विकासन्युज

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित सबै इँटाभट्टा बन्द गर्न परमादेश जारी गरेको छ । स्थानीय वातावरण र जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै दायर गरिएको रिट निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङ्गा सुवेदीको इजलासले १२ चैत २०८१ मा मागबमोजिम आदेश दिएको हो । रिट निवेदन २०७६ पुस १४ गते स्थानीय बासिन्दा र अभियन्ता श्रीकृष्ण धिमालसहितले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र पुरातत्व विभागलाई विपक्षी बनाई दर्ता गरेका थिए । रिटमा इँटाभट्टाले वातावरणमा प्रदूषण बढाएको, माटो उत्खननका कारण प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरू नष्ट हुने जोखिम रहेको, कृषियोग्य जमिनमा असर पारेको र विद्यालय नजिकै सञ्चालन भइरहेका कारण शैक्षिक वातावरणमा समेत क्षति पुगेको उल्लेख छ ।  पाँचखाल क्षेत्र किराँत र लिच्छवीकालदेखि धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ । तर, स्थानीयको अनुसार नगरपालिकाले अवैध इँटाभट्टा चलाउन सघाएको आरोप लगाइएको छ । हाल पाँचखालमा ८ वटा इँटाभट्टा सञ्चालनमा छन्, जसमध्ये कतिपय विद्यालयकै छेउमा सञ्चालन भइरहेका छन् ।  

विश्व बैंक, आईएमएफसहित आधा दर्जन संस्थामा सरकारको साढे‍ ११ अर्ब रुपैयाँ बराबरको सेयर लगानी

काठमाडौं । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत सेयर लगानी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि त्यस्ता संस्थाहरूसँग सम्झौता गरी सेयर लगानी गर्दै आएको छ ।  विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, सार्क विकास कोष र अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंकमा सरकारले लगानी गरेको छ । ती संस्थाहरूमा  २०८० असारसम्म अवधिसम्म सरकारको ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । सरकारले त्यस्ता निकायमा लगानी गरे पनि यथेष्ट कानुनी व्यवस्था थिएन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनमा सरकारले गर्ने सेयर वा ऋण लगानी सम्बन्धमा स्पष्ट एवं विस्तृत व्यवस्था रहेको देखिँदैन भने लगानीका सिद्धान्त र आधारका सम्बन्धमा समेत स्पष्ट नीतिगत व्यवस्था रहेको छैन । सरकारको आन्तरिक स्रोतबाट हुने सेयर वा ऋण लगानी सालबसाली रूपमा विनियोजन ऐनमा सेयर वा ऋण लगानीको विनियोजन गरिएको रकमका आधारमा हुने गरेको छ । बजेटमार्फत हुने यस्ता लगानी व्यवस्थित बनाउन सरकारले सेयर तथा लगानी नीति २०८१ जारी गरेको छ ।   उक्त नीतिमा विदेशमा सरकारले गर्ने लगानीका बारेमा समेत उल्लेख छ । आर्थिक सामाजिक विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न देहायका क्षेत्र र निकायमा सेयर तथा ऋण लगानी गरिने नीति लिएको छ ।  उक्त नीतिअनुसार सरकारले नेपालभित्र सार्वजनिक–निजी साझेदारीको अवधारणाअन्तर्गत कुनै बहुराष्ट्रिय कम्पनीले लगानी गर्न खोजेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्यममा सेयर लगानी गर्ने, द्विपक्षीय वा क्षेत्रीय सम्झौताअन्तर्गत कुनै व्यावसायिक काम गर्न स्थापित सङ्गठित निकाय भए त्यसमा लगानी गर्ने, नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा शेयर लगानी गर्ने उल्लेख छ ।  बहुराष्ट्रिय निकायदेखि व्यक्तिलाई सिधै ऋण लगानी भने सरकारले नगर्ने नीति लिएको छ । त्यस्तै, स्वदेशी वा विदेशी धितोपत्र बजारका लगानी उपकरणहरूमा समेत सरकारले लगानी नगर्ने सरकारले जारी गरेको सेयर तथा लगानी नीतिमा उल्लेख छ।   नेपाल सरकारबाट हुने सेयर तथा ऋण लगानीको स्वामित्व नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ । यसअघि विभिन्न मन्त्रालय, विभाग र कार्यालयको नाममा कायम रहेको सेयर तथा ऋणको स्वामित्व अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ । विकास साझेदारसँग भएको सम्झौताबमोजिम बाहेक वैदेशिक ऋण वा अनुदान सहायताको स्रोतबाट कुनै व्यावसायिक निकाय वा कम्पनीमा सेयर तथा ऋण लगानी गरिने छैन । नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा थप सेयर लगानी गर्न अर्थ मन्त्रालयले सक्नेछ, त्यस्तै नयाँ स्थापना हुने अन्तरसरकारी बहुराष्ट्रिय निकायमा सम्झौताको प्रावधान बमोजिम सेयर लगानी गर्ने, द्विपक्षीय वा क्षेत्रीय सम्झौताअन्तर्गत कुनै व्यावसायिक निकाय स्थापना हुँदा वा स्थापित निकायमा सम्झौताको प्रावधानबमोजिम सेयर लगानी गरिने नीति कार्यान्वयनमा ल्याइँदैछ ।   सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव मुकुन्दप्रसाद पोखरेलका अनुसार यो नीति कार्यान्वयनको चरणमा रहेको बताए । यस्तो खालको नीति पहिला नभएकाले सरकारको लगानीलाई व्यवस्थित गर्न नीति ल्याइएको र कार्यविधि, नियमावलीहरू बनेपछि पूर्णरुपमा यो नीति कार्यान्वयनमा आउने बताए ।  उनले भनेल, ‘नीति आयो, कार्यान्वयन गर्न नियमावली कार्यविधिहरू आवश्यक पर्छन्, यी बन्ने क्रममा रहेकाले नीति कार्यान्वयनमा जाने चरणमा छ । सेयर तथा ऋण लगानी नीतिअनुसार नै सरकारले आगामी दिनमा विदेशी बैंकहरूका साथै सरकारी संस्थानहरूमा लगानी गर्ने उनको भनाइ रहेको छ ।’

