विकासन्युज

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालन

काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ ।  अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे । ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो । यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए । ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे । अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै उनले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए । उनले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे । २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत  निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक श्री अधिकारीले बताए ।  पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए । बर्थिङ सेन्टरको क्षमता वृद्धि अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।  

प्रा.डा. खड्ग केसीले सम्हाले त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्ग केसी नयाँ उपकुलपति बनेका छन् । प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रा.डा. केसीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म उपकुलपतिको कार्यभार दिइएको हो । केसीले जिम्मेवारीबारे प्रतिक्रिया दिँदै भने, 'मैले उपकुलपतिको पत्र बुझिसकेको छु, अब कार्यभार सम्हाल्छु ।' यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।

टेल्जीको स्पोर्टी ईभी स्कुटर बजारमा, मूल्य २ लाख ६८ हजार

काठमाडौं । टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ ।योम मा ई मोटर्स प्रालिले ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो । टेल्जी नेपालले मंगलबार नक्सालस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी एस २ स्कुटर सार्वजनिक गरेको हो ।  सार्वजनिक स्कुटर पावरफुलका साथै यसमा स्पोर्टी डिजाइन रहेको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता योम मा ई मोटर्स प्रालि  हो । कम्पनीले एस २ को मूल्य २ लाख ६८ हजार रुपियाँ तोकेको छ । टेल्जी नेपालको निर्देशक सञ्जीव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए ।  कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ । यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ । यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिने कम्पनीले बताएको छ। हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको योम मा ई मोटर्स प्रालिले केही दिनमै टाएगर स्कुटर सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।  कम्पनीले नेपालका मुख्य १० सहरहरूमा बिक्री गर्दै आएकाे छ । साथै टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध समेत गराउँदै आएको छ ।

नयाँ वर्षको पहिलो दिन सेयर बजार २७ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेर २६८९ बिन्दुमा पुगेको छ । आज २१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको मूल्य घटेको छ ।    मंंगलबार ३२० कम्पनीको २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार बलेफी हाइड्रोपावरको २ अर्ब १ करोड रुपैयाँ बढिको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४२ करोड, राधी विद्युत कम्पनीको ३६ करोड, सीइडीबी होल्डीङसको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । करर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत, गुराँस लघुवित्तको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ । यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । म्युचुअल फन्ड ०.०७ र व्यापार ०.६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह २.४६ र लगानी समूह २.७१ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, वित्त १.५९, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.४७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त ०.६० र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढेको छ ।

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

धरान । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके ।  कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैं भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् ।  धरान उपमहानगरपालिका- १३ स्थित भ्यू-पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् । पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् भने दर्जनौं पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरूबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय व्यवसायीहरूको भनाइ छ । धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । ’केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गर्थ्याैं,’ कोइरालाले सुनाए । 'कुनै समय उजाड झैं देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,’ कोइरालाले भने ।  ‘लाहुरेको सहर, फेसनेबल सहर, खेलकुदको सहर’लगायत अनेक उपनामले परिचित धरान सहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरू ।  पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए । 'सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने । अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उहाँले जानकारी पनि दिए ।  धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । 'समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ,’ श्रेष्ठले भने ।  धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । दैनिक हजारौं सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए ।  धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरू गन्तव्य बनेको छ । पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन् । 'धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरु साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरुलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डेडाँडालगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ,’उनले भनिन् । सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरुका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरु थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरू खुलिसकेका छन् ।  धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरु धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरु खुलेपछि पर्यटकहरु आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताए । कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरु रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ ।  धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए । धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब छ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ ।  वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ ।  यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ ।  यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरूले बताए ।  

७० अर्बमा बनेको बूढीगण्डकी हाइड्रो प्रभावितका लागि मुआब्जा निर्धारण, प्रतिआना ३ लाख

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना तीन लाख कायम गरिएको छ । ‘चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ,’ उनले भने । उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् । विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । 'डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन', लामाले भने । गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो । अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत ७० अर्ब रहेको छ । रासस

सगरमाथा आरोहणअघि पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकद्वारा ब्यानर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। सगरमाथाको ३१औं सफल आरोहणको तयारीमा रहेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले विशेष कार्यक्रमका बीच ब्यानर हस्तान्तरण गरेका हुन् । कामी रिता शेर्पाले यसअघि २ पटक सगरमाथाको चुचुरोमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पुर्‍याइसकेका छन् । शेर्पा बैंकसँग दुई दशकभन्दा लामो समयदेखि 'निरन्तर सहयात्रा' गर्दै आएका ग्राहक हुन् । उनले यो किर्तिमानी आरोहण आफ्नो मात्र नभई सम्पूर्ण शेर्पा समाज र नेपालको गौरवको रूपमा रहेको बताए । बैंकले कामी रिता शेर्पाको साहसिक कार्यले संस्था मात्र होइन, देशको प्रतिष्ठा समेत उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।    

विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै अघि बढेका शिक्षकहरूलाई नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रहरीले रोक लगाएपछि उनीहरूले सडकमै धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले यथाशिघ्र शिक्षा ऐन ल्याउनुपर्ने माग अघि सारेको छ । महासंघले पटक–पटक सरकारसँग भएका सहमतिहरूको कार्यान्वयन नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलनलाई तीव्र बनाएको हो । शिक्षक आन्दोलनका कारण हाल नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागिता नजनाउने, कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने, एसईईको उत्तरपुस्तिका मूल्यांकन नगर्ने निर्णय लिइसकेको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन ल्याउन सरकारलाई आग्रह गर्दै आएको छ । माग पूरा नभएसम्म शैक्षिक हडताल जारी रहने चेतावनी महासंघले दिएको छ ।