नदी सफा गर्न ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौंको वडा नं १० बुद्ध नगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति लगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरूप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए । उपप्रधानमन्त्री सिंहले बुद्ध नगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे । उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए । कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए । थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए । यसअघि बुद्धनगरस्थित सेतो गणेश स्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकोमा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्र विक्रम राणालगायत सहभागी थिए ।
प्रविधि मैत्री बन्दै काठमाडौं महानगरका विद्यालय, २० वटा डिजिटल बोर्ड हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नु परो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।’ उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए । वडाबाट गरिएको लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राखे । शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए । त्यस्तै कामपाले केही दिन अघि मात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो । कामपाको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत सूचना प्रविधि मैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।
१ लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
काठमाडौं । बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्र रुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् । गत वर्ष १ लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा १ लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नाचार्य बताउँछन् । शालिग्राम सङ्ग्रहालय ४ वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ । ऋषि प्रपन्नाचार्यले भने, ‘सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरूले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।’ त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । गैँडाकोटबाट घुम्न आएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए। पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए । नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा जनआकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाइन् ।
गभर्नर नियुक्तिमा कुनै समस्या छैन, उपयुक्त व्यक्तिलाई नियुक्त गरिन्छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटमा उनले सत्ता साझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे । सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ ढल्छ भनिदिनुहुन्छ । अनि ढल्दैन है भनेर हामीले भनि रहनुपरेको छ ।’ उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका बताए । लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेका दृष्टान्त प्रस्तुत गरे । मुलुकमा ७ दशकको अन्तरालमा सात वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता जनाए । साथै गृहमन्त्री लेखकले कमीकमजोरीबाट सिक्ने र पुनः त्यस्तो हुन नदिनेतर्फ सचेत रहनुपर्ने विचार व्यक्त गरे । आमाका नामबाट नागरिकता प्रमाणपत्र जारी गर्ने सम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइसकेको बताउँदै यो समस्या चाँडै नै समाधान हुने उनको भनाइ छ । फरक प्रसङ्गमा उनले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने बताए । शिक्षकका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो, ९ महिनामा उठायो साढे ३ खर्ब
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे ३ खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे २ खर्बभन्दा बढी साँवा/ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो भने पछिल्लो ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ ऋण थपिएको छ । चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । ‘चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा ४६.७५ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९ र आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ । मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ बराबर छ । सरकारले यस आर्थिक वर्षका लागि करिब साढे ५ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा गत चैत मसान्तसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ । ‘चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६.९३ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सरकारले २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो भने ७४ अर्ब ९५ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८.२२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४.५४ प्रतिशत बराबर हो । यस आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ । सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा/ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे २ खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ । ‘चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी भएको छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, ‘यो वार्षिक विनियोजनको आधारमा ६२.६७ प्रतिशत हो । जिडिपीको आधारमा चैत मसान्तसम्ममा कूल ऋण सेवा खर्च ४.४३ प्रतिशत रहेको छ ।’ पछिल्लो ९ महिनामा आन्तरिक ऋणको साँवा/ब्याज भुक्तानीका लागि मात्रै २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ । आन्तरिक ऋणको साँवा तिर्नको लागि १ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ र ब्याज तिर्नको लागि ४२ अर्ब ८४ करोड रुपैयाँ बराबर खर्च भएको हो । त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि ३९ अर्ब ४३ करोड रुपैयाँ बराबर खर्च भएको छ । जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि ३२ अर्ब ९३ करोड रुपैयाँ र ब्याज तिर्नका लागि ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै ७० अर्ब ९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ । नेपालले वैदेशिक ऋण ‘स्पेशल ड्रइङ राइट’ (एसडिआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ । जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन् । चालु आर्थिक वर्षमा एसडिआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
'नीतिको ठाउँमा नाता, दाता र भ्राताको नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन'
काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन-२०२५’मा घिमिरेले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए । ‘राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ । राजनीतिक नेतृत्वमा इमान्दारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ,’ सभामुख घिमिरेले भने । राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदा सम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक नहुने उनको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायम गरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्म केन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘जन असन्तुष्टि चिर्न नेतृत्व तह गम्भीर बन्नुपर्छ, नीतिको ठाउँमा नाता, नभए दाता, त्यो पनि नभए ‘भ्राता’को नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन, उनले भने । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्ता सञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुने बताए । ‘सरकार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि खरो उत्रनुपर्छ, सुशासनको खम्बाका रुपमा रहेका संसद्, न्यायालयलगायत संरचना जति बलिया हुन्छन् ती त्यति नै प्रभावकारी हुन्छन्,’ उनले भने । सम्मेलनमा ‘नागरिक सहभागिता अभिवृद्धि र समावेशी सुशासन’, ‘सार्वजनिक सेवा प्रवाहमा रुपान्तरण’ र ‘दिगो विकास र नीतिगत सुधार’काबारेमा राजनीतिज्ञ, नीति निर्माता, विषयसँग छलफल हुनेछ ।
१० अर्बको कम्पनीमार्फत लगानी गर्न चन्द्र ढकालको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताए । उनले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।’ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको उनले बताए । उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न उनको अनुरोध छ । अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङ वासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षय कोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सो कार्यक्रममा बागलुङ वासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।
निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताए। उनले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गरे । पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिए । ‘अहिले नेपाली कांग्रेसको २ जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ, त्यो अभियानको एउटा अभिन्न अङ्ग भनेको एउटा वैदेशिक रोजगारी हो,’ उनले भने । कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सङ्घ र एसोसिएसन लाग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने उल्लेख गरे । सङ्घका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।