विकासन्युज

वर्षान्त २०८१ : गतिमा ऊर्जा क्षेत्र, बङ्गलादेश बिजुली निर्यातदेखि १० हजार मेगावाट भारतलाई बेच्ने सहमति

रमेश लम्साल काठमाडौं । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको महत्त्वाकाङ्क्षी ‘ऊर्जा मार्गचित्र’लाई  कार्यान्वयनमा ल्याइएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएको सो मार्ग चित्रमा आन्तरिक खपत र बाह्य बिक्रीको मात्रासमेत स्पष्ट रूपमा उल्लेख गरिएको छ । पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको छ । ‘टोकन’कै रूपमा भए पनि भारतीय प्रसारण सञ्जालको प्रयोग गरेर ४० मेगावाट बिजुली बङ्गलादेश पुर्याइएको हो ।  सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका केही महत्त्वपूर्ण योजना भने सुरु हुनसकेको छैन । बुढीगण्डकी, नलगाड, माथिल्लो अरुण, दूधकोशीजस्ता ठूला आयोजना सुरु गर्ने लक्ष्य राखिए पनि कार्यान्वयनमा जानसकेको छैन । यसबीचमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तन भएको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रङ्कलाइनको महसुल विवाद निरुपण हुने दिशामा अग्रसर छ । सोही विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति उल्लेखनीय नभए पनि सन्तोषजनक छ । नदी पथान्तरण आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति यस वर्ष अपेक्षित देखिएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि बाँध स्थल र विद्युतगृहको काम खास अर्थमा अगाडि बढ्न नसकेको गुनासो छ । यस वर्ष मन्त्रालयले सार्वजनिक निजी साझेदारीमा प्रसारण लाइन निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । जनताको जलविद्युत् कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गका नागरिकलाई बिना धितो सहुलियत दरमा २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सेयर प्रदान गर्ने नीतिगत व्यवस्था गरिएको छ । लामो समयदेखि पछाडि परेको नारायणी नदीपारि सुस्तामा ११ केभी लाइनमार्फत राष्ट्रिय ग्रिड विस्तार गरी विद्युतीकरण भएको छ । त्रिशूली थ्री बी हब सबस्टेसन तथा चिलिमे २२० केभी लाइन निर्माण सम्पन्न भएको छ । त्यसबाट रसुवागढी, साञ्जेन आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । गत असोज ११ र १२ को बाढीले क्षति पुर्याएको आयोजना पुनर्निर्माण एवं विद्युत् उत्पादन तथा प्रसारण प्रणालीको मर्मत सम्भार गरी विद्युत् प्रणाली तन्दुरुस्त बनेका छन् । बाढीको चपेटामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि पुनर्निर्माण भइ बिजुली उत्पादन भइरहेको छ । विद्युत् नियमन आयोगको कामलाई थप प्रभावकारी बनाइएको छ । अनलाइन प्रणालीका रूपमा ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ लागू भएको छ । विद्युत् विधेयक, जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकसमेत संसदीय प्रक्रियामा अगाडि बढेका छन् । लामो समयदेखि रोकिएको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खोलिएको छ भने वित्तीय व्यवस्थापन सम्पन्न गर्ने अवधि थप गरी सकारात्मक पहलकदमी लिइएको छ । जनताको जलविद्युत कार्यक्रमलाई थप परिमार्जन गरी अगाडि बढाइएको छ । यसबीचमा रानी-जमरा-कुलरिया सिँचाइ आयोजनामार्फत १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्याइएको छ । सोही आयोजनामा ४.७१ मेगावाट बिजुलीसमेत उत्पादन भएको छ । शौर्य विद्युत् आयोजनाको अनुमतिपत्र जारी गर्न स्थानीय सरकारको सिफारिस मात्र भए पुग्ने नीतिगत प्रबन्ध गरिएको छ । औद्योगिक क्षेत्रमा थप बिजुलीको प्रबन्धदेखि नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि कूटनीतिक पहल तथा प्रयासमार्फत थप वातावरण बनाउने काम यसबीचमा भएका छन् । बङ्गलादेश बिजुली निर्यात लामो कूटनीतिक प्रयासपछि गत कात्तिक ३० गते नेपालबाट भारतीय ग्रिडमार्फत बङ्गलादेशमा ४० मेगावाट विद्युत् प्रवाहको ऐतिहासिक उद्घाटन भर्चुअल माध्यमबाट भएको थियो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, भारत सरकारका विद्युत् मन्त्री मनोहर लाल र बङ्गलादेश सरकारका ऊर्जा, विद्युत् तथा खनिज मन्त्रालयका सल्लाहकार मुहम्मद फौजुल कबिर खानले संयुक्त रूपमा उद्घाटन गरेका थिए । ढल्केवर–मुज्जÞफÞरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ग्रिड र बहरामपुर (भारत)–भेरामारा (बङ्गलादेश) अन्तरदेशीय प्रसारण लाइन हुँदै उक्त ४०० मेगावाट विद्युत् प्रवाह गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच सन् २०२४ अक्टोबर ३ मा विद्युत् खरिद बिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार नेपालले उत्पादन गरेको विद्युत् भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश पठाइएको हो । नेपालले अमेरिकी डलरमा विद्युत् बिक्री गर्ने यो पहिलो सम्झौता हो । यो त्रिपक्षीय ऊर्जा सहकार्यले नेपाल, भारत र बङ्गलादेशबीच विद्युत् व्यापारको सम्भावनालाई थप विस्तार गरेको छ भने नेपाल, भारत र बङ्गलादेशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ । उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति गत फागुनमा नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठक सम्पन्न भयो । सो बैठकले केही महत्त्वपूर्ण विषयमा सहमति जनाएको थियो । अन्तर्देशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भयो ।  सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षी योजना सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यतासमेत यसै वर्ष भयो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता प्रदान गर्न पछिल्लो सहमतिले महत्त्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सन् २०३४–३५ सम्म निर्माण गर्ने गरी दुई वटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका सन्दर्भमा महत्त्वपूर्ण सहमति भएको छ । नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ–हरनैया–मोतीहारी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति भएको थियो । यस्तै, कोहलपुर–लखनउबीच पनि ४०० केभी क्षमताको प्रसार​​​ण लाइन निर्माण हुनेछ । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर ४०० केभी क्षमताको प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरद्वारा प्रतिस्थापन हुनेछ । सो प्रसारण लाइनमार्फत हाल ८०० मेगावाट बिजुली आयात निर्यात भइरहेको छ । सो प्रसारण लाइनमार्फत एक हजार मेगावाटसम्म बिजुली आयात–निर्यात हुनेछ । दुई देशबीच यसअघि नै इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली प्रसारण लाइन निर्माणमा सहमति भइसकेको छ । ती दुवै प्रसारण लाइनको क्षमता ४०० केभी रहने छ । यसैगरी हाल न्यू बुटवल–गोरखपुर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण जारी छ । बिजुली उत्पादन गरेर मात्र नहुने र त्यसलाई क्षेत्रीय बजारमा पुर्याउनका लागि उच्च क्षमताको प्रसारण लाइन आवश्यक पर्ने भएकाले दुई देशले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि सहमति भएको सन्दर्भमा उच्च क्षमताका प्रसारण लाइन निर्माण आवश्यक र जरुरी भइसकेको थियो । वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्दै आएको छ । यस्तै, अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलज विद्युत् निगमले पनि ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको छ । त्यसलाई समेत विद्युत् व्यापारमा प्रयोग गर्न सकिने छ । प्रस्तावित इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ‘निर्माण संयुक्त उपक्रम’ तय गरिने छ । त्यसले क्रमशः सन् २०२८÷२९ र २०२९÷३० सम्म निर्माण सम्पन्न गराउनका लागि आवश्यक पहल गर्ने छ । नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारततर्फको पावर ग्रिडले संयुक्त उपक्रममार्फत निर्माण गर्ने छ । त्यसमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत स्वपुँजी रहने छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सहज बिजुली आयात निर्यातका लागि चमेलिया–जैलिजीवी २२० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार हुने क्रममा छ । सो प्रसारण लाइन डबल सर्किट हुने छ । नेपाल खण्डको प्रसारणलाइन प्राधिकरणले र भारततर्फको भने पावर ग्रिडले निर्माण गर्ने छ । सन् २०२७ को डिसेम्बरसम्म सो प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर०ले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको अन्तिम तयारी गरिसकेको सन्दर्भमा कर्णाली करिडोरमा पनि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने छ । त्यसबाट पनि दुई देशबीच विद्युत् व्यापारमा अर्को मार्ग तय हुने विश्वास लिइएको छ । प्राधिकरणले १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारत निर्यात गरी १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ । प्राधिकरणले प्रतियुनिट औसतमा ७.६३ रुपैयाँमा भारततर्फ बिजुली निर्यात गरेको थियो । निजी क्षेत्रले बिजुली निर्यातका लागि अनुमति माग गरिरहेको सन्दर्भमा नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा भएको सहमतिले मार्ग प्रशस्त गर्ने छ । सरकारले हाल संसद्मा विचाराधीन विद्युत् विधेयक पारित गरेपछि निजी क्षेत्रलाई बिजुली निर्यातका लागि अनुमति दिने तयारी गरेको छ । उत्पादन पनि बढाउने र व्यापार विस्तार गर्ने लक्ष्यका साथ सरकार र निजी क्षेत्रले ऊर्जा क्षेत्रमा सार्थक पहल गरिरहेका छन् । समग्रमा यस वर्ष मुलुकको ऊर्जा क्षेत्रलाई गति दिने सार्थक प्रयासहरू भएका छन् । यसले आगामी दिनमा थप नतिजा दिने नै छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई गति दिने पहल भएको छ । अमेरिकी सहयोग परियोजनाको रूपमा रहेको न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माणको आवश्यक कामसमेत सुरु भएको छ । सिँचाइ, नदी नियन्त्रणका साथसाथै राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ कम गर्दै सार्थक परिणाम निकाल्नका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छ ।रासस  

