व्यवस्थापकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद, सबै सेवा ठप्प
काठमाडौं । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन । श्री गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको ६ लाख रुपैयाँ समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् । सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ । कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ । सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेकी छिन् । उनले भनिन्, ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन ।’ सोही वडामा नन्दलाल चौहानका पिता बुद्धू चौहानले आफ्नो पेन्सनको ५० हजार रुपैयाँ पनि सोही सहकारीमा राखेका थिए । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उनले योजना बनाएका थिए । उनले भने, ‘अब त्यो योजना पनि अधुरो रहने देखिन्छ ।’ छोटे लाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्त कहाँ सहयोग मागे । तर, अधिकांश आफन्तको जवाफ एउटै छ, ‘आफैंलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ ।’ फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक ५ सय रुपैयाँका दरले बचत गरेका थिए । अब विवाह नजिकिदै गर्दा उनले राखेको पैसा पनि अनिश्चित बनेको छ । यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर अहिले १ लाख ५० हजार रुपैयाँ थुनिएको छ । उनले भने, ‘यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ ।’ यही २०८१ फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरु भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरुप, बचत फिर्ता पाउने, ऋण लिने र साँवाब्याज तिर्ने लगायत सबै सेवा ठप्प छन् । गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भने, ‘मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौं बचतकर्तालाई अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक सङ्कटमात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।’ सम्मरीमाई-६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरु भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैंका लागि हराउन सक्ने बताए । बचतकर्ताको एउटै प्रश्न छ, ‘जब हामीले विश्वास गरेर बचत गरेका थियौँ, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालत समेतले अब गम्भीरता पूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक सङ्कटमात्र होइन, सामाजिक सङ्कटको भय पनि बढ्दै जान्छ ।’
आजदेखि ५ रुपैयाँ दरका नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक, महाप्रसादको हस्ताक्षर
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङ्गमा ५ रुपैयाँ दरको नोट वैशाख २ गतेदेखि प्रचलनमा ल्याउने भएको हो । राष्ट्र बैंकका अनुसार नम्बर न४५ ०००००१ देखि भ१८ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ’’ भन्ने प्रतिजामूलक वाक्यांश सहितका नोट प्रचलनमा ल्याउने भएको हो । नोटको अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “बि.सं. २०८१“ लेखिएको रहेको छ । यस्तै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक’’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रूपीज फाइभ लेखिएको र बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा “२०२४एडी’’ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । यस अघि मिति २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सेरिज२०२०) को बैंक नोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।
चैतसम्म विकास खर्च २९ प्रतिशतमा खुम्चियो, १४.२६ अर्ब मात्रै वैदेशिक अनुदान उठ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९.२ प्रतिशत हो । विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३.६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएकामा ५९.४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब छ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च ५९.२३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ रुपैयाँ बराबर विनियोजन गरेकोमा वार्षिक विनियोजनको ५९.२३ प्रतिशत खर्च भएको हो । यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ । कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म ८ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७.८९ प्रतिशत बराबर हो । त्यस्तै, यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७.२७ प्रतिशत अर्थात् १४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबर मात्रै अनुदान उठेको छ ।
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
काठमाडौं । पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ । शुक्रबारदेखिको वर्षाले इँटाभट्टामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए । श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् । बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।
बैंकहरुले ब्याज घटाउन थालिसके, ठूला परियोजना सञ्चालनको तयारीमा छौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् । गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए । मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनु पर्ने धारणा राखे । युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको उनको भनाइ छ । त्यसैका लागि महासङ्घको अगुवाइमा गत वर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनले बताए । अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा छ । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए । बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पुँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे ।
जाजरकोटमा विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प
काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए/नभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा, २० प्रतिशत रोजगारदाताले जम्मा गर्नुपर्ने
काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् ।
वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी, यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ । यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताए । ‘यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ । तर, सङ्ख्यात्मक नभई हामीले गुणात्मक चलचित्र बढाउनुपर्छ । अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार चलचित्र ल्याउनु पर्छ,’ उनले भने । उनले अभिनय गरेको चलचित्र ‘भूठान’ यही वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ । यस वर्ष मह सञ्चारबाट चलचित्र निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाए । ‘चलचित्र निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ । दुई चलचित्र प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई चलचित्रकै काममा केन्द्रित छु,’ अभिनेता आचार्यले भने । अभिनेता निखिल उप्रेती पनि केही वर्षको विश्रामपश्चात् यो वर्षदेखि आफ्नो चलचित्रकर्मलाई निरन्तरता दिँदै छन् । उनले छायाङ्कनका लागि नेपालसँगै भारतको केही भूभागको अवलोकन पनि गरिसकेका छन् । ‘म जेठदेखि चलचित्रको छायाङ्कन गर्ने तयारी गरिरहेको छु, अन्तिम साताबाट काम सुरू हुन्छ । अहिले नेपाली चलचित्रको राम्रो समय आएको छ, चलचित्र भवनसम्म आएका दर्शकलाई बढाउने र ल्याइरहने गरी हामी चलचित्रकर्मीले काम गर्न जरुरी छ । म यसपटक भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु,’ उनले भने । अभिनेता उप्रेतीले द्वन्द्व प्रधान चलचित्रमा वैचारिक द्वन्द्वलाई प्रस्तुत गर्ने बताए । झन्डै ८ वर्षपछि निर्देशक तुलसी घिमिरे पनि निर्देशनमा फर्किएका छन् । उनले ‘पहाड’ नामक चलचित्रको छायाङ्कन गरिरहेका छन् । उनले आज नयाँ वर्षको सन्दर्भ पारेर चलचित्रको प्रदर्शन कात्तिक ७ मा हुने घोषणा गरिएको छ । निर्देशक घिमिरेले दर्शकको विश्वास चलचित्र र चलचित्रकर्मीप्रति बढेको महसुस गरेको छ । सोही कारण उनी यो वर्ष चलचित्रकर्ममा फर्किए । ‘केही समय मैले बनिरहेका चलचित्रको अध्ययनज्ञ नै गरेँ । हामीले विश्वका अन्य चलचित्रमा नभएका विषय र भावनात्मक कथालाई प्रस्तुत गर्न सक्नुपर्छ । चलचित्र हेर्ने संस्कृतिलाई बढाउन स–परिवार चलचित्र भवनमा आउने किसिमका चलचित्र निर्माण हुनुपर्छ । यो वर्ष नेपाली चलचित्रका लागि अघिल्लो वर्षभन्दा पनि उपलब्धि मूलक हुने विश्वास लिएको छु,’ निर्देशक घिमिरेले भने । कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्रीजस्ता नयाँ पुस्तासँग चलचित्रमा काम गर्नुभएका निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिए । ‘अन्य पेसाकर्मीझैँ हामीलाई पनि सन्तानले हामीले गरिरहेको पेसा रोज्दा खुसी लाग्छ । मेरो दुवै छोरीले गरेको कामको मूल्याङ्कन मैले गर्दा अस्वाभाविक लाग्ला तर यो चलचित्रकर्म ठीक भन्ने लाग्नु सुखद् पक्ष हो । उनीहरु चलचित्रकर्ममा आउनुले चलचित्रप्रति उक्त पुस्ताको सकारात्मक सोचलाई दर्शाएको छ,’ निर्देशक घिमिरेले भने । अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने चलचित्रमा विविधता देख्न पाइनेमा आशावादी छन् । अघिल्लो वर्ष घोषणा र छायाङ्कन गरिएका चलचित्र हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि चलचित्रमा पाइने अभिनेत्री अधिकारीले बताए । ‘अघिल्लो वर्ष चलचित्रको विषयलाई दर्शकले हिरो बनाउनुभयो । यो हाम्रो लागि सुखद् खबर थियो । त्यसकारण पनि यो वर्ष चलचित्रमा कलाकारसँगै विषयमा निर्माताले लगानी गर्नुभएको छ । म एउटा चलचित्रकर्मीका हिसाबले जति उत्साहित छु, दर्शकमा पनि त्यही उत्साह छ भन्ने विश्वास छ,’ अभिनेत्री अधिकारीले भने । गत वर्ष २०८१ को पहिलो चलचित्रका रुपमा उहाँले निर्माण गर्नुभएको ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । उक्त चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार गर्यो । ‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय विषयवस्तुलाई जान्छ । त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने चलचित्रको छायाङ्कन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा छन् । समग्रमा यस वर्षलाई चलचित्रकर्मीले ठूलो आशाका साथ स्वागत गरेक छन् । वर्षकै पहिलो दिन सात चलचित्र प्रदर्शन तथा निर्माण घोषणा गरिएको छ । यो वर्ष कलात्मकसँगै व्यावसायिक चलचित्र उल्लेख्यरुपमा दर्शकले हेर्न पाउने छन् । यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र गत वर्ष चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही चलचित्रले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए । गत साउन १८ गते प्रदर्शन भएको चलचित्र ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत १८ हजार ५०० रुपैयाँको मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको चलचित्र ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत २७ हजार ६०० रुपैयाँ, सोही मितिमा प्रदर्शन भएको चलचित्र ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत २१ हजार ६०० रुपैयाँ, मात्रै कमाएको छ । साथै माघ ४ गते प्रदर्शन भएको चलचित्र ‘एक्टर’ को १२१ टिकट बिक्री भएबापत ३३ हजार २८५ रुपैयाँ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत ९२ हजार ५२५ रुपैयाँको व्यापार (ग्रस) गरेको छ । उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर चलचित्र भवन र निर्माताले आधाआधा रकम पाउने गर्छन । उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित चलचित्रले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ । नवप्रवेशी निर्माताले बढी सँगसँगै न्यून व्यापार भएका चलचित्रको विवरणलाई पनि हेर्नुपर्ने पुर्नेन्दु झाले बताए । उनले भने, ‘निर्माता बढी व्यापार भएको चलचित्र हेरेर हौसिने गरेको पाइन्छ, तर चलचित्र निर्माणभन्दा अगाडि न्यून व्यापार पनि हेर्नुपर्छ । किनकि यहाँ यस्तो नै हुन्छ भन्ने अवस्था हुँदैन । निर्देशकले पनि सुरुआती समयमै घाटा र नाफाबारे स्पष्टरुपमा बुझाउनुपर्छ ।’ उनले आश गरिएका केही चलचित्रको व्यापार राम्रो हुन् नसकेको बताए । विशेषत अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भएका चलचित्रले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ चलचित्रको व्यापार नहुनु दुःखद् रहेको निर्देशक झाको बुझाइ छ । ‘कलात्मक चलचित्रको घरेलु बजार उत्साहजन देखिएन तर चलचित्र निर्माणमा भिन्नता आउनु आवश्यक छ । ती चलचित्र निर्माण तथा निर्देशन गर्ने चलचित्रकर्मीको आटलाई हामीले हौसला दिनु जरुरी छ,’ निर्देशक झाले भने । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘शाम्बाला’ ले २ करोड १२ लाख २२ हजार ३२५ रुपैयाँ र ‘राजागञ्ज’ ले १६ लाख २१ हजार ८८१ रुपैयाँको व्यापार (ग्रस) मात्र गरेको छ ।