विकासन्युज

वीरगञ्जमा निषेधाज्ञाको अवधि थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समय बढाएको छ ।  आइतबार मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए ।  दुई समुदायबीच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो। 

प्रभु क्यापिटलको २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक, लगानी र साक्षरतामा जोड

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सांस्कृतिक र वित्तीय सन्देश समेटिएको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनुमोदित तिथि, सार्वजनिक बिदा, चाडपर्व, नेपाली–अंग्रेजी मिति, साथै प्रभु क्यापिटलका सेवा र सुविधाहरू समावेश गरिएको छ । डिजिटल माध्यममार्फत डाउनलोड र क्युआर कोड स्क्यान गरेर सजिलै पहुँच पाउने गरी क्यालेन्डर उपलब्ध गराइएको छ । प्रभु क्यापिटलले ग्राहकहरूलाई वित्तीय साक्षरताको सन्देश दिनका साथै आफ्नो सेवाबारे जानकारी दिने उद्देश्यले क्यालेन्डरलाई आकर्षक ढंगमा प्रस्तुत गरेको जनाएको छ । कम्पनीको साँचो पहिचान कर्मचारी हुन् भन्ने सोच अनुरूप, क्यालेन्डरमा कर्मचारीहरूकै माध्यमबाट सेवा र योजनाहरू प्रस्तुत गरिएको छ । नेपाली चाडपर्वमा उपहार दिने परम्परालाई आधुनिक सोचसहित विस्तार गर्दै, क्यापिटलले भविष्य केन्द्रित वित्तीय साधनहरू उपहार दिन प्रोत्साहन गरेको छ । जसले लगानी बढाउने, वित्तीय सुरक्षा दिने र समृद्ध भविष्यतर्फ उन्मुख गराउने सन्देश दिन्छ । कम्पनीका अनुसार क्यालेन्डरमा सांस्कृतिक झल्को दिने चित्रहरू र वित्तीय जानकारीलाई सँगै प्रस्तुत गरिएको छ । जसले परम्परा र प्रविधिको सशक्त संयोजन दर्शाउँछ । प्रभु क्यापिटलको यो डिजिटल क्यालेन्डर केवल समयको सूचक मात्र नभई वित्तीय चेतना, संस्कृतिको सम्मान र प्रविधिको प्रयोगको सफल उदाहरण बनेको छ । यसले ग्राहक तथा सर्वसाधारणलाई लगानीप्रति सचेत बनाउँदै, डिजिटल पहुँचमार्फत सुलभ र सन्देशमूलक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

तस्बिरमा हेर्नूहोस चिसाेपानीमा १० वर्षदेखि भग्नावस्थामा रहेका घर तथा होटलहरू

काठमाडौं । विसं २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो । उक्त भूकम्प र त्यसपछिको पराकम्पमा परी ८ हजार ६ सय ५४ जनाले ज्यान गुमाए ।  २२ हजार ३०९ जना घाइते हुनुका साथै ५ लाख ११ हजार ३९० घर ध्वस्त भए र २ लाख ८६ हजार ७६७ घर आंशिक रूपमा क्षतिग्रस्त भए । भत्किएका धेरै घरको पुनःनिर्माण सम्पन्न भए पनि चिसाेपानीमा भने हालत उस्तै छ । त्यहाँका घर तथा होटलहरू अझै पनि भग्नावस्थामा रहेका छन् । भूकम्प गएको १० वर्ष पुग्दैछ तर ती संरचनाको पुनःनिर्माण हुन सकेको छैन । नुवाकोटका शिवपुरी गाउँपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ को सिमानामा चिसाेपानी पर्दछ । त्यस क्षेत्रका कुल २५ घर भूकम्पले क्षति गरेको थियो । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

कुमारी, सानिमा र नेपाल बैंकले घटाए ब्याजदर, एभरेष्टले बढायो

काठमाडौं । तीन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले घटाएको छ । विसं २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । कुमारी बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा ०.०९ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।  यस्तै, सानिमा बैंकले ०.१ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ५.१५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत कायम राखेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले ०.६१ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ६.६१ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  साथै बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.९७ प्रतिशत र संस्थागततर्फ ४.३६ प्रतिशत कायम छ । 

'सवारीसाधन अब धनीको विलासिता हैन, आवश्यकता हो'