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । ट्रेड टावरले २०८२ वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ ।  जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन ्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानी कर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

होटलमा लगानी ओइरियो, एक दर्जन पाँच तारे होटल सञ्चालनमा आए, पाइपलाइनमा आधा दर्जन

सिबी अधिकारी काठमाडौं । गत माघमा काठमाडौंको सुके धारामा पाँच तारे होटल ‘मर्क्यौर काठमाडौं’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले ३ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौंकै नक्सालमा पाँच तारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले ८ अर्ब ३५ करोड रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो । साथै यही चैतको अन्तिमतिर पोखराको लेक साइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो । पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले १ अर्ब २५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आयो ।  साथै पछिल्लो समय सिद्धार्थ हस्पिटालिटीले पनि चेन होटलका रुपमा आक्रामक व्यापार विस्तार गरिरहेको छ । यस वर्ष सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सिद्धार्थले केही समयअघि बुटवलमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको थियो भने धनगढीमा पाँचतारे होटल निर्माण सुरु गरेको छ । सिद्धार्थले व्यवसाय विस्तारलाई आक्रमक ढङ्गले विस्तार गर्दै लगेको र छिट्टै अन्य स्थानमा पनि होटल स्थापना गर्नेगरी काम भइरहेको जनाएको छ । त्यसैगरी नयाँ वर्षको सुरुआत अर्थात् वैशाख १ गतेदेखि भरतपुरमा सेन्ट्रल प्लाम होटल र साराङ वाइल्डलाइफ स्याङचुरी मेगौलीमार्फत पनि सेवा विस्तार गर्दैछ । सङ्घीय राजधानी काठमाडौंमा मात्र होइन देशका विभिन्न सहरमा पाँच तारेदेखि पर्यटक स्तरीय होटल सञ्चालनमा आउने क्रम यस वर्ष पनि जारी रह्यो । त्यसमा पनि विदेशी चेन होटलका साथै स्वदेशी कम्पनीहरूले पनि होटल व्यवसाय विस्तारलाई निरन्तरता दिएका छन् ।  साथै गत पुसमा गुण समूहले ६ अर्ब रुपैयाँ लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्याएको छ भने गत माघमा गौशाला पिंगलास्थानमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा चार तारे स्तरको होटल वेस्ट वेस्टर्न प्लस काठमाडौं सञ्चालनमा आइसकेको छ । त्यसैगरी शेष घलेको निर्माणाधीन होटल यस वर्ष सञ्चालनमा आउन सकेन । हाल उक्त होटलको लगानी १२ अर्ब रुपैयाँ पुगिसकेको जानकारहरु बताउँछन् । होटल सङ्घ नेपाल (हान)का अनुसार पछिल्ला केही वर्षयता होटलमा लगानी ओइरिएको छ, जुन वर्ष २०८१ मा पनि जारी रह्यो । हानका अनुसार हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्नेगरी होटल निर्माण भइसकेका छन् ।  होटलमा खर्बौं रुपैयाँ लगानी भए पनि त्यसको अपेक्षित प्रतिफल भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । हानका अध्यक्ष विनायक शाहले खर्बौं लगानी रहेको होटलमा ३५ लाख पर्यटक धान्ने पूर्वाधार भए पनि जम्मा एक तिहाइ मात्र उपयोग भएको बताउँछन् ।  ‘होटलहरू बनिरहेका छन्, तर अपेक्षाकृत लाभ भने लिन सकिएको छैन,’ उनले भने ।  उनका अनुसार लगानीका हिसाबले राम्रो वर्ष भए पनि प्रतिफल भने कम आएको हो ।  ‘एकातिर एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय चेन होटल आउने क्रम जारी छ, विश्व प्रसिद्ध चेन होटल आउँदा नेपालबारे अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह हुन्छ,’ उनले भने ।  थपिँदै अन्तर्राष्ट्रिय चेन होटल होटल सङ्घका अनुसार यो वर्ष मात्र झन्डै एक दर्जन पाँच तारे र चेन होटल सञ्चालनमा आए । अझै आधा दर्जन पाइप लाइनमा छन् । पछिल्लो एक दशकमा मेरियट, लेमनट्री, रमादा, दूसित थानी, सिन्तामणि, प्रिन्सिेस, अलफ्ट, ह्यात प्यालेसलगायत चेन होटल सञ्चालनमा आएका छन् । काठमाडौं, पोखरा, लुम्बिनी, विराटनगर, बुटबल, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा धमाधम तारे होटल बनिरहेका छन् । सरकारले हालै नयाँ कानुन ल्याएर होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा मान्यता दिएको छ । यसबाट होटल उद्योगमा लगानी गरेका व्यवसायी उत्साहित भएका छन् । सङ्घका अध्यक्ष शाहले भविष्यमा विदेशी पर्यटक बढ्ने र होटलको ‘अकुपेन्सी’ बढ्ने विश्वास व्यक्त गरे ।  उनले भने, ‘सरकारले हालै ल्याएको ऐनमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा वर्गीकरण गरेको छ । यसले होटल व्यवसायीलाई उत्साहित बनाएको छ । पर्यटन व्यवसायीले लामो समयदेखि उठाएको विषय सरकारले सम्बोधन गरेको छ, यसले समग्र पर्यटन उद्योग र व्यवसायी उत्साहित भएका छन् ।’ पर्यटन विभागका अनुसार हालसम्म देशभर ३३७ पर्यटक स्तरीय होटल सञ्चालनमा छन् । हाल नेपालमा पाँच तारे होटल मात्र २३ वटा सञ्चालनमा छन् । ३ वटा पाँच तारे डिलक्स होटल छन् । देशभर ४१ वटा चार तारे होटल छन् । यस्तै डिलक्समा हेरिटेज (चार तारेस्तर) होटल ४ वटा छन् भने ३७ वटा तीन तारे होटल सञ्चालनमा छन् । ५० वटाको हाराहारी दुई र एक तारे होटल छन् । साथै लज्जरी बुटिक र हेरिटेज, रिसोर्ट र साधारण रिसोर्ट गरी विभिन्न स्तरका होटल पनि सञ्चालनमा छन् । होटल व्यवसायी महासङ्घमा आबद्ध होटलको सङ्ख्या पनि उल्लेख्य छ । आक्रामक अन्तर्राष्ट्रिय बजारीकरण नेपाल पर्यटन बोर्डले होटललगायत पूर्वाधारमा लगानी बढेसँगै आफूहरूले पनि अन्तर्राष्ट्रिय बजारी करणलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) दीपकराज जोशीले बोर्डले आक्रामक रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिरहेको जानकारी दिए ।  ‘पछिल्लो चारदेखि पाँच महिनामा विदेशमा १७ वटा बि–टु–बी कार्यक्रम र नेपाल प्रवर्द्धनका कार्यक्रम गरेका छौँ, जसमा दुई सयभन्दा बढी नेपालका टूर अपरेटर, होटल व्यवसायी, एयरलाइन्सका प्रतिनिधि सहभागी भएर नेपाल गन्तव्यको प्रवर्द्धन गरेका छन् ।’  सीईओ जोशीका अनुसार नेपालका गन्तव्यहरूमा विदेशी ‘इन्फ्लुएन्सर, मिडिया’लाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ । हालसम्म ११४ जनालाई भ्रमण गराइसकिएको छ ।  ‘नेपालमा विदेशी पर्यटक आगमन कोरोनापूर्वको अवस्थामा आइपुगेको छ, अन्तर्राष्ट्रिय पर्यटन पनि ९५ प्रतिशत पुनर्उत्थानका भइसकेको छ, नेपालको सन्दर्भमा थप एयरलाइन्स थपिने र तीन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन भएको खण्डमा आगामी दिनमा पर्यटक बढ्ने पक्का छ,’ उनले भने ।  हवाई पूर्वाधार र सडक सञ्जाल राम्रो भएमा निर्धारित लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।  