बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर
खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं । झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें । मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने । उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ? श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो । छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन् । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् । कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो । छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ । ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’ म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् । सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो । यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्न मन लागेको छ मलाई ।’ मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’
सरकारप्रति गगनको तीव्र असन्तुष्टि, देउवा भने मौन
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगातार सरकारप्रति आक्रोशित देखिँदा सभापति शेरबहादुर देउवा भने मौन बसिरहेका छन् । सरकार गठन भएको नौ महिना पुग्न लाग्दा पनि कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै थापा लगातार आलोचनामा उत्रिँदै आएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले दुई ठूला दलको सहकार्यमा बनेको सरकारले अपेक्षाअनुसार काम नगरेको आरोप लगाए । संविधान संशोधनदेखि विकास निर्माणसम्मको विषयमा सरकार निष्क्रिय रहेको उनको भनाइ थियो । महामन्त्री थापाले सरकार सञ्चालनमा विचौलियाहरूको हस्तक्षेप भएको भन्दै 'विचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको' टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन् । निजी क्षेत्र र विचौलिया फरक भए पनि तिनको प्रभावले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको तर्क छ । थापाले सरकारद्वारा गठित संयन्त्रको सुझावसम्म कार्यान्वयन नगरेको गुनासो गर्दै, 'बिँड तातेर केही नहुँदो रहेछ, ताप्केपनि तात्नुपर्ने रहेछ,' भनेर कटाक्ष गरेका थिए । नेपाली विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक हटाउने निर्णय, प्रधानमन्त्रीको कार्यक्रमप्रतिको मोह र शिक्षक आन्दोलनप्रति सरकारको बेवास्ताले पनि उनी असन्तुष्ट भएको जनाएका छन् । थापाले आफूलाई अहिलेको प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्ने क्षमता भएको दाबी गर्दै, प्रधानमन्त्रीमा नियुक्त भए आजै देखाएर छाड्ने विश्वास व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध अख्तियार वा विशेष आयोगमार्फत गहिरो छानबिन गर्नुपर्ने धारणा राख्दै २०८४ भित्रमा भ्रष्टाचारमुक्त नेपाल बनाउने लक्ष्य उनले राखेका छन् । तर, सभापति देउवा भने सरकारको कार्यशैलीबाट सन्तुष्ट देखिन्छन् । प्रधानमन्त्री ओलीसँगको पुरानो मित्रताको कारण उनले सरकारलाई पूर्ण समर्थन जनाइरहेका छन् । यसले थापाको आलोचना पार्टीभित्रै सीमित बन्न पुगेको देखिन्छ ।
बबई नदीमा अवैध मोटरबोट सञ्चालन, रोक लगाउन प्रशासनको आदेश