काठमाडौं । नेपाल अटोमोबाइल व्यवसायी संघ (नाडा) द्वारा पहिलोपटक आयोजित 'नाडा अटो संवाद २०८१' ले नेपालको अटोमोबाइल क्षेत्रप्रति रहेको परम्परागत दृष्टिकोणलाई परिवर्तन गर्दै दिगो, समावेशी र भविष्यमुखी गतिशीलताको खाका प्रस्तुत गरेको छ। कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल प्रमुख अतिथिको रूपमा सहभागी थिए भने सरकारी, निजी तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट विज्ञहरूको उपस्थितिमा नेपालको अटो उद्योगको रूपान्तरण र भविष्य विषयमा व्यापक छलफल भएको छ । प्रमुख छलफल बुँदाहरू १. ५० वर्षको फड्को र भावी दिशा नेपालको अटो क्षेत्रले इन्धनमा आधारित सवारी साधनबाट विद्युतीय सवारीतर्फ कसरी रूपान्तरण गरिरहेको छ भन्ने कुरामा समीक्षा गरिएको छ । अनपेक्षित नीतिगत निर्णयहरू (जस्तै लोन टु भ्यालूमा मा गरिएको परिवर्तन) ले उद्योगमा पार्न सक्ने नकारात्मक असरबारे पनि छलफल गरिएको छ ।  २. सवारी विलासिता होइन, आवश्यकता हो गतिशीलता सबै नागरिकको आवश्यकता हो भन्ने सन्देशसहित सार्वजनिक यातायातको पहुँच विस्तार, उपभोक्ता–मैत्री वित्तीय नीति र स्थानीय उत्पादन प्रवर्द्धनको आवश्यकता औँल्याइयो । ३. दिगो गतिशीलता : समृद्ध अर्थतन्त्र विद्युतीय सवारी, स्वदेशी उत्पादन र हरित ऊर्जाको प्रयोगबाट आयातमा निर्भरता घटाउने र आर्थिक विकासमा टेवा पुर्‍याउने उपायहरू प्रस्तुत गरिए । ४. भविष्यको नेपाल : स्मार्ट र हरित गतिशीलता वैकल्पिक ऊर्जामा आधारित सवारी र स्मार्ट समाधानमार्फत नेपाललाई २०५० सम्म दिगो गतिशीलता हासिल गर्ने लक्ष्य तय गरिएकाे छ । यो लक्ष्यमा पुग्न दीर्घकालीन स्थिर नीतिहरूको आवश्यकता औँल्याइयो । नाडा अटो संवादले सवारीसाधनलाई अब धनीको विलासिता हैन, सबैको अधिकारको रूपमा प्रस्तुत गरेको छ । निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य, सुसंगत नीति, र स्थानीय उत्पादनमार्फत नेपालले आत्मनिर्भर र हरित अटोमोटिभ भविष्य निर्माण गर्न सक्ने सम्भावना औँल्याइएको छ । नेपालको अटो क्षेत्र अब केवल सवारी आयात गर्ने मुलुकको रूपमा सीमित रहँदैन । यो संवादले देखाएको दिशा र दृष्टिकोणले गर्दा नेपाल स्मार्ट, सुरक्षित, पहुँचयुक्त र नवप्रवर्तनमुखी गतिशीलताको नेतृत्व गर्न सक्ने यात्रामा अघि बढेको कम्पनीले जनाएको छ ।

चीनमाथिको ट्रम्पका ट्यारिफहरूले चाँडै नै धेरै अमेरिकी व्यवसायमा 'अपूरणीय' क्षति हुने