नीतिगत डिपार्चरमा पर्यटन मन्त्रालय  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षमा उल्लेखनीय नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको जनाएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनसम्बन्धी ऐन, कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ । यो पास भयो भने युरोपेली सङ्घ (इयु) को सुरक्षा सूचीबाट नेपाललाई हटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।  कानुन निर्माण प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाइएको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए। उनका अनुसार हवाई नीतिको मस्यौदा तयार गरिएको छ । हवाई दुर्घटना जाँच आयोग गठनको मस्यौदा तयार भएको छ । पर्यटन ऐनको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा छलफलमा रहेको र छिट्टै संसद्मा पेस गरिने छ । पर्यटन नीति, संस्कृति नीति र हवाई नीति संसद्मा लैजाने प्रक्रियामा रहेको मन्त्री पाण्डेले जानकारी दिए ।  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सलाई सक्रिय बनाउने गरी केही कदम चालिएको मन्त्री पाण्डेले बताए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि कार्ययोजना बनाएर काम अगाडि बढाइएको उनको भनाइ छ । वायुसेवा निगमको व्यवस्थापन सुधारका लागि विभिन्न उपायहरूको खोजी भइरहेको पनि उनले जानकारी दिए । विमानको सङ्ख्या नथपी निगमलाई फाइदामा लैजान नसकिने उल्लेख गर्दै उनले सँगै व्यवस्थापन सुधारका लागि उपायको खोजी भइरहेको जानकारी दिए ।  पर्यटन क्षेत्रका उपलब्धि वर्ष २०८१ मा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास भएका छन् । वायुसेवा निगमको संरचनागत सुधारका लागि काम थालिएको छ । विमान थपेर सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको छ । क्षेत्रीय हब विमानस्थल स्तरोन्नति र आधुनिक टर्मिनल भवनको काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को क्षमता अभिवृद्धिको काम धमाधम भइरहेको छ । यसै वर्ष दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थलको स्तरोन्नति गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले १५ अर्ब रुपैयाँ खर्चिएर विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिरहेको छ । हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । संकृतिको संरक्षण तथा प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरेको छ ।  पूर्वाधार निर्माणमा तीव्रता सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेसन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक–एक स्थान छनोट गरी विस्तृत परियोजना निर्माण सुरु गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । राजविराज विमानस्थलमा रात्रिकालीन अवतरण क्षमतायुक्त बनाई सञ्चालनमा ल्याइएको छ । यससँगै १० वटा विमानस्थल रात्रिकालीन उडान सञ्चालन योग्य रहेको छ । कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले समग्रमा वर्ष २०८१ आशा र निराशाको वर्ष भएको प्रतिक्रिया दिए ।  ‘आशा पलाएको निराशा भएको वर्षको रुपमा रह्यो । भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको थियो तर वर्षको उत्तरार्द्धमा उडान स्थगन भएको छ । समग्रमा धेरै राम्रा काम भएका छन्, यद्यपि गर्नुपर्ने काम धेरै छन्,’ उनले भने । 

