विकासन्युज

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएर इतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुनको मूल्य १ हजारले बढेर तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबार सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेकोले त्यसको असर नेपाली बजारमा समेत परेको हो । त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार शुक्रबार १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।

इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । त्यस्तै, इसेवा प्रयोगकर्ताले वालेटमा भएको रकम नेपाल एसबीआई बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् । दुवै संस्थाबीच भएको यो सहकार्यले ग्राहकलाई थप सहजता, पहुँच र डिजिटल वित्तीय कारोबारमा सुरक्षा दिने अपेक्षा गरिएको छ । एक औपचारिक कार्यक्रममार्फत दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेका हुन् । यस साझेदारीसँगै इसेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यस सम्झौताले ग्राहकलाई थप सरल र सहज सेवा प्रदान गर्ने बताए । 'यो सहकार्यले कारोबार प्रक्रियामा सहजता ल्याउने, ग्राहकको समय बचत गर्ने, र डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउनेछ,' खड्काले भने । उनले ग्राहक हितलाई केन्द्रमा राख्दै आगामी दिनमा यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

आगामी बजेटबाटै सरकारले ५० अर्ब खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री आचार्य

काठमाडौं । संविधान अनुसार नेपाल सरकारले जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ । यद्यपि, विगतका वर्षहरूमा सरकारले विनियोजित बजेट पूर्ण रूपमा खर्च गर्न सकेको छैन । मध्यावधि समीक्षामा बजेट कटौती गर्नुपर्ने बाध्यता, आम्दानीभन्दा बढी खर्च हुने अवस्था, विकासभन्दा साधारण खर्च र ऋण तिर्ने दायित्वले गर्दा बजेटमा ठूलो असन्तुलन देखिएको छ । यस्तो परिवेशमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउने तयारी भइरहेको छ । यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थशास्त्री केशव आचार्यसँग कुराकानी गरिएको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश : सरकारले आगामी वर्षको बजेट बनाउन लागेको छ । हालको बजेट तयारी प्रक्रिया कस्तो देख्नुभएको छ ? बजेटको तयारी प्रक्रिया पहिलाजस्तै देखिन्छ । स्रोत समिति बनाउने, मन्त्रालयलाई सिलिङ दिने, मन्त्रालयहरूले योजना प्रणाली (एलएमबीआईएस) मा योजना राख्ने, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याएपश्चात बजेट संसदमा प्रस्तुत गर्ने प्रक्रियामा खासै सुधार भएको छैन । २०७४/७५ पछि लगभग हरेक वर्ष मध्यावधिमा गएर औसत २ खर्ब बजेट कटौती गरिएको छ । कटौती हुँदा सबैभन्दा बढी मार पुँजीगत खर्चमा पर्छ । राजस्व, अनुदान र वैदेशिक ऋण पनि घटाइन्छ । अहिले २० खर्बको हाराहारीको बजेट बनाउने तयारी हुँदैछ, जुन अत्यन्त महत्वाकांक्षी छ । बजेट कार्यान्वयन गर्ने निकायहरूको उपस्थिति बजेट निर्माण प्रक्रियामा देखिँदैन । आयोजना छनोट र विनियोजनमा गम्भीर त्रुटीहरू छन् । प्रक्रिया झन्झटिलो छ, समन्वय छैन, र आवश्यक पूर्वाधारजस्तै ईआईए, डीपीआर स्वीकृति पनि समयमै हुँदैनन् । आगामी बजेटमा के कुरामा प्राथमिकता र सिद्धान्त अपनाइनु पर्छ ? संविधानमै रोजगारी सिर्जना, उत्पादन मूलक क्षेत्र प्रवर्द्धन आदि विषयलाई प्राथमिकता दिनु भनिएको छ । तर ती कुरा बजेटको भाषणमा मात्र सीमित छन् । कार्यान्वयनमा देखिँदैन । सिद्धान्त र प्राथमिकता श्राद्धको बिरालो बाँधेजस्तै मात्रै भएको छ । राजस्व कम, वैदेशिक सहयोग पनि घट्दैछ । स्रोत व्यवस्थापन कसरी सम्भव छ ? वैदेशिक अनुदान घट्दैछ । युएसएआईडीले आफ्नो बजेटको ८३ प्रतिशत कटौती गरिसक्यो । बेलायतले आफ्ना सहयोग रोक्दै रक्षा बजेट बढाउने घोषणा गरिसक्यो। फ्रान्सले पनि २५ प्रतिशत सहयोग कटौती गर्ने भनिसकेको छ । नेपाल २०२६ मा विकासोन्मुख राष्ट्र बन्ने तयारीमा छ । त्यसपछि अनुदान र सहुलियतपूर्ण ऋण पनि पाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा हामीले खर्चको संरचना फेरबदल गर्नुपर्छ । संघीय सरकारले खर्च घटाउने रणनीति अपनाउनुपर्छ । १२-१५ वटा मन्त्रालयभन्दा धेरै हुनु हुँदैन । प्रशासन पुनरावलोकन आयोग, खर्च पुनरावलोकन आयोग र राष्ट्रिय सभाका सुझावहरू कडाइका साथ कार्यान्वयन गरिनुपर्छ । आउँदो बजेटबाट ५० अर्ब खर्च कटौतीको सुरुवात गर्न सकिन्छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा के रणनीति लिनुपर्छ ? अहिलेका २७ वटा आयोजना एकैचोटी सम्पन्न गर्ने अवस्था छैन । बरु २–३ वटा छानेर पूर्ण गर्नुपर्छ । बुढीगण्डकी बनाइयो भने मात्रै खर्बौं आम्दानी सम्भव छ । हुलाकी मार्ग, रेलमार्ग जस्ता आयोजनामा प्राथमिकता दिनुपर्छ । सबै आयोजना समेटेर ५० वर्ष कुर्नु भन्दा गम्भीर छनोट गरी कार्यान्वयन गर्नुपर्छ । चालु खर्च बढ्दो छ, तर पुँजीगत खर्च घट्दो । यसलाई कसरी हेर्नुहुन्छ ? पुँजीगत खर्च संघदेखि पालिकासम्म न्यून छ । कानुनी प्रक्रिया झन्झटिलो, कर्मचारीको लगातार सरुवा र राजनीतिक हस्तक्षेपले खर्च हुन सकिरहेको छैन । संघीय सरकार अहिले पनि एक/डेढ लाखको योजना आफैं हालिरहेको छ । यसले संघीयता विपरितको व्यवहार देखाउँछ । देशलाई कति बजेट आवश्यक छ त ? देशलाई अहिलेको आर्थिक आकार अनुसार ५० खर्ब बजेट आवश्यक छ । तर खर्च गर्ने क्षमता छैन । कृषिमा अनुदान, बीमा, ठेकेदार र किसानका पुराना भुक्तानी दिन नसकेको अवस्था छ। मल आपूर्तिमा समस्या छ । राष्ट्र बैंकको तथ्यांक हेर्दा निजी क्षेत्रलाई कर्जा विस्तार सीमित छ, मुद्रास्फीति कम छ । तरलता व्यवस्थापन चुनौतीपूर्ण छ । ५७ खर्बको अर्थतन्त्रमा ५० खर्बको बजेट चाहिए पनि खर्च गर्ने क्षमता छैन । क्षमता वृद्धि आवश्यक छ । यस समस्याको जड के हो ? सबै समस्याको जड हो– राजनीतिक नेतृत्वको असंवेदनशीलता । बजेट भाषण र घोषणापत्रमा भव्य कुरा गरिन्छ, व्यवहारमा कार्यान्वयन शून्य हुन्छ । मन्त्रिपरिषदका निर्णयहरू हेर्दा नियुक्ति र भ्रमण बढी छन् । कानुन सुधारको कुरा व्यवहारमा झन् कमजोर देखिन्छ । कर्मचारी स्थायित्व छैन, अनुभवसहितको टिमलाई निरन्तरता दिइँदैन । यसले संस्थागत ज्ञान हराउँदै जान्छ ।