विमानस्थलबाट गाँजासहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए । उनले भने, 'थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।' भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।   

पौने ५ अर्बमा ६० वटा भिल्लासहित पाँचतारे होटल बन्दै, यसै वर्ष सञ्चालनमा आउने

काठमाडौं । भक्तपुरको गुण्डुस्थित ४ अर्ब ७५ करोडभन्दा बढी लगानीमा टाइम-सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बन्ने भएको छ ।  स्वनिगः रिसोर्ट प्रालिले यो परियोजना बनाउन लागेको हो । नयाँ वर्ष २०८२ को अवसर पारेर स्वनिगः ले वैशाख १ गते भूमि पूजा गरेर निर्माण थालनी गरेको हो । यो परियोजनामा विभिन्न मनोरञ्जन केन्द्रहरू पनि समावेश हुने जनाइएको छ । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड स्वनिगः अन्तर्गत सञ्चालन हुनेछ ।  स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनः निर्माण गर्ने लक्ष्य राखेको छ । प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृङखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ ।यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ । यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुने स्वनिगः रिसोर्ट प्रालिले जनाएको छ । यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजना इम्प्लिमेन्टिब एक्सपर्टस् ग्रुप (आईईजी)ले एस एन्ड जेजी होल्डिङ्ग (अस्ट्रेलिया) सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ ।  आईईजीको प्रतिनिधित्व अमृत रत्न शाक्य र सुवर्ण कृष्ण श्रेष्ठले गरिरहेका छन्, जसले ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् ।  उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसीस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् । अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो ।  यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैर-आवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ ।  एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिब्समार्फत यसअघि नै काठमाडौंको कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ ।  उक्त विलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ ।  एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायीक अवसरहरूको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । र, ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायीक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकको नयाँ वर्षको उपहार योजना : मोबाइल टपअपमा जित्न सकिन्छ आइफोन १६

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा 'नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६' योजना घोषणा गरेको हो । यस योजनाअन्तर्गत सहभागी हुन इच्छुक ग्राहकले एनआईसी एशिया मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ । वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो योजनामा सहभागी ग्राहकहरुमध्येबाट गोलाप्रथामार्फत एक जना भाग्यशाली विजेता छानिनेछ, जसलाई बैंकले आइफोन १६ उपहारस्वरूप प्रदान गर्नेछ । बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नयाँ वर्ष २०८२ ले ग्राहकमा थप खुसी, उत्साह र उमंग ल्याओस् भन्ने कामनासहित, यस योजनाले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ आत्मीय, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास लिएका छौं ।'