काठमाडौं । अमेरिकी अर्थतन्त्रका धेरै भाग र साना व्यवसायीका लागि १४५ प्रतिशत ट्यारिफका कारण चीनबाट हुने आयातमा चाँडै अपूरणीय क्षति पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   आपूर्ति श्रृङ्खलाका कार्यकारीहरूका अनुसार अमेरिकी उद्योगहरूमा व्यापक रूपमा कन्टेनर निर्यात रोकिएको छ र ट्यारिफहरूले निकै ठूलो असर पुर्‍याइरहेका छन् । 'चीनका फर्निचर उत्पादकहरूले अमेरिकी आयातकर्ताबाट पूर्ण रूपमा अर्डरहरू बन्द भएको देखेका छन् र हामीले खेलौना, लुगा, जुत्ता, खेलकुद सामग्रीजस्ता क्षेत्रमा पनि त्यही सुन्दैछौं,’ सी-इन्टेलिजेन्स सर्भिसेजका सीईओ एलन मर्फीले भने । 'हामीले दक्षिण-पूर्व एसियामा पनि उस्तै स्थिति देख्यौं, तर ९० दिनको राहतपछि अर्डरहरू फेरि सुरु भए,’ सेको लजिस्टिक्सका प्रमुख व्यवसाय अधिकृत ब्रायन बोर्केले भने, 'जबकि चीनबाट आउने कन्टेनरहरूको अर्डर अझै पनि रद्द भइरहेका छन् ।’ 'चीनसँग सम्बन्धित व्यापारहरू लगभग सबै रोकिएको अवस्थामा छन्,’ ओएल यूएसएका सिइओ एलन बेयरले भने । 'ट्रम्पको १४५ प्रतिशत टोटल ट्यारिफले अमेरिका र चीनबीचको अधिकांश व्यापार रोक्नेछ, 'कर फाउन्डेसनको फेडरल ट्याक्स पोलिसी केन्द्रकी उपाध्यक्ष र अर्थशास्त्री एरिका योर्कले भनिन् । 'कुनैकुनै सामानहरूमात्र विकल्प नभएका कारण आयात गर्नैपर्ने हुन्छ, तर अधिकांश वस्तुमा ट्यारिफले पूरै व्यापार नै काटिदिन्छ,’ उनले थपिन् । गत हप्ताको घटनाक्रमले ट्रम्प प्रशासनको ट्यारिफ नीतिअन्तर्गत चीनलाई नै मुख्य लक्षित बनाइएको छ । शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको ट्यारिफ (कर) केही हदसम्म फिर्ता गरेपछि एप्पलको आइफोनदेखि चिप्स र पर्सनल कम्प्युटरसम्मका अन्य प्रविधिसम्बन्धी हार्डवेयरहरूलाई राहत प्राप्त भए पनि ट्यारिफले सबैभन्दा धेरै घाटा अमेरिकालाई नै पर्छ । 'उच्च नाफा हुने र प्रविधियुक्त वस्तुहरू– जस्तै इलेक्ट्रोनिक्स, मेसिनरी, मेडिकल उपकरणहरू र औषधीहरूको स्रोत सजिलै अन्यत्र सार्न सकिँदैन किनभने यस्तो उत्पादन संरचना तयार गर्न समय र धेरै पूँजी चाहिन्छ,’ मर्फीले भने । प्रविधिमा ट्यारिफ छुट नआउँदासम्म यस्ता वस्तुका उत्पादकहरूले कुन-कुन कम्पोनन्ट अन्यत्रबाट ल्याउन सकिन्छ भनेर विश्लेषण गरिरहेका थिए । हाल साउथ ईस्ट एसिया (मुख्यतया भियतनाम वा भारत) तर्फ उत्पादन सार्ने प्रयास भइरहेको छ । उत्पादन जारी राख्न मूल्य घटाएर युरोपतर्फ निर्यात गर्ने वा उत्पादन लाइनहरू पूर्ण रूपमा बन्द गर्ने पनि विचार गरिँदैछ । 'साना व्यवसायहरूले सहन नसक्ने जोखिम' अमेरिकन एपरल एन्ड फुटवेयर एशोसिएसनका सीईओ स्टेफन लामारले भने, 'अचानक नीति परिवर्तन र उच्च ट्यारिफहरूले महामारीपछिको समयमा कहिल्यै नभएको आपूर्ति श्रृङ्खलामा अवरोध ल्याएको छ ।’ 'चीनबाट आयातमा अत्यन्त उच्च ट्यारिफ लागेपछि धेरै कम्पनीहरूले अर्डरहरू रद्द गर्नुपर्ने बाध्यता आइपरेको छ,’ उनले भने, 'ट्यारिफको बारम्बार फेरबदलले सामान आइपुग्दासम्म वास्तविक लागत थाहा हुँदैन र यी अत्यधिक शुल्कहरू तिर्नै नसकिने स्थितिमा पुगिएको छ । साना व्यवसायहरूका लागि यो दीर्घकालीन रूपमा सहन सकिने अवस्था होइन ।’ 'वैकल्पिक स्रोत नभएको अवस्थामा अर्डर हराउने बित्तिकै बिक्री हराउनेछ र बजारमा सामानको अभाव हुनेछ । त्यसैले अब तुरुन्तै व्यापार युद्धलाई रोक्ने कदम आवश्यक छ नभए क्षति अपूरणीय हुन्छ,’ उनले थपे । कन्टेनर सेवा पुनः संरचना मस्र्कले चेतावनी दिएको छ कि चीनसँग सम्बन्धित जहाज निर्माण शुल्क र अर्डर गिरावटका कारण उत्तर अमेरिका जाने कन्टेनर सेवा प्रणालीमा 'विशाल पुनः संरचना’ आवश्यक हुनेछ । 