विकासन्युज

वर्षको अन्तिम दिन सेयर बजार घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । २०८१ सालको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६६२ बिन्दुमा झरेको छ ।  आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डीङसको भएको छ । सीइडीबीको ४५ करोड रुपैयाँ बढकिो कारोबार भएको छ ।  आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् । चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, राधी विधुत कम्पनीको ४३ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्ट बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

ट्रम्पको अटो शुल्कका बाबजुत पनि स्टेलान्टिस मसेराटी ब्रान्डप्रति प्रतिबद्ध

काठमाडौं । कार निर्माता स्टेलान्टिस मसेराटीजस्तो समस्याग्रस्त लक्जरी ब्रान्डप्रति अझै प्रतिबद्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी भन्सार शुल्कहरूले सम्पूर्ण अटोमोबाइल उद्योगलाई नै जटिल बनाइरहेको अवस्थामा पनि स्टेलान्टिस मसेराटीप्रति प्रतिबद्ध रहेको हो । यसै साता स्टेलान्टिसका एक प्रवक्ताले बताएअनुसार समूहले कन्सल्टेन्ट म्याकिन्सीलाई मसेराटी र अल्फा रोमियो ब्रान्डहरूका लागि हालै घोषणा गरिएका भन्सार शुल्कहरूको प्रभावबारे सल्लाह दिन नियुक्त गरेको छ, किनकि यी दुई ब्रान्डहरू भविष्यको योजना तयार गरिरहेका छन् । यो समाचारले फेरि मासेराटीको भविष्यबारे अड्कलबाजीलाई ताजा बनाएको छ, जसले २०२४ मा उत्पादन आधाभन्दा बढी घटाएर केवल ११ हजार ३०० गाडी मात्र बनायो र २६० मिलियन युरो (२९५.८३ मिलियन डलर) अपरेटिङ घाटामा गएको थियो । हाल मसेराटीको दायरामा ग्रानटुरिज्मो कूपे र यसको कन्भर्टिबल संस्करण ग्रानकाब्रियो, ग्रेकाले एसयूभी र कम मात्रामा उत्पादन हुने एमसी २० स्पोर्ट कार छन् ।  कम्पनीको कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना छैन र स्टेलान्टिसले गत वर्ष रोकिएको मसेराटीको व्यापार योजनाको पुनरावलोकन गरिरहेको छ ।

नयाँ वर्षको अवसरमा भोलि देशभर सार्वजनिक बिदा, बैंक र सेयर बजार बन्द

काठमाडौं । नेपाली पात्रो अनुसार भोलि वैशाख १ गतेबाट नयाँ वर्ष २०८२ सुरु हुँदैछ । नयाँ वर्षका अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् । विक्रम संवत् अङ्ग्रेजी संवत् (ईस्वी) भन्दा ५६.७ वर्ष अगाडि सुरू भएको मानिन्छ । राजा विक्रमादित्यले चलाएको यो संवत् नेपालमा मल्लकालदेखि नै मौलिक संवत्का रूपमा प्रयोग हुँदै आएको हो । नयाँ वर्षको आगमनसँगै देश–विदेशमा रहेका नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा छ । यस दिन मेष संक्रान्ति र बिस्का जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू समेत रहेकाे छ । हरेक वर्ष झैँ यसपटक पनि नयाँ वर्षको दिन भोलि सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ । 

नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ को डेलिभरी सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ भनेर चिनिने दिपल ई०७ को औपचारिक डेलिभरी नेपालमा सुरु गरेको छ । अब अटोमोटिभ उत्साही र ग्राहकहरूले ट्रान्सफर्म हुन सक्ने क्षमतायुक्त क्रान्तिकारी एसयुभीको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् । कम्पनीका अनुसार एउटा बटन थिच्नेबित्तिकै लक्जरियस एसयुभीबाट बहुउपयोगी पिकअप ट्रक वा क्याम्पिङ भेहिकलमा रूपान्तरण हुनसक्ने विशेष क्षमता भएको ई०७ नेपाली बजारमा सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्रमै उत्साह सञ्चार भएको थियाे । दिपल ई०७ ले ‘इन्डस्ट्री फस्ट’ फिचर, अत्याधुनिक प्रविधि र बेजोड प्रदर्शनमार्फत अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ । हाल ‘रियर ह्विल ड्राइभ’ भेरियन्टको डेलिभरी सुरु भएको हो, जसमा १९० किलोवाटको मोटर, २५८ पीएस पावर, ३६५ एनएम टर्क र ८९.९ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ । यो सिंगल चार्जमा ५६६ किलोमिटर दूरी पार गर्न सक्षम छ । 'हामीले ई०७ को सार्वजनिक प्रदर्शनपछि बुकिङ सुरु गरेका थियौं र बजारबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,' एमएडब्लु वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने, 'पहिलो ब्याचको डेलिभरी दिइसकेका छौं र आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन नेपाली ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।' कम्पनीका अनुसार यस एसयुभीमा प्रयोग गरिएको 'सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म', २८.८६ इन्चको एआर हेडअप डिस्प्ले, १५.४ इन्चको सनफ्लावर टचस्क्रिन, पाँच प्रकारका क्रुज असिस्ट, १४ सुरक्षा प्रणाली, ५ क्यामेरा र १२ अल्ट्रासोनिक राडार लगायतका विशेषताहरू समावेश छन् । ई०७ मा समावेश 'गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री', 'एडाप्टिभ आयल कूलिङ सिस्टम' र 'सुपर पावर सेभिंग मोड' जस्ता प्रविधिहरूले अत्यधिक चिसो मौसममा समेत उच्च कार्यक्षमता र ऊर्जा बचत सुनिश्चित गर्छन् ।  

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण, ९५ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत) । आर्थिक वर्ष २०८/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरि ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् ।  चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छवटा झोलुङ्गे पुल निर्माण भएका छन् । पाँच वटा सडकमा पुल (मोटरेबल) निर्माण भएको पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए ।  हुम्लामा चार र कालीकोटमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । त्यस्तै, सुर्खेतमा एक, जाजरकोटमा एक, कालीकोटमा एक, मुगुमा एक र सल्यानमा एक मोटरेबल पुल निर्माण भएका हुन् । चालु आवमै २१ दशमलव ४५ किलोमिटर सडक कालोपत्र गरिएको छ ।  यो अवधिमा ९५ किलोमिटर कालोपत्र गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । दुई सय पाँच किलोमिटर ग्राभेल र ५२५ कच्ची सडक कटानको काम भएको उनले जानकारी दिए ।  आव २०८१/८२ का लागि बहुवर्षे ठेक्का हुने गरेर आठ वटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ । त्यस्तै एक बेलिब्रिज पुल निर्माण गर्नका लागि सहमति प्रदान गरिएको छ ।  एकचालीस वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चित गरेर बहुवर्षे ठेक्काको काम सुरु भएको छ । रुकुम-पश्चिममा पाँच योजनामध्ये एक सडक, दुई पुल र दुई झोलुङ्गे पुल मात्र स्रोत सुनिश्चित गरिएको छ ।  जाजरकोटका तीन बेलिब्रिज पुलका लागि स्रोत सुनिश्चित भई काम सुरु गरे पनि बारेकोट र नलगाड नगरपालिकाको बीचमा रहेको खारामा नलगाड जलविद्युत् आयोजनाले पनि पुल निर्माण गरिरहेकाले सो ठाउँमा अहिले तत्काल पुलको काम रोखिएको छ । एघार योजना सुर्खेतमा स्रोत सुनिश्चित गरिएको छ । त्यसमध्ये चार झोलुङ्गे पुल, चार सडक, दुई सडक तथा पुल र अन्य संरचना एउटा रहेको छ । दैलेखमा दुई मोटरेबल पुल, आठ झोलुङ्गे पुलको लागि बजेट सुनिश्चित गरिएको छ । मुगुमा छ वटा योजनाको मात्र स्रोत सुरक्षित गरिएको छ ।  हुम्लामा तीन, डोल्पामा आठ, जाजरकोटमा चार, कालीकोटमा तीन, दैलेखमा आठ, सल्यानमा सात र जुम्लामा चार योजनाको बजेट सुनिश्चित गरिएको छ । कर्णाली ६१ योजनाको स्रोत सुरक्षित गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षमा ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सुर्खेतको दशरथपुर–जितेजुवा–ढाँडखेत–मटेला-धरमपोखरा सडक, जाजरकोटको पश्चिम क्षेत्रमा रहेको शिवालय गाउँपालिकाको मोर्क हुँदै छेडागाड नगरपालिकाको चङ्खिला-बडावन-जुनिचाँदेको सानाखोलाको काम सुरु भएको छ । रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाको नार्जी-खोलागाउँ-चौखा-बैरागीठाँटी, मुसीकोट-सल्ले सडकको कालोपत्रको काम सुरु गरिएको उनले जानकारी दिए ।  प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत दैलेखको डुङ्गेश्वर-डाँडापराजुल सडक स्तरोन्नति तथा दैलेखको सम्झौताको काम पुरा भएर काम सुरु हुन लागेको छ । गल्फागाड-थालाकाटे सडक स्नरोन्नतिको कामसमेत सुरु भएको छ ।   राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरस्थित रङ्गशाला वरिपरि, सुर्खेत विमानस्थल जोड्नेलगायतका सडक कालोपत्र गर्ने काम पुरा भएको उनले जानकारी दि‍ए । हुम्लाको खार्पु–सिमकोट नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम तथा डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको रिङ्बो बस्ती विकास कार्यक्रमको सम्झौता हुने चरणमा रहेको जानकारी गराइएको छ ।   प्रादेशिक सडक गुरुयोजना अद्यावधिक गरी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाइएको छ । सुस्त गतिमा काम गरिरहेका करिब ३५ सडक तथा पुल आयोजनाको हाल दुई तिहाइ आयोजनामा प्रगति सन्तोषजनक रूपमा अघि बढेको मन्त्रालयको दाबी छ ।  यस्तै, भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुन: निर्माणका लागि कूल रु ५० करोड विनियोजन भई ६२ विद्यालय र १८ स्वास्थ्यचौकी गरी कूल ८० संस्थाहरूको पुन : निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । 

