'नीतिको ठाउँमा नाता, दाता र भ्राताको नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन'
काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन-२०२५’मा घिमिरेले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए । ‘राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ । राजनीतिक नेतृत्वमा इमान्दारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ,’ सभामुख घिमिरेले भने । राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदा सम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक नहुने उनको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायम गरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्म केन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘जन असन्तुष्टि चिर्न नेतृत्व तह गम्भीर बन्नुपर्छ, नीतिको ठाउँमा नाता, नभए दाता, त्यो पनि नभए ‘भ्राता’को नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन, उनले भने । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्ता सञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुने बताए । ‘सरकार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि खरो उत्रनुपर्छ, सुशासनको खम्बाका रुपमा रहेका संसद्, न्यायालयलगायत संरचना जति बलिया हुन्छन् ती त्यति नै प्रभावकारी हुन्छन्,’ उनले भने । सम्मेलनमा ‘नागरिक सहभागिता अभिवृद्धि र समावेशी सुशासन’, ‘सार्वजनिक सेवा प्रवाहमा रुपान्तरण’ र ‘दिगो विकास र नीतिगत सुधार’काबारेमा राजनीतिज्ञ, नीति निर्माता, विषयसँग छलफल हुनेछ ।
१० अर्बको कम्पनीमार्फत लगानी गर्न चन्द्र ढकालको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताए । उनले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।’ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको उनले बताए । उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न उनको अनुरोध छ । अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङ वासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षय कोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सो कार्यक्रममा बागलुङ वासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।
निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताए। उनले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गरे । पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिए । ‘अहिले नेपाली कांग्रेसको २ जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ, त्यो अभियानको एउटा अभिन्न अङ्ग भनेको एउटा वैदेशिक रोजगारी हो,’ उनले भने । कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सङ्घ र एसोसिएसन लाग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने उल्लेख गरे । सङ्घका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।
पूर्वीनाकाबाट १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा धेरै चिया
काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त ९ महिनाको अवधिमा सबैभन्दा धेरै चिया ८ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ, अलैंची ५ अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा २७ करोड २१ लाख रुपैयाँ, अम्लिसो ८७ करोड २१ लाख रुपैयाँ, बन्दा ८ करोड १७ लाख रुपैयाँ, जडिबुटी ४ करोड ५८ लाख रुपैयाँ, मुसुरो दाल ४ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट २ अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषि जन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार रुपैयाँ, चामल ६ करोड १ लाख रुपैयाँ, ताजा तरकारी ३४ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफुल ३१ करोड ८० लाख रुपैयाँ, लसुन ६३ करोड ८० लाख रुपैयाँ, आलु ३६ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
१९ लाख भ्रष्टाचार अभियोगमा ग्रामीण विकास लघुवित्तका अधिकारी विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध ८० लाख ५२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो । सो फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल समेतका प्रतिवादी विरुद्ध आयोगले २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो । आयोगले ३८ लाख ७६ हजार २७० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ भदौ एक गते फैसला गरेको थियो । त्यस्तै, आयोगले शैल्यशिखर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट समेतका प्रतिवादी २६ लाख २ हजार ५५६ रुपैयाँ बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध १९ लाख २ हजार २३७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो । विशेषले गरेको फैसला विरुद्ध आयोगले छुट्टा छुट्टै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो
काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न २ घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताए । उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले हैरानी थियो । सडक कालोपत्र भएसँगै सहज रूपमा आवतजावत गर्न पाएका छौँ ।’ सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका-४ र १ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । घिरिङ गाउँपालिका-१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् । उक्त सडक कालोपत्र गर्न विसं २०७६ फागुनमा ठेक्का लागेको थियो । सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ । उक्त सडकमा ट्रयाक खुलेको ३० वर्ष भयो । विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँ लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो । ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैया लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो । यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् । नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप ७ किलामिटर कालोपत्र गर्न बहु वर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म ९ किलोमिटर सडक निर्माण भइसकेको छ ।
सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने । नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए । चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ । वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।
यी तीन प्रदेशमा भारी वर्षा हुने, सडक र हवाई यातायातमा प्रभाव पर्ने, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।