'आगामी महिनाहरूमा भारी यातायात जाम र ढुवानी शुल्कमा वृद्धिको सामना गर्नुपर्नेछ,’ मर्स्क आफ्नो ग्राहकहरूलाई लेखेको सन्देशमा भनिएको छ, 'हामीले कुराकानी गरेका कुनै पनि चिनियाँ उत्पादकहरूले अहिलेको अवस्थामा अमेरिका भित्रै उत्पादन सुरु गर्ने तयारी गरेका छैनन् । यसको मुख्य कारण हो- ट्रम्प प्रशासनको अन्तिम लक्ष्य के हो भन्ने स्पष्ट छैन ।’ 'यदि ट्यारिफहरू केवल व्यापार सम्झौताको बार्गेनिङका लागि हो भने कसैले अमेरिका भित्र करोडौं लगानी गर्दैन । यदि वास्तवमै अमेरिका पुनः औद्योगिक बनाउने उद्देश्य हो भने त्यसको दीर्घकालीन योजना स्पष्ट हुनुपर्छ,’ उनले थपे । भन्सार शुल्क टार्ने उपाय कम्पनीहरूले ट्यारिफको असर कम गर्न फ्रेट प्रोसेसिङलाई रोकिरहेका छन् । युएस भित्र 'बन्डेड स्टोरेज’ प्रयोग गरेर केही समयको लागि ट्यारिफ नतिरी सामान राख्न सकिन्छ । विदेशी व्यापार क्षेत्र लगायतका उपायहरूले शुल्क तिर्न केही समय पर्खन मिल्छ । त्यागिएको माल समयमै भन्सार तिरिन नसकेको वा क्लेम नगरिएका मालहरू परित्यक्त मालमा पर्छन् । यस्ता मालको नियमन बन्दरगाह अनुसार फरक हुन्छ । न्यूयोर्क टर्मिनल कन्फरेन्स एग्रिमेन्ट अनुसार ३० दिनभन्दा बढी टर्मिनलमा रहन गएको माललाई परित्यक्त मानिन्छ र त्यसलाई ढिलाइ शुल्क ( जहाज, कन्टेनर वा कार्गो निर्धारित समयभन्दा बढी समयसम्म रोकिएको खण्डमा लाग्ने शुल्क) संकलन गर्न बेच्न सकिन्छ । 'शिपर’ ले त्यस्तो माल 'फेरि निर्यात’ नष्ट वा दान गर्न सक्छ । यस्ता माललाई अमेरिकी भन्सारको लागि 'लेटर अफ अबान्डोनमेन्ट’ दिइन्छ । बिक्रीबाट प्राप्त रकमबाट खर्च कटाएर बाँकी रकम टर्मिनललाई जान्छ । विभिन्न कम्पनीहरूले यस्ता परित्यक्त माल किनेर छुट स्टोरहरू, अनलाइन विक्रेताहरू अमेजन र अन्य आउटलेटमा पुनः बेच्ने गर्छन् ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएर इतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुनको मूल्य १ हजारले बढेर तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबार सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेकोले त्यसको असर नेपाली बजारमा समेत परेको हो । त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार शुक्रबार १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।

इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । त्यस्तै, इसेवा प्रयोगकर्ताले वालेटमा भएको रकम नेपाल एसबीआई बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् । दुवै संस्थाबीच भएको यो सहकार्यले ग्राहकलाई थप सहजता, पहुँच र डिजिटल वित्तीय कारोबारमा सुरक्षा दिने अपेक्षा गरिएको छ । एक औपचारिक कार्यक्रममार्फत दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेका हुन् । यस साझेदारीसँगै इसेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यस सम्झौताले ग्राहकलाई थप सरल र सहज सेवा प्रदान गर्ने बताए । 'यो सहकार्यले कारोबार प्रक्रियामा सहजता ल्याउने, ग्राहकको समय बचत गर्ने, र डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउनेछ,' खड्काले भने । उनले ग्राहक हितलाई केन्द्रमा राख्दै आगामी दिनमा यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।