सेयर कर्जाको ब्याजदर साढे ३ वर्ष यताकै न्यून, ब्याज घटेपछि ४३.५९ प्रतिशत बढ्यो लगानी

काठमाडौं । बैंकहरूले पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै लगेपछि पुँजी बजारमा पनि लगानी बढेको देखिन्छ । ८ महिनामा वाणिज्य बैंकहरूले झण्डै १ खर्ब रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा २० वटा बैंकले ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।  जबकी गत वर्षको फागुनसम्ममा बैंकहरूले ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले ४३.५९ प्रतिशत अर्थात् २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् ।  बैंकहरूको सेयर कर्जाको ब्याजदर निरन्तर ओरालो लागेपछि कर्जा पनि बढेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंकहरूको सेयर धितो कर्जाको औसत ब्याजदर ८.४९ प्रतिशत छ । जुन ब्याजदर साढे ३ वर्ष यताकै न्यून हो । यसअघि विसं २०७८ असारमा सेयर धितो कर्जाको औसत ब्याजदर ८.०५ प्रतिशत थियो ।  समीक्षा अवधिमा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै बढाएको छ । बैंकको सेयर कर्जा २८८.९६ प्रतिशत अर्थात् ३५ करोड ११ लाख रुपैयाँ बढेर ४७ करोड २७ लाख रपैयाँ प्रवाह गरेको छ । गत वर्षको फागुनमा यस बैंकले १२ करोड १५ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रदान गरेको थियो ।  समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले २४८.६६ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले ११७ प्रतिशत बढाएर ८ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले १०६.४८ प्रतिशत बढाएर २ अर्ब ५७ करोड रुपैयाँ, एनएमबि बैंकले ९२.७४ प्रतिशत बढाएर १ अर्ब ८७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।  राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ७७.९५ प्रतिशत बढाएर ७ अर्ब ३७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६५.५१ प्रतिशत बढाएर ११ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६०.३४ प्रतिशत बढाएर ८ अर्ब ३२ करोड रुपैयाँ, नेपाल बैंकले ५४.३४ प्रतिशत बढाएर ७ अर्ब ६२ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  सिटिजन्स बैंकले ४७.७८ प्रतिशत बढाएर ६ अर्ब ४० करोड रुपैयाँ, सानिमा बैंकले ४४.२७ प्रतिशत बढाएर २ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४२.१५ प्रतिशत बढाएर ३ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९.८८ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो प्रदान गरेका छन् ।  प्रभु बैंकले ३५.२३ प्रतिशत बढाएर ४ अर्ब ४३ करोड रुपैयाँ, एभरेष्ट बैंकले २८.७० प्रतिशत बढाएर २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १७.९५ प्रतिशत बढाएर १३ अर्ब ८२ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १३.७७ प्रतिशत बढाएर ४ अर्ब ७७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।  तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक र हिमालयन बैंकले भने सेयर धितोमा प्रवाह हुने कर्जा घटाएका छन् । हिमालयन बैंकले ४३.६० प्रतिशत घटाएर २ अर्ब ४९ करोड रुपैयाँ र हिमालयन बैंकले ११.१२ प्रतिशत घटाएर २ अर्ब २ करोड रुपैयाँमा सेयर कर्जा झारेका हुन् । 

