९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो । यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आज देशका अधिकांश भागमा मौसम सफा रहने, कोशीमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
काठमाडौंमा दैनिक ४ उडान गर्दै कतार एयर, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
काठमाडौं । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो । उनीहरूबीच कतारमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा मंगलबार भेटवार्ता भएको हो । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका थिए । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो । कतारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ । कतारले काठमाडौंमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो । त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ । कतारी पक्षले काठमाडौं विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो । नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो । दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ । ‘भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ,’ सूचना अधिकारी भुलले भने । सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो । आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो । सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उनीहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो । क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो । हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो । भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन् ।
३ रुपैयाँ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५९ रुपैयाँ र तेस्रो वर्गका लागि १६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३.१५ रुपैयाँ र डिजेलमा २.६२ रुपैयाँले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान, शिक्षा विधेयक यथाशक्य पारित गर्ने
काठमाडौं । सरकारले सङ्घीय संसदको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसदको अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ । सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसदको बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।
८.२४ करोडमा निर्माण सुरु गरिएको अस्पताल बजेट अभावले अधुरै
काठमाडौं । बागलुङको निसीखोलामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पताल अधुरो रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो । ८ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए । पालिकाले बजेट विनियोजन गरे २ महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको १ करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाख रुपैयाँ सहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।
नारायणघाट-बुटवल सडक: २२ साना र ५ ठूला पुल निर्माण सम्पन्न, प्रगति ६३ प्रतिशत
काठमाडौं । ४ लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । ‘निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन् । निर्माण सकिएका २ ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन्,’ उनले भने । यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा ५ वटा निर्माण सम्पन्न भएका छन् । निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप ३ ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए । ‘गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन् । यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ,’ उनले भने । अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२.५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । ‘यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ । दाउन्नेको ४ किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो बर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिए । नारायणघाटबाट बुटवलसम्मको ११४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । ४ लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ । ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा ४ गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड-१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु चीनको डिङ्जे
काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ४ः०५ बजे गएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्यााग्निच्युडको भूकम्प गएको थियो । गत सोमबार राति ९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्यााग्निच्युडको भूकम्प गएको थियो । कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८ः०७ बजे) र (८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ म्यााग्निच्युड र दोस्रो ५.५ म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । चैत २० गते दार्चुलामा ४ म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर ४.५ म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।