विकासन्युज

हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघले दियो बधाई

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ ।  परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गरे । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले यस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकाले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।  उनले परिसंघ एवं हस्तकला महासंघको संस्थागत उद्देश्य समग्र अर्थतन्त्रको विकास नै भएकाले यसका लागि सहकार्य गर्दै अगाडि बढ्ने बताए ।  परिसंघले नेपाल सरकारलाई बुझाउने नीतिगत सुझाव अध्ययनमा आधारित हुने गरेको बताउँदै अध्यक्ष अग्रवालले अध्ययनमा आधारित भएर सुझाव दिदा सरकारले सुन्ने गरेको समेत बताए । हस्तकला महासंघका अध्यक्ष शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघले गरेको पहलका लागि धन्यवाद व्यक्त गरे । साथै उनले स्वदेशी वस्तुहरुको खपत बढाउन थप पहल आवश्यक रहेको बताए ।  संस्थागत रूपमा अर्थतन्त्रको विकासका लागि परिसंघसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको उनले जानकारी दिए । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।  

यामाहा ब्लू फेस्ट सम्पन्न

काठमाडौं । एक हप्तादेखि काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ ।  सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवं मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो । यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए ।  ब्लू फेस्टमा यामाहा बाइक र स्कुटरमा ५० हजारको मिनिमम भ्यालुएसन दिइएको आयोजकले जनाएको छ । अन्य ब्रान्डहरूमा २५ हजार, एक्सचेन्जमा १० हजारको थप भ्यालुएसन बोनस, ७।९९ प्रतिशत ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने) र स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा थियो । नगद छुटमा १ लाख रुपैयाँसम्म जित्ने अवसर ग्राहकहरूलाई तीन सजिला चरणहरूमार्फत तत्काल १ लाखसम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर पनि प्रदान गरिएको थियो । सेयर गर्दा एक हजार, भिजिट गर्दा ५० हजारसम्म नगद छुट र खरिद गर्दा एक लाखसम्म नगद छुट दिइएको हो । प्रत्येक खरिदमा नि: शुल्क एक्सेसरिजहरू उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निस्शुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो ।  उत्साहले भरिपूर्ण ८ दिनको कार्यक्रममा अफरहरूका अलावा यामाहा ब्लू फेस्टमा टेस्ट राइड एण्ड विन, गेमिङ जोन, फेस पेन्टिङ, डुअर प्राइजेज र लाइभ कन्सर्ट पनि थियो । महोत्सवको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसनसँगै समाप्त भएको थियो । सहभागीहरूले एनसीएल सिजन ३ मा यामाहाको गौरवशाली टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए।  

धरानका मेयर साम्पाङविरुद्ध बिना अनुमति रुख फडानीको आरोपमा छानबिन सुरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध सामुदायिक वनमा अनुमति बिना रुख फडानी गरेको आरोपमा छानबिन सुरु गरिएको छ । धरान-२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रमा ‘फायर लेन’ बनाउने भन्दै मेयर साम्पाङले चैत १९ गते मेसिन प्रयोग गरेर रुख फडानी गरेको उजुरी परेपछि डिभिजन वन कार्यालय, सुनसरीले छानबिन प्रक्रिया थालेको हो । डिभिजन वन कार्यालयका प्रमुख खुद्रोस मियाँका अनुसार सो विषयमा उजुरी परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको संयोजकमा बिष्णुपादुका सब-डिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन् । यस्तै, पञ्चकन्या सब-डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य छन् । समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि वन ऐनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ । प्रमुख मियाँले वन क्षेत्रभित्र अनुमति बिना रुख काट्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारे ।

गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।  रिट निवेदनमा दलहरूले ऐनको बाटो छाडेर सहमतिको आधारमा गर्नू दूषित कार्य भएको उल्लेख छ ।   नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि रिट निवेदनमा दाबी गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् ।  यद्यपि भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच बुधबार साँझ बसेको बैठकले भट्टलाई गभर्नर बनाउने सहमति गरेको थियो । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएपछि गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ भने कामु गभर्नरको जिम्मेवारी नीलम ढुंगाना तिमिल्सिनाले सम्हाल्दै आएकी छिन् । 

शिक्षक महासंघले प्रधानमन्त्रीलाई भेट्दै, आन्दोलनको मागबारे बताउने

काठमाडौं । विद्यालय शिक्षा विधेयकका विषयमा जारी आन्दोलनका सन्दर्भमा शिक्षक महासंघका प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ ७ बजेको समय दिएका छन् । 'प्रधानमन्त्रीलाई हाम्रो माग र आन्दोलनका मुद्दाबारे जानकारी गराउनेछौं,' महासचिव थापाले भने । प्रधानमन्त्रीसँगको भेटअघि महासंघका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । 'आन्दोलनको समीक्षा र प्रधानमन्त्रीसँग उठाउने विषयमा तयारी गर्न बैठक बस्न लागेका हौं,' थापाले भने । २० चैतदेखि काठमाडौंमा शिक्षक महासंघको नेतृत्वमा आन्दोलन चलिरहेको छ । शिक्षा मन्त्रालयसँग वार्ता भए पनि अझैसम्म सहमति जुट्न सकेको छैन । महासंघले मन्त्रिपरिषद् र मन्त्रालयले गम्भीर निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने संकेत दिएको छ । शिक्षकहरूको मागलाई लक्षित गर्दै सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन बोलाएको छ । तर शिक्षक महासंघ हालसम्म आश्वस्त हुन सकेको छैन ।