एफवान सफ्टको बैंकर्स मिट २०२५ : नेपाली बैंकिङ डाटा र एआईमा आधारित

  काठमाडौं । एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाका उच्चस्तरीय नेतृत्वसँग डिजिटल प्रविधिमा आधारित भविष्यको बैंकिङ प्रणालीबारे गहन छलफल गर्न ‘बैंकर्स मिटअप २०२५’ आयोजना गरेको छ । हालै ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजित उक्त कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलको सहकार्यमा फोनपे र ई–सेवाले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), ओपन बैंकिङ इकोसिस्टमलगायत विषयमा व्यापक अन्तर्क्रिया भयो । यस अवसरमा एफवान सफ्टले ओसीआर र फेसियल रिकग्निशन प्रविधिमा आधारित डिजिटल अनबोर्डिङ प्लेटफर्म सार्वजनिक गर्‍यो । त्यस्तै, फोनपेले ब्लकचेनमा आधारित ‘एकाउन्ट एग्रिगेटर’ समाधान प्रस्तुत गर्‍यो भने ई–सेवाले प्रयोगकर्तालाई अझ स्मार्ट र वैयक्तिक सेवा दिन सक्ने एजेन्टिक एआई प्रविधिको घोषणा गरेकाे छ । कार्यक्रमले नेपालको बैंकिङ क्षेत्रलाई प्रविधि र नवप्रवर्तनमा आधारित नयाँ चरणतर्फ लैजान महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको ‘द इन्फिनिटी लाउन्ज’ सञ्चालनमा