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने, १०८ वर्षमा १३ जनाले जिब्रो छेडे

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।  नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्ध कृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्ध कृष्ण बाग श्रेष्ठ नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।  जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्ध कृष्णले बताए। उनका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताए । सुजनले भने, ‘बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका दुई वर्ष अघि जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्ने छु ।’  बुद्ध कृष्णले भने, ‘मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।’  जात्राअघि गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।  जिब्रो छेडि सकेपछि ती व्यक्तिले अर्ध चन्द्राकार महाद्धीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ । 

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

काठमाडौं । नयाँ वर्षको आगमनसँगै बाँकेका घरवास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथी भाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँ पालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्ती सोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।  बाँके निकुञ्जसँगै जोडिएको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार होमस्टेमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताए ।  उनले अरु बेला सुनसान रहे पनि अहिले नयाँ वर्षका अवसरमा नेपालगन्जलगायत बाहिरी जिल्लाबाट घुम्न आउने पाहुनाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । उनले बास बस्न आउने पाहुनालाई निकुञ्जसँग समन्वय गरेर हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकन गराउने गरिएको बताए ।  दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकका लागि सुविधा थपेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको रानाको भनाइ छ । बाँकेको राप्ती सोनारी-८ स्थित नयाँगाउँ होमस्टेमा अन्य बेलाभन्दा अहिले बाँके निकुञ्ज घुम्न आउने पर्यटकले चहलपहल बढ्दै गएको ७ नं होमस्टे सञ्चालक शोभी थारूले बताए । होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले यतिबेला पर्यटकीय मौसम भएकाले बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए ।  ‘अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन्,’ उनले भने । 

पूर्वसुरक्षाकर्मी परिषद् चन्द्रागिरीको अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा थपलिया

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरि नगरपालिका कार्य समितिको अध्यक्षमा  विक्रम पाण्डे निर्वाचित भएका छन् । समितिको चैत ३० गते सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।   यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुब्बा थपलिया, उपाध्यक्ष डाक बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवमा दीपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रेशम भण्डारी, सह सचिवमा सरिता पौडेल निर्विरोध निर्वाचित भएका छन् ।  समितिको सदस्यमा हिमालय खड्का, प्रकाश राज रेग्मी, शान्ति महर्जन चयन भएको वरिष्ठ उपाध्यक्ष थपलियाले जानकारी दिए ।  विक्रम पाण्डेको अध्यक्षतामा ग्रीनल्यान्ड पार्टी प्यालेस थानकोटमा सम्पन्न भएको समितिको अधिवेशनको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरी रहेका थिए ।  साथै कार्यक्रममा विशेष अतिथि उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खडकी, वडा नं ५ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं १३ अध्यक्ष कृष्ण केसी , वडा नं १५का अध्यक्ष घनश्याम लुइँटेल, अतिथिहरु ईश्वर लामा, केन्द्रीय उपाध्यक्ष आनन्द सिम्खडा, केन्द्रीय सचिव तथा प्रवक्ता फडिन्द्र राज घिमिरे, उपाध्यक्ष उत्तर कुमार श्रेष्ठ लगायत २ सयभन्दा बढी पूर्वसुरक्षाकर्मीहरूको भेला रहेको थियो । 

सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गरी गभर्नर नियुक्ति हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएका हुन् ।  अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरता पूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए ।  ‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउँछौँ । त्यसको तयारीमा सरकार लागिरहेको छ,’ उनले भने ।  अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए । यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ छ ।  फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए ।  ‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ,’ उनले भने ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे । 

सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ शिक्षकहरूको दिनचर्या

काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११ बजे माइतीघर-बबरमहलमा भेला भई जिल्ला गत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ । आन्दोलनमा सहभागिताको लेखा जोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिर गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौं उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ । अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा/आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने जस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन् । साथै, स्थानीय कलासंस्कृति, भेषभूषा अनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ ।  नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आन्दोलन सुरु गरेको दसौँ दिन भयो । महासङ्घले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिईकन आन्दोलनलाई उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ । आज दशौँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, ‘दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र १ भन्ने लाग्न सक्छ,  नआत्तिनुस् उपलब्धि हुने क्रममा छ । हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मेहनत निरर्थक हुँदैन । आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस् ।’ धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसा गत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिए ।  उनले भने, ‘हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक सङ्गठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो ।’ आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिए।  ‘आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ,’ उनले भने । शिक्षक महासङ्घ खोलुखुम्बुका अध्यक्ष डण्डी कुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाए ।  ‘अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ,’ उनले भने ।  शान्तिपूर्ण भनिए पनि काठमाडौंको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ । साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा प्रहरी खटाउनु परिरहेको छ । आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् ।