काठमाडौं । दाङको बबई नदीमा अवैध रूपमा बाँध निर्माण गरी पानीको बहाव रोक्दै मोटरबोट सञ्चालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार एक आदेश जारी गर्दै उक्त गैरकानुनी गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार पर्यटन विभागमा व्यवसाय दर्ता नगरी मोटरबोट चलाइएको, नदीको प्राकृतिक बहाव अवरुद्ध गरिएको, र बोट हेर्न पुलमा भीड जम्मा हुँदा सार्वजनिक सुरक्षामा जोखिम बढेको देखिएकाले यो कदम चालिएको हो । प्रशासनले कानुन र आवश्यक अनुमति नपाउञ्जेल यस्ता गतिविधि नगर्न चेतावनी दिँदै अवज्ञा भए कानुनी कारवाही हुने जनाएको छ ।
ट्यारिफ युद्धको बीचमा चीनलाई खुसीको खबर, निर्यातमा १२.४ प्रतिशत वृद्धि, आयातमा गिरावट
काठमाडौं । चीनको निर्यातमा मार्च महिनामा वार्षिक आधारमा १२.४ प्रतिशतको वृद्धि भएको छ । त्यही समयमा आयातमा ४.३ प्रतिशतको गिरावट आएको छ । अमेरिकाले चीनबाट आयात गरिने वस्तुहरूमा शुल्क वृद्धि गरेसँगै सरकारले यो जानकारी दिएको हो । विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीनको निर्यात सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च) मा वार्षिक आधारमा ५.८ प्रतिशतले बढेको छ भने आयातमा ७ प्रतिशतको गिरावट आएको छ । चीनको अमेरिकासँगको व्यापार नाफा मार्च महिनामा २७.६ अर्ब डलर रह्यो, जहाँ निर्यातमा ४.५ प्रतिशतको वृद्धि देखियो । वर्षको पहिलो त्रैमासिकमा (जनवरी–मार्च) अमेरिका र चीनबीचको व्यापार सरप्लस (निर्यातको मूल्य आयातको मूल्यभन्दा बढी भएको अवस्था) ७६.६ अर्ब डलर रहेको छ । चीनमाथि भारी ट्यारिफ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै संशोधित व्यापार नीतिअनुसार चीनले अमेरिका पठाउने अधिकांश निर्यातमा १४५ प्रतिशतसम्मको शुल्क भोगिरहेको छ । यद्यपि निर्यातमा सबैभन्दा बढी वृद्धि चीनका दक्षिण-पूर्वी एसियाली छिमेकी देशहरूतर्फ भएको देखिन्छ, जहाँ मार्चमा चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको छ । अफ्रिकातर्फको निर्यात पनि ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चीनको सीमा शुल्क प्रशासनका प्रवक्ता ल्यू डालियाङले भने, 'चीनले जटिल र गम्भीर परिस्थितिको सामना गरिरहेको छ, तर घुँडा टेक्ने छैन ।' उनले चीनका विविध निर्यात विकल्पहरू र विशाल घरेलु बजारतर्फ इशारा गर्दै यो कुरा बताएका हुन् । जब उनीसँग चिनियाँ आयात घटेकोबारे सोधियो तब उनले भने, 'चीन लगातार १६ वर्षदेखि विश्वको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ, जसले विश्व आयातमा आफ्नो हिस्सा करिब ८ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्याएको छ ।’ 'वर्तमान र भविष्यमा चीनको आयात वृद्धि क्षेत्र निकै ठूलो छ र विशाल चिनियाँ बजार सधैं विश्वका लागि ठूलो अवसर हो,’ल्यू डालियाङले थपे । शी भियतनामको यात्रा गर्दै चीनका राष्ट्रपति सी जिनपिङ सोमबार क्षेत्रीय दौरा अन्तर्गत भियतनामको भ्रमणमा जाँदै छन् । उनी मलेसिया र कम्बोडिया पनि जाने कार्यक्रम छ । यसबाट उनलाई एसियाली देशहरूसँग व्यापार सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ । यद्यपि अमेरिकाले यस निर्णयलाई गत हप्ता ९० दिनको लागि ट्यारिफ स्थगित गरिसकेको छ। भियतनाममा गत महिना चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको थियो, जबकि आयातमा २.७ प्रतिशतको गिरावट देखिएको थियो । यद्यपि सी जिनपिङको यात्रा पहिलेदेखि नै तय गरिएको थियो, तर अमेरिका र चीनबीचको व्यापार युद्धको सन्दर्भमा यो यात्रा अझै महत्त्वपूर्ण बन्न पुगेको छ ।
काठमाडौंमा हल्का वर्षा, ठूलो वर्षा हुने सम्भावना छ त ?