काठमाडौं । भक्तपुरको पेप्सीकोला, दिब्येश्वरी टाउन प्लानिङमा आधुनिक र सुविधासम्पन्न ‘द इन्फिनिटी लाउन्ज’ चैत्र ३१ गतेदेखि सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को सुरुवातसँगै लाउन्जले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गर्न लागेको हो । लाउन्जमा रेस्टुरेन्ट, बार, डान्सिङ फ्लोर र लाइभ कन्सर्टको सुविधा उपलब्ध हुनेछ । एकैपटक ६५० जना बस्न सक्ने र ५ हजार जना सहभागी हुन सक्ने क्षमता रहेको लाउन्जमा पर्याप्त पार्किङको व्यवस्था समेत गरिएको छ । सुरुवाती दिनमै चर्चित गायक राजु लामा र उनको ब्याण्ड ‘मंगोलियन हर्ट’ को लाइभ कन्सर्ट हुँदैछ । चैत्र ३१ मा २०८१ साललाई विदाई गर्दै लाउन्जको औपचारिक उद्घाटन गरिनेछ भने नयाँ वर्षको पहिलो दिनदेखि विभिन्न ब्याण्डहरूको सजीव प्रस्तुति समेत सुरु गरिने आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र आधुनिक मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले लाउन्ज स्थापना गरिएको हो । सम्पूर्ण संरचना आधुनिक डिजाइनमा तयार पारिएको लाउन्जले भक्तपुरको पर्यटन, मनोरञ्जन र सांगीतिक गतिविधिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको छ । उनका छोरा दीप शम्शेर राणाले निधनको जानकारी दिएका हुन् । स्व. राणाको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेको छ । राणा २०५७ साल असोजदेखि २०५९ साल पुससम्म नेपाल प्रहरी प्रमुख (आईजीपी) का रूपमा कार्यरत थिए । आफ्नो कार्यकालमा उनले शान्ति सुरक्षा कायम, संगठन सुदृढीकरण र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।   

गुन्द्रुक किलोको ३५० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी  (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ । यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु ६५, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

ज्योतिषीय अध्ययन, अनुसन्धान गर्न ज्योतिषहरूले मागे बजेट

काठमाडौं । वेदका ६ वटा अङ्गमध्ये सबैभन्दा महत्त्वपूर्ण अङ्गका रूपमा रहेको ज्योतिष क्षेत्रमा थप अध्ययन, अनुसन्धान गरिनुपर्नेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै धर्मशास्त्र एवं ज्योतिष क्षेत्रका विद्वानले अध्ययन, अनुसन्धानका लागि स्रोतको व्यवस्था गरिनुपर्नेमा पनि सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले ज्योतिषमा गणित नमिल्दा सही फलादेश नहुने भएकाले सही गणित गर्ने गरी अध्ययन, अनुसन्धान र गणित गर्न आवश्यक यन्त्र तथा विधिको विकास गरिनुपर्ने बताए ।  समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले ज्योतिष क्षेत्रलाई अनुगमन एवं मूल्याङ्कन गर्ने गरी आवश्यक बजेट र कानुनको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । ज्योतिष शास्त्रलाई धर्मशास्त्रबाट अलग गर्नु नहुने पनि उहाँको भनाइ थियो । ज्योतिषी काम गर्नेले साधना, अध्ययन र अनुसन्धान गरिरहनु पर्ने राष्ट्रिय धर्म सभाका अध्यक्षसमेत रहेका उनले सुनाए ।  समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका धर्म, कर्म, संस्कार र संस्कृति राष्ट्रियताका प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्ने बताए । वाल्मीकि विद्यापीठ, ज्योतिष विभागका प्राडा माधवप्रसाद पाण्डेयले ज्योतिष शास्त्रीय मूल्य र मान्यताअनुसार नै नेपालमा ज्योतिषको अभ्यास गरिनुपर्ने आवश्यकता औंल्याए । शास्त्रीय आधारबिना गरिएका कामका बारेमा गर्नेले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।  महासङ्घका अध्यक्ष लोकराज पौडेलले २३ देशका प्रतिनिधिको उपस्थितिमा समारोह हुन लागेको जानकारी दिए । महासङ्घको प्रधान कार्यालय अहिले नेपालमै रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरी त्यसलाई यहीँ स्थायी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले सुनाए ।  दक्षिण एसियाली ज्योतिष महासङ्घका सभापति लक्ष्मण पन्थीले विश्व ज्योतिष महासङ्घ, दक्षिण एसियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद् लगायत नेपालमा क्रियाशील ज्योतिषीय संस्था मिलेर विसं २०८२ जेठ १०-१२ गतेसम्म धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन २०८२ आयोजना गर्न लागिएको जानकारी गराए ।  कार्यक्रममा नेपाल ज्योतिष परिषदका अध्यक्ष सहदेव विष्ट, महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ लगायतले यस क्षेत्रको विकासमा सरकारी र सरोकार भएका निकायले ध्यान दिनुपर्ने विचार राखेका थिए ।