलवस्तुमा जमिनको चक्लाबन्दी भयो भने किसानले एकै ठाउँमा सिँचाइ र तार बारको प्रबन्ध गर्न सक्ने थिए । सिँचाइ मन्त्रालयले एउटा बोरिङ दिन्छ । एउटा टुबेल दिन्छ । त्यो किसानले एउटा खेतमा गाडेको हुन्छ । तर उसको खेत साना–साना गरी दश ठाउँमा हुन्छ । त्यसले गर्दा यहाँको उब्जनीमा घाटा हुँदै गएको छ । एउटा खेतमा सिँचाइ हुँदा अर्को खेत बाझो रहने हुन्छ ।   अहिले कपिलवस्तुका जनताको माग भनेको चक्लाबन्दी जग्गा हुनुपर्ने हो । त्यसो गर्न सकेको खण्डमा किसान कृषिप्रति आकर्षित गर्न सकिन्छ । यो समस्या कपिलवस्तुको मात्रै होइन । देशैभरका किसानको माग हो । यो कुरा मैले संसद्मा पनि पटक–पटक उठाएको छु । फेरि पनि यो समस्या उठाउन आवश्यक छ । तराईका जिल्लाको मुख्य समस्या नै यही छ अहिले । अहिलेको समस्या भनेको जनतालाई रोजगारी दिन नसक्नु हो । सडक, पुल निर्माण गर्ने हो । जनताको शिक्षा, स्वास्थ्य समस्या मुख्य कुरा हो । त्यसतर्फ ध्यान दिने अबको मेरो योजना छ ।  (विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका सुरेन्द्रराज आचार्य अहिले प्रतिनिधिसभाको सांसद हुन् । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री आचार्य अहिले कांग्रेसको लुम्बिनी प्रदेशको महामन्त्री हुन् ।  उनी २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा कपिलवस्तु–२ बाट ३९ हजार १४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।) रासस

पहिले हुने खानेले मात्र मिठोमसिनो खान्थे, अहिले गरिबले पनि चामलको भात खान्छन्ः महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले चैते दशैँको शुभकामना तथा पार्टीको जरा अभियान अन्तर्गत ‘सङ्गठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उनले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए ।  महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भने, ‘पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे । पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ । धनी र गरिब बीच जुन खालको असमानता थियो, त्यो घटेको छ ।’ उनले राजनीतिक चुनौतीलाई सामना गर्न सरकार र दलहरू योजनासहित अगाडि बढेको बताए । महासचिव पोखरेलले पुँजीवादी समाजवादको धार र वैज्ञानिक समाजवाद (जनताको बहुदलीय जनवाद) को धार बीचको प्रतिस्पर्धा नै नेपालको राजनीतिको अबको बाटो बन्नुपर्ने बताए ।  जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न सक्ने हो मात्र मुलुकमा स्थायित्व हुने उनको भनाइ छ ।  ‘अमेरिकालगायत देशले वैचारिक धुव्रीकरणबाट नै स्थायित्व प्राप्त गरेको हुन् । नेपालमा पनि वैचारिक धुव्रीकरणबाट नै स्थायित्व खोज्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक समाजवाद पक्षधरहरूले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा नीतिगत नेतृत्वमा धुव्रीकरणको यात्रा आरम्भ गरेमात्र एमाले बलियो राष्ट्रिय शक्ति बन्नेछ,’ महासचिव पोखरेलले भने । यसैगरी उनले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिमाण दिने भन्दै यही चैत १५ गतेको तीनकुनेमा भएको घटनाले गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गरे ।  कमिटीका अध्यक्ष श्रीप्रसाद पाण्डेले जरा केन्द्रित अभियानले एमालेलाई मिसन २०८४ मा निर्णायक शक्ति बनाउने बताए । 

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...

काठमाडौं । जब चैते दसैँ आउँछ अनि सम्झिन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बीमाकुमारी दुराले यो गीत गाएका थिए । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन् गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटे ताकेको पूरा हुने विश्वासमा चैते दसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ । गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब २ लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्ति पीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार राम नवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए । उनका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो ।  ‘चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ,’ अध्यक्ष खड्काले भने, ‘सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।’  तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताए । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताए । ‘पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ,’ उनले भने, ‘पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।’ सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।  देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिए । साउन र पुस महिनामा भने बलि नचढ्ने उनको भनाइ छ ।  ‘औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ । मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ,’ उनले भने ।  मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताए । उनका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो । ‘त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो । गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे,’ श्रेष्ठले भने ।  पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताए । उनका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे । गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताए । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् । 

एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, २५ लाख कित्ता खरिद गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले आज चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गरेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात २० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतममा २५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय २०८२ बैशाख ८ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ ।

एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, २५ लाख कित्ता खरिद गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले आज चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गरेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात २० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतममा २५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय २०८२ बैशाख ८ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ ।

आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ, गठबन्धन नगरी पार्टी एक्लै चुनाव लड्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।  नेपाल थारू सङ्घको तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए ।  ‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानूनविपरीत हुन्छ ।’ महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ छ । उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।  ‘नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ,’ महामन्त्री थापाले भने, ‘अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरी विधान बदल्नुपर्छ, दाङका उम्मेदवार काठमाडौंले छान्ने कुरा वैज्ञानिक छैन ।’  संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नेतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताए ।  सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ छ ।  ‘देशमा केही हुँदैन की भन्ने छ, नागरिकमा खुसी छैन । यसका लागि सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्छ, व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ,’ महामन्त्री थापाले भने । 

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा प्रिया, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । ‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन् ।  आइतबार सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भएका हुन् ।  त्यसैगरी सदस्यमा पियुष गजुरेल, दीपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भएका हुन् । सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यमा आरुषी थापा र विमल पौडेललाई मनोनीत गरेको छ । साधारणसभाले अटोमोवाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तीकरणमा क्रियाशीलता बढाउनुका साथै बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने निर्णयसमेत गरेको छ ।