काठमाडौं । काठमाडौं उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको बताए । 'अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन', उनले भने, 'बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।' माहाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
नेपालमा सीमा पार भुक्तानीका लागि एनसीएचएल र मास्टरकार्डबीच सहकार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भुक्तानी प्रविधि क्षेत्रमा कार्यरत विश्वप्रसिद्ध कम्पनी मास्टरकार्डबीच नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड प्रयोग गरेर क्युआर भुक्तानी गर्न सहमति भएको छ । दुबै संस्थाले एनसीएचएलको नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमार्फत अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरूलाई 'स्थानीय जस्तै भुक्तानी' गर्न सहज र सुगम बनाउने उद्देश्यले सहमति गरेका हुन् । यो सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्थानीय क्युआर मर्चेन्टहरूमा मास्टरकार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्ने अतिरिक्त सुविधा प्रदान गर्नेछ । नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर नेटवर्कमा हाल करिब १० लाख मर्चेन्टहरू आबद्ध छन् भने मास्टरकार्डले ३.१ अर्बभन्दा बढी कार्डहरू विश्वभर जारी गरिसकेको छ । यो सहकार्यले नेपालमा भित्रिने अन्तर्राष्ट्रिय कारोबारमा पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
एआईबाट अश्लील तस्बिर बनाउने ४ जना पक्राउ, दुई वर्ष जेल सजाय हुने
काठमाडौं । जापान प्रहरीले आफ्नो प्रकारको पहिलो कारबाहीमा जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिरहरू बेच्ने आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता र स्थानीय मिडिया रिपोर्टहरूले मङ्गलबार बताएका छन् । पोस्टरहरू बनाएर अनलाइनमा बेच्ने आरोप लागेका चार जनालाई ‘अश्लील तस्बिरहरू बेच्ने शङ्कामा सोमबार पक्राउ गरिएको’, टोकियो प्रहरीका प्रवक्ताले एएफपीलाई बताए । उनीहरूले गत अक्टोबरमा लिलामी साइटहरूमा धेरै पटक बेचेका थिए । प्रवक्ताका अनुसार यस्तो आपराधिक कार्यका लागि उनीहरूले दुई वर्ष जेल सजाय, २५ लाख येन (१७ हजार पाँच सय डलर) सम्म जरिवाना वा दुवैको सामना गर्नुपर्नेछ । सार्वजनिक प्रसारक एनएचके र अन्य मिडिया आउटलेटहरूले संदिग्धहरूले वास्तविक संसारमा अवस्थित नभएका नग्न वयस्क महिलाहरूको तस्बिरहरू सिर्जना गर्न निःशुल्क एआई सफ्टवेयर प्रयोग गरेको बताएका छन् । तिनीहरूले ‘खुट्टा खुला’ जस्ता शब्दहरू समावेश गरी सङ्केतहरू प्रयोग गरेका छन् । बीसदेखि ५० वर्षको उमेरका चारजनाले प्रत्येक पोस्टर केही हजार येन (लगभग २०–५० डलर) मा बेचेका थिए । मङ्गलबारका रिपोर्टहरूले एआई–निर्मित अश्लील तस्बिरहरू कथित रूपमा बेच्ने जापानको पहिलो गिरफ्तारी भएको बताएको छ । यसलाई प्रहरीले तुरुन्तै पुष्टि गर्न सकेन । डिपफेक सहित दुर्भावनापूर्ण उद्देश्यहरूका लागि एआईको प्रयोगमाथि विश्वभर चिन्ता बढ्दै गइरहेको छ, जसले मानिसहरूको वास्तविक फोटो, भिडियो वा अडियोलाई झूटो समानताहरूमा परिवर्तन गर्दछ । डच एआई कम्पनी सेन्सिटीको सन् २०१९ को अध्ययन अनुसार अनलाइनमा लगभग ९६ प्रतिशत डिपफेक भिडियोहरू गैर–सहमति पोर्नोग्राफी हुन् र तिनीहरू मध्ये धेरैजसोमा महिलाहरू चित्रित गरिएका छन् । रासस
छविलाल जोशीलाई थुनामा पठाउनुको कारण खुलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आदेश जारी गरेको हो । जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइएको हो । गत साता बुटवलस्थित उच्च अदालत तुलसीपुर इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध जोशीले उक्त आदेश बदर गराई आफूलाई थुना बाहिर राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालतसँग कारण स्पष्ट पार्ने प्रतिवेदन माग गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशी हाल थुनामै रहेका छन् । रुपन्देही जिल्ला अदालतको थुनामै राख्ने आदेशलाई उच्च अदालतले समेत सदर गरेपछि उनी कारागारमा छन् ।