सिटिजन्स बैंकले रक्षा नेपाललाई गर्‍यो सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाको संरक्षणमा सक्रिय संस्था रक्षा नेपाल लाई सहयोग गरेको छ । बैंकले यौन शोषण, बेचबिखन र यौन हिंसाको जोखिममा परेका महिला तथा बालबालिकाको सुरक्षामा क्रियाशील रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड प्रदान गरेको हो । रक्षा नेपाल दुई दशकभन्दा बढी समयदेखि हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षा, पुनर्स्थापना, सीप विकास, शिक्षा, कानुनी सहयोग, आत्मरक्षा तालिम तथा आत्मजागरूकता कार्यक्रममार्फत आत्मनिर्भर बनाउन क्रियाशील छ । बैंकद्वारा आयोजित समारोहमा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गरेपछि संस्थाका प्रतिनिधिहरुले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आगामी दिनमा पनि महिला तथा बालबालिकाको अधिकारका पक्षमा कार्य गर्न थप हौसला मिलेको प्रतिक्रिया दिए । बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं । यस्ता कार्यले संस्थाको सञ्चालनमा केही सहजता ल्याउने विश्वास लिएका छौं ।' सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने कार्यक्रमहरू संचालन गर्दै जाने योजना रहेको जनाएको छ।

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले २०८२ सालका लागि ८८ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार शनिबार र चाडपर्व गरी कुल ८८ दिन बिदा पर्नेछ । यस वर्ष ५२ दिन शनिबार र थप ३६ दिन विभिन्न धार्मिक, सांस्कृतिक पर्व तथा राष्ट्रिय दिवसहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । राजपत्रअनुसार सार्वजनिक बिदाको सूचीमा १३ दिन प्रमुख पर्वका बिदा, ३ दिन क्षेत्र विशेषका लागि, २ दिन महिला कर्मचारीका लागि, १ दिन शिक्षण संस्थाका लागि, ४ दिन काठमाडौं उपत्यकाका लागि, ४ दिन जात्रा तथा पर्वका लागि, ६ दिन राष्ट्रिय दिवस, १ दिन अपाङ्गता भएका कर्मचारीका लागि, २ दिन सार्वजनिक जन्मजयन्ती तथा ३ दिन विशेष धर्मावलम्बीका लागि छुट्टाइएको छ । नयाँ वर्ष वैशाख १ गते, चण्डी पूर्णिमा, वैशाख पूर्णिमा, साउन २४ गते जनै पूर्णिमा, साउन ३१ गते कृष्ण जन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गतेसम्म फूलपातीदेखि द्वादशीसम्म दशैंको बिदा दिइनेछ । कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा रहनेछ । कार्तिक १० गते छठ पर्व, मंसिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्रि, फागुन ६ गते ग्याल्पो ल्होछार, फागुन १८/१९ मा पहाडी तथा तराईमा होली र चैत १३ गते राम नवमीको अवसरमा सार्वजनिक बिदा हुनेछ । साउन २५ गते गाईजात्रा (उपत्यका), भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्वमा महिला कर्मचारीलाई बिदा दिइनेछ । भदौ १५ गते गौरा पर्व, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा उपत्यकामा मनाइने भएकाले तिनमा उपत्यका क्षेत्रलाई लक्षित बिदा दिइएको छ । वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, माघ १६ गते शहीद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक बिदा दिइनेछ ।

सिंहदरबारमा शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक

काठमाडौं  । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न अर्थमन्त्री, गृहमन्त्री र शिक्षामन्त्री बैठकमा बसेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू विद्यालय नफर्किएपछि मुलुकभर भर्ना अभियान प्रभावित हुन थालेको छ । यसै सन्दर्भमा शिक्षकको सेवा–सुविधाबारे तत्काल मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयले गर्न सक्ने निर्णयबारे छलफल गर्न मन्त्रीहरूको संयुक्त बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई सहभागी छन् । शिक्षकहरूको आन्दोलनले शैक्षिक सत्र सुरुआतमा अवरोध सिर्जना गरेपछि तत्काल समाधानका उपाय खोज्न उच्चस्तरीय छलफल सुरु गरिएको जनाइएको छ ।