फेसबुक दर्ता नगरे पर्सिसम्म बन्द गछौंः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशन कार्यक्रममा उनले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नगरे प्रतिबन्ध गरिने बताएका हुन् ।  सञ्चार मन्त्रालयले  चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आह्वान गरेको थियो ।  सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे।  उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे । उनले भने, ‘हाल दर्तासहित सम्पर्क बिन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै छ । अब अरू सामाजिक सञ्जालका लागि पनि टिकटक जस्तै व्यवस्था रहेको छ  । त्यसैले छिटोभन्दा छिटो दर्ता गर्ने भनेको हाैं । अब पनि नआए सिधैं बन्द गरिनेछ ।’ मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए । यस्तै, सामाजिक सञ्जालमा जथाभावी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै उनले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक रहेको बताए ।

नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गरिदिन युएईसँग मन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सरकारसँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । अबुधाबीमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग शिष्टाचार भेट गर्दै मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको स्मरण गराउँदै उनीहरूको स्वास्थ्य हकको प्रत्याभूति गर्न दुई देशबीच सहकार्य आवश्यक भएको बताए । 'प्रस्थान गर्नु अघि र फर्किएपछि श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले विभिन्न कदम चालेको छ । युएई सरकारको सहयोग प्राप्त भएमा यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ,' मन्त्री पौडेलले भने । भेटमा उनले नेपालमा स्वास्थ्य प्रणालीलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउने, सर्वसुलभ स्वास्थ्य बीमा प्रणाली कार्यान्वयन गर्ने तथा मृगौला डायलसिस केन्द्रको स्तरोन्नति र अंग प्रत्यारोपण सेवाको विस्तारका लागि युएई सरकारसँग सहकार्यको प्रस्ताव राखेका थिए । युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपाली श्रमिकको योगदानको उच्च प्रशंसा गर्दै युएई नेपालसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले भने, 'सम्झौता गरेर सहकार्य अगाडि बढाउन सकिन्छ, तर नेपाल सरकारले लगानीमैत्री कानूनी र नीतिगत वातावरण तयार गर्नुपर्छ ।' भेटमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए । मन्त्री पौडेल युएईमा आयोजना हुने ‘नेपाल फेस्टिभल’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्, युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

निजामती कर्मचारीको ६० वर्षे सेवा अवधि बनाए वार्षिक ६० अर्ब रुपैयाँ बचत हुने

काठमाडौं । अर्थ सचिव घनश्याम उपाध्यायले निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउनुपर्ने सुझाव दिएका छन् । उनले सेवा अवधिमा दुई वर्ष थप गरे वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुन सक्ने दाबी गरेका छन् । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखी अनावश्यक पद सिर्जना नगर्नुपर्ने तर्क राखे । उनले भने, 'अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो। यसले निर्णयको तह पनि बढाउँछ, खर्च पनि बढाउँछ ।' उनका अनुसार ३० वटा अतिरिक्त सचिव पद थप्दा मात्रै वार्षिक ७ करोड रुपैयाँ खर्च थपिने देखिन्छ। त्यसैले सहसचिवको समयमै बढुवा सुनिश्चित गर्न सचिव र मुख्य सचिवको सेवा अवधि एक-एक वर्षले घटाउन सकिने प्रस्ताव उपयुक्त देखिएको उनको भनाइ थियो । सचिव उपाध्यायले सहायक सचिव र उपसचिव तहमा विगतमा भएका अभ्यासबाट सिकेर अब अतिरिक्त सचिवजस्ता पद सिर्जना नगर्नुपर्नेमा जोड दिए । उनले भने, 'हामीले यहाँ जति छलफल गरे पनि सचिवको पद घटाउन सक्ने अवस्थामा छैनौं । सहसचिव ११–१२ वर्षभित्र सचिवमा बढुवा हुन्छन् । त्यसैले समयवद्ध बढुवाको प्रवाह कायम राख्नका लागि सचिवको कार्यकाल घटाएर व्यवस्थापन गर्न सकिन्छ ।' उनले कर्मचारीतन्त्रमा सुधारका नाममा खर्चिलो संरचना थप्नेभन्दा सन्तुलन र कार्यक्षमता वृद्धि गर्ने उपाय रोज्नुपर्नेमा जोड दिए ।