५३ जलविद्युत कम्पनीको आईपीओ रोकिँदा निर्माणाधीन आयोजनामा गम्भीर संकट उत्पन्न : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत कम्पनीहरूको सेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २० महिनादेखि ५३ जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा हकप्रद सेयरको अनुमति दिएको छैन । आईपीओ निष्कासनका लागि आवेदन दिएका ४२ ऊर्जा कम्पनीको २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन रोकिँदा ११ कम्पनीको साढे ४ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर (राइट सेयर) को पनि अनुमति रोकिएको छ । सार्वजनिक निष्कासनको अनुमति नपाउँदा ती जलविद्युत आयोजनाहरूको निर्माण कार्य ठप्प भएको छ भने अर्को तिर विद्यमान कानुनी व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्ने बाध्यकारी व्यवस्थाको पनि कार्यान्वयन हुन नसकेको इप्पानको भनाइ छ । २०८० साल साउनपछि जलविद्युत आयोजनाको आईपीओ र हकप्रद सेयर जारी गर्ने कार्य रोकिँदा यसले आयोजना निर्माणमा गम्भीर संकट ल्याएको इप्पानले जनाएको छ । लेखा समितिको निर्देशनमा के भनिएको छ ? सार्वजनिक लेखा समितिको २०८०/०९/१२ मा सम्पन्न १९औं बैठकबाट आईपीओ जारी गर्न रियल नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने भन्ने निर्देशनलाई देखाएर नेपाल धितोपत्र बोर्डले आईपीओको अनुमति दिन रोकेको छ । त्यसअघि बोर्डमा अध्यक्षको नियुक्ति नभएको भन्दै आईपीओको अनुमति रोकिएको थियो । ‘रियल नेटवर्थ’ भन्ने शब्दावली यस क्षेत्रमा नहुने भएकोले यसबारे सरकारले परिभाषा गरिसकेपछि मात्र सेयर जारी गर्न सकिने भन्दै धितोपत्र बोर्डले कुनै काम अघि बढाएको छैन । जसको कारणले निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरूको वित्तीय व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । अर्कोतिर स्थानीय प्रभावितहरूले सेयर किन नदिएको भन्दै आयोजनाको निर्माणमा अवरोध गर्न थालेका छन् । यस्तै, लेखा समितिको निर्णय नं. ६ मा उल्लेख भएको जलविद्युत आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत सेयरधनीहरूले आयोजना निर्माणमा लिएको ऋण चुक्ता गरेपछि एक तिहाई सेयर ३ वर्षको लकइन अवधि सकिएपछि पनि बिक्री गर्न नपाउने व्यवस्थाले इक्विटी लगानीको वातावरणमा समेत असर पर्न थालेको छ । अहिले एउटा आयोजनामा मात्रै क्राउड फाइनान्सिङका माध्यमबाट १० हजारभन्दा धेरै संस्थापक लगानीकर्ता लगानी गर्न थालेका छन् । सर्वसाधारण र प्रवर्द्धकहरूको सेयर लगानीको कारणले ठूलो लगानी हुने ऊर्जा क्षेत्रमा पुँजी संकलनमा महत्वपूर्ण सहयोग पुग्दै आएको छ । यसरी अवधि सकिएपछि पनि सेयर बिक्री गर्न नपाउने व्यवस्था कायम भएमा एउटा आयोजनाका प्रवर्द्धकहरूले अर्को आयोजनामा लगानी गर्न नसक्ने हुँदा भविष्यमा ठूला ठूला आयोजनाहरू निर्माण हुने सम्भावना कम हुन्छ । त्यसैले नेपाल सरकारको आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ को कार्यान्वयनमा समेत गम्भीर बाधा पुग्ने भएकाले सरकारको लक्ष्य पुरा गर्न जलविद्युत आयोजनाको संस्थापक सेयरमा क्राउड फाइनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माणका लागि उक्त निर्णयलाई पुनर्विचार गरी विद्यमान कानुनी व्यवस्थाका आधारमा आईपीओ निष्कासनको वातावरण बनाउन इप्पानले प्रधानमन्त्रीसमक्ष माग गरेको हो । लकइन अवधिको विश्वव्यापी प्रचलन कस्तो छ ? जलविद्युत उत्पादन धेरै हुने अन्य देशहरूमा संस्थापक शेयरको लकइन अवधि दुई वर्षभन्दा बढी कतै पनि राखिएको पाइँदैन । अधिकांश देशहरूले दुई वर्षको लकइन अवधि धेरै भएको भन्दै त्यसलाई घटाएर ६ महिनामा झारी क्राउड फाइनान्सिङमार्फत पुँजी जुटाइरहेका छन् । यस्तो बेलामा नेपालमा भने सार्वजनिक लेखा समितिको निर्णय र त्यसको आधारमा धितोपत्र बोर्डले शेयर निष्कासनको अनुमति रोक्दा ऊर्जा आयोजनाहरूको काम अवरुद्ध भएको छ । त्यसकारण ठप्प भएको आयोजना निर्माण सुचारु गर्न वातावरण निर्माणका लागि इप्पानले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सबै निकाय गुहारी सकियो, समाधान भएन यसअघि पटक–पटक सम्मानित सार्वजनिक लेखा समितिका साथै अर्थमन्त्री र सचिव, ऊर्जामन्त्री र सचिव, धितोपत्र बोर्ड लगायतमा रोकिएको शेयर जारी गर्ने वातावरण निर्माणका लागि पत्र पठाइसकिए पनि हालसम्म समस्या समाधान हुन नसकेकोले प्रधानमन्त्रीबाट छिटो पहल गरिदिन इप्पानले आग्रह गरेको छ। यसका लागि सम्मानित संसदको सार्वजनिक लेखा समितिसँग समन्वय गरी सहजीकरण तथा धितोपत्र बोर्डलाई आवश्यक निर्देशन दिई यथाशिघ्र जलविद्युत आयोजनाको निर्माण कार्य सुचारु हुने वातावरण निर्माण गर्न इप्पानले अपेक्षा गरेको छ । इप्पान नेपालमा विद्युत उत्पादनमा सक्रिय निजी क्षेत्रका ६०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरूको छाता संस्था हो । निजी क्षेत्रका कम्पनीहरूले देशको विद्युत उत्पादनमा ८० प्रतिशत योगदान दिँदै आएका छन् । देशमा कूल ३५०० मेगावाट विद्युत उत्पादन क्षमता पुग्दा निजी क्षेत्रबाट मात्र २८०० मेगावाट बराबरका १९० आयोजना सञ्चालनमा आइसकेका छन् । ४ हजार ६३ मेगावाट बराबरका १४१ आयोजना निर्माणाधीन छन् भने ४३६३ मेगावाट बराबरका १४१ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पीपीए० सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका छन् । त्यस्तै, सर्वेक्षण कार्य सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणमा पीपीएका लागि आवेदन दिएका आयोजनाहरूको क्षमता ८ हजार मेगावाटभन्दा बढी छ । निर्माण अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत विकास विभागमा आवेदन दिएका आयोजनाहरूको क्षमता १० हजार ७०० मेगावाटभन्दा बढी रहेको छ । यी सबै आयोजनामा निजी क्षेत्रको तर्फबाट अहिलेसम्म १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि ६० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने भएकाले लगानीको वातावरण बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानले आग्रह गरेको हो ।

सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, आज साँझसम्म सबै होटल भरिने

चितवन । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।   आइतबार साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  यद्यपि वीरगन्जको कर्फ्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । यसका साथै सडकका कारण पनि प्रभाव देखिने उनले बताए ।   उनले भने, ’विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन् ।’  विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्था भने यस वर्ष नआउने उनको भनाइ छ । माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो ।   सङ्घका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताए । उनले भने, ’मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन् ।’ यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उनको भनाइ छ ।   शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उनी बताउँछन् । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार–शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउँछन् । उनले भने, ’साँझसम्म सौराहाका सबै होटल भरिन्छन् ।’   सौराहामा रेष्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उहाँले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताए । होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मङ्गलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताए । आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उनको भनाइ छ । पोल्याण्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन् । उनले भने, ’नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन ।’ अरू बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उनको भनाइ छ ।   जङ्गल क्राउन होटल पनि केही दिनयता भरिएको छ । होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार दुई महिनायता होटलमा पर्यटकको सङ्ख्या राम्रो छ । शनिबारबाट सबै कोठा भरिएका छन् । अब ‘सिजन’ भएकाले पर्यटकको सङ्ख्या बढ्दै जाने उनले बताए ।   रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताए । उनका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको सङ्ख्या उल्लेख हुने अपेक्षा गरिएको छ    नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुङ्गा सयर गर्ने गर्दछन् । जङ्गल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल हो ।